खेल खेल्न अरुलाई पनि प्रेरित गर्नुस् : मेयर साह

काठमाडौं । तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा आजबाट तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा करिव ३२ सय जना विद्यार्थीहरुले सहभागीता जनाएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताए । उनले यो संख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीहरुलाई आग्रह गरे । मेडल ल्याउनु ठूलो कुरा नभएको भन्दै अरुलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा रहेको बताए । ‘आजबाट शुरु हुने तीन दिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३२ सय जना विद्यार्थीहरुले भाग लिनुभएको छ । मेडल ल्याउनु ठूलो कुरा होइन, अरुलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो । भोलिका दिनमा वल्र्डकप ल्याउनुस्, ओलम्पिक जित्नुस् भनेर म भन्दिनँ । त्यो प्रेसर दिन चाहन्न । तपाईहरुले आफूसँगै अरुलाई इन्स्पायर गर्नुस्’, उनले भने । मेयर साहले वल्र्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरु आफूसँगै अरुलाई पनि खेल्न प्रेरित गर्न आग्रह गरे ।

शैक्षिक गुणस्तर सुधारमा जुट्दै षडानन्द नगरपालिका

भोजपुर । जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर सुधार योजना कार्यान्वयन थालेको हो । बालागुरु षडानन्द अधिकारीले विसं १९३२ चैतमा स्थानीयको संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी पहिलो संस्कृत पाठशाला स्थापना गरेका थिए। जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो भनिन्छ । शिक्षाको उर्वरभूमि मानिने षडानन्द क्षेत्रका सामुदायिक विद्यालयको खस्किँदो गुणस्तरमा सुधार ल्याउन नगरले आवश्यक सुधारका लागि जोड दिएको हो । विशेषगरी नगरपालिकाले कुनै पनि विद्यालयमा कुनै कारणवश शिक्षक पद रिक्त भएमा त्यहाँ पदपूर्तिका लागि लिइने परीक्षामा पारदर्शिता कायम राख्दै क्षमतावान् शिक्षकको छनोटका लागि आफ्नै नियम बनाएर सुधार अभियान थालेको छ । जिल्लाका धेरै विद्यालयमा करारमा शिक्षक छनोट प्रक्रियाको परीक्षा पारदर्शी नभएको, मिलेमतोमा आफ्ना मान्छेलाई जागिर खुवाएको भन्ने स्थानीयबाट आउने गरेको आरोपलाई ध्यानमा राख्दै नगरले आफ्नै नियम तयार गरेको नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । नगरका सामुदायिक विद्यालयमा शिक्षकको रिक्त दरबन्दीमा पदपूर्तिका लागि लिइने परीक्षालाई लक्ष्य गरेर नियम बनाइएको उनको भनाइ छ । नगरले शिक्षकको पदपूर्तिका लागि लिइने परीक्षा विज्ञहरूबाट गोप्यरूपमा प्रश्नपत्र सङ्ग्रह (प्रश्न बैंक)को समूह निर्माण गरेर मात्र परीक्षा सञ्चालन गरिने प्रमुख उदासले बताए । ‘शिक्षक छनोटका लागि लिइने धेरै परीक्षा पारदर्शी भएन भन्ने मैले पनि सुन्ने गरेको छु, जनतामा शङ्का उत्पन्न हुनु  राम्रो होइन । नगरले कुनै पनि विद्यालयमा करारमा शिक्षक छनोटका लागि लिइने परीक्षाका लागि नियम बनाएको छ’, उनले भने । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नगरले प्राथमिकताको साथ काम गरिरहेको उनले बताए । नगर क्षेत्रका विद्यालयमा प्राविधिक शिक्षामा जोड दिएको उनको भनाइ छ । त्यसनिम्तियोजनाबद्धरूपमा काम गरिरहेको उनले जानकारी दिए । रासस

मातातीर्थ र फाखेल-फर्पिङ सडक दुई महिना बन्द हुने

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिना बन्द हुने भएको छ । कुलेखानी–हुमाने–फाखेल खण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले भोलि (पुस १६ गते बिहान)देखि फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ । उक्त खण्ड बन्द हुँदा वैकल्पिक सडकको व्यवस्था गरिएको छ । यातायातका साधनका लागि हेटौँडा भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौंको थानकोट पुग्न सकिने गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईँले जानकारी दिए । उनका अनुसार भोलि बिहानदेखि वैकल्पिक मार्गका रुपमा हेटौँडाबाट आउने हल्का सवारी साधन उक्त खण्डमा सञ्चालन हुनेछन् । वैकल्पिक सडकका रुपमा काठमाडौंको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सवारी साधनलाई पनि सञ्चालनमा ल्याइने गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । रासस