काठमाडौं महानगरले टिचिङ अस्पताललाई दियो १ करोड ७० लाख बढीका उपकरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)लाई प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ । अस्पतालको बहिरङ्ग (ओपीडी) सेवालाई थप बिरामीमैत्री र प्रविधिमैत्री बनाउन १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको हो । अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई उपकरण हस्तान्तरण गरेकी हुन् । महानगरले उपलब्ध गराएका उपकरणमा शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट तथा घरबाटै उपचारका लागि रकम जम्मा गर्न सकिने सुविधासहितका १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन छन् भने रिपोर्ट, परीक्षण तथा उपचारसँग सम्बन्धित सम्पूर्ण विवरण एकै स्थानबाट हेर्न सकिने ६५ वटा ‘अल इन वन’ डेस्कटप कम्प्युटर पनि प्रदान गरिएको छ ।
सहकारी संस्थाहरूलाई घर खाली गर्न महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई बहालमा लिएका घर, कोठा तथा फ्ल्याट खाली गर्न कडा निर्देशन दिएको छ । महानगरको न्यायिक समितिको निर्णय कार्यान्वयन गर्दै कानून तथा मानव अधिकार विभागले आधा दर्जन सहकारी संस्थालाई १५ दिनभित्र सम्पर्कमा आउन र बहालमा रहेका सम्पत्ति खाली गर्न निर्देशन दिएको हो । महानगरका अनुसार तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा सदस्यहरू सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार बहालमा लिएका घर-कोठा तथा फ्ल्याटहरू अनिवार्य रूपमा खाली गराइनेछ । खाली गराउँदा सहकारी संस्थाका कार्यालय सामग्रीहरू सम्बन्धित घरधनीको जिम्मामा रहने र त्यसपछि ती सामग्रीबारे कुनै पनि दाबी-विरोध स्वीकार नगरिने स्पष्ट गरिएको छ । महानगरले यसअघि न्यायिक समितिबाट भएका निर्णय कार्यान्वयन गर्ने क्रममा सहकारी संस्थाहरूलाई लक्षित गर्दै यस्तो निर्देशन जारी गरेको हो । महानगरका अनुसार सत्कार सहकारी संस्था लिमिटेड, अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, हिराखुशी बहुउद्देश्यीय सहकारी संस्था, मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था, नवल सवल बचत तथा ऋण सहकारी संस्था तथा पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था गरी विभिन्न संस्थाहरू समावेश छन् ।
ठेकेदारमाथि कडा कारबाही, एकैपटक अमन कन्स्ट्रक्सनका ५ ठेक्का तोडिए
काठमाडौं । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले ५ योजनाको ठेक्का सम्झौता रद्द गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार, गाउँपालिकाको विभिन्न वडामा योजना निर्माण कार्यका लागि अमन कन्स्ट्रक्सन, गुलरिया-५, बर्दियासँग गरिएका पाँच वटै ठेक्का सम्झौता रद्द गरिएको हो । खजुरा गाउँपालिका-४ एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्र गर्न २०७७ फागुन १२ गते अमन कन्स्ट्रक्सन, गुलरिया-५, बर्दियासँग ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७८ जेठ ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरे पनि हालसम्म काम पूरा भएको छैन । दुई भागमा अलग-अलग ठेक्का आह्वान गरिएको उक्त योजनाअन्तर्गत ग्राभेल हाल्ने र गिट्टी बिछ्याउने काम भए पनि कालोपत्र हुन नसक्दा सडक पुनः जीर्ण बनेको छ । अमन कन्स्ट्रक्सनले ठेक्का पाएको एनआइसी बैङ्कदेखि मनकामना जाने सडक तथा नाली निर्माण, गोपालसिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरोन्नति तथा बिगाउँ ९० नम्बरदेखि १०५ नम्बरसम्मको बाटो स्तरोन्नतिका योजना पनि वर्षोंदेखि अधुरै छन् । पालिकाले यी सबै पाँचवटै ठेक्का रद्द गर्ने निर्णय गरेको हो । सबै ठेक्का अमन कन्स्ट्रक्सनकै रहेका छन् । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले सम्झौता रद्द गरी कालोसूचीमा किन नराख्ने भन्दै पालिकाले गत मङ्सिर २ गते सार्वजनिक सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । सार्वजनिक सूचना जारी भएपछिको तोकिएको अवधिमा पनि सम्झौता बमोजिम निर्माण कार्य अगाडि बढाउने विश्वसनीय आधार पेस गर्न नसकेकाले अमन कन्स्ट्रक्सन, गुलरिया-बर्दियासँगको ठेक्का सम्झौता अन्त्य गरिएको उनको भनाइ छ ।