ललितपुरका महिला उद्यमीको उत्पादन अब एपबाटै किनबेच, बजारीकरणको समस्या न्यूनीकरण हुने
ललितपुर । ललितपुर महानगरपालिकाले उद्यमी महिलाको उत्पादनलाई बजारसम्म पुर्याउन एलएमसी हाटबजार एप सार्वजनिक गरेको छ । महानगरमा दर्ता भएका उद्यमीले उत्पादन गरेका सामग्रीलाई बजारमा पुर्याउन यो एप निर्माण गरी सार्वजनिक गरिएको हो । महिला उद्यमीले आफ्नो उत्पादनको सम्पूर्ण विवरण उक्त एपमा राख्नुपर्छ । क्रेताले एप्समा राखेको सामान खरिद गर्न लगइन गरी अर्डर गर्न सक्छन् । उत्पादित सामग्री एपमा राख्नका उद्यमीले महानगरका सम्पर्क गरी लगइन गर्नुपर्छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महिलाको उत्पादनलाई बजारिकरणका लागि ल्याइएको एप एक महत्त्वपूर्ण ‘टुल’ भएको बताए । उनले भने ‘आइटीको जमानामा महानगरले सार्वजनिक गरेको यो एप महत्वपूर्ण हो ।’ महिला उद्यमीको उत्पादन बजारमा ल्याउन यो एपले धेरै मद्दत गर्ने उनले जानकारी दिए । प्रमुख महर्जनले सम्पूर्ण महिला उद्यमीलाई यो एप सक्दो प्रयोग गर्न अनुरोध गरेका छन् । यो एपले ‘उत्पादन छ तर बजार छैन’ भन्ने कुरालाई हल गर्न केही हदसम्म सहयोग गर्ने महानगरको विश्वास छ । महानगरका उपप्रमुख तथा महिला उद्यमशीलता सहजीकरण केन्द्रका संयोजक मञ्जली शाक्य बज्राचार्यले उद्यमीले उत्पादन गरेको उत्पादनले बजार नपाइराखेको अवस्थामा बजारसम्म उत्पादनलाई पु¥याउन यो एप महत्त्वपूर्ण हुने बताइन् । उनले भनिन्, ‘उद्यम र व्यवसाय एकै होइन, उद्यमीले व्यवसाय सञ्चालन गर्न गाह्रो हुन्छ, यो एपले उद्यमीलाई क्रेतासँग जोड्न सजिलो बनाउँछ, जसले बजार खोज्ने सहयोग पुग्छ ।’ वर्षैपिच्छे वडा र महानगरले धेरै वटा हाट बजार सञ्चालन गरेपनि सधैं सञ्चालन भइरहने बजारका लागि यो एप ल्याएको उपप्रमुखको भनाइ छ । महिला शाखा प्रमुख शोभादेवी खरेलले महिला उद्यमीलाई आफ्नो उत्पादनको बिक्री वितरण गर्न यो एप महत्त्वपूर्ण हुने धारणा राखिन् । उनका अनुसार एपमार्फत खरिद बिक्री गर्दा मध्यस्तकर्ताको आवश्यकता पर्दैन । क्रेताले विक्रेतासँगको सिधैं मोलमोलाई गर्न सक्छन् । सामानको गुणस्तरको बारेमा सोधपुछ गर्न सक्छन् । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) कलेजका डा. विनोदकृष्ण श्रेष्ठले महानगरले उद्यम र उद्यमशीलतालाई महत्त्व दिएर एप सार्वजनिक गरेकोमा खुसी व्यक्त गरे । उद्यमी र क्रेताबीच सिधै सम्पर्क हुने यो एपले उत्पादनको बजारिकरणलाई सहयोग पुग्ने बताए । यसैगरी, एप सार्वजनिक कार्यक्रमपछि उद्यमशीलतासम्बन्धी जानकारी दिन अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको छ । महानगरले पहिलो चरणमा यो एपमा ५० जनाभन्दा बढी महिलाहरूलाई तालिमसहित आबद्ध गराइसकेको छ । विस्तारै अन्य महिला उद्यमीहरूलाई यो एपमा आबद्ध गराउने योजना महानगरले राखेको छ । महानगरका अनुसार महानगरभित्र २५ सय १ जना महिलाहरूले आफ्नो उद्यम व्यवसाय दर्ता गरेर सञ्चालन गरिरहेका छन् । महानगरका अनुसार दर्ता नभएका समूहमा आबद्ध भएर उद्यम गरिरहेका महिलाहरूको तथ्यांक भने संकलन हुन बाँकी छ । ती महिलाहरूले उत्पादन गरेको उत्पादनलाई पनि यस एपमा आबद्ध गराउने लक्ष्य महानगरले राखेको छ ।
पोखरामा सार्वजनिक यातायात सुधार गर्न ४० मिलियन अमेरिकी डलरको प्रोजेक्ट
काठमाडौं । पर्यटकीय राजधानी पोखराको सार्वजनिक यातायातमा सुधार गर्न एशियाली विकास बैंक (एडिबी)ले सहयोग गर्ने भएको छ । पोखराको दिगो सहरी यातायात व्यवस्थापन गर्न विद्युतीय सवारी साधन (इमोबिलिटी) परियोजना सञ्चालनका लागि सो सहयोग प्राप्त हुन लागेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । प्रमुख आचार्यका अनुसार एसियाली विकास बैंक र ग्रिन क्लाइमेट फन्डको साझेदारीमा १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण सहायतामा नेपालमा यो परियोजना सञ्चालन गर्न लागिएको हो । यसमध्ये पोखरामा ४० मिलियन अमेरिकी डलर बराबरको परियोजना सञ्चालन हुनेछ । महानगर प्रमुख आचार्यले भने, ‘परियोजना सञ्चालन गर्न आवश्यक समन्वय तथा स्थानीय व्यवस्थापनको कार्य पोखरा महानगरपालिकाले गर्नेछ । यस परियोजनाले पोखराको सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउनुका साथै वातावरण तथा पर्यावरणको संरक्षणमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिएका छौँ ।’ पोखरा नेपालको पर्यटन राजधानी घोषणा भएसँगै विकास साझेदार एसियाली विकास बैंकले प्राथमिकताका साथ यस क्षेत्रको यातायात व्यवस्थापनका लागि ‘इमोबिलिटी’परियोजना सञ्चालनमा चासो दिएको बताइन्छ । महानगर प्रमुख आचार्यले पनि आफ्नो मनिला भ्रमणका क्रममा एडिबीको मुख्यालय पुगेर पोखरामा इमोबिलिटी परियोजना सञ्चालनका विषयमा छलफल गरेका थिए । पोखरामा इमोबिलिटी परियोजना सञ्चालन गर्न आवश्यक नीतिगत व्यवस्थाका सम्बन्धमा आज छलफल भएको छ । गण्डकी प्रदेश सरकार, नीति योजना आयोग, विकास साझेदार, यातायात व्यवसायीसमेत सरोकारवालाको सहभागितामा भएको उक्त कार्यशालामा पोखराको सार्वजनिक यातायात सुधारसँगै दिगो व्यवस्थापनका लागि विद्युतीय सवारीमा जोड दिनुपर्ने सुझाव दिइएको थियो । यसका साथै चार्जिङ स्टेसन निर्माण, सार्वजनिक यातायात सेवासम्बन्धी डिजिटल जानकारी, व्यवस्थित बसस्टपको पूर्वाधार तयार गर्ने लगायत विषयमा छलफल भएको हो । नगर प्रमुख आचार्यले यातायात व्यवसायीलाई सेवाको गुणस्तर सुधार गर्न र जनस्वास्थ्य तथा पर्यावरणप्रति सचेत बन्न आग्रह गरे । पोखरालगायत समग्र गण्डकी प्रदेशको सार्वजनिक यातायात व्यवस्थापन गर्ने गरी प्राधिकरण गठनका लागि कानुनी संरचना निर्माण गर्न लागिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए । एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण रामामूर्ति नेतृत्वको प्रतिनिधिमण्डल परियोजनाका विषयमा भइरहेको छलफलमा सहभागी भएको हो ।
अखाद्य वस्तु भेटिएपछि ‘मुस्ताङ गोल्ड’ मदिरा उत्पादकमाथि कारबाही, २ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरेको छ । सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ फेला परेको थियो । मापदण्ड विपरीत रहेकोले महानगरले २ लाख रुपैयाँ जरिवाना गरेको हो । भदौ ४ मा उपभोक्ता स्वयम आफै आएर महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएकोले गुनासो गरेका थिए । विभागले उक्त मदिराको नमुना सङ्कलन गरी भौतिक जाँच गरेको थियो । जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको छ । काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १०(३)(ढ) अनुसार यो कार्य अनुचित व्यापारिक गतिविधि मानिएको छ । साथै ऐनको दफा २९(घ) र दफा ३०(१)(ख) बमोजिम धनुषा डिस्टिलरी प्रालिले कानुन उल्लङ्घन गरेको ठहर गरिएको विभागले जनाएको छ । महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार, जरिवाना रकम काठमाडौं महानगरपालिकाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नुपर्नेछ । काठमाडौं महानगरपालिकाले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गरेको जनाएको छ । महानगरले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बजारमा बिक्री वितरण हुने सबै खाद्य तथा पेय पदार्थको गुणस्तर जाँचलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।