गाईघाटमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु

उदयपुर । त्रियुगा नगरपालिकास्थित वडा नम्बर ११ र १२ को गाईघाट बजार क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको छ । राजधानी काठमाडौं महानगरपालिकासहित देशका विभिन्न नगरपालिकामा सार्वजानिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने कार्य सुरु भइरहँदा गाईघाट बजारमा पनि नक्सा पास विपरित सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको नगर प्रमुख वसन्तकुमार बस्नेतले बताए । उनका अनुसार सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचनालाई नगरपालिकाका इञ्जिनीयरको प्रत्यक्ष उपस्थिति र नक्सा जाँच गरी हटाउने कार्य सुरु भएको हो । गाईघाटस्थित त्रियुगा बसपार्क क्षेत्रबाट गाईघाट डिएमगेट हुँदै त्रियुगा नमूना माविको पछाडिको सडकखण्डदेखि लोकतान्त्रिक चोकसम्मको सडक क्षेत्र र गाइघाट सेतो पुल हुँदै मदन भण्डारी मार्गअन्तर्गत पु्रानो गाईघाटस्थित पिजी चोक तथा बरुवा बसपार्क क्षेत्रसम्मको झण्डै चारकिलो मिटर चौडाइ र पाँच किलामिटर लम्बाइका बजार क्षेत्रका अवैध घर टहरा संरचना हटाउन दुई हप्ता अगाडि नै सूचना जारी गरिएको उपप्रमुख महेश्वरी राईले बताए । सूचना जारी गरेर दिइएको समयावधि समाप्त भइसकेका कारण संरचना हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । लामो समयदेखि गाईघाट बजारको ट्राफिक चोकदेखि पुरानो गाईघाटका पिजी चोकसम्मको दाँयाबाँया सडकखण्ड अतिक्रमण गरेर बसेका तरकारी व्यापारी तथा फलफूल व्यापारीलाई हटाउने कार्य सम्पन्न भएको बताइएको छ । रासस

यी हुन् महानगरपालिकालाई कर नतिर्ने २३ ठूला कम्पनी, चर्चित व्यापारीलाई समाउँदै बालेन

काठमाडौं । काठमाडौं महानरपालिकाले राजश्व नतिर्ने ठूला कम्पनीको नाम संकलन गरिरहेको छ । महानगरपालिकाले ठूला करदातालाई करको दायरामा ल्याउनेको लागि आधार र प्रमाणहरु जुटाउने काम थालेको हो । महानगरपालिकाले अहिले वडागत रूपमा कर नतिर्ने कम्पनी तथा व्यवसायीहरूको नाम संकलन गर्न थालेका काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले बताए । केही दिन अगाडि मात्र महानगरपालिले कर नतिर्नेले कारबाही गर्ने भन्दै २४ घण्टे सूचना प्रकाशन गरेको थियो । अधिकारीका अनुसार महानगरले हालसम्म कर नबुझाउने २३ वटा विभिन्न संस्था तथा कम्पनीको नाम संकलन गरिसकेको छ । ‘महानगरपालिकाले कर उठाउँदैन, कर उठाउने जिम्मा वडाको हो, अहिले वडासँग कर नबुझाउनेको विवरण मागेका छौं,’ उनले भने । ठूला कम्पनी मध्ये केही कम्पनीले भने स्थापनाकाल देखिनै कर महानगरलाई बुझाएका छैनन् । उनका अनुसार महानगरपालिकालाई नेपाल विद्युत प्राधिकरणले करोडौं रुपैयाँ बराबरको कर तिर्न बाँकी छ । महानगरपालिकाका अनुसार प्राधिकरणले स्थापना काल देखिनै महानगरलाई सम्पत्ति विवरण बुझाएको छैन । यस्तै, खाद्य संस्थानले पनि महानगरपालिकालाई हालसम्म कर बुझाएका छैन । महानगरपालिकालाई ह्वाईट फिल स्कूलले पनि महानगरलाई लाखौं रुपैयाँ कर बुझाउन बाँकी छ । रञ्जना ट्रेड सेन्टरले पनि वर्षौंदेखि कर बुझाउन बाँकी रहेको अधिकारीले बताए । रञ्जना ट्रेड सेन्टर कालु गुरुङ, मिनबहादुर गुरुङ, दुर्गा बहादुर श्रेष्ठ लगायतका व्यवसायीको भवन हो । विभागका प्रमुख अधिकारीका अनुसार साझा भण्डार, राष्ट्रिय नाचघर, नेपाल चेम्बर अफ कमर्श, कर्मचारी सञ्चय कोष भवन, नेशनल ट्रेडिङ्ग लिमिटेडले पनि महानगरलाई कर बुझाउन बाँकी छ । यसैगरी नेपाली जामे मस्जिद, कृषि सामाग्री कम्पनी, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताले पनि लामो समयदेखि कर तिरेका छैनन् । आरबी कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, त्रिवेणी कम्प्लेक्सले पनि कर बुझाउन बाँकी रहेको महानगरले जानकारी दिएको छ । काठमाडौं प्लाला नेपाल ट्रष्टको भवन हो । त्रिवेणी कम्प्लेक्स संघाई ग्रुपको हो । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत रहेका रामचन्द्र संघाई त्रिवेणी ग्रुपका मालिक हुन् । कर नतिरेपछि राष्ट्रिय नाचघरको घरजग्गा कारोबार रोक्का भएको छ । ‘राष्ट्रिय नाचघरले घरजग्गा बेच्न भन्दै ४ वर्ष अगाडि महानगरमा आएको थियो, कर नतिरेको भएर घरजग्गा बेच्ने सिफारिस दिएनौं’ । गाडी व्यापार गर्ने कम्पनीहरु एडभान्स र भिजी अटोमोबाइल्स प्रालिले पनि कर महानगरलाई बुझाएका छैन । अधिकारीका अनुसार सिविक, डेण्टल हस्पिटल, ठूला विजनेश कम्प्लेक्स बनाएर भाडा उठाउने व्यापारीहरु प्रदीप रत्न अमात्य, मसिना अमात्य, रविता श्रेष्ठले पनि कर बुझाउन बाँकी छ । महानगरपालिका अहिले वडा गत रुपमा कर नतिर्नेहरुको नाम संकलन गरिरहेको छ । थप विवरण आउँन बाँकी रहेको पनि अधिकारीले बताए । ‘सरकारी भएका कारण कर तिर्नु नपर्ने भन्ने बुझाइ छ, अब सरकारीदेखि प्राइभेटसम्मका निकायहरूले महानगरपालिकालाई कर बुझाउनु पर्ने छ,’ उनले भने ।  

बालेन भन्छन् : हामी सय दिनको दौडमा छैनौं हामीसँग ५ वर्षका योजना छन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकाल १ सय दिन पुगेको अवसरमा सार्वजनिक प्रतिक्रिया दिएका छन् । प्रतिक्रियामा मेयर बालेन शाहले आफुहरुले १ सय दिनमा महानगरले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गरेको बताएका छन् । आफुले गरेका कामको सूची बनाएर मात्रै सफल नभइने भन्दै मेयर शाहले आफुलाई मनमा लागेको कुरा सम्झिदै १ सय दिनको अनुभव र प्रतिवद्धता सार्वजनिक गरेका छन् । यस्ताे छ मेयर शाहले सार्वजनिक गरेको अनुभव र प्रतिक्रिया : हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूचि बनाउदैमा हामी सफल हुन सक्दैनौँ । यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केहि सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ । १. फुटपाथबाट मकैको ठेला हटाएको : यो सन्दर्भले अझै पनि सहि वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफुले पाएको अभिभारा पुरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रुहरुको लागि हो । शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो, जुन पुर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुनस् फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यहि गरियो र गरिदैछ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । यो भन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहि गर्यौँ । जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरुमा सकारात्मकरुपमा देखिन थालेको छ । २. इस्पोट्र्सका लागि १ करोड : गीत गाउने, नाच्ने जस्ता कलाकारहरु प्रति केहि पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरुका लागि त सम्मान भन्दा पनि अफ्ठ्यारा बढि थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । इस्पोर्टस पनि खेलकारुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको बिषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने रु त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ । ३. यमबुद्धको सालिक : एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा इस्पोर्टसको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ बिधा हो । यमबुद्ध सो बिधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफु त्यो बिधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भुमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केहि फेरबदल गर्यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठुलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ । ४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन : मान्छे एउटै जीवनभित्र फरक फरक भुमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भुमिकाका लागि अर्को भुमिका भन्दा विपरित हुनु पर्ने पनि हुन सक्छ । माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनीक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु । ५. फोहोर व्यवस्थापनमा ढिलाइ : यसमा के स्वीकार्नु पर्दछ भने १०० दिन भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौँ । ६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा : जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहिरुपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउँने सेतुका रुपमा मात्रै हामीले ति कार्यहरु गरेका छौँ । सायद जनप्रतिनिधी हुनुको औचित्य पनि त्यहि हो । अन्त्यमा, हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।