वालिङ नगरप्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

स्याङ्जा । वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले कांग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १८० मतान्तरले पराजित गरे । कृष्णले १३ हजार ७७६ तथा उनका निकटतम् प्रतिद्वन्द्वी दिलीपप्रतापले ११ हजार ५९६ मत पाए । यस्तै, उपप्रमुखमा तिवारीले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरेकी हुन् । तिवारीले १२ हजार ८२२ तथा थापाले १२ हजार ३४० मत प्राप्त गरे । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा पराजित भएका थिए । १४ वडामध्ये एमाले वडा नं ३, ४, ६, ७, ८, ९, १२ र १३ मा तथा कांग्रेस वडा नं १, २, ५, १०, ११ र १४ मा विजयी भयो । कुल ३९ हजार ६५९ मतदाता रहेको वालिङमा २६ हजार ७७४ (६७.५१ प्रतिशत) मत खसेको थियो ।

भरतपुरमा दाहालले मतान्तर फराकिलो बनाउँदै

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा जारी मतगणनामा पाँच दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले मतान्तरलाई फराकिलो बनाउँदै लगेकी छन् । भरतपुर महानगरपालिका–७ र ८ को मत गणनाका क्रममा दाहालले दुई हजार मतले अग्रता लिएका छन् । दाहालले ११ हजार ९० मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले नौ हजार ९० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ९५८ मत प्राप्त गरे । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार २४५ र राप्रपाका हिमला गुरुङले सात हजार ३७१ मत प्राप्त गरिन् । गणना भइरहेका वडाहरूमा वडाध्यक्षमा समेत गठबन्धनका उम्मेदवारहरू अग्रस्थानमा छन् । वडा नं ७ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्रमणि काफ्ले ९७४ र नेकपा एमालेका सनतकुमार लामिछानेले ८६२ मत प्राप्त गरे । यस्तै वडा नं ८ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जीवनाथ कँडेलले १९४ मत र नेकपा एमालेका तिलकबहादुर दर्लामी मगरले १५७ मत प्राप्त गरे यसअघि महानगरको वडा नं १, २, ४, ५ र ६ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

धरान उपमहानगरपालिकाको मत गणना अवरुद्ध

काठमाडौं ।  धरान उपमहानगरपालिकाको मत गणना रोकिएको छ । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका समर्थकहरुले नाराबाजी गरेपछि मत गणना रोकिएको हो । धरान–२० को मतपत्रमा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको हो ।