नेकपा एसले गाउँपालिका र जसपाले नगरपालिकाको प्रमुख पद जित्न सकेन
काठमाडौं । स्थानीय तहको निर्वाचनको देशव्यापी मत परिणाम सार्वजनिक हुँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले गाउँपालिका अध्यक्ष र जनता समाजवादी पार्टी, नेपालले नगरपालिकाको प्रमुख पद जित्न सकेको छैन । माधव नेपालको नयाँ पार्टी एकिकृत समाजवादीका उम्मेदवारहरूले ६ वटा नगरपालिकाको प्रमुख पदमा विजयी भइसकेकाे छ । सो पार्टीका नै ५ वटा नगरपालिकाका उम्मेदवारहरू अग्रस्थानमा छन् । हालसम्म एकिकृत समाजवादी पाटीका उम्मेदवारहरु गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुन सकेका छैनन् । यस्तै, उपेन्द्र/बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरूले नगरपालिकाको प्रमुख पदमा निर्वाचित हुन सकेका छैनन् । सो पार्टी उम्मेदवारहरू १४ वटा गाउँपालिकाको अध्यक्ष पदमा भने निर्वाचित भइसकेका छन् । जसपाका उम्मेदवारहरू ६ वटा गाउँपालिकाको अग्रस्थानमा छन् ।
गोदावरीमा दोहोरिए प्रमुख र उपप्रमुख
काठमाडौं । गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भएकी हुन् । प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका थिए । प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा ९एमाले०का गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाएका छन् । उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर कांग्रेसका अधिकारी विजयी भइन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधानाङ्गले १३ हजार ४४ मत पाएकी छिन् ।
बागलुङको बडिगाड अध्यक्षमा महिला निर्वाचित, जिल्लामै पहिलो
गलकोट । बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको गण्डकी थापा विजयी भएकी छिन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा जिल्लामा एक मात्रै महिला पालिका प्रमुखमा निर्वाचित भएकी हुन् । थापाले सात हजार २७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का राजनकुमार पाइजाले पाँच हजार ७०० मत प्राप्त गरे । पराजित राजनकुमार गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका छोरा हुन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि थापा पाइजाको प्रतिस्पर्धी हुन् । ५९२ मतले मेहरसिंह पाइजासँग पराजय भएकाे थापा अहिले उनकै छोरालाई पराजित गर्दै विजयी भएका हुन् । गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार राष्ट्रिय जनमोर्चाका भीमसेन वन विजयी भएका छन् । वनले सात हजार १०३ मत प्राप्त गर्दा एमालेका मीनाकुमारी रायमाझीले पाँच हजार ७२७ मत प्राप्त गरेकी छिन् । १० वडा रहेको बडिगाडमा एमालेले ३, कांग्रेसले ३, नेकपा (माओवादी केन्द्र)ले २ र राष्ट्रिय जनमोर्चाले एक स्थानमा विजय प्राप्त गरेका छन् । वडा नं १ मा राष्ट्रिय जनमोर्चाका बोमबहादुर थापा ६८३ मत, २ मा एमालेका ढालप्रसाद शेरचन ६८० मत, ३ मा एमालेका खड्कबहादुर पुन ६८९ र वडा नं ४ मा माओवादी केन्द्र)का मिलन रेश्मी ९७२ मतले विजयी भएका छन् । यस्तै वडा नं ५ मा एमालेका विष्णुप्रसाद आचार्यले, ६ मा कांग्रेसका वीरबहादुर केसी ५३२ मत, ७ मा कांग्रेसका दीपेन्द्र केसी ७६९ मत, ८ मा एमालेका यामबहादुर श्रीष थापा ६८९ मत, ९ मा नेपाली कांग्रेसका कृष्णबहादुर केसी ६६५ र वडा नं १० मा माओवादीका वीरेन्द्रकुमार बुढा मगर ७७४ मतले विजयी भएका छन् ।