ललितपुर वडा नं १ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

ललितपुर । ललितपुर महानगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ध्रुव तण्डुकारले ४२५ मत प्राप्त गरेका छन् । नगर प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ । कांग्रेसका उम्मेदवार महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेका शाक्यले ४४४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १८१ मत पाएका छन् । महानगरपालिकामा २९ वडा रहेका छन् ।

काठमाडौं महानगरको मेयरमा बालेन र उपमेयरमा डंगोलको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ को ५ हजार ४११ मत गणना गर्दा बालेनले एक हजार ९१७ मत ल्याएर अग्रता कायम राखेका हुन । बालेन मतगणनाको सुरुवाती चरण देखिनै अग्र स्थानमा रहेका छन् । उनलाई पछ्याउँदै एमालेका उम्मेदवार केशब स्थापितले १ हजार १८९ मत ल्याएका छन् । स्थापीतलाई पछ्याउँदै बाम गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ९९२ मत पाएकी छिन् । यस्तै उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले मतान्तर ठूलो छ । उनले १७४३ मत पाएकी छिन् भने सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५१६ मत ल्याएका छन् । विवेकशील साझाका उम्मेदवार कृति कंसाकरले ७६, राप्रपाका बिनिता मगैयाले ४१३ पाएकी छिन् ।

चन्द्रागिरिमा कांग्रेसको अग्रता: वडा नं १ मा कांग्रेस र २ मा माओवादी विजयी

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (माओवादी केन्द्र ) विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनकोे मतपरिणामअनुसार वडा नं १ मा कांग्रेसका उम्मेदवार हरिश्याम रानामगरले एक हजार १२१ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र केसीले एक हजार ५७ मत प्राप्त गरे । यस्तै, चन्द्रागिरि –२ को वडाध्यक्षमा माओवादीका उम्मेदवार भाइकृष्ण तामाङले ९४९ मत प्राप्त विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङले ७२५ मत प्राप्त गरे । चन्द्रागिरि नगर प्रमुखमा कांग्रेसले अग्रता लिएको छ । नगरपालिकाभित्रका पाँच हजार ६७७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार घनश्याम गिरीले दुई हजार ४१३ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले एक हजार ८९४ मत प्राप्त गरेकाे जनाइएको छ ।