गोरखा नगरपालिका १ मा कांग्रेसका कुँवर विजयी
गोरखा । गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गोविन्दप्रसाद भट्टराइले ३४१ मत प्राप्त गरेकाे निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको अन्तिम परिणाम घोषणा गर्न भने बाँकी छ । वडा नं १ मा कांग्रेस प्रमुख पदका उम्मेदवार राजनराज पन्तले ४८३ र उपप्रमुख मसलीमाया थोकरले ४९५ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादीका प्रमुख पदका उम्मेदवार कृष्णराना मगरले ३८६ मत प्राप्त गरेका छन् । मतपरिणामअनुसार विजयी कांग्रेस महिला सदस्यका उम्मेदवारले ४६७, दलित सदस्यमा ४८०, पुरुष खुला सदस्यमा ५२३ र महिला खुला सदस्यका उम्मेदवारले ५१४ मत ल्याएर विजयी भएका हुन् । वडा नं १ मा कूल एक हजार २१२ मत खसेको थियो ।
काठमाडौ महानगरपालिकाको मतगणना सुरु, कसले मार्ला बाजी ?
काठमाडौं । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो । मतगणना सुरु गर्ने निर्णयसँगै मतपेटिका खोलेर मत मिलाउने काम सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । यस्तै सुरुमा वडा नं १ र ३२ को मत गणना गरिने निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो । काठमाडौं महानगरपालिकामा एमालेका केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेदवार वालेन्द्र साह, विवेकशील साझाबाट समीक्षा बास्कोटालगायत ५६ जना मेयरका उम्मेदवार रहेका छन् ।
कञ्चनपुरकाे लालझाडी–६ मा कांग्रेसका जोशी विजयी
कञ्चनपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको भएका छन् । लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का फूलाराम चौधरीलाई ११५ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित वडाध्यक्ष जोशीले ४६४, चौधरीले ३४९ र एमालेका उम्मेदवार जीतबहादुर चौधरीले २६६ मत प्राप्त गरेका छन् । यसैगरी बेलौरी नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार ८८३ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)का नगरप्रमुख पदका उम्मेदवार पोतिलाल चौधरीले ३८९, कांग्रेसका हरेन्द्रसिंह विष्टले २४९ र एमालेका कमला बोहराले २४५ मत प्राप्त गरेका छन् । मतगणना भइरहेका अन्य पालिकाको मतपरिणाम आउन बाँकी छ ।