नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी
त्रिशूली । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिए । उनका अनुसार नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अनिलकुमार घलेले ६९ मत प्राप्त गरेका छन् । वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३ , माओवादीका उम्मेदवारलाई ६९, नेकपा (एमाले)को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो । अहिले सोही गाउँपालिकाको वडा नं २ को मतगणना जारी छ ।
बैंकर, व्यवसायी र उद्योगीको मतदान : कसले के भने ?
काठमाडौं । स्थानीय तहको निर्वाचनमा बैंकर, व्यवसायी तथा उद्योगीहरूले पनि सक्रियताका साथ भाग लिएका छन् । शुक्रबार देशभर भइरहेको स्थानीय तह निर्वाचनमा उद्योगी व्यवसायीदेखि बैंकरहरुले मतदान गरिरहेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै अरूलाई पनि मतदानमा भाग लिन आग्रह गरिरहेका छन् । उद्योगी तथा नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले नवलपुरको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गरेका छन् । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि काठमाडौंको सितापाइला स्कुलबाट मतदान गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा मतदान गरेको तस्वीर पोष्ट गर्दै लेखेका छन्, ‘मलाई मेरो संविधानले दिएको सबैभन्दा ठूलो शक्ति ।’ महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मत खसालेका हुन् । उनी आईएमई ग्रुपका अध्यक्ष पनि हुन् । नेपाल उद्योग वाणिज्य महासंघकै पूर्व अध्यक्ष पशुपति मुरारकाले पनि काठमाडौंको थापाथलीको गुहेश्वरी माविबाट मतदान गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोट हालियो, आशा गरौ हाम्रो एक एक भोटले काठमाडौंको मुहार फेरिने छ ।’ यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले पनि काठमाडौं महानगरपालिका वडा नं १ नारायणी हिटी दरबारबाट मतदान गरेका छन् । उनले पनि सामाजिक सञ्जालमा मतदान गरेको तस्वीर राख्दै लेखेका छन्, ‘मैले भोट गरेँ, के तपाईंले गर्नु भयो ? यदि छैन भने कृपया आफ्नो मतदान केन्द्रमा जानुहोस् र गरिहालनुस् ।’ यस्तै, पूर्वबैंकर पर्शुराम कुवँर क्षेत्रीले पनि मतदान गरेका छन् । उनले आफुले मतदान गरेको उल्लेख गर्दै सामाजिक सञ्जालमा भनेका छन्, ‘यो प्रविधिको युगमा ढुंगे युगिन मतदान गरियो, मतगणना गर्न कति दिन लगाउने हुन्, आगामी निर्वाचनमा सबैले प्रयोगमा ल्याइसकेको प्रविधि प्रयोग गर्न पाईयोस् ।’ यस्तै, आइएमई ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकालले पनि काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । शुक्रबार देशभर स्नाथीय तहको मतदान भइरहेको छ । पछिल्लो अपडेट अनुसार ५० प्रतिशत मतदान सकिएको छ ।
स्थानीय निर्वाचन : यस्ता छन् रोचक र दु:खद घटनाहरू
काठमाडौं । आज देश निर्वाचनमय छ । निर्वाचसँग जोडिएर आज धेरै घटना भएका छन् । आज अहिलेसम्मको अपडेट अनुसार अहिलेसम्मकै जेठो मतदाता तनहुँकी ११३ वर्षिया गोपीमाया पोखरेलले मतदान गरेकी छन् । त्यस्तै बैतडीका ८४ वर्षीय हरिसिंह भाटले आफ्नो मताधिकार प्रयोग गर्न पाए तर उनी घर फर्कन सकेनन् । शुक्रबार दोगेडा केदार गाउँपालिका –३ स्थित सनानत धर्म मावि विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट हालेर घर फर्किने क्रममा अचेत अवस्था ढलेर बेहोस भएका थिए । बेहोस् भएका उनलाई आफन्तले अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा ७० वर्षीया पुनारा कार्कीलाई अक्सिजनको सपोर्टसहित मतदानस्थल पुगेर मतदान गरेकी छन् । तनहुँको ब्यास नगरपालिका–८ मा स्टेचरमा बोकेर ल्याइएका ९९ वर्षीया विर्खसिं गुरुङको पनि मत खसेको छ । उनको साटो उनका छोरा नारायण गुरुङले गाविस भवन मतदान केन्द्र ‘ख’ बाट मतदान गरिदिएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका अन्तर्गत भीमढुंगाको बालबोध मावि मतदान केन्द्रमा ९६ वर्षीय काइँला तामाङ अक्सिजन सिलिण्डर लगाएकै अवस्थामा मतदान गर्न गएका छन् । यता मुगुको खत्याड गाउँपालिका -८ सुकाढिक गाउँका ३ दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छन् । हुम्लाको चंखेली गाउँपालिका–२, महादेव मावि मतदान केन्द्रमा झडप हुँदा घाइते भएका निर्वाचन अधिकृतलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप हुँदा मतदान अधिकृतसहित २ जना घाइते भएका थिए । घाइते भएका निर्वाचन अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी कावा रोकायलाई हेलिकप्टरबाट उद्धार गरिएको हो । त्यस्तै स्याङजामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते भए । ज्यान गुमाउनेहरूमा ९ वर्षदेखि ८६ वर्षसम्मका छनन् । स्याङजा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबास बस्ने ६३ वर्षीय माया पुन, ९ वर्षीय प्रविण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीय डेम कुमारी कुँवर र ८६ वर्षीय हरिकला कुँवरले ज्यान गुमाएका छन् । त्यस्तै अन्य ज्यान गुमाउनेमा ५० वर्षीय टेककला कुँवर, २५ वर्षीय जमुना कुँवर, ७० वर्षीय भीमकला कुँवर, ७० वर्षीय मुवा कुमारी कुँवर, ४३ वर्षीय पोट कुमारी कुँवर,४३ वर्षीय जानुका कुँवर, ४२ वर्षीय ज्ञान दली कुँवर, ५० वर्षीय मीना कुँवर र फुलदेवी कुँवर छन्। त्यस्तै आज विभिन्न स्थानमा झडप भएको छ । देशका ७५३ मतदान केन्द्रमध्ये १६ स्थानमा झडप भएका छन् । झडपलाई नियन्त्रण गर्न ९ स्थानमा प्रहरीले हवाइ फायर गर्नु परेको छ । उक्त झडपमा परेर सयौं घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा,शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हवाई फायर, त्यस्तै कौडन्यामा पनि विवाद भएपछि हवाई फायर भएको छ । त्यस्तै बाजुराको बुढनन्दा नपामा हवाइ फायर भएको छ । प्रहरीका अनुसार झडप भएका अधिकांश स्थानको स्थिति नियन्त्रणमा आइसकेको र मतदान पुन: सञ्चालनमा आइसकेको छ भने सर्लाहीको धनकौलमा मतदान रोकिएको छ । त्यस्तै झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्णलाई एक मतदातालाई ८८ मतपत्र बाँडेको आरोपमा कारबाही गरेको हो । त्यस्तै मादकपदार्थ सेवन गरी मतदानस्थलमा पुगेको आरोपमा झापा गाउँपालिका ६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेत कारबाहीमा परेका छन् । अर्को पनि दु:खद घटना छ । मतदान सुरु हुनुपूर्व प्रहरीले मकवानपुको हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–७ र ८ को सिमाना फाएरलाइनमा उक्त शंकास्पद वस्तु देखा परेको थियो । त्यस्तै बझाङको जयपृथ्वी नगरपालिका-१ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको भेटिएको छ । दुवै स्थानको शंकास्पद बस्तुलाई सुरक्षाकर्मीले डिस्पोजल गरिसकेको छ ।