बैंकहरुलाई राष्ट्र बैंकको ‘मेसेज’: ह्याकिङको सानोतिनो धम्कीले डराउनु पर्दैन, सतर्क भने रहनु
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्क रहन निर्देशन दिएको छ । बिहीबार कुमारी बैंकको सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्किपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सतर्क रहन निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले ह्याकरहरुको सानोतिनो धम्कीले डराउनु नपर्ने अवस्था भएपनि सतर्क भने रहनु पर्ने बताए । ‘अहिले सानोतिनो धम्किबाट हामी डराउनु पर्ने अवस्था छैन, ह्याकरले थर्काकाउने मात्रै हो, केही गर्न सक्दैन, ढुक्क भए हुन्छ, हाम्रो प्रविधि बलियो छ ,थकाउनेले थर्काउँदै गर्छन्, हिजोको दिनमा राष्ट्र बैंकलाई पनि धम्की आएकै हो,’ सह–प्रवक्ता पोखरेलले भने । उनका अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्क रहन निर्देशन दिँदै आएको छ । ‘हामीले यसअघि पनि दिँदै आएका थियौं, यो घटना पछि सतर्क रहन भनेका छौं,’ उनले भने । बिहीबार कुमारी बैंकलाई ह्याकरले धम्की दिएपछि नेपाली बैंक तथा वित्तीय संस्थामा तरंग मच्चिएको थियो । गत साउनमा नेपाली १५ बैंकहरुलाई ह्याकरको धम्की आएको थियो । त्यतिखेर नेपालका बैंकहरु ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनी दिइएको थियो । सो घटनापछि कुमारी बैंकलाई धम्कि आएको हो । कुमारी बैंकले ह्याकरको धम्कि आएपछि बिहीबार दिनभर आफ्नो सिस्टम नै बन्द गरेको थियो । दिनभर सिस्टमलाई चेक गरेपछि साँझ मात्रै बैंकले सिस्टम खुला गरेको थियो । कुमारी बैंकलाई धम्की कसले र किन दियो भन्ने विषयमा पनि बुझ्ने काम भइरहेको बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए ।
सम्पदा पुनःनिर्माणमा बजेटको अभाव छैन: मेयर शाक्य
काठमाडाैं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव नभएको स्पष्ट पारेका छन् । कामपा–१८ मा रहेको (देवघर)को खरु पूजा (मूल ढोकाको पूजा) गर्दै प्रमुख शाक्यले उक्त जानकारी गराएका हुन् । देवघरको पुनःनिर्माण भइरहेको छ । पूजापछि अमूर्त सम्पदासँग जोडिएका मूर्त सम्पदा संरक्षणका विषयमा कुरा गर्दै प्रमुख शाक्यले परम्परागत एवं तान्त्रिक नाच, वाद्यवादन, शृङ्गारजस्ता धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापले काठमाडौँका मूर्त सम्पदालाई जीवन्त बनाइराखेको उल्लेख गरे । ‘एकको अभावमा अर्को अधुरो हुन्छ । त्यसैले हामीले सम्पदासँग जोडिएका सबै पक्ष (मूर्त–अमूर्त) जोगिने गरी पुनःनिर्माणका लागि राज्यका तर्फबाट लगानी गर्नुपर्छ’, उनले भने । त्यसक्रममा वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले देवघर पुनःनिर्माणका लागि वडाले महानगरसँग गर्नुपर्ने प्रशासनिक र प्राविधिक समन्वयमा कमी हुन नदिने बताए । भवन निर्माणका लागि छ करोड लाग्ने अनुमान गरिएको छ । महानगरले यसका लागि गएको वर्ष एक करोड र चालु आर्थिक वर्षका लागि एक करोड छुट्याएको छ । किस्ता–किस्तामा गरी कामपाबाट एक करोड २८ लाख ५८ हजार प्राप्त भइसकेको निर्माण समितिका कोषाध्यक्ष राजा महर्जनले बताए । देवी नाचमा सात जना देवगण हुने भएकाले भवनलाई साततले बनाइने भएको हो । रासस
स्थानीय युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं: अध्यक्ष खड्का
उदयपुरको रौतामाई गाउँपालिकाका अध्यक्ष हुन् गजेन्द्र बहादुर खड्का । उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । यो बीचमा शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको उनी बताउँछन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि पालिकाको विकास निर्माणको कामले तीव्रता लिएको उनी दाबी गर्छन् । यसका साथै निरन्तरको प्रयास, संघीय सरकारको सहयोग तथा स्थानीय आवश्यकतासँग जुध्दै पालिकाले पूर्वाधार विकासमा एक पछि अर्को फड्को मारिरहेको अध्यक्ष खड्काले बताए । उनै अध्यक्ष खड्कासँग चार वर्षको अवधिमा गाउँपालिकाले गरेको उपलब्धि, सामाजिक रूपान्तरण, काम गर्दाका चुनौती, निर्वाचनको समयमा बोलेका कुराहरूको कार्यान्वयन, लगायतका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ः तपाईं स्थानीय तहमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ, यो चार वर्ष अवधिमा गाउँपालिकाको प्रमुखका रूपमा काम गर्दाको अनुभव कस्तो रह्यो ? चार वर्षको कार्यकाल निकै सकारात्मक रह्यो भन्ने मैले महसुस गरेको छु । निर्वाचित भएर आएपछि सुरुवाती दिनमा कानुन, कार्यविधि केही नियम तथा निर्देशिकाको अभावका कारण केही समस्याहरू झेल्नु पर्यो । कर्मचारी अभावको कारण पनि केही समस्या आए । हामी माथि जनताका आशा र अपेक्षा धेरै थिए । हामीले अब अधिकांश कामहरू गरिसकेका छौं । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा धेरै कामहरू गरेको छ । यस अवधिसम्म आइपुग्दा हामीले धेरै रचनात्मक कामहरू गर्न सफल भयौं । स्थानीय सरकारले जनशक्ति व्यवस्थापन कानुन कार्य नियमावलीको निर्माण, कार्यान्वयन, अर्ध न्यायिक संरचनाको व्यवस्थापनजस्ता महत्त्वपूर्ण विषयहरूमा धेरै नै अगाडि बढेर आगामी दिनको लागि मार्ग खुला भएको छ । सुरुवाती दिनमा अप्ठ्यारो महसुस भयो, धेरै संर्घषका बाबजुद अब हामी सजिलो अवस्थामा आइपुगेका छौं । अनि चुनावी बाचा कति पुरा गर्नु भयो नि ? निर्वाचित पदाधिकारीहरूको कार्यकाल चार वर्ष सकिएको छ । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्नेछौं भनेका थियौं । अहिले ती काम गरिरहेका छौं । खर्चिलो र भौगोलिक विकटता विकासका लागि बाधकका रूपमा देखा परेको छ । प्रतिकूलताकै बिचमा गाउँपालिकाका धेरै काम गर्न सफल भएका छौं । हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका ८० प्रतिशत कामहरू सकिसकेका छौं भने पालिकामा थप कामहरू भएका छन् । पालिका भित्र विकास निर्माणका धेरै कामहरू भएका छन्, तर जनताले अनुभूति गर्ने गरी के–के काम गर्नुभयो नि ? स्थानीय सरकार सञ्चालन भएपछि पालिकामा धेरै विकास निर्माणको कामहरू भएका छन् । एक क्षेत्रको मात्र विकास गरेर नागरिकलाई आत्मनिर्भर र संवृद्ध बनाउन सकिँदैन भन्ने कुरा हामीले पहिला नै अनुभूति गरेको विषय हो । त्यस कारणले गर्दा हामीले आर्थिक, सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण संरक्षण आदि सबै क्षेत्रको विकास गरी नागरिकलाई कसरी सुखमय बनाउने भन्ने कुरामा जोड दिँदै आएका छौं । पालिकाको प्रत्येक वडामा सडक सञ्जाल पुर्याउन सफल भएका छौं । नागरिकको घरमा विद्युतको व्यवस्थापन गरेका छौं । विद्युत नपुगेको ठाउँमा पनि हाम्रो कार्यकाल भित्र नै बिजुली पुर्याउने योजना बनाएका छौं । यसका साथै शिक्षा क्षेत्रमा पनि आमूल परिवर्तन गर्नका लागि प्राविधिक शिक्षालाई बढि महत्त्व पालिकाले दिएको छ । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं । यसै गरी हामीले स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रो कामहरू गरेका छौं । पालिकाको केही स्वास्थ्य संस्थामा प्रजनन् केन्द्रको स्थापना गरेका छौं । स्वास्थ्यसंस्थाको भवनहरू निर्माण भएका छन् । १० शैयाको अस्पताल निर्माण गर्ने काम अगाडि बढेको छ । हामीले एकमात्र क्षेत्रमा नभई समग्र पालिकाको विकास निर्माणको काममा लागेका छौं । पर्यटन क्षेत्रमा पनि महत्त्वपूर्ण काम भएको छ । यो अवधिसम्म आइपुग्दा पालिकाको पुर्वाधार विकासको कामहरु धेरै नै भएका छन् । सडक सञ्जाल पालिकाको प्रत्येक वडामा पुगेको छ, तर पीच भने भएको छैन, सडक पीच किन नगर्नुभएको ? भएका सडकहरूको गाउँपालिकाले तर्फबाट सकेसम्म सडक स्तारोन्नती गरेका छौं । कालोपत्रे गर्न गाउँपालिकाको बजेटले भ्याउँदैन । पहाडि भूगोल भएको कारणले पनि कालोपत्रे गर्ने काममा समस्या छ । त्यसका बाबजुद पनि वडा नं. ७ मा २ किलोमिटर सडक कालोपत्र (पीच) गर्ने भनेका छौं । कार्यकालको बाँकी अवधिमा सम्पन्न हुने अर्थात् यो चाहिँ मेरै कार्यकालमा पूरा भयो भनेर देखाउने कुनै काम छ ? पालिकामा गर्नुपर्ने काम धेरै छन् । बिस्तारै एकपछि अर्को काममा सफलता पालिकाले पाउँदै छ । पालिकाका धेरै कामलाई निरन्तरता दिएका छौं । गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छ । उक्त भवन भ्याट बाहेक साढे ७ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । यस भवनको पनि निर्माण सम्पन्न गर्ने हो । बिजुली नपुगेका वडामा बिजुली पनि पुर्याउने हो । हामीले सञ्चालन गरेका तर पूरा नभएका योजनाहरू पुरा गर्नतर्फ पनि लागेका छौं । कामको सिलसिलामा संघीय सरकार र प्रदेश सरकारसँग महानगरको सम्बन्ध र समन्वयको अवस्था चाहिँ कस्तो रह्यो ? आवश्यकता अनुसार संघ र प्रदेश सरकारसँग पनि राम्रो नै समन्वय भयो । स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ? पालिकामा ठुलाठुला कलकारखाना खोल्न सक्ने सम्भावना छैन । हामीले युवा शक्तिलाई गाउँमै रोजगारीसँगै आय आर्जनका सम्भावनामा उत्प्रेरित गराउनको लागि जोड दिइरहेका छौं । हाम्रो पालिकाको तर्फबाट युवालाई रोजगार बनाउनको लागि भनेर नै विभिन्न स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पनि धेरै यूवाले रोजगार पाउन सफल भएका छौं । युवाहरूलाई व्यवसायिक कृषि, पशु र पर्यटन क्षेत्रमा जोडिन आग्रह गरेका छौं । युवाहरूलाई रोजगारीमूलक बनाउने कुरामा पनि उक्तिकै हाम्रो ध्यान गएको छ । कृषिलाई व्यावसायिकीकरण गर्न गाउँपालिकासँग के–कस्ता योजना छन् ? कृषिलाई व्यावसायिकीकरण गर्नतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । खास गरी हामीले पालिकाको भूगोल अनुसारको पकेट क्षेत्र छुट्याई कृषिको कामहरू अगाडि बढाएका छौं । कृषिलाई अधुनिकिकरण र व्यावसायिकीकरण गर्न नै पालिका लागेको छ । कृषि भनेको स्वास्थ्यसँग पनि जोडिनुपर्छ भनेर अर्गानिक खेतीलाई जोड दिएका छौं । कृषि क्षेत्रमा पनि धेरै राम्रो काम गरेका छौं । पालिकाले कृषकहरूलाई अनुदान पनि दिँदै आएको छ । पालिकामा भएको वडा अनुसारको पकेट क्षेत्र पनि छुट्याएका छौं । कोरोनाको पहिलो र दोस्रो लहरमा गाउँपालिकाले कति बजेट खर्च गर्याे ? गाउँपालिकाले कोभिडको पहिलो र दोस्रो लहर रोकथाम र नियन्त्रण गर्नको लागि लगभग ८० लाख रुपैयाँ खर्च गरेको छ । अन्त्यमा, के भन्न चाहनु हुन्छ ? स्थानीय सरकार भनेको नागरिक नजिकैको सरकार हो । हामी जनतासँग प्रत्यक्ष रूपमै जोडिइरहेका छौं । त्यस कारणले गर्दा जनताको हरेक सुख दुःखमा हाम्रो साथ रहने छ । पालिकामा भएको स्रोत र बजेटले भ्याएसम्म विकास निर्माणको काम अगाडि बढाएका छौं । गाउँपालिकालाई संवृद्ध र नमुना बनाउन हामी सबै जना हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्न चाहन्छु । कतिपय ठाउँमा चाहेर वा नचाहेर भूगोल तथा परिस्थिति र महामारीको कारणले केही समस्या पनि आए । नागरिकहरुले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौं, त्यसैले हामीलाई यति बेला सरसल्लाह एवं सुझाव पनि दिन अनुरोध गर्छु ।