गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा

फाइल फाेटाे काठमाडौं । माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ । बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक–पटक गुनासा आउने गरेको र एकै प्रकारको भाडादर कायम नभएकाले पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिसहित सरोकार पदाधिकारीकोे छलफलबाट भाडादर कायम गरिएको गाउँपालिकाले जनाएको छ । प्रालिद्वारा पोखराको हरिचोकबाट गाउँपालिकाको खोराकोमुख लुम्रे मार्गमा सञ्चालन हुने बसको अधिकतम भाडा ११० रुपैयाँ कायम गरिएको गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले बताए । उनका अनुसार सोही मार्गअन्तर्गत पर्ने अन्य स्थानको भाडा पनि समायोजन गरिनेछ । यातायात व्यवस्था विभागले गत असार २९ गतेदेखि लागू हुने गरी अन्तरप्रदेश मार्गमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेपछि गाउँपालिकाभित्रका बसले पनि भाडा वृद्धि गरेको थियो । गण्डकी प्रदेशको प्रदेश सवारी तथा यातायात ऐनबमोजिम समितिले भाडा समायोजन नगरेसम्मका लागि अहिले तोकिएको भाडादर लागू हुने बताइएको छ । यसैगरी, पोखराबाट टुसे ग्राउण्ड मार्गमा पृथ्वी राजमार्ग बस कम्पनीबाट सञ्चालन हुने बसको भाडादर १०० रुपैयाँ कायम गरिएको र सोहीअनुसार उक्त मार्गको अन्य स्थानको भाडासमेत समायोजन गरिएको गाउँपालिकाले जनाएको छ । “भाडादर कायम नहुँदा बसका कर्मचारी र यात्रुबीच विवाद हुने गरेको थियो । अहिले गाउँपालिकाभित्रका मुख्य मार्गको अधिकतम भाडा तोकेका छौँ”, प्रवक्ता शाहीले भने, “छलफलका आधारमा पुनः यसलाई परिमार्जित गर्दै सबै वडाको भाडा तय गर्नेछौँ ।” यसैगरी आगामी मङ्सिर १ देखि विभिन्न विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरी बिहान ५ः०० बजेदेखि गाउँपालिकाबाट बस सञ्चालन गरिने भएको छ । विभिन्न विद्यार्थी सङ्गठनले गाउँपालिकाबाट बिहानको समयमा बस सञ्चालन नहुँदा विद्यार्थीले पोखरामा कोठाभाडामा लिएर बस्नुपर्ने अवस्था आएकाले घरबाटै क्याम्पस जानका लागि बसको व्यवस्था गर्न माग गरेका थिए । गाउँपालिकाबाट पोखराका विभिन्न विद्यालय र विश्वविद्यालयमा बिहानी तथा दिवासत्रका विद्यार्थीलाई मध्यनजर गरी मङ्सिर १ गतेदेखि वडा नं १ को टुसे ग्राउण्डबाट घाचोक हुँदै पोखरा, वडा नं ५ को हाइड्रोबाट रिभान, लाहाचोक हुँदै पोखरा र वडा नं ८ को लुम्रे र अन्य वडाबाट विद्यार्थी सङ्ख्याका आधारमा बिहान ५ः०० बजेदेखि पोखरासम्म बस सञ्चालन हुने प्रवक्ता शाहीले जानकारी दिए । गाउँपालिकाभित्र सञ्चालन हुने सार्वजनिक बसले सरकारले तोकेको ४५ प्रतिशत विद्यार्थी छुट परिचयपत्रका आधारमा उपलब्ध गराउन बस कम्पनी सहमत भएका छन् । रासस

व्यास नगरपालिकाको आन्तरिक आम्दानी १५ करोड, सबैभन्दा बढी प्राकृतिक स्रोतसाधनबाट

दमौली । तनहुँको व्यास नगरपालिकाले १५ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १५ करोड चार लाख १७ हजार ७१० आन्तरिक आम्दानी गरेको हो । उक्त अवधिमा २० करोड ४७ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य भए पनि कोरोना कहरका कारण लक्ष्य अनुसारको आन्तरिक आम्दानी हुन नसकेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । व्यास नगरपालिका जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी आन्तरिक आम्दानी गर्ने पालिका हो । नगरपालिकाले सम्पत्ति, मालपोत, घरबहाल कर, प्राकृतिक स्रोतसाधन लगायतबाट आन्तरिक आय सङ्कलन गर्दै आएको छ । नगरपालिकाले सबैभन्दा बढी प्राकृतिक स्रोतसाधनबाट पाँच करोड २५ लाख ३७ हजार ४० सङ्कलन गरेको छ । नगरपालिकाले प्राकृतिक स्रोतसाधनबाट नौ करोड ८० लाख आन्तरिक आय हुने लक्ष्य राखेको थियो । सम्पत्तिकर एक करोड १४ लाख २० हजार ७८४, मालपोतबाट ५३ लाख ४६ हजार ९२७, घरबहालबाट ७५ लाख ९६ हजार ४२५, घरभाडा करबाट एक करोड ६५ लाख ९८ हजार ६२२, मेसिनरी उपकरणबाट ५९ हजार ३००, लिलाम बिक्रीबाट २४ हजार, मिलापत्रबाट २२ हजार ५२०, सिफारिसबाट एक करोड २८ लाख पाँच हजार दुई २१६, विविध फारमबाट दश लाख दुई हजार ७८१, अन्य प्रशासनिक सेवाबाट ६८ लाख ३७ हजार ६३७, सवारी पार्किङबाट आठ लाख १७ हजार ९० सङ्कलन गरेको छ । घरनक्शा पासबाट एक करोड ४१ लाख ५२ हजार २३०, नाता प्रमाणितबाट दुई लाख ६७ हजार ७३५, अन्य विविधबाट चार लाख ८६ हजार १२० र दर्ता र नवीकरणबाट १९ लाख ३३ हजार एक सय सङ्कलन भएको छ । त्यस्तै दण्डजरीवानाबाट छ लाख १५ हजार एक सय ४१, धरौटी सदरस्यबाट १६ लाख ३४ हजार ६१९, सरसफाइबाट ६५ लाख ७३ हजार ४८९, स्थानीय वातावरण शुल्कबाट ७६ लाख ५९ हजार २३७, व्यवसाय करबाट १८ लाख ९८ हजार १०२ सङ्कलन भएको छ । नगरपालिकाले सम्पत्ति करमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । सम्पत्ति करबाट एक करोड ११ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा चार लाख २० हजार ७८४ बढी सङ्कलन भएको छ । मालपोत करबाट ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा तीन लाख ४६ हजार ९२७ बढी सङ्कलन भएको छ । घरबहाल करमा भने लक्ष्यभन्दा कम सङ्कलन भएको छ । एक करोड ५० लाख सङ्कलनको लक्ष्य रहेकामा ७४ लाख तीन हजार ५७५ कम सङ्कलन भएको छ । प्राकृतिक स्रोतसाधनबाट पनि लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको छ । नौ करोड ८० लाख सङ्कलनको लक्ष्य रहेकामा चार करोड ५४ लाख ६२ हजार ९६० कम राजस्व सङ्कलन भएको छ । सिफारिसबाट एक करोड सङ्कलनको लक्ष्य रहेकामा २८ लाख पाँच हजार २१६ बढी सङ्कलन भएको छ । अन्य प्रशासनिक सेवाबाट ३३ लाख सङ्कलनको लक्ष्य रहेकामा ३५ लाख ३७ हजार ६३७ बढी सङ्कलन भएको नगरपालिकाले जनाएको छ । सरसफाइतर्फ र ५० लाखको लक्ष्य रहेकामा १५ लाख ७३ हजार ४८९ बढी सङ्कलन भएको छ भने स्थानीय वातावरणतर्फ एक करोडको लक्ष्य रहेकामा २३ लाख ४० हजार ७२७ कम सङ्कलन भएको छ । रासस

बाँकेकाे डुडुवा गाउँपालिकामा हरेक छाेरीकाे लागि कन्या मुद्दति खाता

बाँके । जिल्लाको डुडुवा गाउँपालिकाले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत ‘कन्या मुद्दति खाता’ खोलिदिए पछि अभिभावक खुशी भएका छन् । छात्राको पढाइलाई निरन्तरता दिन र उमेर नपुगी विवाह हुने प्रचलनलाई अन्त्य गर्न गाउँपालिकाले सो अभियान सुरुआत गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत सबै बालिकाको नाममा खाता खोलिदिने व्यवस्था मिलाएको जानकारी दिए । उनका अनुसार यस्ता बालिकाको बैँक खातामा १० हजार जम्मा गरिदिने र २० वर्ष नपुगी निकाल्न नपाउने व्यवस्था गरिएको छ । उनले भन्नुभयो ‘छोरीको पढाइ पूरा होस् र उमेर नपुगी विवाह पनि नहोस् भन्ने उद्देश्यले अभियान थालेका हौँ, छोरीले हरेक किसिमबाट असुरक्षित महसुस गर्नुपर्ने वातावरण अन्त्य गराउनु हाम्रो प्रमुख ध्येय हो ।’ गाउँपालिकाले अभिभावकको मृत्यु भएमा वा आफैँ कुनै कारणले अशक्त भए खाताको रकम निकाल्न पाउने गरी कार्यविधिसमेत बनाएको छ । यसबाट अभिभावक निकै उत्साहित भएका छन् । डुडुवाका छ वडाभित्रका सबै बालिकाका नाममा कन्या मुद्दति शिक्षा कार्यकम लागू गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । यसका लागि यस वर्ष ४० लाख छुट्याइएको छ । उक्त कार्यक्रममा समेटिन बालिका स्वास्थ्य सस्थामा जन्मिएको प्रमाणपत्र, जन्मदर्ता तथा वडा कार्यालयको सिफारिस हुनुपर्छ । बेटी बचाऊ, बेटी पढाऊँ नीति तथा कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा जन्मिने नवजात छोरीका नाममा कन्या मुद्दति खाता सञ्चालन गरिरहेको उनले जानकारी दिए । खातामा जम्मा भएको रकम उनी २० वर्ष पुगेर नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि उनैलाई हस्तान्तरण गरिदिने व्यवस्था कार्यविधिमा छ । अभिभावकको रोहबरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने र नगद पनि जम्मा गरिदिने व्यवस्था गरेको छ । “बैंक खाता छोरीको शिक्षा र सुरक्षालाई ध्यान दिइ अभियान ल्याएका हौँ,’ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले भने, ‘खासमा छोरीहरुको साक्षरतादर बढाउने र बालविवाह न्यूनीकरण गर्ने यसको उद्देश्य हो । यसका साथै अभिभावकको क्षति कम गर्न रु पाँच लाखको दुर्घटना बिमा पनि गराएका छौँ ।’ खाता खोल्दा सुरुमा अभिभावक आफैँले रकम जम्मा गर्नुपर्ने र गाउँपालिकाले पाँच हजार थपिदिने योजना बनाइएको थियो । कार्यक्रमका श्रोत व्यक्ति दिपेश चौधरीले भने, ‘धेरै अभिभावकको पैसा तिर्न सक्ने हैसियत नभएकाले २०७८ साउनदेखि भने पालिकाले नै १० हजार राखेर खाता खोलिदिने निर्णय गर्याे ।’ गाउँपालिका शिक्षा अनि चेतनाको दृष्टिले पछाडि छ । छारीलाई पढाउन खासै चासो दिइन्नँ । अधिकांश छोरी घरको सानोतिनो काम र गाईवस्तु चराउनमै बिताउँछन् । धेरै अभिभावकले छोरीलाई विद्यालय नपठाउने गरेको शिक्षक गोपीचन्द्र बर्माले बताए । उनले भने, ‘कति त नाबालकमै विवाह गरेका कारण विद्यालय आउँदैनन्, पालिकाको योजना लागू भएसँगै छोरीको उच्च शिक्षा पढ्ने चाहने पूरा हुनेमा विश्वास बढेको छ ।’ विसं २०७७ साउनपछि जन्मेका सबै छोरीको बैंक खाता खोलिदिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए । उनका अनुसार खाता खोलिदिने र पहिलो वर्ष १० हजार जम्मा गरिदिने कार्यक्रम आकर्षक र प्रभावकारी भएको जानकारी दिए । बैंक खाता खोलिएसँगै धेरै परिवारलाई छोरीको पढाइ अनि विवाहको चिन्ता हटेको छ । डुडुवा–६ रामनगर उचुवाकी सुनिता गोडियालाई कान्छी छोरीको बैंक खाता खोलिएपछि मन ढुक्क भएको छ । तीन छोरीमध्ये लक्ष्मीको मात्र बैंकमा खाता छ । अन्य छोेरीको पालामा गाउँपालिकामा कन्या मुद्दति खाता योजना आएकै थिएन । लक्ष्मी बल्ल तीन वर्ष हुँदैछिन् । ‘सुुरुमा पाँच हजार बुझाएँ, हामी मजदुरी गर्नेले वर्षौँ यत्तिका पैसा बुझाउन कहाँ सक्थ्यौँ’, उनले भने, ‘अहिले पालिका आफैँले वर्षको रु १० हजार खातामा जम्मा गरिदिँदा धेरै खुशी छौँ ।’ उनले स्थानीय सरकारले ल्याएको कन्या मुद्दति खाताप्रति खुशी व्यक्त गर्दै यसले आर्थिक टेवा समेत सहयोग पुगेको बताए । यस कार्यक्रमअन्तर्गत हालसम्म १७२ छोरीको खाता खोलिएको छ । उनीहरू सबै तीन वर्षमुनिका छन् । उनीहरु सबैको बिमासमेत गरिएको छ । रासस