यसरी भयाे टेम्केमैयुङमा बिजुली, सडक र पर्यटकीयस्थलको योजनाबद्ध विकास

भोजपुर । बिजुली बल्ने सपना बोकेर बसेका टेम्केमैयुङ गाउँपालिकावासी अहिले हर्षित भएका छन् । विद्युत् विस्तार भएपछि अहिले तिनको दैनिकीमा नै परिवर्तन आएको छ । दक्षिणमा पिखुवा खोलादेखि उत्तरमा मैयुङ डाँडासम्म फैलिएको सो स्थानीय तहका कुनाकुनाका बासिन्दाले अहिले विद्युत्को केन्द्रीय प्रसाण लाइनको उपभोग गरेका छन् । गाउँपालिकाको करिब छ करोड तथा नेपाल विद्युत् प्राधिकरणको बाँकी आर्थिक– प्राविधिक सहयोगमा यहाँका विकट स्थानमा विद्युत् विस्तार भएको छ । प्रदेश १ मा रहेका १३७ स्थानीय तहमध्ये ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने पहिलो स्थानीय तह हो । यसलाई गत वर्ष कात्तिकमा उज्यालो गाउँपालिका घोषणा गरिएको हो । चुनावका समयमा घोषणापत्रमा उल्लेख गरिएअनुसार विद्युत् विस्तारमा पूर्णता दिइएको र त्यससँगै पर्यटन, सडक विस्तार तथा आवश्यक पूर्वाधार निर्माणमा पनि काम गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताए । ‘मैले जनतालाई दिएको वचनअनुसार काम गरेको छु,’ अध्यक्ष राईले भने, ‘ठूलो भूगोल भए पनि मैले यहाँका गाउँबस्ती उज्यालो बनाएको छु । विद्युत् विस्तारमा जनतासँगै कर्मचारी तथा प्राविधिकको ठूलो साथ पाएँ । म आफैँ पोल गाड्न र तार टाँग्न हिँडेँ । जनताले प्रत्यक्ष देखेका छन् । भौगोलिक विकटताका कारण विद्युत् लाइन विस्तार गर्न निकै कठिन भए पनि त्यसलाई सम्भव बनाएर मैले मेरो लक्ष्य पूरा गरेँ ।’ एउटादेखि दुई घरसम्मका विद्युत् पुर्याउन कुनैकुनै स्थानमा १९ लाखसम्म खर्च भएको उनले जानकारी दिए । ‘हाम्रो गाउँसम्म विद्युत् आउला भन्ने हामीले सोचेकै थिएनौँ । स्थानीय तहको सरकार आएपछि हाम्रो जस्तो विकट ठाउँमा विद्युत् बल्यो । गाउँपालिकाकाले गरेको यो काम निकै प्रशंसा गर्नलायक छ’, वडा नं २ रुमला पञ्छीका फुर्तेन्जी शेर्पाले भने । उनका अनुसार अलिक हुनेखानेले सोलार बालेका थिए तर त्यो पनि चिसो तथा हुस्सुका कारण प्रयोग ल्याउन समस्या थियो । ‘टुकी बत्तीको उज्यालोमा बस्दै आएका हामीले अब नेट इन्टरनेट चलाउन पाएका छौँ । टेलिभिजन हेर्न पाएका छौँ । विद्युतीय मिल चलाउन पाएका छौँ । अहिले हाम्रो दैनिकी नै फेरिएको छ’, उनले भने । सडक विस्तार गाउँपालिकाले योजनाबद्ध सडक विस्तारमा जोड दिएको छ । सीमित बजेट अधिकतम रुपमा प्रयोग गर्दै आफूले नेतृत्व सम्हालेपछि १०४ किलोमिटर कच्ची सडक विस्तार गरिएको गाउँपालिकाले जनाएको छ । आफ्नो कार्यकालमा साढे बीस किमी सडक ग्राभेल भएको र नयाँ ट्रयाक बनेको गाउँपालिका अध्यक्ष राईले बताए । यहाँका हरेक गाउँबस्तीमा आवश्यक मापदण्डअनुसारको सडक विस्तार गरिएको उनको भनाइ छ । ‘गाउँबस्तीलाई सहज हुने गरी सीमित स्रोतमा उपलब्धिमूलक काम गर्ने योजनाअनुसार सडक विस्तारमा जोड दिएको छु’, अध्यक्ष राईले भने,‘हाम्रो गाउँपालिकामा महत्वपूर्ण ठूला सडकसँगै कृषि सडक पनि विस्तार भएको छ । यसको थप स्तरोन्नति गर्ने अबको योजना छ ।’ बाघखोर–तिम्मा खम्बुखा सडक स्तरोन्नतिको काम सकिएको छ । भोजपुरको चक्रपथका रुपमा विकास हुँदै गरेको सो सडक सङ्घीय सरकारको दुई करोड लागतमा स्तरोन्नति गरिएको हो । वडा कार्यालय तथा गाउँपालिकाका पहलमा केन्द्रबाट बजेट विनियोजन भएपछि स्तरोन्नतिको काम भइरहेको हो । सडक स्तरोन्नतिले विगतका दिनमा कष्टकर यात्रा गर्दै आएका स्थानीयवासीलाई राहत पुगेको वडा कार्यालयले जनाएको छ । टेम्केमैयुङ–१ का वडाध्यक्ष नरबहादुर राईले भने,‘भोजपुर सदरमुकामसंँग सहज पहुँच बनाउने यो सडकको स्तरोन्नति गरेका छौँ । सडकलाई १२ महिना नै सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य हो । सडकलाई सेती बगरसम्म विस्तार गर्नका लागि गाउँपालिकाले काम गरेको छ ।’ वडामा आउने थोरै बजेटमा पनि सरोकार निकायसँंग समन्वय गरेर स्वास्थ, शिक्षा, कृषि, सडक विस्तारलगायत काममा वडा कार्र्यालयले गरिरहेको कामको स्थानीयवासीले प्रशंसा गर्दै आएका छन् । टोलबस्तीसम्म कृषि सडक विस्तारमा वडा कार्यालयले भूमिका खेलिरहेकाले स्थानीय उत्पादनलाई भोजपुर बजारसम्म लैजान विगतका दिनभन्दा केही सहज भएको स्थानीयवासी बताउँछन् । सडकलाई १२ महिना सञ्चालन हुने तवरबाट विस्तार गरिनुपर्ने उनीहरूको भनाइ छ । स्थानीयवासी देवेन्द्र राउतले भने,’सडक विस्तार भएसँंगै हाम्रो जीवनस्तरमा समेत परिवर्तन भएको छ । घण्टौँसम्म डोकामा बोकेर यहाँका कृषिजन्य उपजलाई बजारसम्म लैजानुपर्ने अवस्था थियो, अहिले घरदैलाबाट नै बजार लैजान पाएका छौँ । सडक विस्तारलगायत अन्य क्षेत्रमा स्थानीय तहले खेलिरहेको भूमिकाप्रति हामी खुसी छौँ ।’ गाउँपालिका क्षेत्रको करिब ७५ किमी क्षेत्रमा चक्रपथ विस्तार हुने अध्यक्ष राईले जानकारी दिए । सो सडकले वडा नं १ तिम्मा, २ छिनामखु, ४ अन्नपूर्ण र नागी, ५ खावा, ६ र ७ कोट, ८ गोगने र ९ लेखर्कलाई सडक पहँुचमा जोड्ने बताइएको छ । अध्यक्ष राईले भने, ‘हामीले नयाँ सडक विस्तार भएका ठाउँमा त्यसको स्तरोन्नतिको कामलाई पनि अघि बढाएका छौँ । गाउँपालिकाको बजेटले नपुग्ने ठाउँमा केन्द्र र प्रदेश सरकारलाई पनि सहयोग माग गरेर काम गरिरहेका छौँ ।’ तिम्मामा रहेको तीन भंँगालेबाट कपासेभञ्याङसम्म सडक विस्तार भएको छ । त्यस्तै गाउँपालिका केन्द्रबाट चोलन्ती हुँदै कोट, गोगने र लेखर्क जोड्न ग्राभेलको काम भइरहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै गुम्बाबाट कोट पाँचधारे र चोलन्तीबाट मझौले हुँदै पाँचधारे जोड्ने सडकको पनि स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । पर्यटन क्षेत्रको विकास गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकासमा लाखौँ खर्च गरिसकेको छ । ‘मुन्धुम पदमार्ग’लाई नेपाल सरकारको १०० घुम्नैपर्ने गन्तव्यभित्र सूचीकृत गरिएको छ । यहाँको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रुपमा ‘टुरिज्म हब’ बनाउने लक्ष्य रहेकोे गाउँपालिकाले जनाएको छ । सन्तुलित हावापानी भएको अल्पाइन जोन पदमार्गका लागि उपयुक्त भएको र लेक लाग्ने समस्या नहुने पर्यटनसँग विज्ञ बताउँछन् । प्राकृतिक मनमोहक दृश्यावलोकन गर्न तथा हिमाल जस्तो ठण्डा र तराई जस्तो गरम नहुने सन्तुलित हावापानीयुक्त अल्पाइन जोनमा रमाउन सकिने विश्वमै दुर्लभ प्रमुख पदमार्गका रुपमा मुन्धुम पदमार्ग स्थापित हुने गाउँपालिकाको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यवसायीकरण गर्न सो पदमार्गले सहयोग पुर्याउने विश्वास गाउँपालिकाले लिएको छ । अध्यक्ष राईले भने, ‘हाम्रो धेरै प्रयास र मेहनतपछि यो पदमार्ग अहिले देश तथा विदेशी पर्यटकको चासोको रुपमा हेरिएको छ । विदेशी पर्यटकहरू यहाँका घुम्न आउन थालेका छन् तर कोभिडका कारण केही असर पुगेको छ । यस्ता धेरै पर्यटकीय क्षेत्रको विकासमा हामीले काम गरिरहेका छौँ । पर्यटकीय क्षेत्रको विकास गरेर आर्थिक स्रोत सङ्कलन गर्ने पनि हाम्रो लक्ष्य छ ।’ मुन्धुम पदमार्गले यहाँका वन्यजन्तुको आरक्षण क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना बोकेकाले पर्यटन व्यवसाय फस्टाउने सम्भावना रहेको पर्यटनको क्षेत्रका विज्ञ बताउँछन् । पदमार्ग अङ्ग्रेजी अक्षर ‘वाई’ आकारमा निर्माण भइरहेको छ । सो पदमार्ग भोजपुर र खोटाङको सिमाना तावा भञ्ज्याङ– चखेवा भञ्याङ– धोद्रे–हाँसपोखरी–तारा खसको –बलौटे भञ्ज्याङ– लौरी भञ्ज्याङ– निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते– पखुवा भञ्ज्याङ– बाघखोर– सुन्तले– बाघखोर हुँदै भोजपुर नगरपालिका– १० भैसीपङ्खाको साम्पाङ चोकमा आएर टुङ्गिन्छ । पर्यटकलाई लक्ष्य गरेर ८८ किमी पदमार्ग निर्माण भइरहेकामा हालसम्म ६२ किमी बनेको छ । भोजपुरका चार र खोटाङका दुई स्थानीयतहलाई लक्ष्य गरेर पदमार्ग निर्माण भइरहेको छ । पदमार्ग टेम्केमैयुङ, भोजपुर र षडानन्द नगरपालिका, साल्पाछिलिछो गाउँपालिका तथा खोटाङका साकेला र केपीलासगढी गाउँपालिकामा विस्तार भइरहेको छ । गाउँपालिकाले महभिर झर्नाको विकासमा समेत काम गरिरहेको छ । गाउँपालिका केन्द्रबाट नजिकै रहेको सो झर्ना आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । करिब ६० मि अग्लो झर्नाको मनोरम दृष्य र भिरमौरी हेर्नका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् । सदरमुकामबाट २९ किमी र गाउँपालिका केन्द्रबाट करिब चार किमी पश्चिममा अवस्थित झर्नामा बाह्रै महिनामा उत्तिकै मात्रामा पानी बग्ने गर्छ । दैनिक १० देखि १२ समूह झर्नास्थलमा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासी बताउँछन् । गाउँपालिकाले पदमार्गसंँगै आवश्यक संरचना निर्माण दिएपछि पर्यटकलाई झर्नासम्म पुग्न निकै सहज भएको छ । त्यस्तै सावा झर्नाको विकासका लागि पनि काम भइरहेको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य, शिक्षा, कृषिलगायत क्षेत्रमा पनि नमूनायोग्य काम भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई फुसको छानोमुक्त अभियानअन्तर्गत यहाँका करिब ८०० परिवारलाई जस्तापाताको छानो वितरण गरिएको छ । नौ वडामध्ये अब तीन वटा वडा मात्र फुसको छानोमुक्त गर्न बाँकी छ । ती वडामा पनि काम भइरहेको छ । त्यस्तै स्वास्थ्य क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माणको काम भइरहेको छ । राम्रो स्वास्थ्य संरचना निर्माण गरेर स्वास्थ्य सेवाको विस्तार गरिए पनि स्वास्थ्यकर्मीको भने अभाव रहेको बताइएको छ । कृषिमा आधुनिकीकरण गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका कृषि शाखाले जनाएको छ । शैक्षिक क्षेत्रको विकासका लागि भौतिक संरचनाको विकासँगै आधुनिक शिक्षामा जोड दिइएको गाउँपालिकाको भनाइ छ । रासस

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

चितवन । शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताईन । उनको भनाइमा महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक शिक्षक परिचालन, खुला आवेदनबाट पूर्ण छात्रवृत्ति प्रदानजस्ता कार्यक्रम उक्त महानगरपालिकाले मात्र गरेको छ । यी कार्य अन्य पालिकाका लागि सिको गर्ने कार्य भएको उनको भनाइ छ । भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको छ । सङ्घीय सरकारले १० प्रतिशत मात्र शिक्षामा बजेट छुट्याएको छ । प्रमुख दाहालले भनिन, “हामीले शिक्षामा दिएको प्राथमिकताका कारण नतिजा पाउन सकेका छौँ ।” अन्य पालिकाले गर्न नसकेका काम भरतपुरले गर्न सकेको उनको भनाइ छ । महानगरपालिकाले उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्नेका लागि वार्षिक १० हजार छात्रवृत्ति उपलब्ध गराउन सुरु गरेको छ । सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीको न्यूनतालाई परिपूर्ति गर्ने उद्देश्यले महाननगरपालिकाले स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न चालु आर्थिक वर्षमा महानगरको आन्तरिक स्रोतबाट ६५ लाख अनुदान रकम विनियोजन गरेको छ । शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले ३० युवा स्वयंसेवक शिक्षक परिचालन गरिने बताए । सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन नदिन सो कार्यक्रम राखिएको उनको भनाइ छ । यससँगै सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनको महत्वपूर्ण कार्य सम्पन्न भएको छ । यस अवधिमा सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्यामा करिब छ हजार वृद्धि भएको उनले बताए । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि विसं २०७५ मा ५६ दशमलव ४७ प्रतिशत रहेकामा शैक्षिक सत्र विसं २०७७ मा पाँच दशमलव ५३ प्रतिशतले वृद्धि भई ६२ प्रतिशत पुगेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य प्रगति भएको पौडेलको भनाइ छ । कूल साक्षरता दर गुणस्तरमा ९८ दशमलव पाँच प्रतिशत रहेको छ । विभिन्न स्थानमा नमूना विद्यालय स्थापना भएको उनले बताए । शिक्षकको प्रविधि उपयोगको क्षमता विकास गर्न आइसिटी तालिम सञ्चालन गरिएको छ । सबै आधारभूत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गरी शिक्षासँग सिकाइ जोडिएको बताईएको छ । शिक्षकको पेसागत दक्षता विकासका कार्य अगाडि बढाइएको उनले जानकारी दिए । उनले भने, “विगत चार वर्ष छ महिनामा ‘हाम्रो गौरव हाम्रो भरतपुर’ विषयको कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको छ ।” शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमूना विद्यालय विकासको कार्य कार्यान्वयनमा ल्याइएको छ । संस्थागत विद्यालयको साझेदारीमा कक्षा ११ का २३९ विद्यार्थीलाई मेरिट बेसमा आधारित पूर्ण छात्रवृत्ति प्रदान गरिएको महानगरले जनाएको छ । लैङ्गिक हिंसारहित विद्यालय बनाउन सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक महिला शिक्षिकालाई लैङ्गिक सम्पर्क शिक्षक तोकिएको उनको भनाइ छ । उनीहरुलाई लैङ्गिक हिंसासम्बन्धी अभिमुखीकरणसमेत दिइसकिएको छ । भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी अटिजम भएका बालबालिकाको शिक्षामा पहुँचको सुनिश्चितता गरिएको छ । सामुदायिक विद्यालयमा पाँच बस उपलब्ध गराइएको र अहिले पनि त्यो कार्यक्रम सञ्चालन गरिने छ । महानगरपालिकाभित्र सामुदायिक १२३ र संस्थागत विद्यालय ९७ रहेका छन् । ती विद्यालयमा ८६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । महानगरपालिकाभित्र कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय, दुई मेडिकल कलेजसहित अन्य प्राविधिक कलेजसँगै विभिन्न विश्वविद्यालयका आंगिक क्याम्पस, सामुदायिक क्याम्पस र निजी क्याम्पस रहेका छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँका स्कुल र कलेजमा विद्यार्थी पढ्न आउने गर्दछन् । रासस

काठमाडौंका ३० ठाउँमा बन्दैछन् रमणीय पार्क, पौने १८ करोड लगानी

काठमाडौं । काठमाडौं उपत्यकाभित्र ३० वटा पार्कको निर्माण हुँदैछन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रमा सुन्दर पार्क निर्माण गर्ने योजनाका साथ काठमाडौं, ललितपुर र भक्तपुरमा ३० वटा पार्क निर्माण गर्न लागेको हो । उपत्यकामा सुविधा सम्पन्न पार्क निर्माणका लागि काम अगाडि बढाईको प्राधिकरणको भनाई छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सार्वजनिक जग्गाको संरक्षण गरी ५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मका ३० वटा पार्क निर्माणको कार्य अगाडि बढाएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बताइन् । विकास आयुक्त ढकालका अनुसार काठमाडौंमा १४, भक्तपुरमा १०, ललितपुरमा ६ वटा पार्क निर्माण हुने भएका हुन् । पार्क निर्माण गर्नेको लागि काठमाठौंमा ७ करोड ५० लाख, भक्तपुरमा ५ करोड ५० लाख र ललितपुरमा ४ करोड ४१ लाख रुपैयाँ गरी कुल १७ करोड ८१ लाख रुपैयाँ बजेट छुट्याइएको उनको भनाई छ । उपत्यका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्दै त्यसको संरक्षण गरी खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको ढकालले बताइन् । प्राधिकरणले सम्पूर्ण पार्क निर्माणको काम टेन्डर प्रक्रिया अगाडि बढाएको छ । पार्क टेन्डर भइसकेको केही महिनाबाट निर्माण सुरु हुनेछ । केही पार्कको निर्माण कार्य भने सुरु पनि भइसकेको छ । विकास आयुक्त ढकालका अनुसार अकिांश पार्कहरुको टेन्डर प्रक्रिया अगाडि बढिसकेको छ । उनका अनुसार चालु आर्थिक वर्ष भित्रमा नै ती पार्कहरुको निर्माण कार्य सकिनेछ । भक्तपुर जिल्ला आयुक्त राजेन्द्र प्रसाद पाण्डेयले भक्तपुरमा ४ वटा पार्क टेण्डरको प्रक्रियामा गइसकेको बताए । ५ वटा पार्क निर्माणको काम नयाँ कार्यक्रम समावेश गर्न प्रमुख कार्यालयलाई माग गरेको उनको भनाई छ । ‘पार्क निर्माणमा विनियोजित बजेट मात्र खर्च गर्छौं, आगामी वर्ष फेरी बजेट आयो भने थप काम गर्ने छौं, बजेट अनुसार हामी काम गर्दै जान्छौं,’ उनले भने । ललितपुरमा पार्कको नक्सा बनाउने र केही पार्कको काम टेन्डर प्रक्रिया अगाडि बढाएको ललितपुरका जिल्ला आयुक्त जगदिश लामिछाने बताए । ‘पार्क निर्माण गर्नको लागि आवश्यक तयारी भएको छ, अब छिटोभन्दा छिटो पार्क निर्माणको काम सुरु हुन्छ,’ उनले भने । प्राधिकरणले गत आर्थिक वर्षमा १३ वटा पार्क निर्माण तथा सार्वजनिक जग्गा संरक्षण गर्ने कार्य अगाडि बढाएको थियो । ती पार्क निर्माण गर्नको लागि १५ करोड ६ लाख ४५ हजार रुपैयाँ बजेट छुट्याएको थियो । जसमध्ये १२ करोड ५७ लाख ९३ हजार रुपैयाँ खर्च भइसकेको छ । कुन पार्कका लागि कति बजेट ? प्राधिकरणको योजना अनुसार काठमाडौं जिल्ला भित्र १४ वटा पार्क निर्माण हुने छन् । पार्क निर्माण गर्न ७ करोड ९० लाख रुपैयाँ बजेट छ । योजना अनुसार प्राधिकरणले विपत् व्यवस्थापन तथा वातावरण संरक्षणको लागि सहरी क्षेत्रमा पार्क निर्माण गर्ने १० लाख, काठमाडौं जिल्ला लैनचौर सहिद पार्क निर्माणका लागि एक करोड, बुढानिलाकण्ठ २, गिरिजा प्रसाद पार्क निर्माणको लागि एक करोड रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, बुढानिलाकण्ठ ८, ओमनगर पार्क निर्माणको लागि एक करोड, शंखपुर ८, शान्तिनगरमा पार्क निर्माणका लागि एक करोड, किर्तिपुर २, चिल्ड्रेन पार्क निर्माणका लागि एक करोड, किर्तिपुर चम्पादेवी पार्क निर्माणको लागि एक करोड, काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ र ८ स्थित कागेश्वरी मन्दिर क्षेत्रमा सार्वजनीन पार्क निर्माणको गर्नको लागि एक करोड रुपैयाँ बजेट रहेको छ । काठमाडौं जिल्लामा नै पार्क निर्माण गर्नका लागि १० लाख रुपैयाँ योजना छन् भने ५ लाखका २ वटा योजना रहेका छन् । ललितपुरमा ६ वटा पार्क निर्माणको काम अगाडि बढेको छ । ललितपुर जिल्लामा महालक्ष्मी २, बेदलीचौर (गाचा) पार्क निर्माण एक करोड, ललितपुर महानगरपालिका, २ छुङमती पार्क निर्माणको लागि एक करोड, मनहरा नगरपालिका वडा नं. २५ सैंबु भैसेपाटीको सार्वजनीन संरक्षण गरी पार्क निर्माण गर्न एक करोड, मनहरा नगरपालिका वडा नं. २८ सिकाली मन्दिर परिषरमा पार्क निर्माण गर्नको लागि एक करोड रुपैयाँ बजेट रहेको छ । यी स्थानहरूमा पार्क निर्माणका लागि विनियोजन गरेको बजेट पारित भइसकेको छ । यस्तै, भक्तपुरमा १० वटा पार्क निर्माण हुने भएका छन् भने उक्त पार्क निर्माणको लागि ५ करोड ५० लाख रुपैयाँ बजेट रहेको छ । भक्तपुर जिल्ला सल्लाघारीमा पार्क निर्माण गर्नको लागि एक करोड, सूर्यविनायक, ४ अनन्तलिङ्गेश्वर महादेव खोला पार्क निमार्ण गर्नको लागि एक करोड, सूर्यविनायक ५, गणेशमान बाटिका निर्माणको लागि एक करोड, भक्तपुर चांगुनारायण, ५ नागथलि कृष्ण मन्दिर पार्क निर्माणको लागि एक करोड, गुण्डु पार्क निर्माण गर्नको लागि ५० रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै भक्तपुरमा पार्क निर्माणका नै १० लाख रुपैयाँका योजना ३ वटा रहेका छन् भने २० लाख रुपैयाँ बराबरको योजना २ वटा रहेका छन् । यी हुन् निर्माण सुरु भएका पार्क भक्तपुर जिल्लामा ५० लाख रुपैयाँ गुण्डु पार्क निर्माण हुने भएको छ । उक्त पार्क निर्माणको टेन्डर प्रक्रिया अगाडि बढेको छ । उक्त पार्क जलवायु अनुकूल, पर्यावरण अनुकूलन र विपत् व्यवस्थापन अनुरूपको पार्क निर्माण हुने छ । निर्माणको काम छिटै अगाडि बढ्ने प्राधिकरणले जनाएको छ । कठमाडौं जिल्ला कीर्तिपुर २ चम्पादेवी पार्क एक करोड रुपैयाँको बजेटमा निर्माण हुने भएको छ । उक्त पार्क टेन्डर प्रक्रियामा अगाडि बढेको छ । घाटल बाबा मन्दिर एण्ड पार्क नागार्जुन-७, रामकोमा रमणीये पार्क बन्ने भएको छ । यस्तै भक्तपुर सल्लाघारी पार्क एक करोड रुपैयाँको बजेटमा निर्माण हुने भएको छ । निर्माणको काम भने केही महिना पछि निर्माण हुने छ ।