“कृषि वा अन्य व्यवसाय गर्नेका लागि १ प्रतिशत व्याजमा ५ देखि १० लाख रुपैयाँसम्म दिने व्यवस्था गरेका छौं”

मुलुक संघीयतामा गइसकेपछि बिस्तारै विकासका लहरहरू गाउँ–गाउँमा पुग्दैछन् । बागमती प्रदेश अन्तर्गतको सिन्धुपाल्चोक जिल्लामा पर्ने लिसंखु पाखर गाउँपालिका पनि हरेक नागरिकलाई आत्मनिर्भर र समृद्ध बनाउने अभियानमा लागेको छ । जिल्लाको १२ स्थानीय तहमध्ये यो गाउँपालिका भौतिक पूर्वाधार र संरचनाका हिसावले अगुवा स्थानीय तह मानिन्छ । यस गाउँपालिकामा ७ ओटा वडा छन् । निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन गरेको करिब ४ वर्ष पुगेको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा गरेका विकास निर्माणको काम, कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि गाउँपालिकाले गरिरहेको गतिविधि लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष कमल प्रसाद नेपालसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा महत्वपुर्ण काम के के भए ? काम त सबै महत्वपुर्ण नै हुन्छ । जस मध्ये पहिले कुरा हाम्रो जिल्ला भूकम्पबाट प्रभावित भएको हुनाले पुननिर्माणको कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्यौं भने यहाँको आवश्यकता पनि त्यही थियो । पुननिर्माणको काम पालिकामा करिवकरिव अन्तिम चरणमा पुगेको छ । पुननिर्माणको काममा सम्बन्धित रहेर २ देखि ३ ओटा काम गरेका छौं । एउटा निजी आवासको निर्माणलाई त्रियाशिल बनाउने अथवा छिटो छरितो गराउनको निमित्त आवश्यक पूर्वाधार अथवा सडक नभएर टोल बस्तीसम्म निर्माणमा चाहिँने सामान पुर्याउन समस्या भयो । निजी आवासको निर्माणसँगैसडकलाई टोल बस्तीसम्म पुर्याउने काम सम्पन्न गर्यौं । त्यसपछि पुनरनिर्माण अथवा निजी आवासको कामले पनि तीव्रता पायो । अहिले हरेक वडामा सडक सञ्जाल पुर्याएका छौं । त्यसैगरी हामीले सडकको स्तरोन्नती पनि गरेका छौं । योसँगै शिक्षा क्षेत्रको कामलाई पनि अगाडि बढ्यौं । गुणस्तरीय शिक्षामा विशेष जोड दिएका छौं भने शैक्षिक सुधारका पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । शिक्षाका लागि विद्यालय भवन, शिक्षक पदपूर्ति गर्ने काम भएका छन् । आजसम्म आइपुग्दा गाउँपालिकाको समग्र क्षेत्रमा विकास र परिवर्तन भएको अवस्था छ । हाल हामीले सानो भए पनि गाउँपालिकाको भवन निर्माण गर्नेर जग्गाको व्यवस्थापनको कामलाई टुङ्गाएका छौं । स्वास्थ्य क्षेत्रमा पनि महत्वपुर्ण काम भएको छ । हाम्रो पालिका साबिकको ६ ओटा गाविस मिलेर ७ ओटा वडा बनको छ । जस मध्ये एउटा वडामा मात्र स्वास्थ्य इकाई थिएन । जहाँ थिएन त्यहाँसामुदायिक क्लिनिकस्थापना गरेका छौं । भएका स्वास्थ्यचौकीमा अस्थायी संरचना थियो त्यसलाई पनि धेरै भूकम्पले क्षति गरेको छ । भूकम्पले क्षति गरेका संरचना वा स्वास्थ्यचौकी निर्माणको लागि हामी लागि परिरहेका छौं तर, सम्पन्न चाहिँ भएको छैन । यी अस्पताल निर्माणको काम सम्पन्न हुने चरणमा छन् । हामीले स्वास्थ्य सेवाको सुधार, सबैलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने, गुणस्तर स्वास्थ्य सेवाको कुराहरूलाई पनि जोड दिएका छौं । गाउँपालिकाले गर्भवती महिलालाई पोषणको लागि गँेडागुडी तथा अण्डा पनि वितरण गर्दै आएको छ । यसै गरी स्वास्थ्य क्षेत्रको कामलाई उतिकै प्राथमिकतामा राखेका छौं । हामीले गाउँपालिकामा पशु र कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौं । पशु सुधार कार्यक्रम पनि सञ्चालन गरेका छौं । हाम्रो गाउँपालिकालाई समृद्ध बनाउने मूल तत्वको रूपमा कृषि क्षेत्रलाई पनि लिन सकिन्छ । निर्वाहमुखि कृषि प्रणालीलाई व्यवसायिक बनाउनु पर्छ भनेर जोड दिइरहेका छौं । सिँचाइ र खानेपानीमा पनि उल्लेख्य काम भएको छ । पर्यटन क्षेत्रमा हामी आफैले त धेरै काम गर्न सकेका छैनौं । तर, प्रदेश सरकारको सोझेदारीमा मठ मन्दिर निर्माणको कामलाई पनि अगाडि बढाएका छौं । यसरी नै पालिकामा विकास निर्माणको कामहरूलाई अगाडि बढाएका छौं भने बिस्तारै यसका नतिजा पनि आइरहेको छ । गाउँपालिकाबाट जनताले के अपेक्षा राखेका छन् ? गाउँपालिकाबाट जनताले धेरै कुराको अपेक्षा राखेका छन् । छोटकरीमा भन्नु पर्दायहाँको जनताको चाहना आवश्यकता सडक नै छ । टोलटोलमा सडक त पुग्यो तर कालोपत्रे, स्तरोन्नती भए हुन्थ्यो भने कुरा देखिन्छ । भौतिक पूर्वाधार सम्बन्धी धेरै चाहना हुन्छ । मानवीय, आर्थिक, सामाजिक विकासको क्षेत्रमा कमको माग वा कम आकर्षण हुने गरेको छ । अनि, स्थानीय बासिन्दाको माग कसरी संबोधन गरिरहनुभएको छ ? हामी जनताबाटै निर्वाचित भएर आएका हौं । जनताको नजिकबाट स्थानीय क्षेत्रको सुरक्षा, विकास निर्माण, निर्वाचन तथा प्रशासनिक कार्य सञ्चालन निकाय तथा तह नै स्थानीय तह हो । मानिसहरूको आवश्यकता असीमित हुन्छ । माग पनि धेरै हुन्छ । सबैको मागलाई पुरा गर्न नसके पनि प्राथमिकता अनुसारका मागलाई चाहिँ पुरा गर्दै आएका छौं । जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ? कोरोना महामारीको दोस्रो लहरमा विश्वमा नै एक प्रकारको रणभुल्ल देखियो समयमा हाम्रो गाउँपालिका पनि यस महामारीबाट अछुतो रहन सकेन । कोरोना विरुद्ध लड्ने योजना,रणनीति, साधन स्रोतको जोहो तर्फ गम्भीर लाग्यौं । अझ भनौै जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकतामा राखेर काम गरेका छौं । कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धी लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी नियमित रूपमा परीक्षण गर्ने व्यवस्था मिलायौं । परीक्षण गरिसकेपछि पोजेटिभ देखिएको खण्डमा सुरक्षित तरिकाले होम आइसोलेसनमा बस्ने व्यवस्था मिलाएका छौं । होम आइसोलेसनमा बसेका संक्रमित वा बिरामीको स्वास्थ्यमा समस्या आयो भने अस्पताल पुर्याउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन गरेका छौं । पालिकामा कोरोना संक्रमण बढ्दै गए पछि २ ठाउँमा आइसोलेसन सेन्टरको व्यवस्थापन गर्यौं । डाँडापाखा स्वास्थ्यचौकीमा १५ बेड र सुनकोसी गाउँपालिका र हाम्रो पालिकामा मिलेर २५ बेडको आइसोलेसन स्थापना गरेका छौं । होम आइसोलेसनमा बसेकालाई छुट्टै बस्न अनुरोध गर्दै र संक्रमण पुष्टि भएको व्यक्तिलाई अलग्गै बस्नको लागि आग्रह गर्दै उनीहरुलाई पोषण वा खाना खर्च भनेर ३ हजार रुपैयाँ नियमित दिने व्यवस्था पनि गर्यौं । महामारीको अवस्थालाई मध्य नजर गर्दै होम आइसोलेसनमा बसेकालाई सुरक्षित बनाउन तथा जोखिम न्यूनीकरण गर्नका लागि गाउँपालिकाले आइसोलेसन किट बनाएर संक्रमितको घरघरमा पुर्याउने काम पनि गरेका छौं । पालिकामा उपचार हुने नसकेका र उपचारका लागि अन्य कुनै ठाउँमा रेफर गरेर लानुपेका बिरामीहरूलाई गाउँपालिकाको तर्फबाट १० हजार रुपैयाँ नगद सहयोग गरेका छौं । यो कोरोना रुपी युद्ध मानव सभ्यता वा मानव अस्तित्व विरुद्धको युद्ध हो भन्न पनि सकिन्छ । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । गाउँपालिकाले कोभिड–१९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई १५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । पछिल्लो समयमा पालिकामा संक्रमण दर घटेको छ भने संक्रमितको संख्या पनि शून्य छ । पालिकामा हालसम्म कति जनामा संक्रमणको पुष्टि भएको छ ? पालिकामा हालसम्म ७ सय ६० जनाको परीक्षण भएको छ भने परीक्षण गर्दा २ सय २३ जनामा संक्रमणको पुष्टि भएको छ । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दागर्दै पनि पालिकाबाट ७ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएका छौं । कोभिड बिरामीहरूका लागि अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिन्डरहरू भरेर तयारी अवस्थामा राखेका छौ । गाउँपालिकाले आगामी आर्थिक वर्ष ७८/७९ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । तपाईंको कार्यकालको यो बजेट अन्तिम पनि हो । के कस्ता कार्यक्रम समेटिएका छन् बजेटमा ? आर्थिक वर्ष ७८/७९ का लागि नीति तथा कार्यक्रम असार १० गते नवौं गाउँसभामा प्रस्तुत गरेका छौं । पालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४७ करोड ६९ लाख रुपैयाँ बराबरेको बजेट प्रस्तुत गरेको छ । जनताको आवश्यकता अनुसारको विषयलाई संबोधन गर्ने गरेर बजेट ल्याएका छौं । करिव ७० प्रतिशत बजेट पूर्वाधार विकासमा नै रहेको छ । कोभिडलाई मध्यनजर गर्दै बजेट बनाउँदा स्वास्थ्यमा जोड दिएका छौँ । महामारी नियन्त्रण गर्न आवश्यक कदम चाल्न कार्यक्रम बनाएका छौँ । पालिकाले स्वास्थ्य, भौतिक पूर्वाधार र कृषि र रोजगारीलाई बढी प्राथमिकता दिएर बजेट ल्याएका छौं भने आर्थिक वर्षमा कोभिड महामारीबाट पालिका बासिन्दाको जीवन रक्षा गर्दै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य बजेटले लिएको छ । यो वर्ष एउटा थप योजना निति तथा कार्यक्रम हामीले समावेश गरेका छौं । पालिकामा गरिव तथा विपन्न घरको पहिचान भइरहेको छ । जस अन्तर्गत छनोट भएका विपन्न तथा गरिव परिवारलाई केही कार्यक्रम अन्तर्गत अगाडि लिएर जानु पर्छ भनेर ‘उपाध्यक्ष गरिव विपन्न कार्यक्रम’ ल्याएका हौं । पालिकामा करिव २ सय जना मानिसहरू गरिव र विपन्न छन् भन्ने हाम्रो अनुमान छ । छनोट भएका विपन्न वर्गको लागि एक जना बराबर ३० हजार रुपैयाँ दिने कुरा छ । गाउँपालिकाले विपन्न तथा गरिव परिवारलाई पनि आयआर्जनमा जोड्नको लागि यो कार्यक्रम ल्याएको हो । यसको कार्यविधि बनाएर हामी लागु गर्छौं । यस सम्बन्धी कार्यविधि पालिकामा बन्दैछ । तपाईंहरुले चुनावका बेला बोलेका र घोषणापत्रमा उल्लेख गरेका कुराहरू कत्तिको पूरा भए त ? पक्कै पनि हामी घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका ९० प्रतिशत कामहरू पुरा गरेका छौं । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । पूर्वाधारको विकासका कुराहरू पनि हामीले उल्लेख गरेका थियौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास गर्न पुग्दैन रहेछ । हामीले गर्छाैं भनेको कुरा बाहेक अरू कुराहरू महत्वपुर्ण पनि हुन सक्छन् । त्यसैले समग्र पालिकाको नै विकास गर्दै आएका छौं । अनि युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा कस्तो काम गर्नुभएको छ नि ? युवाहरू कृषि उत्पादन वा व्यापार व्यवसायमासँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छौं । पालिकामा युवाहरूले व्यवसायिक खेती गरी रोजगारीमूलक पनि बनी रहेका छन् । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं । युवाको सिप विकासको लागि विशेष जोड दिइरहेको छौं । कतिपय युवाहरू आफूमा सिपको विकास गर्न सफल भइसकेका छन् भने केही युवाहरूले व्यवसायिक कृषि खेतीको पनि सुरुवात गरेका छन् । युवाहरूलाई कृषि पेशामा आकर्षित गर्नको लागि उत्पादनमा आधारित अनुदान भनेर बजेट विनियोजन गरेका छौं । कृषि पेशामा आवद्ध हुने कृषकहरूलाई अनुदान दिने व्यवस्था पनि गरेका छौं । पालिकामा जसले कृषि अथवा अन्य व्यवसाय गर्न चाहन्छन् उनीहरूको लागि सहुलियत ऋण कर्जा अन्तर्गत १ प्रतिशत व्याजमा ५ देखि १० लाख रुपैयाँसम्म दिने व्यवस्था गरेका छौं । गाउँपालिकाको जमानीमा १ प्रतिशत व्याजमा ५ लाखसम्म विना धितो र ५ लाख भन्दा माथि १० लाख रुपैयाँसम्म केही धितो राखेर ऋण दिने व्यवस्था मिलाएका छौं । व्यवसाय गर्ने चाहने धेरै मान्छो हुन्छन् । तर, हामीले विपन्न परिवारलाई प्रथामिकतामा राखेर काम गरेका छौं । व्यवसाय गर्नको लागि जम्मा ११ सय ८६ जनाले आवेदन गरेका छन् । यस मध्ये १ सय जना मानिसलाई छनोट गरी ऋणको लागि सिफारिस गरेका छौं । जम्मा ४५ जनाले ऋण लिएर व्यवसाय पनि सञ्चालन गर्न थालेका छन् । स्थानीय सरकारमा काम गरेको ४ वर्ष परा हुँदा काम गर्दै जाँदा के–कस्ता चुनौती र समस्या आए त ? स्वभाविकरूपमा काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । पालिकामा हामी निर्वाचित भएर आउँदा हामी आफौं बस्नो कुर्सी थिएन त्यो तहबाट पालिकाको विकास गर्नु पर्यो । सुरुमा सङ्घीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । यो बिचमा हामीले ४४ वटा ऐन नियमको निर्माण गरेका छौं । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । कर्मचारी अभावका कारण दैनिक प्रशासन सञ्चालन गर्न समेत स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । हाल हामीले संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न नीति नियम र कानुनहरूले स्थानीय सरकारका अधिकारका क्षेत्र प्रष्ट पारिसकेका छौं । विकास निर्माणको काम गर्ने वा कार्यान्वयनमा गराउने बेलामा हामी कोभिडको सामना गरी रहेका छौं । चुनौती धेरै थिए । चुनौती बिचमा अवसर खोजर्दै काम गरी अगाडि बढेका छौं । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? म के भन्न चाहन्छु भने हाम्रो आवश्यकता र समस्याहरू अनगिन्ती हुन सक्छन् । यसलाई एकै पटक एउटै कार्यकालमा सबै आवश्यकताको संबोधन हुन सक्दैन । विकास भनेको क्रमिक रूपमा हुने कुरा हो । हाम्रो यो ४ वर्षको कार्यकालको दौरानमा जनताले महशुस गर्ने गरी काम भएका छन् । तर, यो पर्याप्त छैन भने पालिकाको विकासयतीले मात्र पुगेको पनि छैन । यतीले कामलेमात्र हामी र जनता सन्तुष्ट छनौं । नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । यति हुँदाहुँदै पनि ठ्याक्कै भनेजस्तो काम हुन सकेको छैन । बाहिरबाट धेरै संभावना नदेखिए पनि हामीसँग प्रतिकृति स्रोत साधन धेरै छन् भने यसको प्रयोग हामीले अधिकतम गर्नु पर्छ । स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्नको लागि केही मापदण्ड र संरचना बनाएका छौं । व्यक्तिगत जीवनसँग जोडेर अगाडि बढ्यौं भने आर्थिक क्षेत्रमा पनि हामी माथि हुन्छौं । पालिकालाई सुन्दर र समृद्ध बनाउनको लागि हामी सबै लाग्नु पर्छ । हामीले विकास निर्माणको कुरामा पनि जोड दिइरहेका छौं । अनि अहिले चुनौतीको रूपमा खडा भएको कोभिड महामारीसँग जुध्नको लागि स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि समग्र पालिकावासीलाई आग्रह गर्छु । यस भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारीको संक्रमण झन् धेरै फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु । अनि गाउँपालिकामा भोलि (साउन ८) गतेबाट जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । यो खोप ५० देखि ५४ वर्षसम्कालाई लगाइने छ । सबैले नजिकैको वडा कार्यालयमा सम्पर्क गर्नको लागि आग्रह गर्छु । भोलिबाट अपाङ्गता भएर क र ख समुह कार्ड प्राप्त गरेका व्यक्ति, स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई उक्त खोप दिइनेछ ।

पालिका भित्रका प्रत्येक घरमा खानेपानीसम्बन्धी कामलाई पूर्णता दिइसकेका छौं – अध्यक्ष खापुङ्ग

मेन्छयायेम गाउँपालिका प्रदेश १ अन्तर्गतको तेह्रथुम जिल्लामा अवस्थित गाउँपालिका हो । राज्यको पुनर्संरचना अनुसार यस स्थानीय तहको नामाकरण स्थानीय पहिचान, सांस्कृतिक, भाषिक र जातीय सभ्यताका आधारमा गरिएको हो । संघीयताको कार्यान्वयनसँगै स्थानीय सरकारले जिम्मेवारी लिएपछि स्थानीय तहमा अहिले कामको चाप बढ्दो नै छ । मेन्छयायेम गाउँपालिका अन्य स्थानीय तहको तुलनामा स्रोत, साधन र जनशक्तिका हिसाबले अब्बल मानिन्छ । यो गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा पनि निक्कै धनी छ । यसैक्रममा, स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि हालसम्म गाउँपालिकामा सञ्चालन गरिएका योजनाहरू, गाउँपालिकाले कोरोना रोकथाम एवं नियन्त्रणका लागि गरिरहेको गतिविधि लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङ्गसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाले के गरिरहेको छ ? कोरोना संक्रमणमहामारीको असर नपरेको क्षेत्र र स्थान कुनै छैन । यस महामारीबाट हाम्रो पालिका पनि अछुतो रहन सकेन । गाउँपालिकामा पनि जब कोरोना संक्रमणको दोस्रो लहर सुरुभए लगत्तै महामारीलाई नियन्त्रण गर्नको लागि स्वास्थ्य सामाग्री तथा अक्सिजनको जोहो गर्ने, जो संक्रमितहरु भएका छन् उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ भने घरमै होम आइसोलेसनमा बस्नको लागि आग्रह गर्ने जस्ता काम गर्दै आएका छौं । संक्रमितलाई अस्पताल पुर्याउन लागि एम्बुलेन्सको पनि व्यवस्थापन गरेका छौं । लक्षण देखिएका तथा शङ्कास्पद सबैको परीक्षण निःशुल्क गर्दै आएका छौं । महामारी नियन्त्रण गर्नेको लागि जिल्लाको निष्कर्ष बमोजिम निषेधाज्ञा जारी गर्दै आएका थियौं तर हाल निषेधाज्ञा खुकुलो छ । यस महामारीलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । पालिकामा स्थानीय जनप्रतिनिधि, वडा स्वास्थ्य चौकी र स्थानीयबासीसँगको समन्वयमा परीक्षण भइरहेको छ भने गाउँपालिकाले २० बेडको आइसोलेसन सेन्टर पनि छ । पालिकामा संक्रमित भएका बिरामीहरूलाई अक्सिजन दिएर हालसम्म राख्नु परेकोछैन । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । गाउँपालिकाले परीक्षण गर्दा लक्षण भए छुट्टै बस्न अनुरोध गर्छ र संक्रमण पुष्टि भएको व्यक्तिलाई अलग्गै राख्छ । कोभिड महामारी रोकथाम र नियन्त्रण भनेर बजेटको पनि व्यवस्थापन गरेका छौं । पालिकाले आवश्यक स्वास्थ्य सामाग्री खरिद गरी भण्डारणपनि गरेका छांै । कमजोर आर्थिक अवस्था भएकाहरूका लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनु भएको छ ? पालिकामा हालै राहतका कार्यत्रमहरु बाढि हाल्नु पर्ने अवस्था छैन । राहत नै बाढि हाल्नु पर्ने परिवार गाउँपालिकामा हुँदैन । हाम्रो पालिकामा के हुन्छ भने पहाडको ठाउँ, सबैको सामान्य आफ्नो जग्गा जमिन हुन्छ । किसानहरूलाई आफ्नो खोतीबाट खान पुगि रहेको छ । परिवारका सबै जना संक्रमित भए भने, जो कोभिड प्रभावित छन्, जसले ज्याला मजदुरी गरेर परिवार पाल्छ, जसले यो समयमा कामै गर्ने सक्दैन, त्यस्तो व्यक्तिलाई मात्र हामीले राहत दिन्छौं । पालिकामा राहत कोष पनि छ । तर, हालसम्म राहत वितरण गर्नु पर्ने अवस्था आएको छैन । तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा महत्वपुर्ण काम के के भए ? हो, लामो समय पछि संघीयता आएको र स्थानीय तहको नेतृत्व सम्हालेको पनि करिव ४ वर्ष पुगिसकेको छ भने हामी अन्तिम वर्षको कार्यकालको दौरानमा छौं । हामी जनप्रतिनिधि भएर आउँदा जनताको आधारभूत आवश्यकता, पूर्वाधारको अवस्था निकै कमजोर वा जीर्ण थियो । आजसम्म आइपुग्दा गाउँपालिकाको समग्र क्षेत्रमा विकास र परिवर्तन भएको अवस्था छ । हाम्रो पालिकामा ६ ओटा वडा छन् । यसै सन्दर्भमा सर्वप्रथम हामी निर्वाचितपछि पालिकाको सबै ठाउँमा बाटो विस्तारको कामलाई प्राथमिकतामा राखेर अघि बढ्यौं । अहिले हरेक वडामा सडक सञ्जाल पुर्याउन सफल भएका छौं । त्यसै गरी हामीले सडकको स्तरोन्नती पनि गरेका छौं । शिक्षा क्षेत्र तर्फ पनि धेरै काम भएका छन् । डिजिटल प्रणालीबाट सबै विद्यालयमा अध्यान अध्यापन गराउने भनेर नेट जडान, कम्प्युटर वितरण गर्ने काम पनि गरेका छौं । गुणस्तरीय शिक्षामा विशेष जोड दिएका छौं भने शैक्षिक सुधारका पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । शिक्षाका लागि विद्यालय भवन, शिक्षक पदपूर्ति गर्ने काम भएका छन् । सिँचाइ र खानेपानीमा पनि उल्लेख्य काम भएको छ । खेतबारीमा पानी पुर्याउनको लागि सबै ठाउँमा कुलोको स्थापना भइसकेको छ । पालिका भित्रका प्रत्येक घरमा खानेपानीसम्बन्धी कामलाई पूर्णता दिइसकेका छौं । बर्षायामको सुरुवातसँगै धेरै ठाउँमा बाढि पहिरो, भूक्षय हुँदा कहिले काई कुलो भक्तकिने, खानेपानीको मुहानमा समस्या आउने हुन्छ, त्यसलाई मर्मत सम्भार मात्र गर्नु पर्छ । पालिकामा अब खानेपानीको नयाँ निर्माणको काम गर्नु पर्दैन । निर्वाचित पस्चात हामीले पालिकामा प्रविधि युक्त १५ शैया बेडको अस्पताल पनि सञ्चालनमा ल्याएका छौं । त्यस्तै,सबै वडाका नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याएको छौं भने ६ वटौ वडामा स्वास्थ्य इकाईको स्थापना गरेका छौं । विद्युतीकरण गर्ने कार्य पनि भइरहेको छ । स्थानीय सरकारमा काम गरेको ४ वर्ष परा हुँदा काम गर्दै जाँदा के– कस्ता चुनौती र समस्या आए त ? स्वभाविकरूपले काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । सुरुमा सङ्घीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । हाम्रो जस्तो पहाडी भूभाग भएको ठाउँमा अनेक हुन्छ, बनाउँदै गयो भत्किँदै जान्छ । पूर्वधारको काम त निरन्तर नै चली रहन्छ । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । कर्मचारी अभावका कारण दैनिक प्रशासन सञ्चालन गर्न समेत स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । हाल हामीले संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न नीति नियम र कानुनहरूले स्थानीय सरकारका अधिकारका क्षेत्र प्रष्ट पारिसकेका छौं । गाउँपालिकाले दरबन्दी सिर्जना कर्मचारीहरू पनि राखेको छ । विकासको निर्माणको काम गर्ने समयमा हामी कोभिडको सामना गरी रहेका छौं । थोरै विकास निर्माणको काम गर्नको लागि धेरै बजेको आवश्यकता हुन्छ । स्थानीयस्तरका युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा पालिकाले कस्तो भूमिका खेलेको छ ? युवा लक्षित गर्दै पालिकामा विभिन्न कृषि र पशुपालनका सिपमूलक कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । गाउँपालिकाका युवाहरूलाई प्रविधिसँग सम्बन्धित तालिमहरू सञ्चालन गर्दै आएका छौं । सबै व्यवसायी युवाहरूलाई सिप युक्त बनाएका छौं । युवाहरूलाई कृषि र पशुपालनमा जोडिनको लागि आग्रह गरेका छौं । कृषि र पशुपालन गर्नको लागि पनि हामीले प्रोत्साहन गरेका छौं । सिपमूलक भए बसेका धेरै युवाहरूले रोजगारी पाएका छन् । युवा स्वरोजगारको लागि हामीले जोड दिइरहेका छौं । युवाहरूको समूह गठन गरी युवाहरूलाई कृषिमा अनुदान दिने व्यवस्था मिलाएका छौं । कृषिका अतिरिक्त केही मानिसहरू सरकारी तथा गैरसरकारी सेवामा संलग्न रहेका छन् भने केही व्यापार व्यवसायमा संलग्न भएका छन् । तर, धेरै जसो पालिकामा निर्वाहमुखि कृषि प्रणाली छ । निर्वाहमुखि कृषि प्रणालीलाई व्यावसायिक बनाउनको लागि पालिकाले सबैलाई आग्रह गरेको छ । पालिकाको विकास निर्माणको काममा पनि युवाहरूलाई परिचालन गर्दै स्वरोजगार बनाइरहेका छौं । यहाँ कृषि, पशुपालन, ज्यालामजदुरीका अतिरिक्त अन्य वैकल्पिक रोजगारीका अवसरहरू खोजी गरेको पाइन्छ । ‘एक घर एक रोजगार’ ‘एक घर एक उद्योग’ लाई प्राथमिकता दिएर अगाडि बढ्ने लक्षय पनि राखेका छौं । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? पालिकाका वासिन्दाहरुलाई के अनुरोध गर्न चाहन्छु भने अहिलेसम्म गाउँपालिकाले गरेको कामलाई पालिकावासिहरुले पनि बुझिसक्नु भएको छ । विकास निर्माणको काम जनप्रतिनिधि एक्लैले मात्र गरेर भएको होइन बरु यहाँका राजनैतिक दल, नागरिक आदि सबैको सहयोगले यो सफलता पाउन सकेका हौं । त्यति हुँदाहुँदै पनि कहिलेकाहिँ भनेजस्तो काम हुन सकिरहेको हुँदैन । तर, हामीले पालिकामा जति पनि विकास निर्माणको काम गर्यौं त्यो काम उपलब्धिमुलक नै छ भन्ने मलाई लाग्छ । भौगोलिक रूपमा दुर्गम भएता पनि भौगोलिक विविधता, प्रशस्त पानीको स्रोत, घना जङ्गल, चरण क्षेत्र, मलिला बेसीका कारण कृषि, पशु र पर्यटनको प्रशस्त सम्भावना बोकेको मेन्छयायेम गाउँपालिका यिनै सम्भाव्यताको व्यावसायिकीकरण गर्दै समृद्ध पालिका बनाउनु पर्छ पनि भन्न चाहन्छु । हाम्रा तमाम जनतालाई कसरी व्यावसायिक बनाएर अगाडि बढाउने भन्ने नै गाउँपालिकाको खास कार्यक्रम हो । जसले जे काम गर्छ त्यो चाहिँ व्यावसायिक रूपमा सञ्चालन गर्ने र उसले कम्तीमा उत्पादन गरेको बस्तुलाई बजारमा लगेर बचेन सकोस् भनेर हामीले काम गरी रहेका छौं । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नेको लागि गरेका छौं । नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । पालिकालाई सुन्दर र समृद्ध बनाउनको लागि हामी सबै लाग्नु पर्छ । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । हामीले विकास निर्माणको कुरामा पनि जोड दिइरहेका छौं ।

‘हाम्रो कार्यकालमा गाउँपालिकाको ९५ प्रतिशत घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य राखेका छौं’

नेपालको संविधान २०७२ को घोषणासँगै हाम्रो देश औपचारिक रूपमा संघिय लोकतान्त्रिक गणतन्त्रको दिशामा अगाडि बढ्यो । संघ, प्रदेश र स्थानियस्तरमा गरी ३ तहका सरकार संरचनाको निर्माण भयो । मुलुकमा तिन तहको सरकार भएपनि नागरिकका लागि गाह्रोसाह्रो पर्दा गुनासो गर्न सजिलो सरकार भनेकै स्थानीय तह हो । यस्तै नेपाल राज्य पुनर्संरचना अन्तर्गत अर्घाखाँची जिल्लाका ६ स्थानीय तहमध्येको एक पाणिनी गाउँपालिका हो । निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन गरेको करिब ४ वर्ष पुगेको छ, निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा गरेका विकास निर्माणको काम, हिजोआज गाउँपालिकाले कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि गरिरहेको गतिविधि लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : स्थानीय सरकारको चार वर्ष कार्यकाल पूरा हुँदा आफ्नो नेतृत्व कस्तो भएजस्तो लाग्छ, सफल वा असफल ? लामो समयसम्म जनप्रतिनिधि विहीन भइरहेको अवस्था थियो । स्थानीय सरकारमा निर्वाचित भएर आइसकेपछि जनताका धेरैजसो अपेक्षा पूरा गर्न सफल भएका छौं । यहाँका नागरिकहरूले आफ्नो समस्या पालिकामा राख्नसक्ने भएका छन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि विकास निर्माणका कामहरू पनि धेरै भएका छन् । त्यसैले तुलनात्मक रूपमा मैले मेरो कार्यकाल सफल रहेको भन्नुपर्छ । तपाईंको कार्यकाल प्रारम्भ भएपछि पालिकाभित्र गौरवका आयोजनाको रूपमा कुन–कुन आयोजना अगाडि बढाउनुभयो ? हाल तिनीहरूको अवस्था कस्तो रहेको छ ? स्थानीय सरकारको सानो विकास बजेटले त्यति धेरै गौरवका आयोजनाहरू गर्नसक्ने अवस्था छैन । तर, पनि हामीले सबै वडामा स्वास्थ्य सेवा पुर्याउन सफल भएका छौं । पालिकाको एउटा वडा बाहेक अरु सबै वडामा वडा कार्यालय रहेका छन् । हामीले पालिकाभित्र गौरवको आयोजनाको रूपमा भौतिक पूर्वाधार, सबै वडा कार्यालयमा सडकको पहुँच, पालिका भवन निर्माणको काम अगाडि बढाएका थियौं । यीमध्ये अधिकांश आयोजनाहरू पूरा भएका छन् । हामीले आयोजनाहरू सम्पन्न गर्दा पालिकाले नयाँ प्रकारको स्वरुप प्राप्त गर्ने विश्वास लिएका छौं । हामीले ‘एक घर एक धारा’ नामक खानेपानी आयोजना सञ्चालन गरी ५० प्रतिशत घरधुरीमा खानेपानी पुर्याएका छौं । हाम्रो कार्यकालमा गाउँपालिकाको ९५ प्रतिशत घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य राखेका छौं । हामी गाउँपालिकाको भवन निर्माणको कामलाई पनि अगाडि बढाएका छौं । ९ करोड रुपैयाँ बराबरको लगानीमा गाउँपालिकाको भवन निर्माण हुन लागेको छ । भवन निर्माणको काम ठेक्का प्रक्रियाबाट अगाडि बढेको छ । सडकको स्तरोन्नती र निर्माणको काम पनि भएका छन् । वर्तमान अवस्थामा पालिकाभित्रको शिक्षाको अवस्था कस्तो रहेको छ ? पालिकाको तर्फबाट शिक्षा क्षेत्रमा के के महत्वपुर्ण कामहरू गर्नुभएको छ ? शिक्षा नै मानव स्रोत, सामाजिक, आर्थिक विकास तथा उन्नयनको आधार हो । वर्तमान संविधानमा आधारभूत तथा माध्यमिक शिक्षासहित शैक्षिक व्यवस्थापनको महत्वपूर्ण कार्य स्थानीय तहको अधिकार क्षेत्रभित्र छ । तर, वर्तमान अवस्थाको कुरा गर्दा शिक्षा क्षेत्र समाजमा अहिले समस्याको विशेष थियो । जनचेतनको कमिका कारण गाउँबाट मानिसहरू विस्थापित हुने क्रम पनि जारी छ । स्थानीय तहको संरचना बनेसँगै पालिकामा पनि शिक्षा क्षेत्रमा पनि ठुलो परिवर्तन आएको छ । गुणस्तरीय शिक्षामा विशेष जोड दिएका छौं । शिक्षकहरूलाई विषयगत तालिमको व्यवस्था गर्ने, विद्यालयहरूको भौतिक पूर्वाधार पक्षलाई सुधार गर्ने, पुस्तकालयको व्यवस्था गर्ने, आदि जस्ता कार्यक्रमहरूलाई पालिकाले अगाडि बढाएको छ । शैक्षिक क्षेत्रसँग सम्बन्धित समस्या र आवश्यकताहरूको सम्बोधन गर्न त धेरै नै बाँकी छ । तर, पनि स्थानीय तहको सञ्चालन पुर्वको अवस्थाभन्दा व्यवस्थित र पारदर्शी हिसाबले शैक्षिक क्षेत्र सञ्चालन भएका छन् भन्ने हामीलाई लागेको छ । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरू पनि रहेको छ । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण छौं । कोरोनाको कारण गाउँपालिकाका शैक्षिक क्षेत्रहरु पनि प्रभावित बन्दै गाएका छन् । विद्यालयको आवश्यकता अनुसार शैक्षिक सामाग्रीको उपलब्धता गराएका छौं । गाउँपालिकाले कोभिड १९ रोकथाम र नियन्त्रणका लागि के गरिरहेको छ ? विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) ले हाम्रो पालिकामा पनि नराम्रोसँग प्रभावित बनाएको छ भने यस भाइरसबाट पालिका पनि अछुतो रहन सकेन । कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि पालिकाले सक्दो प्रयास गरी रहेको छ भने प्रभावकारी कदम चालेका छौं । महामारी नियन्त्रण गर्नेको लागि जिल्लाको निष्कर्ष बमोजिम निषेधाज्ञा जारी गर्दै आएका थियौं तर हाल निषेधाज्ञा खुकुलो छ । यस महामारीलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । बाहिरी जिल्लाबाट वा भारतबाट पालिकामा प्रवेश गर्ने नागरिकलाई पनि होम क्वारोन्टिनमा बस्नको लागि आग्रह गर्दै आएका छौं । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा पालिकाको मुख्य प्राथमिकता रहेको छ । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । त्यसैले धेरै मानिसहरू संक्रमित हुनबाट जोगिए । गाउँपालिकाले परीक्षण गर्दा लक्षण भए छुट्टै बस्न अनुरोध गर्छ र संक्रमण पुष्टि भएको व्यक्तिलाई अलग्गै राख्छ । हामीले गत वर्ष कोरोना संक्रमण सुरु हुँदा क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, पीसीआर परीक्षण, राहत वितरण लगायतको कामहरू पनि गर्दै आएका थियोैं। कोभिड महामारी रोकथाम र नियन्त्रण भनेर बजेटको पनि व्यवस्थापन गरेका छौं । पालिकाले आवश्यक स्वास्थ्य सामाग्री खरिद गरी भण्डारणको पनि व्यवस्था गरेको छ । पालिकामा स्थानीय जनप्रतिनिधि, वडा स्वास्थ्य चौकी र स्थानीयबासीसँगको समन्वयमा परीक्षण भइरहेको छ भने गाउँपालिकाले ६ बेडको आइसोलेसन सेन्टर पनि बनाएको छ । मानिसहरू बिरामी भएर बेड नपाएर उपचार नपाउने जस्ता समस्याहरू पालिकामा छैन । नागरिकलाई स्वास्थ्य सेवा पनि राम्रो दिन सकिरहेका छौं । गाउँपालिकामा कोरोना संक्रमणको पछिल्लो अवस्था कस्तो छ ? पालिकामा महामारी गत वर्षभन्दा यस वर्ष व्यापक रूपमा फैलिएको छ । पछिल्लो समय संक्रमण दर घटेको छ भने धेरैजसो बिरामी निको भएका छन् । पालिकामा परीक्षण गर्दा फाट्टफुट्ट रूपमा संक्रमितहरु देखापर्ने क्रम जारी नै छ । तपाईंको कार्यकालमा भएको सबै भन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ? हामीले गर्नुपर्ने केही कामहरू अझ पनि बाँकी छन् । भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रतर्फ केही उपलब्धिहरू भएको छ । मेरो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि नै न्यायिक क्षेत्रमा आएको सुधार पनि हो । पिडा भोगिरहेका नागरिकलाई पिडाबाट मुक्त गरेका छौं । एक मात्र क्षेत्रमा नभएर विभिन्न क्षेत्रहरूमा सुधार र परिवर्तन ल्याउनु नै मेरो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि हो । स्थानीयस्तरका युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा पालिकाले कस्तो भूमिका खेलेको छ ? युवा लक्षित गर्दै पालिकामा विभिन्न कृषि र पशुपालनका सिपमूलक कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । युवाहरूलाई कृषि र पशुपालनमा जोडिनको लागि आग्रह गरेका छौं । कृषि र पशुपालन गर्नको लागि पनि हामीले प्रोत्साहन गरेका छौं । सिपमूलक भए बसेका धेरै युवाहरूले रोजगारी पाएका छन् । युवा स्वरोजगारको लागि हामीले जोड दिइरहेका छौं । युवाहरूको समूह गठन गरी युवाहरूलाई कृषिमा अनुदान दिने व्यवस्था मिलाएका छौं । कृषिका अतिरिक्त केही मानिसहरू सरकारी तथा गैरसरकारी सेवामा संलग्न रहेका छन् भने केही व्यापार व्यवसायमा संलग्न भएका छन् । धेरै यूवाशक्ति भने वैदेशिक रोजगारीमा जाने गरेका छन् । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका । धेरै रोजगारी सिर्जना गर्नको लागि पालिकामा ठुला उद्योग छैनन् । पालिकाको विकास निर्माणको काममा पनि युवाहरूलाई परिचालन गर्दै स्वरोजगार बनाइरहेका छौं । यो क्षेत्रमा खेतीयोग्य जमीनभएपनि सिँचाई अभाव तथा उच्च आधुनिक प्रविधिको अभावमा यहाँका मानिसहरू जीविकोपार्जनका लागि व्यवसाय, कृषि, पशुपालन, ज्यालामजदुरीका अतिरिक्त अन्य वैकल्पिक रोजगारीका अवसरहरू खोजी गरेको पाइन्छ । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । यति हुँदाहुँदै पनि ठ्याक्कै भनेजस्तो काम हुन सकेको छैन । पालिकालाई सुन्दर र समृद्ध बनाउनको लागि हामी सबै लाग्नु पर्छ । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । हामीले विकास निर्माणको कुरामा पनि जोड दिइरहेका छौं । अनि अहिलेका चुनौतीको रूपमा खडा भएको कोभिड महामारीसँग जुध्नको लागि स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि समग्र पालिकावासीलाई आग्रह गर्छु । भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागिपरेका छौं । यस भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारीको संक्रमण झन् धेरै फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।