“गाउँपालिकामा महामारी न्यूनीकरण गर्न भनेर ५० लाख रुपैयाँको स्वास्थ्य सामाग्री खरिद गरेका छौं”

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण हाल सारा विश्व नै ठुलो सङ्कटमा छ । विभिन्न देशहरू यो सङ्कटलाई परास्त गर्न लागिपरेको भएता पनि संक्रमणलाई नियन्त्रण गर्न सफल चाहिँ भएको छैन । नेपालमा पनि सामाजिकस्तरमा कोरोना भाइरसको महामारी व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ भने यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाको प्रयोग गरी राखिएको छ । तर, पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको र निषेधाज्ञालाई खुकुलो बनाइँदै गएको छ । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण फैलिनसक्ने जोखिम पनि उच्च छ । यस महामारीबाट बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिका पनि प्रभावित बन्न पुग्यो । यसैक्रममा हिजोआज गाउँपालिकाले कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि गरिरहेको गतिविधि, स्थानीय तहमा निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा गरेका विकास निर्माणको काम लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाले के गरिरहेको छ ? विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । यस महामारीलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । त्यसैले धेरै मानिसहरू संक्रमित हुनबाट जोगिए । गाउँपालिकाले समुदायस्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमतिसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने व्यवस्था गरेका छौं । पालिकामा संक्रमण बढ्दै जाँदा २४ बेडकाे आइसोलेसन कक्ष पनि बनाएका छौं । बाहिरी जिल्लाबाट आउने वा लक्षण देखिएका व्यक्तिहरूलाई तत्काल होम क्वारेन्टाइनमा राख्ने र उनीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने गरेका छौं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि साथीहरूको सक्रियतामा हामीले यसका बारेमा शुरुदेखि नै सचेतनामा जोड दियौं । गाउँपालिकामा कोरोना संक्रमणको पछिल्लो अवस्था कस्तो छ ? दोस्रो लहरेको कोरोना भाइरस सुरुसुरुमा पालिकामा पनि व्यापक रूपमा फैलिएको छ । पछिल्लो समय संक्रमण दर घटेको छ भने धेरैजसो बिरामी निको भएका छन् । असर १५ गतेको तथ्याङ्क अनुसार पालिकामा हालसम्म १ सय ४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म ६ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा एन्टीजेटमाफर्त १ सय ७२ जना संक्रमित पुष्टि भएको छ । अन्य अस्पतालमा परीक्षण गराई आएका संक्रमितको संख्या २ रहेको छ । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दागर्दै पनि पालिकाले २ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएको छ । हालसम्म १ सय ५४ जना होम आइसोलेसनमा बसेका छन् भने राक्सिराङ्ग कोभिड अस्पतालमा २० जनाले उपचार सेवा पाएका छन् । गाउँपालिकाले आफ्नो क्षेत्रमा राहतका प्याकेजहरू पनि ल्याएको छ कि ? हामीले पालिकामा राहत प्याकेजहरू ल्याएका छौं । जो दैनिक काम गरेर गुजारा चलाउने वर्ग छ उनीहरूको समस्या हामीले मुख्य रूपमा लिएका छौं । गरिब र आर्थिक स्थिति कमजोर भएका परिवारलाई पालिकाबाट राहत वितरण गरिएको हो । कोरोना संक्रमित भएका विपन्न वर्गको लागी चामल, नुन, तेल आदि वितरण गरेका छौं भने अन्यलाई गरेका छैनौं । जो कोभिड प्रभावित छन्, जसले ज्याला मजदुरी गरेर परिवार पाल्छ, जसले यो समयमा कामै गर्ने सक्दैन, त्यस्तो व्यक्तिलाई मात्र हामीले राहत दिन्छौं । कोभिड बढ्दै गयो भने राहतको कार्यक्रमहरू ल्याउनु पर्ने अझ आवश्यक र अनिवार्य हुनेछ । ३ ओटा वडामा राहत वितरण गर्न अझै बाँकी नै छ । हालसम्म गाउँपालिकाका २५ सय घरपरिवारलाई राहत वितरण गरेका छौ । कोरोना नियन्त्रणमा गाउँपालिकालाई के–कस्ता समस्या छन् ? अबका चुनौती के छन् ? चुनौती र समस्या त धेरै छन् । यस महामारीलाई न्यूनीकरण र व्यवस्थापन गर्नको लागि अर्थको आवश्यकता छ । गाउँपालिकाले कोभिड व्यवस्थापन कोष भनेर आगामी योजनामा राखेको छ । पालिकामा महामारी न्यूनीकरण गर्नको लागि ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री खरिद गरेका छौं । पालिकाले खरिद गरेका स्वास्थ्य सामाग्रीले मात्र महामारी न्यूनीकरण गर्नको लागि नपुगे पछि विभिन्न संघसंस्थाले पनि पालिकालाई स्वास्थ्य सामाग्री दिएर सहयोग गरेका छन् । तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा महत्वपुर्ण काम केके भए नि ? हामी जनप्रतिनिधि भएर आउँदा जनताको आधारभूत आवश्यकता, पूर्वाधारको अवस्था निकै कमजोर एवं जीर्ण थियो । हामी पालिकामा निर्वाचित भएर आएपछि विकास निर्माणका कामहरू धेरै भएका छन् । निर्वाचितपछि पालिकाको सबै ठाउँमा बाटो विस्तारको कामलाई प्राथमिकतामा राखेर अघि बढियौं । अहिले हरेक वडामा सडकको पहुँच पुगेको छ भने टोल टोलमा सडक पुर्याउन पनि सफल भएका छौं । सिँचाइ र खानेपानीमा पनि उल्लेख्य काम भएको छ । विद्युतीकरण गर्ने कार्य पनि भइरहेको छ । स्थानीय सरकार बनेपछि पालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ । शिक्षा क्षेत्र तर्फको कुरा गर्दा गुणस्तरीय शिक्षाका लागि विद्यालय भवन, शिक्षक पदपूर्ति गर्ने काम भएका छन् । स्वास्थ्यको क्षेत्रमा पनि हामीले महत्वपुर्ण काम गरेका छौं भने प्रत्येक वडामा स्वास्थ्य इकाईको स्थापना गरेका छौं । गाउँपालिका पनि विस्तारै विकास र सम्बृद्धितर्फ उन्मुख हुँदै गएको छ । हामी निर्वाचित भएर आएपछि हरेक क्षेत्रमा सुधार र परिवर्तन आएको छ । निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धता के कति पूरा गर्नुभयो? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम धेरै पुरा गरिसकेका छौं । पूरा गर्न नसक्ने कुराहरू घोषणापत्रमा लेखेका थिएनौं । कोभिडको संक्रमण नबढेको भए सायद घोषणापत्रमा लेखेको काम भन्दा धेरै पुरा गर्ने थियौं होला । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं । केही कामहरू त बाँकी पनि रहेको छ तर हाम्रो कार्यअवधी सकिदा बाँकी कामहरू पनि सक्छौं भन्ने आशा रहेको छ । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुँदैन । हामीले गर्छौं भनेको कुरा बाहेक अन्य विभिन्न कुराहरू पनि महत्वपुर्ण हुन सक्छन् भन्ने ठानेर समग्र पालिकाको विकास निर्माणमा जुटेका छौं । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? पालिकामा युवा स्वरोजगारका विभिन्न कार्यक्रमहरू रहेका छन् । युवाको सिप विकास गर्नको लागि विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौं । केही युवाहरूले सिप सिकेर पालिकामा नै रोजगारी मूलक बनेका छन् । काम गर्न चाहने युवाहरूको लागि त धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । स्थानीय बासिन्दाको माग कसरी सम्बोधन गरिरहनुभएको छ ? जनताको नजिकबाट स्थानीय क्षेत्रको सुरक्षा, विकास निर्माण, निर्वाचन तथा प्रशासनिक कार्य सञ्चालन निकाय तथा तह नै स्थानीय तह हो । हामी जनताबाटै निर्वाचित भएर आएका हौं । मानिसहरूको आवश्यकता असीमित हुन्छ । माग पनि धेरै हुन्छ । सबैको मागलाई पुरा गर्न नसके पनि प्राथमिकता अनुसारका मागलाई चाहिँ पुरा गर्दै आएका छौं । हामीले पनि जनताको माग अनुसार नै काम गर्ने प्रयत्न गरी रहेका छौं । जनताले महसुस गर्ने गरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । आगाकि आर्थिक वर्ष २०७८÷७९ को बेजटामा पनि हामीले जनताको माग अनुसार नै सम्बोधन गरेका छौं । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । जनताको मागलाई पनि सकेसम्म सम्बोधन गरी रहेका छौं । जनताको आवश्यकता र समस्यालाई हल गरी नै अगाडि बढि रहेका छौं । संघ र प्रदेश सरकारबाट आएका बजेट सही ठाउँमै प्रयोग गरेका छौं । त्यति हुँदाहुँदै पनि ठ्याक्कै भनेजस्तो काम हुन सकेको छैन । पालिकालाई सुन्दर र समृद्ध बनाउनको लागि हामी सबै लाग्नु पर्छ । नागरिकको आवश्यकता पुरा गर्नमात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । हामीले विकास निर्माणको कुरामा पनि जोड दिइरहेका छौं । सबै जना आत्मनिर्भर हुन् पनि भन्न चाहन्छु । अनि, पालिकामा पछिल्लो समयमा कोरोनाको संक्रमण कम छ तर फेरी संक्रमण फैलिन सक्छ । त्यसैले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु । विकास निर्माणको काम त अर्काे वर्ष पनि गर्न सकिन्छ तर कोरोनाबाट सबै बचौं भन्न चाहन्छु ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाले छोरी जन्मिए बैंक खातामा १५ हजार राखिदिने

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी १५ हजार बचत कार्यक्रम ल्याएको छ । ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए । ‘परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले १५ हजार बचत गर्छ र त्यो शिशुको परिवारलाई पनि अनिवार्य कम्तीमा रु पाँच हजार वा त्योभन्दा बढी रकम जम्मा गर्न लगाइन्छ’, उनले भने । उक्त रकम २० वर्षका लागि बचत गरिने र छोरी २० वर्ष पुग्दा उच्च शिक्षाका लागि प्रयोग गर्न सकिने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो । उक्त रकम पाउन गाउँपालिकाले गर्भवतीले नियमित स्वास्थ्य संस्थामा जाँच गरे नगरेको रिपोर्ट कार्ड अनिवार्यसमेत गराएको छ । त्यसले गर्दा गर्भावस्थामा जाँच गर्नेको सङ्ख्यामा वृद्धि हुने गाउँपालिकाको अपेक्षा छ । गर्भवतीले अनिवार्य बर्थिङ सेन्टरमा शिशु जन्माउनुपर्ने छ । कार्यक्रममार्फत शिशु जन्मेको ३५ दिनमा नै जन्मदर्ता गराइसक्नुपर्ने व्यवस्था रहेकाले जन्म दर्ता पनि समयमा नै हुने अध्यक्ष थापाले बताए । मधेशमा महिलाको नागरिकता समयमा नै नबनाउने दरमा यो कार्यक्रमले कमी ल्याउने वडा नं ७ का वडाध्यक्ष दिनेश चौधरीले बताए । यसले महिला हिंसामा समेत न्यूनीकरण ल्याउने विश्वास गरिएको छ । गाउँपालिकाले पहिलो छोरीको खातामा जम्मा गरिदिने उक्त रकमले उनलाई उच्च शिक्षा पढाउने भार पनि कम हुने र बिहेवारी गर्दा लाग्ने खर्चमा समेत राहत पुग्ने गाउँपालिकाको विश्वास छ । नियमित विद्यालय जान र शिक्षाप्रति आकर्षित गर्न गाउँपालिकाले हरेक वर्ष कक्षा ६ भन्दामाथि अध्ययनरत छात्रालाई साइकल, शैक्षिक सामग्री र छात्रावृत्ति वितरण गर्दै आइरहेको छ । रासस

गाेरखाकाे सर्वोत्कृष्ट गाउँपालिका बन्याे बारपाक सुलिकोट

गााेरखा । गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङकन कार्याविधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्याङकनमा सो गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट बन्न सफल भएको हो । कार्यविधिमा समावेश गरिएका १० सूचक र १०० उपसूचकका आधारमा बारपाक सुलिकोट गाउँपालिकाले ६६.७५ प्रतिशत अङ्क प्राप्त गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । त्यस्तै कार्यविधिको मापदण्डअनुसार संस्थागत क्षमताको स्वमूल्याङकनमा भीमसेन थापा गाउँपालिका सबैभन्दा पछाडि परेको छ । सो गाउँपालिकाले ३३.५ प्रतिशत अङ्क प्राप्त गरेको छ । संस्थागत क्षमताको स्वमूल्याङकनको आधारमा जिल्लाको अजिरकोट गाउँपालिका दोस्रो र शहिद लखन गाउँपालिका तेस्रो गाउँपालिका बनेको छ । अजिरकोटले ६५.५ प्रतिशत र शहिद लखनले ६०.२५ अङ्क ल्याएका छन् । कार्यविधिअनुसार गाउँपालिका र नगरपालिकाका सबल र दुर्बल पक्षहरुको पहिचान र समीक्षा गर्ने गरिन्छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी स्वयंले सहभागितामूलक विधिद्वारा आ–आफ्नो स्थानीय तहको कार्यबारे मूल्याङ्कन गर्ने गर्दछन् । नगरपालिका र गाउँपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरु बनाएर त्यस आधारमा कामको मूल्याङ्कन गर्न कार्यविधिले सघाउने सुलिकोट गाउँपालिका अध्यक्ष भट्टले बताए । शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सामाजिक समावेशीकरण, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सङ्गठन तथा प्रशासन, सहकार्य र समन्वयको आधारमा स्थानीय तहरुले नम्बर प्राप्त गर्दछन् । जिल्लाका ११ स्थानीय तहमा आरुघाट गाउँपालिकाले भने भर्खरै मात्र संस्थागत क्षमताको स्वमूल्याङकन प्रक्रिया शुरु गरेको जनाएको छ । रासस