फुङलिङ नगरपालिकाकाे बजेट ६३ करोड ३९ लाख १५ हजार
काठमाडौं । ताप्लेजङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ६३ करोड ३९ लाख १५ हजार २ सय १० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख बम बहादुर भटाराईले बिहिबार नगरमा आयोजित बजेट नगरसभाको दशाैं अधिवेशनमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नगरले स्वास्थ्य, भौतिक पूर्वाधार र कृषि र रोजगारीलाई बढी प्राथमिकता दिएर बजेट ल्याएका छन् भने आगामी आर्थिक वर्षमा कोभिड महामारीबाट नगर बासिन्दाको जीवन रक्षा गर्दै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य बजेटले लिएको छ । नगरपालिकाले संघीय सरकारबाट ८ करोड रुपैयाँ सामाजिक सुरक्षा अनुदान प्राप्त हुने अनुमान गरेको छ । कृषि, सहकारी, पशुपालन, सहकारी उद्योग र पर्यटन क्षेत्र गरी आर्थिक विकासतर्फ ३ करोड ३८ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
विराटनगर महानगरको बजेट ४ अर्ब १० करोड
काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाकी नगर उपप्रमुख इन्दिरा कार्कील नरसभामा उक्त रकम बराबरको बजेट पेश ल्याएको जानकारी दिएका हुन् । उनले पेस गरेको वार्षिक बजेट चालु खर्च ४६ करोड ७० लाख ५२ हजार ९ सय २५ र पूँजीगत खर्च ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार छुट्याइएको छ । महानगरले वडास्तरीय आयोजनाका लागि २६ करोड ७८ लाख रुपैयाँ छुट्याएको छ । नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख विनियोजित भएको छ । महानगरले वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ खर्च गर्नेछ भने चालुतर्फ ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत बजेट विनियोजन गरेको छ । महानगरले वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख तथा ल्याण्डफिल्ड साइड, अन्तर्राष्ट्रिय सभाहलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ । महानगरले पूर्वाधार विकासका लागि २ अर्ब ४ करोड ३९ लाख ४८ हजार रुपैयाँ छुट्याएको छ । सामाजिक विकासतर्फ १ अर्ब २६ करोड ६९ लाख रुपैयाँ र आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख रुपैयाँ बजेट छुट्याएको छ । महानगरले सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । चालु आर्थिक वर्षको बजेटभन्दा महानगरले करिब २० करोड कम आकारको बजेट ल्याएको छ ।
भरतपुर महानगरको बजेट ४ अर्ब ८१ करोड
काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा करिब ५० लाख रुपैयाँ बढाएर बजेट ल्याएको छ । महानगरपालिकाले पूर्वधार तथा पर्यटन प्रवद्धनलाई विकास, बेरोजगारी यूवालाई ऋण दिने जस्ता कार्यक्रमलाई मुख्य प्रथामिकतामा राखेको छ । महानगरले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई २ करोड रपैया बजेट विनियोजन गरेको छ भने अन्य योजनाहरुलाई ९८ करोड रुपैयाँ छुट्याइएको छ । हरेक वडालाई ७० लाखका दरले बजेट दिनेको भएको छ । यस्तै, आगामी आवको लागि आन्तरिक आयबाट एक अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेशन, खानी तथा खानीजन्य पदार्थ बाँडफाँडबाट प्राप्त आयसमेत) र अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट एक अर्ब ७७ करोड २९ लाख ८३ हजार रुपैयाँ प्राप्त हुने महानगरको अनुमान छ । महानगरले केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, बैंक मौज्दात १ अर्ब, मर्मत सम्भार कोषबाट ३ करोड, सडक बोर्ड नेपालबाट ३ करोड र जिल्ला समन्वय समितिबाट ३ करोड जुटाउने लक्ष्य राखेको छ । बेरोजगार युवाहरुलाई रोजगारी प्रवर्द्धन गर्न ५ लाख रुपैयासम्मको ऋणको ब्याजमा ३ वर्षसम्म शतप्रतिशत अनुदान दिइने उल्लेख छ । निजी क्षेत्रसँगको सहकार्यमा पूर्वाधार निर्माण गर्न तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाले स्वास्थ्य, भौतिक पूर्वाधार र कृषि र रोजगारीलाई बढी प्राथमिकता दिएर बजेट ल्याएका छ भने आगामी आर्थिक वर्षमा कोभिड महामारीबाट महानगर बासिन्दाको जीवन रक्षा गर्दै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य बजेटले लिएको जनाईएको छ । महानगरपालिकाकी उपप्रमुख पार्वती शाहा ठकूरीले आर्थिक वर्ष २०७८/७९ बजेट प्रस्तुत गरेकी हुन ।