गाउँपालिका अध्यक्ष भन्छन्– स्वरोजगार बन्न चाहने युवालाई १५ लाखसम्म ऋण दिन्छौं

सुनापति गाउँपालिका बागमती प्रदेशअन्तर्गत रामेछाप जिल्लामा पर्ने सुन्दर एवं रमणीय गाउँपालिका हो । ५ ओटा वडा रहेको यस गाउँपालिका ८६ दशमलव ९८ वर्ग किलोमिटरसम्म फैलिएको छ । रामेछाप जिल्लामा रहेको सुविख्यात सुनापति डाँडाको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । यस पालिकाको पूर्वमा खाँडादेबी गाउँपालिका, पश्चिममा चौंरीखोला, उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सुनकोशी नदी रहेको छ । यस गाउँपालिकाको अधिकांश भाग पहाडी भू–भागले ढाकिएको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकरूपले बेग्लै विशेषता बोक्न सफल रहेको यस गाउँपालिकामा कृषि विकासका लागि के–कसरी काम हुँदै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष धावा लामासँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी: कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । पालिकामा हेल्थडेक्सको पनि स्थापना गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघ संस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । संक्रमण दर गत सालभन्दा भयावह भइरहेको छ । तर हालसम्मको अवस्थालाई मध्यनजर गर्दा भने यस पालिकामा कोरोनाको प्रभाव खासै रहेको छैन । कोरोनाको प्रभाव नपरे तापनि कोरोना न्यूनिकरण गर्नको लागि पूर्वतयारी भने गरिएको छ । हामीले पालिकामा ६५ बेडको क्वारेन्टिन स्थापना गरेका छौं । पालिकामा हाल ५ बेडको आइसोलेसन कक्षको स्थापना तथा व्यवस्थापन गरी सबै वडामा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौं । आवश्यक मात्रामा अक्सिजन खरिद गरी स्टोर गरिएको छ । हालसम्म पालिकाका कुनै पनि नागरिकलाई कोरोना लागेको छैन । कोभिडको बिरामीहरूलाई पालिकामा नै उपचार गर्ने तयारीमा छौं । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पूरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पूरा भए अनि कति बाँकी छन् होला ? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेका कुराहरु पूरा गर्न सफल भएका छौं । पालिकाको विभिन्न क्षेत्रहरुमा पहिलेभन्दा वृहत्तर सुधार पनि आएको छ । पालिकामा ६ ओटा झोलुङ्गे पुलको निर्माण गरेका छौं । पालिकाकै पहलमा गाडि गुड्न सक्ने २ ओटा पक्की पुलको निर्माण भइरहेको छ । पालिकाको प्रत्येक घरमा बिजुली पुर्याउन पनि सफल भएका छौं । पालिकाको प्रत्येक घरमा सडक पुर्याएका छौं । पूर्वाधार विकास, पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेका छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुँदैन । हामीले गर्छौं भनेको कुराबाहेक अन्य विभिन्न कुराहरू पनि महत्वपूर्ण हुन सक्छन् भन्ने ठानेर समग्र पालिकाको विकास निर्माणमा जुटेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ? हामीले शैक्षिक क्षेत्रको विकासको लागि धेरै काम गर्दै आएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरु रहेका छन् । पालिकामा ३ ओटा प्रविधिक विद्यालयहरु पनि रहेका छन् । बाहिरी जिल्लाबाट पालिकामा शैक्षिक अनुगमन गर्नको लागि आउने पनि छन् । विद्यालयहरुमा हालको विसम परिस्थितिमा पनि अनलाइन शैक्षिक कक्षाहरु सञ्चालन हुने गरेका छन् । सबै विद्यालयहरुमा पालिकाको तर्फबाट विभिन्न संरचनाको पनि निर्माण गरेका छौं । विद्यार्थीलाई गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक एवं व्यवस्थापन समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । शिक्षा विकासका लागि गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती प्रदान गर्ने गरेका छौं । शैक्षिक सुधारको लागि हामीले विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? हामीले स्वास्थ्य क्षेत्रको विकासका लागि पनि धेरै काम गर्दै आएका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्यचौकीहरु रहेका छन् भने सबै वडामा प्रजनन् केन्द्रको पनि स्थापना भएको छ । १० शैया बेडको अस्पताल टेन्डर भई निर्माण प्रक्रियामा अगाडि बढेको छ । स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा नै राखेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरुको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलामा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हामीले पर्यटन विकासको लागि पनि धेरै काम गर्दै आएका छौं । पालिकामा पर्यटकीयस्थलहरु पनि धेरै रहेको छ । यहाँका केही स्थलहरु पर्यटकीय गन्तब्यको रूपमा चर्चित छन् । पालिकामा चियाबगान पनि बनाइरहेका छौं । हाम्रो गाउँपालिका प्राकृतिकरूपले निक्कै सुन्दर छ । पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । परम्परागत संस्कृतिको संरक्षणतर्फ पनि हाम्रो विशेष ध्यान रहेको छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । भौगोलिक दृष्टिकोणले सानो भए पनि हाम्रो पालिकामा धेरै मानिसहरुको बसोबास रहेको छ । नागरिकाको घरदैलोमा कत्तिको पुग्नुभएको छ र नागरिकहरुमा कस्ता समस्याहरु धेरै पाउनुभएको छ ? पालिकाको विकास निर्माण गर्दा नागरिक, राजनैतिक दल आदि सबै मिलेर गर्ने हो । नागरिकको पनि घरदैलोमा पुगिरहेका छौं । नागरिकको आवश्यकताअनुसारको नै समस्या सुनिने गरेको छ । ब्यक्तिगत विकास गर्न सक्ने कुरा त भएन तर पनि सामूहिक विकासतर्फ विशेष ध्यान दिएका छौं । हाल गाँउपालिकामा कस्तो किसिमको योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? अहिलेसम्म हामीले गाँउपालिकामा भौतिक पूर्वधार, कृषि, पर्यटनलगायतका क्षेत्रलाई प्रथमिकता राखेर अगाडि बढिरहेका छौं । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? पालिकामा युवा स्वरोजगारका विभिन्न कार्यक्रमहरू रहेका छन् । हामीले युवालाई ऋण दिने व्यवस्था पनि मिलाएका छौं । तालिमको प्रमाणपत्र, संस्था दर्ता र कर भुक्तानीको रसिदलगायत सबै कागजात मिलाएर युवाहरु आए भने ऋण दिने व्यवस्था गरेका छौं । एउटा व्यक्तिले स्वरोजगार बन्न चाह्यो र आवश्यक कागजात मिलाएर ल्यायो भने १५ लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाएका छौं । युवाको मागमा आधारित सिप युवालाई दिँदै आएका छौं । केही युवाहरूले सिप सिकेर पालिकामा नै रोजगारी पाएका छन् । काम गर्न चाहने युवाहरूको लागि त धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । गाउँपालिकाले कृषि क्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ? हामीले कृषि विकासको लागि कृषिका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं । हामीले पालिकामा कृषिका ब्लक र पकेट क्षेत्रहरु छुट्याएका छौं । १ नं वडालाई माछा र भैँसी पकेटक्षेत्रको रुपमा छुट्याएका छौं । २ नं. वडालाई अलैँची र चिया बगानको पकेटक्षेत्रका रुपमा, ३ नं. वडालाई किवी, जुनार, सुन्तला, चियाको पकेटक्षेत्रका रुपमा, वडा नंं. ४ लाई फलफुल पकेटक्षेत्रका रुपमा छुट्याएका छौं भने ५ नं. वडालाई बेसार पकेटक्षेत्रको रुपमा छुट्याएका छौं । ६० लाख रुपैयाँ बराबरको बजेट छुट्याई कृषक र पालिकाको साझेदारीमा कृषिका कामहरु अगाडि बढाएका छौं । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषिक्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । पालिकामा कृषि समूहहरुको पनि गठन भएको छ । कृषकहरूलाई अनुदानस्वरूप विभिन्न बिउ बिजनहरु पनि वितरण गर्दै आएका छौं । कृषकहरुले बाख्रापालन, कखुरापालन आदि काम पनि गर्दै आएका छन् । कृषि विकाससँगसँगै पशुक्षेत्रका कार्यक्रमहरू पनि अगाडि सारेका छौं । कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आइरहेका छन् भने कृषिलाई आधुनिकिकरण गर्नमा हामीले विशेष जोड दिइरहेका छौं । पालिकामा व्यवसायिकरुपमा कृषि खेती पनि हुन थालेको छ । कृषिलाई निर्वाहमुखीमात्र नभएर व्यवसायिक बनाउनु पर्छ भनेर किसानहरूलाई प्रोत्साहन पनि गर्दै आएका छौं । हामीले कृषकहरूलाई सुलभ दरमा ऋण दिने योजनामा छौं । ३ देखि १५ लाख रुपैयाँसम्म कृषकहरुलाई ऋण दिने सम्बन्धमा बैंकसँग छलफल गरिरहेका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ९० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । कृषकहरुलाई हाते ट्रयाक्टर, गहुँ झार्ने मेसिन आदि पनि अनुदानस्वरुप वितरण गर्दै आएका छौं । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई प्रोत्साहनस्वरूप ३० हजार रुपैयाँसम्म नगद पुरस्कार दिने व्यवस्था मिलाएका छौं । तपाईंको कार्यकालमा भएको सबैभन्दा ठूलो उपलब्धि केलाई ठान्नुहुन्छ ? भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नै मेरो कार्यकालको ठूलो उपलब्धि हो भन्न सकिन्छ । पालिकाको सबै वडाको कार्यालय भवन पनि निर्माण भइसकेको छ । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकून् भन्ने चाहना छ । त्यसका लागि जनताको चाहना र आवश्यकता पूरा गर्न कम्मर कसेरै लागी परेको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यि योजना पूरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले भौतिक पुर्वाधारको विकासमा पनि जोड दिइरहेका छौं । निर्माणाधिन विकास निर्माणको कामहरु सम्पन्न गर्नु छ । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । सबै नागरिकहरुलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु । विकास निर्माणको काम त अर्काे वर्ष पनि गर्न सकिन्छ तर कोरोनाबाट सबै बचौं भन्न चाहन्छु।

संक्रमितलाई उच्च मनोबल बनाउन पुतलीबजार नगरपालिकाले वितरण गर्याे आयुर्वेदीक औषधी

स्याङ्जा । पुतलीबजार नगरपालिकाले पालिका भित्र रहेका कोरोना संक्रमितलाई उच्च मनोबल बनाउन आयुर्वेदीक औषधी वितरण शुरु गरेको छ । नगरपालिकाले जिल्ला सरदमुकमा र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदीक स्वास्थ्य कार्यालय मार्फत औषधी वितरण गर्दै आएको हो । पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले पछिल्लो समयमा दोस्रो भेरिएन्टको कोरोना समाज मै फैलिरहेको र कोरोनालाई न्यूनिकरण गर्न आयुर्वेदिक औषधी वितरण गरिएको बताए । नगरप्रमुख क्षेत्रीले पालिकामा हाल सम्म २९ जना कोरोना संक्रमित रहेको बताउदै सबै कोरोना संक्रमित बिरामीहरुकहाँ पुर्याउने जानकारी दिए । उनले आयुर्वेदिक औषधीले कुनै असर नगर्ने हुनाले सबैले प्रयोग गर्न सकिने बताए । पुतलीबजारमा दोस्रो चरणको भेरिएन्ट कोरोनाबाट २९ जना विरामी परेका छन् । कोरोना संक्रमितहरु होम आईसोलेसनमा बस्दै आएको र उनीहरुको स्वास्थ्य सामान्य रहेको पालिकाले जानकारी दिएको छ । बिरामीहरुलाई पुतलीबजार नगरपालिकाको वडा नम्बर १३ बाट आयुर्वेदीक औषधी दिन शुरु गरिएको १३ का वडा अध्यक्ष तथा पुतलीबजार नगरपालिकाका नगरप्रबक्ता ख्यामनारायण अधिकारीले जानकारी दिए । उनले औषधी वितरणले विरामीहरुको मनोवल उच्च भएको बताए । साथै पुतलीबजार नगरपालिकाका स्वास्थ्यकर्मीहरुले संक्रमितको घरघरमा गई उनीहरुको स्वास्थ्य अवस्था बुझ्दै आएका छन् ।

अक्सिजनभन्दा सिलिण्डर अभावप्रति संवेदनशील हुन मेयर शाक्यको अपिल

काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोभिडको उपचारका लागि अक्सिजनभन्दा सिलिण्डर अभाव भएकोप्रति संवेदनशील हुन सम्बधित निकायलाई आग्रह गरेका छन् । प्रमुख शाक्यले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अक्सिजनको सिलिण्डरको व्यवस्थापन गर्न आग्रह गरेका हुन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यतिखेर अस्पतालहरुमा अक्सिजनको होइन, सिलिण्डरको अभाव छ । व्यक्ति, संस्था र उद्योगहरुले आवश्यकताभन्दा धेरै सिलिण्डर संचित गरेर राखेको पाइएको छ । यस्तो महामारीका बेला बिरामीलाई अति आवश्यक पर्ने अक्सिजन आपूर्ति सहजताका लागि व्यक्ति तथा संस्थासँग भएको संचित सिलिण्डर अस्पताल वा सम्बन्धित उद्योगमा बुझाएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’ कोभिड संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका कामसँगै उपचार पद्धतिलाई समेत सहज बनाउनु पर्ने बर्तमान अवस्था उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यतिवेला अस्पतालमा उपचाररत धेरै विरामीलाई प्लाज्मा चाहिएको छ । यसका लागि प्लाज्मा दान गर्न सक्ने व्यक्तिहरुले प्लाज्मा दान गरिदिनुहुन बिनम्र अपिल गर्दछु ।’ दोस्रो लहरका रुपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी हो । यसका लागि महानगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालन गर्ने, अस्पतालहरुको क्षमता विकास गरेर धेरैभन्दा धेरै विरामीको उपचार गराउने, कोभिडबाट सक्रमित भएका र नभएका दुवै थरीका बिरामीलाई अस्पताल आवतजावत गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, जोखिमपूर्ण ठाउँलाई निसंक्रमण गराउने लगायतका काम गरिरहेको छ । विज्ञप्तिमार्फत प्रमुख शाक्यले भने, ‘हामी संघीय सरकार, प्रदेश सरकार तथा अन्य नगरपालिकाहरुसँग समन्वय गरेर ठूला अस्पतालहरुमा विरामीको चाप घटाउने प्रयास गरिरहेका छौँ ।’ अस्पतालको क्षमता र संख्या बढाउनु अहिलेको आवश्यकता हो तर यही नै निर्विकल्प समाधान होइन । विज्ञप्तिमा भनिएको छ, जसरी पानीको मुल सफा नगरी नदी सफाइ हुँदैन । त्यसैगरी स्वास्थ्य मापदण्ड पालना नगरी विरामीको संख्या घटाउन सकिँदैन । विरामीको चापले आइसोलेसन सेन्टर तथा अस्पतालहरुमा स्वास्थ्य सेवा व्यवस्थापनमा भार सिर्जना हुन्छ । महामारी व्यवस्थापनका कोणबाट यो जटिल अवस्था हो । त्यसैले यसप्रकारको जटिलता आउनु अघि सबैले कडाइका साथ स्वास्थ्य मापदण्डको पालना गरौँ । अति आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कौँ । मास्कको अनिवार्य र सही प्रयोग गरौँ । साबुन पानीले नियमित हात धोऔँ । साबुन पानी नभए सेनिटाइजरको प्रयोग गरौँ । भाइरसको सम्पर्कबाट बच्न अधिक सजगता अपनाऔँ ।