टोल टोलमा गएर वृद्धभत्ता बाँड्न बैंकलाई आग्रह गरेका छौं – गाउँपालिका अध्यक्ष साउद
कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विश्व नै आज ठुलो सङ्कटमा छ । कोरोनाको दोस्रो लहर सुरुमा भएसँगै सहर मात्र नभई ग्रामीण क्षेत्रमा पनि यसले ठुलो असर पुर्याएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट अछाम जिल्लाको चौरपाटी गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । गत वर्ष कमै मात्रामा फैलिएको कोरोना भाइरसको संक्रमण यो वर्ष व्यापक छ । देशमा संक्रमण थप बढ्न नदिन तथा रोकथाम गर्नकै लागि अहिले पनि कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ । चौरपाटी गाउँपालिकामा चाहिँ फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी रहेता पनि कोभिड न्यूनीकरणका लागि गाउँपालिकाले बिशेष पहल गरी रहेको छ । गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी : गाउँपालिकामा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ, जोखिम न्यूनीकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ? तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । गाउँपालिकामा संक्रमण नफैलियोस् भनेर हामीले थुप्रै प्रयासहरू गरिरहेका छौं । तर, हामीले चाहेर पनि कोरोना नियन्त्रण गर्न सक्छौं जस्तो मलाई लागेको छैन । गाउँपालिकामा पहिला कुनै व्यक्तिलाई कोभिड भोटियो भन्दा गाउँमा नै त्रास हुन्थ्यो । अब अहिले कोरोनाबाट कुनै पनि टोल तथा गाउँ अछुतो छैन । कोरोनाको जोखिम कम गर्न गत वर्षजस्तै क्वारेन्टिन र आइसोलेसनको निर्माण, परीक्षणको व्यवस्था, औषधि आपूर्ति लगायत कार्य गर्दै आएका छौं । हामीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै जना मिलेर टोल बस्तीमा गएर सचेतनका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं । अस्पतालमा आइसकेको र कोभिड परीक्षण गर्दा पोजेटिभ देखिएका बिरामीलाई अस्पतालमा नै राख्ने व्यवस्था मिलाएका छौं । पालिकामा रहेको प्राथमिक अस्पतालमा २५ बेडको आइसोलेसन छ । हामीले यस अस्पतालमा ५ जना स्वास्थ्यकर्मी राति र ५ जनाले दिउँसो डिउटी गर्ने समय निर्धारण गरेका छौं । प्राथमिक अस्पतालमा कोरोनाको चाप बढ्दै गयो भने वैकल्पिक व्यवस्थापन गर्नको लागि वडाका स्वास्थ्यकर्मीहरुलाई खटाउने व्यवस्था मिलाएका छौं । कोभिडसँग सम्बन्धित लक्षण देखिएता पनि धेरै नागरिकहरूले परीक्षण गर्न मानेका छैनन् । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनी एम्बुलेन्स पनि व्यवस्था गरेका छौं । कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी परीक्षण पनि गर्दै आएका छौं । बजारहरूलाई निर्धारित समयमा मात्र खोल्न दिएर कडाई गरेका छौं । धेरै नागरिकहरूले कोरोना जिती सकेका छन् । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । यस महामारीलाई न्यूनीकरण गर्न सबै लागि परेका छौं । पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ? पीसीआर परीक्षण पालिकामा हुँदैन । परीक्षणको लागि कमल बजार र अन्य जिल्लामा पठाउँदै आएका छौं । स्वाब संकल पालिकामा हुन्छ । पीसीआर परीक्षण गर्दा तत्काल रिपोर्ट नआउने हुँदो तुरुन्तै संक्रमण भएको नभएको भनेर थाहा पाउन सकिरहेका छैनौँ । पीसीआरको रिपोर्ट आउनै २ देखि ३ दिन लाग्छ । ज्वरो आएका शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षण भइरहेको छ । एन्टिजेन परीक्षणलाई पालिकामा थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि पनि जोड दिइरहेका छौं । पालिकामा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ, यसमा कोभिडका बिरामीहरूलाई राख्ने व्यवस्था मिलाएका छौं । कोरोनासँग अन्तर्सम्बन्धित लक्षण देखिएका नागरिकहरूको घर घरमा गई एन्टिजेन परीक्षण गर्दै पनि आएका छौं । एन्टिजेन परीक्षण गरेको तर कुनै पनि लक्षण नदेखिएको बिरामी छ भने उसलाई घरैमा सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । पालिकामा निषेधाज्ञाको विकल्प सोच्नुभएको छ कि छैन ? एक ठाउँको मानिस अर्को ठाउँमा जान नदिने र महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने ठहर गरी पालिकामा निषेधाज्ञा जारी गरेका छौं । यो महामारीको समयमा सामाजिक सुरक्षा भत्ता बुढापाकाले नपाएको कारणले बैंकले भत्ता बाँड्ने तयारी गर्दैछ । प्रत्येक वडाको टोलटोलमा गएर भिड नगरिकन भत्ता बाँड्नको लागि बैंकलाई आग्रह गरेका छौं । तर, बैंकले नमानिरहेको अवस्था छ । बैंकमा भत्ता लिन आउने बुढापाकाको घुइँचो छ । बैंकमा धेरै भिड भएको कारण संक्रमण फैलनसक्ने जोखिम उच्च छ । बुढापाका भएका बा–आमालाई कोरोना लाग्यो भने यसको जिम्मा कस्ले लिन्छ भनेर मैले बैंकको हाकिमलाई सुझाव पनि दिएको थिएँ । घरघरमा भत्ता पुर्याउनको लागि बैंकलाई सहयोग गर्नुपर्ने हो भने आवश्यक सहयोग पालिकाले गर्छ भनेका थियौं । तर, बैंकको सिस्टमले मिल्दैन भनेको छ । बैंकलाई सुरुमा हप्ताको २ दिन खोल्न दिएका थियौं तर हप्ताको २ दिन खोल्दा पनि भिड बढ्यो । पालिकामा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या करिब ८ हजार छ । निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ? यसबारे यकिनसँग भन्न सकिँदैन । जिल्ला प्रशासन कार्यालयको नीति नियम हामीले मान्नु पर्ने हुन्छ । कोरोनाको संक्रमण यहि अनुपातमा बढ्दै गयो भने निषेधाज्ञा बढाउनुपर्ने पनि हुन सक्छ । यसबारे जिल्ला भरका स्थानीय तहका जनप्रतिनिधिहरू सबै बसेर छलफल गर्नुपर्छ । निषेधाज्ञा खुकुलो भयो भने संक्रमण फैलन सक्ने त्रास छ । निषेधाज्ञा जारी रहेको अवस्था छ । नागरिकहरू डराइरहेका छन् । हुन त निषेधाज्ञा जारी गरेर, पुरै लकडाउन गरेर समस्या समाधान हुने होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागि सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । नागरिकले पनि यो निषेधाज्ञा हाम्रै लागि गरिएको हो र यसलाई पूर्ण रूपमा परिपालना गरियो भने संक्रमित हुनबाट बच्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ । यसमा नागरिक जिम्मेवार हुनैपर्छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । अत्यावश्यक काम भएमा मात्र बाहिर निस्कौँ । नत्र घरैमा सुरक्षित बसौँ । कति संक्रमित धान्न सक्छ गाउँपालिकाले अब ? यो भन्दा भयावह स्थिति आयो भने गाउँपालिकाले बनाएको सीमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन । कोभिडका २५ जना बिरामीलाई मात्र पालिकाको अस्पतालमा धान्न सक्छ । अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छ कि छैन, अक्सिजनको अभाव हुन नदिन के गर्दै हुनुहुन्छ ? हामीले पालिकामा रहेको स्वास्थ्य शाखाको क्षेत्रमा बजेट विनियोजन गरी २५ ओटा अक्सिजन सिलिन्डर खरिद गरेका छौं । जिल्ला जनस्वास्थ्य अस्पतालमा पनि थुप्रै निकायहरूले सहयोग गरेको छन् । त्यहाँबाट पनि हामीले स्वास्थ्य सामाग्री ल्याउने व्यवस्था गरेका छौं । विभिन्न संघसंस्थाहरुलाई पनि यो सङ्कटको घडीमा सहयोग गर्नुपर्यो भनेर अपिल पनि गरेको छौं । अहिलेसम्म विभिन्न संघसंस्थाले स्वास्थ्य सामाग्री सहयोग पनि गरेका छन् । हाल पालिकामा स्वास्थ्य सामाग्री र अक्सिजनको अभाव छैन । पालिकामा भएका अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि सहजीकरण पनि गर्दै आएका छौं । कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? समस्या त धेरै नै छन् । चेतनाको कमि छ । मानिसहरूलाई जे नगरौं भन्यो त्यही गर्छन् । यो महामारीबाट कसरी बच्न सकिन्छ भनेर मानिसमा अझै चेतनाको विकास भएको छैन । कति पय ठाउँमा सडक पुगेको छैन बिरामीको घर सडको पहुँच भन्दा धेरै टाढा छ । स्वास्थ्यकर्मीको टिम घर घरमा पुग्न सम्भव छैन । केही चुनौती छन् भने केही सहज पनि छ । पालिकामा आएका चुनौती र समस्याको समाधान गर्नको लागि जनप्रतिनिधि, कर्मचारी आदि सबै खटी रहनु भएको छ । चुनौतीको समाधान गरी अगाडी बढ्नुपर्ने अवस्था छ । जोखिम न्यूनीकरण गर्नको लागी पालिकामा बजेट अभाव छ कि छैन ? यो महामारी न्यूनीकरण गर्नको लागि हामीलाई बजेटको अभाव छ । कोरोना रोकथाम र नियन्त्रणको लागि जति बजेट हुनुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छौं । यो रकमबाट नै हामीले स्वास्थ्य सामाग्रीको खरिद गरेका छौं । कोरोना नियन्त्रण भनेर नै हामीले बजेट धेरै छुट्याएका थिएनौं । विकास निर्माणको काम र योजनाहरूलाई रोकेरै भए पनि कोरोना महामारी नियन्त्रण गर्नमा खर्च गरेका छौं । संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ, यो नियन्त्रणमा भावी योजना कस्तो बन्दैछ ? विकास निर्माणको भावी योजना तयार गरे जस्तो यो महामारीको भावी योजना बनाएर सक्ने अवस्था छैन । यसको ठुलो व्यवस्थापन भनेको नै स्वास्थ्य मापदण्ड अपनाउनु हो । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागि सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग कसरी समन्वय गरिरहनु भएको छ ? स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग हाम्रो समन्वय भइरहेको छ । पालिकमा २ ओटा प्रहरी चौकीे छ । यी २ ओटा प्रहरी चौकीले गाउँपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्न ठुलो सहयोग गर्नु भएको छ । यो महामारी न्यूनीकरण गर्नको लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । कन्ट्याक्ट ट्रेसिङको दायरालाई कसरी फराकिलो बनाउने यी यावत् कुराहरूमा हामीले छलफल गरेका छौँ । अर्को कुरा आफ्नो ज्यान जोखिममा मोलेर अहोरात्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । त्यस्तै सुरक्षाकर्मीसँग पनि हामीले समन्वय गरिरहेका छौँ । उहाँहरूसँग पनि बैठक, छलफल भइरहेको छ । उहाँहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनतालाई निषेधाज्ञा पूर्ण रूपमा पालना गराउनका लागि ठुलो भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरूको योगदानको प्रशंसा गरेर सकिँदैन । बिरामीको सुरक्षा नै स्वाथ्यकर्मीले गर्ने हो । स्वास्थ्यकर्मी भनेको भगवानको दोस्रो रुप पनि हो । त्यसैले स्वास्थ्यकर्मीले जानेको, सकेको र आफुले भ्याएसम्मको काम गर्नुपर्छ भनेर स्वास्थ्यको टिमलाई भनेका छौं । स्वास्थ्यकर्मीलाई परिचालन गर्ने कुरामा मात्र नभई उनीहरूले गरेको कामलाई सम्मान गर्दै जोखिम भत्ता पनि दिने कुरा भएको छ । भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, त्यो समयमा तपाईंले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला त ? चुनाव हाम्रो विषयको कुरै होइन । चुनाव गराउने सङ्घीय सरकारले हो । सङ्घीय सरकारका मातहतमा रहेका थुप्रै चुनाव गराउने निकायहरू नै परिचालन हुने हो । त्यही आधारमा हामी जसरी कोरोना नियन्त्रणमा लागेका त्यसरी नै सङ्घीय सरकारले यसको व्यवस्थापन गर्छ । कोभिड–१९ ले नेपालमा पनि महामारीको बढ्दो रूप लिएको हुँदा चुनावलाई भन्दा हाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने आजको आवश्यकता हो । सबै मानिसलाई बचाईसकेपछि मात्र चुनाव गर्नुपर्ने आवश्यकता हुन्छ । हामी स्थानीय तहका जनप्रतिनिधि र स्थानीय सरकारको काम चाहिँ जति खेर पनि जनतासँग हुन्छ । कोरोना भाइरसको महामारीले जनजीवन अस्तव्यस्त बनाएको अवस्था छ । अहिलेको अवस्थामा राज्यको प्राथमिकतामा नागरिकको जीवन रक्षा पर्नुपर्ने हो । जनतालाई कोरोनाबाट हामी सुरक्षित राख्न चाहन्छौं । यो समयमा सबै जना मिलेर यो विश्व महामारीको रूपमा फैलिएको कोभिडलाई रोक्नु पर्छ । यो महामारीलाई नियन्त्रण गर्नमा सबै जना लागि पर्यौं भने यो अवश्य नियन्त्रण हुन्छ ।
आइसोलेसनमा बसेका बिरामीलाई निःशुल्क खाना खुवाइरहेका छौं – गाउँपालिका अध्यक्ष राईसँगको कुराकानी
कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विश्व नै आज ठुलो सङ्कटमा छ । नेपालमा पनि यसको प्रभाव गहिरो देखिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट ईलाम जिल्लाको चुलाचुली गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । गत वर्ष कमै मात्रामा फैलिएको कोरोना भाइरसको संक्रमण यो वर्ष व्यापक छ । देशमा संक्रमण थप बढ्न नदिन तथा रोकथाम गर्नकै लागि अहिले पनि कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ । चुलाचुली गाउँपालिकामा चाहिँ फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी रहेता पनि कोभिड न्यूनीकरणका लागि गाउँपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी पाइएको छ । गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी : गाउँपालिकामा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ, जोखिम न्यूनीकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ? तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठूलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । गाउँपालिकामा संक्रमण नफैलियोस् भनेर हामीले थुप्रै प्रयासहरू गरिरहेका छौं । सुरुमा हामीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबैजना मिलेर टोल बस्तीमा गएर सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गर्यौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागि आइसोलेसन तथा अक्सिजनको व्यवस्था गरेका छौं । पालिकामा १५ बेडको आइसोलेसन कक्ष तयार गरी यो आइसोलेसनमा बसेका कोरोनाका बिरामीलाई निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएका छौं । हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं भने कोभिडका बिरामीहरूलाई ३ चरणमा वर्गिकरण गरेका छौं । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले बुझ्दै आउनु भएको छ । एक ठाउँको मानिस अर्को ठाउँमा जान नदिने र महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने ठहर गरी पालिकामा निषेधाज्ञा पनि जारी गरेका छौं । कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनी एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । सी.सी.एम.सी ले बनाएको मापदण्डलाई हामीले कडाइका साथ परिपालना गरेका छौं । सी.सी.एम.सी सँग पालिकाले समन्वय पनि गरिरहको छ । गत वर्ष कोरोना भाइरस पालिकामा कमै मात्रामा फैलिएको थियो तर दोस्रो चरणको कोभिडका कारण पालिकाका ८ जना नागरिकको मृत्यु भइसकेको छ । पालिकाका केही वडामा कोभिडको प्रभाव छैन तर मानिसहरु जहाँ बढि भेला हुन्छन् त्यहि ठाउँमा यसले भयावह अवस्था सिर्जना गर्छ । यसलाई नियन्त्रण गर्नका लागि पहिलो कुरा त हामी सबै सचेत हुनुपर्यो । मास्क लगाउनुपर्यो । स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्यो । भिडभाडमा जान भएन । नागरिक सचेत हुने हो भने केही हदसम्म कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ । कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । बजारहरूलाई निर्धारित समयमा मात्र खोल्न दिएर कडाई गरेका छौं । धेरै नागरिकहरूले कोरोना जितीसकेका छन् । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । यस महामारीलाई न्यूनीकरण गर्न सबै लागिपरेका छौं । पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ? वडा कार्यालयसँग समन्वय गरी कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर र एन्टिजेन परीक्षण गर्दै आएका छौं । पछिल्लो समयमा एन्टिजेन परीक्षणको मात्रा बढाएका छौं । टोलटोलमै पुगेर परिक्षण गर्ने गरेका छौं । पीसीआर र एन्टिजेन परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । हामीले प्रत्येक स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्य सामाग्री पनि वितरण गरेका छौं । पीसीआरको रिपोर्ट ढिला आउने र धेरै समय लाग्ने भएकाले एन्टिजेन परीक्षण नै पालिका भित्र बढि मात्रामा गरेका हौं । पालिकाको सबै वडामा स्वास्थ्य इकाई भएको कारण पीसीआर परीक्षण पालिका भित्र नै हुँदै आएको छ । पालिकामा निषेधाज्ञाको विकल्प सोच्नुभएको छ कि छैन ? निषेधाज्ञा जिल्ला भरमा लागु छ । निषेधाज्ञा पछि कोभिड नियन्त्रण हुन्छ भन्ने हाम्रो सोच थियो । तर, यो अनुमान भन्दा फरक ढङ्गले कोभिड देखिन थाले पछि हामीले निषेधाज्ञालाई लम्बाउनु पर्ने बाध्यता सिर्जना भएको छ । हाम्रो पालिको सिमाना झापासँग जोडिएको छ भने सिमाना पनि खुल्ला छ । हामीले झापाका नागरिकहरुसँग काम भन्दा वाहेक भेट नगर्न आग्रह गरेका छौं । हामीले झापाबाट पालिकामा प्रवेश गर्न सिमानामा कडाई गरेका छौं । यसर्थमा लकडाउन समाधान होइन, तर नगरी पनि भएको छैन । त्यसैले अब जनतामा स्वास्थ्य मापदण्डबारे सचेतना जगाएर बिस्तारै यसलाई फेरि खुकुलो बनाउँदै जानुपर्छ । भौतिक दुरी कायम गरेर काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । अन्य ठाउँका मानिसहरू आएकाले पनि पालिकामा कोरोना केही हदसम्म फैलिएको छ । २ नं. वडामा कोरोनाको संक्रमण अन्य ठाउँमा भन्दा अलिक बढि फैलिएको कारण सिल पनि गरेका छौं । निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ? यसबारे यकिनसँग भन्न सकिँदैन । निषेधाज्ञालाई केही हदसम्म खुकुलो बनाउने पनि कुरा भइरहेको छ जिल्लामा । कोरोनाको संक्रमण यहि अनुपातमा बढ्दै गयो भने निषेधाज्ञा बढाउनुपर्ने पनि हुन सक्छ । यसबारे स्थानीय तहका जनप्रतिनिधिहरू सबै बसेर छलफल गर्नुपर्छ । निषेधाज्ञा खुकुलो भयो भने संक्रमण फैलन सक्ने त्रास छ । यसलाई बिस्तारै खुकुलो बनाउने तयारी गर्दैछौं । निषेधाज्ञा जारी रहेको अवस्था छ । नागरिकहरू डराइरहेका छन् । हुन त निषेधाज्ञा जारी गरेर, पुरै लकडाउन गरेर समस्या समाधान हुने होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागि सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । नागरिकले पनि यो निषेधाज्ञा हाम्रै लागि गरिएको हो र यसलाई पूर्ण रूपमा परिपालना गरियो भने संक्रमित हुनबाट बच्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ । यसमा नागरिक जिम्मेवार हुनैपर्छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । अत्यावश्यक काम भएमा मात्र बाहिर निस्कौँ । नत्र घरैमा सुरक्षित बसौँ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग कसरी समन्वय गरिरहनु भएको छ ? स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग हाम्रो समन्वय भइरहेको छ । यो महामारी न्यूनीकरण गर्नको लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । कन्ट्याक्ट ट्रेसिङको दायरालाई कसरी फराकीलो बनाउने यी यावत् कुराहरूमा हामीले छलफल गरेका छौँ । अर्को कुरा आफ्नो ज्यान जोखिममा मोलेर अहोरात्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । त्यस्तै सुरक्षाकर्मीसँग पनि हामीले समन्वय गरिरहेका छौँ । उहाँहरूसँग पनि बैठक, छलफल भइरहेको छ । उहाँहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनतालाई निषेधाज्ञा पूर्ण रूपमा पालना गराउनका लागि ठुलो भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरूको योगदानको प्रशंसा गरेर सकिँदैन । अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छ कि छैन, अक्सिजनको अभाव हुन नदिन के गर्दै हुनुहुन्छ ? पालिकामा १२ ओटा अक्सिजन सिलिन्डर छ भने अक्सिजन सिलिन्डर थप गर्ने कुरा भइरहेको छ । केही स्वास्थ्य सामाग्रीहरू संघसंस्थाबाट पनि प्राप्त भएको छ । पालिकाले पनि स्वास्थ्य सामाग्री खरिद गरेको छ । कोरोना रोकथाम र नियन्त्रण गर्नको लागि स्वास्थ्य सामाग्रीमध्ये पीपीईमा सबैभन्दा बढि रकम खर्च भएको छ । एक चोटि लगाए पछि अर्को चोटि प्रयोग गर्न नमिल्ने भएको कारण पीपीईमा चाहिँ बढि खर्च भएको हो । पालिकाको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि सहजीकरण गर्दै आएका छौं । अस्पतालमा पनि स्वास्थ्य सामाग्रीको अभाव हुन चाहिँ दिएका छैनौं । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्यूनीकरण गर्नको लागि के कस्तो सहयोग मिलेको छ ? प्रदेश र केन्द्रबाट जोखिम न्यूनीकरण गर्नको लागि सहयोग मिलेको छ भने समन्वय पनि भइरहेको छ । प्रदेश र केन्द्रले जिल्लामा स्वास्थ्य सामाग्री पठाएको थियो र जिल्लाबाट हामीले भर्खरै स्वास्थ्य सामाग्रीहरू प्राप्त गरेका छौं । यस महामारीको समयमा पनि स्वास्थ्य सामाग्रीको सहयोग मिलेको छ । यसमा ५ ओटा अक्सिजन सिलिन्डर, ३० थान पीपीई, अक्सिमिटर आदि स्वास्थ्य सामाग्रीहरू प्राप्त भएको छ । हाम्रो जिल्लाभर १० ओटा स्थानीय तह छ भने यी स्थानीय तहलाई जिल्ला सङ्कट व्यवस्थापन समितिले निर्णय गरी आवश्यकता अनुसार स्वास्थ्य सामाग्री दिएको छ । कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौती के छन् ? चुनौती र समस्या त धेरै नै छन् । अब चाहिँ के चुनौती आउँदैछ भने श्रम गरिखाने जनसमुदायलाई कोरोनाका कारण समस्या भएको छ । दिनभर दाउरा खोजी बेलुका झापा लगेर बेच्ने मानिसहरुलाई पनि हाल यो समयमा दाउरा नबिक्ने भएको कारण समस्या छ । उनीहरुको आम्दानीको स्रोत नै नभएको कारण अबको समयमा राहत कार्यक्रमहरु ल्याउनु पर्ने पनि आवश्यकता छ । यो समयमा हामीले पनि उनीहरूलाई सकेसम्म अन्य ठाउँ नजानु भनेका छौं । यस्तो समयमा उनीहरूलाई राहत दिनको लागि छलफल पनि भइरहेको छ । उच्च प्राथमिकतामा कुन समुदायलाई राख्नुपर्ने हो भनेर हामी अनुगमन पनि गर्छौं । यसरी नै कोभिड बढ्दै गयो भने पालिकामा राहतको कार्यक्रमहरू ल्याउनु पर्ने आवश्यकता र अनिवार्यता छ । जोखिम न्यूनीकरण गर्नको लागि पालिकामा बजेट अभाव छ कि छैन ? यो महामारी न्यूनीकरण गर्नको लागि हामीलाई बजेटको अभाव नै छ । कोरोना रोकथाम र नियन्त्रणको लागि जति बजेट हुनुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छौं । यो रकमबाट नै हामीले स्वास्थ्य सामाग्रीको खरिद गरेका छौं । कोरोना नियन्त्रण भनेर नै हामीले बजेट धेरै छुट्याएका थिएनौं । पालिकामा भएको विकास बजेटहरू विकास निर्माणकै काममा खर्च भइसकेको छ । भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, त्यो समयमा तपाईंले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला त ? कोभिड–१९ ले नेपालमा पनि महामारीको बढ्दो रूप लिएको हुँदा चुनावलाई भन्दा हाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने आजको आवश्यकता हो । सबै मानिसलाई बचाईसकेपछि मात्र चुनाव गर्नुपर्ने आवश्यकता हुन्छ । अहिले कोरोना भाइरसको महामारीले जनजीवन अस्तव्यस्त बनाएको अवस्था छ । अहिलेको अवस्थामा राज्यको प्राथमिकतामा नागरिकको जीवन रक्षा पर्नुपर्ने हो । जनतालाई कोरोनाबाट हामी सुरक्षित राख्न चाहन्छौं । कोरोना महामारी नियन्त्रण भइसक्यो भने चुनाव पनि आवश्यकता हो । तर, पनि हामी स्थानीय सरकार भएको हिसाबले हरेक उपायहरू अपनाएर जनताको सुरक्षा गर्नमा लागिपरेका छौं । पहिलो प्राथमिकता स्वास्थ्य र कोभिड नियन्त्रण गरी चुनाव गर्नु राम्रो हुन्छ होला । आज सरकारले जनताको विषय र जनताको ज्यू ज्यानसँग विवेकपूर्ण तरिकाले न्याय दिन सकिरहेको छैन । यो समयमा सबैजना मिलेर यो विश्व महामारीको रूपमा फैलिएको कोभिडलाई रोक्नु पर्छ । यो महामारीलाई नियन्त्रण गर्नमा सबै जना लागि पर्यौं भने यो अवश्य नियन्त्रण हुन्छ ।
अपिहिमाल गाउँपालिकामा छिटै विद्युत् उत्पादन हुँदै
दार्चुला । अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ता लगानीमा विद्युत् उत्पादनको अन्तिम तयारी थालिएको हो । विद्युत्को इन्टेक, विद्युत्गृह, क्यानललगायतका काम सकिएको छ । मुख्य पाइप लाइन जडानको काम मजदुर अभावले रोकिँदा निर्माण कार्य केही ढिलाइ भएको निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए । ‘अहिले यार्सागुम्बा सङ्कलनको समय चलेको कारण निर्माण कार्य अवरुद्ध भएको छ’, अध्यक्ष धामीले भने, ‘मजदुर पाइयो भने एक महिनाभित्र विद्युत्को काम सकिने छ ।’ पाथाको घट्टेखोलामा निर्माण भइरहेको विद्युत्को ६८० मिटर लम्बाइको पाइप लाइन छ । विद्युत् निर्माणअन्तर्गत विद्युत्का पोल गाड्नेदेखि तार विस्तारको काम बाँकी छ । अहिले पनि मजदुरको खोजी भइरहेको छ । मजदुर अभावमा रोकिएको काम पुनः शुरु गराउन गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालले समेत आग्रह गरेका छन् । ‘निर्माणको काम निकै ढिलो भयो, मजदुर नपाएर काममा ढिलाइ गर्न मिल्दैन’, उनले भने । पालिकाभित्र मजदुर नपाए बाहिरबाट ल्याएर भए पनि समयमै विद्युत् बाल्न उनले समितिलाई आग्रह गरेका छन् । विद्युत् निर्माण गर्न सके उज्यालो अपि अभियानमा सघाउने पुग्नेछ । यो विद्युत् साविकको खण्डेश्वरी गाविसको ७०० घरधुरीमा पु¥याउने योजना छ । खण्डेश्वरीमा विद्युत् खपत हुन नसके साविकको घुसा गाविसम्म विस्तार गर्न सकिने जनाइएको छ । सडक पहुँच नपुगेको अपिहिमालको पाथासम्म विद्युत्को सामान ढुवानीमा लागत बढेको उपभोक्ता समितिका अध्यक्ष धामी बताउँछन् । उनले भने, ‘हामीले विद्युत्का ठूला मेसिन तथा ट्रान्सफर्मर शैल्यशिखर नगरपालिकाको शिखरबाट हेलिकप्टरमार्फत ढुवानी ग¥यौँ । अहिले पनि गाउँपालिकाको वडा नम्बर ५ मकरीगाडसम्म मात्रै सडक पहुँच छ । सडक पहुँचबाट एक दिन हिँडेपछि मात्रै निर्माणाधीन योजनास्थल पुग्न सकिन्छ ।’ अहिलेसम्म विद्युत निर्माणका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले रु दुई करोड ८५ लाख, गाउँपालिकाले ९० लाख, स्थानीय साझेदारी पूर्वाधार विकास कोषअन्तर्गत ५० लाख र स्थानीय उपभोक्ताको ५७ लाख लागतमा विद्युत् निर्माण भइरहेको छ । रासस