ललितपुर महानगरको पुँजीगत खर्च ४१ प्रतिशत
ललितपुर । ललितपुर महानगरपालिकाले चालु आर्थिक २०८१/८२ को जेठ मसान्तसम्ममा ४१ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । जेठ मसान्तसम्म पुँजीगततर्फ १ अर्ब ९५ करोड बजेटमात्रै खर्च गर्न सफल भएको हो । महानगरको वार्षिक पुँजीगत बजेट चार अर्ब ६७ करोड ९४ लाख २३ हजार रुपैयाँ रहेकोमा कुल बजेटको ४१ प्रतिशत मात्रै खर्च भएको हो । महानगरले चालुतर्फ २ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको ७२ प्रतिशत हो । महानगरको चालुतर्फ छुट्याएको बजेट २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ थियो । त्यस्तै, जेठ मसान्तसम्ममा महानगरको कुल बजेटको ६० प्रतिशत मात्रै खर्च गरेको छ । महानगरको वार्षिक बजेट ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ रहेकोमा जेठ मसान्तसम्ममा ४ अर्ब ५० करोड रुपैयाँ मात्रै खर्च भएको छ । आन्तरिक आयतर्फ ललितपुर महानगरका ३ अर्ब ५५ करोड ९६ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ५८.७ अर्थात् २ अर्ब ९ करोड संकलन गरेको छ ।
ललितपुर महानगरले ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रूपमा अघि बढाउने
ललितपुर । ललितपुर महानगरले परम्परागत पानीका मुहान संरक्षण गर्न ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रुपमा अघि बढाउने भएको छ । ललितपुर महानगरको सातौं नगरसभामा आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले ढुंगेधारा , कुवा, इनार र पोखरीजस्ता स्रोतलाई संरक्षण गर्न विशेष ध्यान दिने बताए । त्यसैगरी निजी जग्गामा रहेका पानीका मुहानहरु संरक्षणका गर्न महानगरले अधिग्रहण गरेर मुहान संरक्षण उनले बताए । खानेपानीको मुहानको संरक्षण, विकास गर्न अन्तरपालिका तथा सरोकारवाला निकायबीच समन्वय गर्ने समेत नीतिमा उल्लेख छ । यसैगरी, खोकना, बुङमती धापाखेल, सुनाकोठीमा खानेपानी व्यवस्थापनका लागि पानीट्याङ्की निर्माणको काम थलिने छ । यसैगरी परम्परा राजकुलो , जलमार्गलाई पुनर्जीवित गर्न र परम्परागत पानीको मुहानको पानी स्रोत विस्तार गर्न आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने
ललितपुर । ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने भएको छ । ललितपुर महानगरको सातौं नगरसभामा आर्थिक वर्ष २०८२/२०८३को नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले हस्तकलाको संरक्षण र सम्वर्द्धनका लागि कलेज स्थापना गर्ने बताए । उनले भने, ‘सरोकारवाला र सम्बन्धित निकायसँग छलफल गरेर हस्तकलासम्बन्धी औपचारिक शिक्षाका लागि कलेज स्थापना गर्नेछौं । ’ लोप हुन लागेका सीप र कला संरक्षण सम्वर्द्धनका लागि सीप हस्तान्तरण र पुस्तान्तरण सम्बन्धी कार्यलाई पनि प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।