सहकारी समस्या कारण कामपामा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

काठमाडौं । काठमाडौं महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइपाउँ भन्ने रहेको छ ।  कामपामा आएका विवादमध्ये ५० प्रतिशत भवन खाली गराइपाउँ भन्ने र त्यसको ५० प्रतिशत सहकारीसँगै सम्बन्धित विषय रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । जसमा समयमा बहाल नतिरेको कारण घरकोठा खाली गराइपाउँ, बहाल कर नतिरेको कारण सो तिराइ घरकोठा खाली गराइ पाउँ, सहकारीको कारण घरमा भएको क्षतिको पूर्ति गराई खाली गराइपाउँ, आफ्नो बचत समेत सहकारीमा रहेकोले सो रकम र भाडा समेत उपलब्ध गराई सहकारी हटाइ पाउँ, सहकारी कार्यालयमा घरधनीले ताला लगाइदिएको कारण कार्यालय सञ्चालन गर्न सहजीकरण गरीपाउँ, दुई प्रकारको सम्झौता खारेज गरी बहाल कर तिराइ पाउँजस्ता विवाद बढी आएका छन् ।  कामपा कार्य क्षेत्र भएर लामो समयदेखि बन्द अवस्थामा रहेका सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्रको आवश्यकता देखाउँदै उपप्रमुख डङ्गोलले विगतका समस्या दोहोरिन नदिने कार्यक्रम तत्काल थाल्नुपर्ने बताइन् ।  क्षेत्राधिकार बाँडिएको र प्राप्त अधिकारको प्रयोगका लागि निकायगत संयन्त्रका विषयमा कुरा गर्दै उनले वित्तीय व्यवस्थापनसँग सम्बन्धित सम्भावित जोखिमलाई पूर्वानुमान गरेर थप विग्रिन नदिन ‘निदानात्मक’ कार्यक्रम र आम मानिसलाई सहकारीसँग सम्बन्धित वित्तीय आचरणका विषयमा ‘सचेतनात्मक’ कार्यक्रम अहिले नै थालनी गर्न सकिने पनि बताइन् ।  सहकारीहरू सङ्कटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने, ऋण लिनका लागि मात्र सदस्य बन्ने, धितो नलिई वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्ने प्रवृत्ति रहेको बताइएको छ ।  कामपाको कानुन तथा मानवअधिकार विभागका प्रमुख वसन्त आचार्यले कोठा खाली गराउनेबारे गुनासो बढ्नुको मुख्य कारणमा घर बहालमा लिँदादिँदा लिखित सम्झौता नगर्नु, लिखित सम्झौता गरे पनि सर्त स्पष्ट नहुनु, बहाल कर कम तिर्न बहाल अङ्क न्यून राख्नु वा दुइवटा सम्झौता गर्नुजस्ता समस्या देखिएको बताइन् । उनले समयमा बहाल नबुझाउनु, बहाल कर कसले बुझाउने भन्ने सम्झौतामा नखुलाउनु र खुलाएको अवस्थामा पनि सहकारी संस्थाले बहाल कर नतिर्नु, घरधनीलाई सहकारी समस्यामा छ वा बन्द हुँदैछ भन्ने जानकारी नहुनु, कार्यालय बन्द भएको सहकारीका पदाधिकारी तथा कर्मचारीसँग सम्पर्क हुन नसक्नुजस्ता समस्यासँग सम्बन्धित विवाद आउने गरेको जानकारी दिइन् ।  

कामपा अनुगमन समितिको निष्कर्ष : निर्देशनको कार्यान्वयन सन्तोषजनक

काठमाडौं । काठमाडौं महानगरपलिकाले अनुगमन समितिले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरूको पालना सन्तोषजनक रहेको जनाएको छ । अनुगमनका क्रममा दिइएका निर्देशन पालनाको समीक्षामा कामपा उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डङ्गोलले निर्देशन कार्यान्वयन अवस्था सन्तोषजनक रहेको बताइन् । समीक्षामा अनुगमन गरिएको मिति, स्थान, समय, त्यहाँको अवस्था र दिइएको निर्देशन स्मरण गराउँदै कार्यान्वयनको प्रगतिका विषयमा सम्बन्धित विभागका प्रमुखबाट जानकारी लिँदै उनले उक्त जानकारी गराइन् । चालु आर्थिक वर्षका विभिन्न समयमा गरिएको अनुगमनका क्रममा संयोजक डङ्गोलले नारायण गोपाल भवनमा लिफ्ट राख्ने, पूर्वाधार निर्माणका योजनामा जाँच गरिएका निर्माण सामग्री तथा निर्माण भएपछि गुणस्तर जाँच गरिएको प्रतिवेदन तयार पार्ने, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन प्रदूषणमुक्त हुनुपर्नेलगायतका निर्देशन दिएकी थिइन् । भौतिक पूर्वाधार निर्माण गर्दा अकासे पानी सङ्कलन र पुनःभरण गर्ने प्रणाली अनिवार्य सञ्चालनमा ल्याउने, कमलपोखरीमा पानीको मात्रा बढाउने, पोखरी परिसरमा सिसीटिभी क्यामेरा जडान गर्ने, धुलोरहित सडक योजनाको प्राविधिक प्रतिवेदन पेस गर्ने, भवन नक्सा प्रणालीमा अनिवार्य रूपमा विद्युतीय प्रणालीमात्र प्रयोग गर्ने, मखन आगलागीको प्रतिवेदन पेस गर्ने, बेरुजु फर्छ्याैटको कार्ययोजना बनाउनेलगायत विषयमा निर्देशन थियो । विगत अनुगमनको समीक्षा गर्दै उनले भनिन्, 'बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण, योजना अनुगमन, वडास्तरीय कामको अनुगमनसहित कामपाले हेर्नुपर्ने धेरै क्षेत्र छन् । ती हरेक क्षेत्रमा उपप्रमुख संयोजक भएको समितिले अनुगमन गर्न कठिन छ । यसकारण हामीले क्षेत्रगत र वडागत अनुगमन टोली गठन गरेका छौं ।'  अवस्था र आवश्यकतामा कुरा गर्दै उनले योजना, अनुगमन तथा मूल्याङ्कन एकाइलाई भनिन्, 'केन्द्रीय र वडास्तरीय अनुगमन टोलीले सम्पन्न गरेका कामको एकीकृत प्रतिवेदन तयार पार्नुहोला ।' सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने विषयमा उहाँले विषयगत समितिका सदस्य सचिवहरूलाई प्रतिवेदन पेस गर्न र  यसअघिका आर्थिक वर्षहरूको एकीकृत प्रतिवेदन पेस गर्न पनि निर्देशन दिनुभएको छ ।

भरतपुरको वडा नम्बर १७ बालमैत्री वडा घोषणा

चितवन । भरतपुर वडा नम्बर १७ लाई बालश्रममुक्त एवम् बालमैत्री वडा घोषणा गरिएको छ । शुक्रबार वडा कार्यालय परिसरमा एक भव्य कार्यक्रमका बीच वडालाई महानगरको १० औं बालमैत्रीको रूपमा घोषणा गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र  प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले  १७ नम्बर वडालाई संयुक्त रुपमा बालमैत्री वडा घोषणा गरे । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको दुई वर्षभित्र महानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने गरी अघि बढ्न सामाजिक महाशाखालाई आग्रह गरिन् । प्रमुख दाहालले बालमैत्री वडा घोषणा अभियानको गतिलाई वृद्धि गर्न योजनाबद्ध तालिका बनाएर लाग्नुपर्ने धारणा राखिन् । देशका ६ महानगरपालिकामध्ये पहिलो सडक मानवमुक्त महानगर घोषण गर्न सफल भएको पनि स्मरण गरिन्  वडा नम्बर १७ लाई बालमैत्री वडा घोषणाका लागि ५१ वटा सूचक पार गराउन सहयोग गर्ने सहयोगी संघ संस्था तथा सरोकारवालालाई धन्यवाद पनि ज्ञापन गरिन्। उपप्रमुख अधिकारीले चालु आर्थिक वर्षभित्र १२ वटालाई बालमैत्री वडा घोषणा गर्ने गरी महानगरपालिका अघि बढेको जानकारी दिए । यस्तै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बालमैत्री वडा घोषणा भएपछि थप जिम्मेवार सुरु भएको बताए । राज्यले सबैभन्दा कमजोर क्षेत्र संरक्षण तथा प्रथामिकता राख्ने भएकाले बालबालिकालाई संरक्षण गर्ने राज्यको सबैभन्दा घर परिवार पहिलो निकाय भएको उनले उल्लेख गरे । बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचक तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधिअनुसार केही सूचक शतप्रतिशत र केही ८० प्रतिशत पूरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका चारवटा खम्बा रहेका छन् ।  सहभागिता, विकास, संरक्षण, बाँच्न पाउने अधिकार रहेका छन् । यी सूचकहरू पूरा भएकाले वडा नम्बर १७ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन्।