वीरगञ्जमा बेवारिसे सवारी हटाउन अभियान सुरु, सडक र फुटपाथ अब सफा र खुला हुने
वीरगञ्ज । वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ । महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न लागेको हो । महानगरले आज वडा नं– २२ जगरनाथपुरमा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे राखिएको पुरानो रोलर मेसिन हटाएको छ । नगर प्रहरी र सरसफाइ शाखाको टोलीले दुई क्रेनको सहायताले रोलर हटाइएको नगर प्रहरी इन्चार्ज हरि भुसालले जानकारी दिए । महानगरले बसपार्क क्षेत्रमा सञ्चालनमा नआएको एक बस र एक ट्रकलाई पनि हटाएको छ । ती दुवै सवारीसाधनलाई डम्पिङ साइटमा पु¥याइएको छ । महानगरले गत बुधबार पनि वीरगञ्ज बसपार्क क्षेत्रमा दुई बेवारिसे बस हटाएको थियो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले पटक–पटक सार्वजनिक सूचना जारी गरेर हटाउन आह्वान गर्दा पनि नहटाएपछि महानगर आफैँले हटाउने अभियान थालेको बताए । महानगरले सडक, फुटपाथ, चोक, उद्यान, बसपार्क र अन्य सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा राखिएका वा प्रयोगमा नरहेका सवारीसाधन तथा संरचनाले नगरको सौन्दर्य र नागरिक आवागमनमा बाधा पुगेका कारण ती सवारीसाधन हटाउने कार्य अघि बढाएको हो । प्रमुख सिंहले वीरगञ्जलाई सफा, सुरक्षित, सुन्दर र आधुनिक सहरका रुपमा रूपान्तरण गर्ने अभियान थालेको हो । 'सहर हामी सबैको साझा घर हो । नागरिकले नियम पालन गरेमा हामी वीरगञ्जलाई व्यवस्थित महानगरमा रूपान्तरण गर्न सक्छौँ', उनले भने । महानगरले यात्रु, पैदलयात्री, साना व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा स्थानीय बासिन्दासँगको सहकार्यमा उक्त अभियान थालेको हो । रासस
गाउँपालिका स्थापनाको ९ वर्षसम्म भाडाकै घरमा, भाडामै ६० लाख खर्च
काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका स्थापनाको ९ वर्षसम्म भाडाकै घरमा छ । जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै आएको छ । मासिक ६० हजारका दरले भाडा दिँदै आएको पालिकाले स्थापनाकालदेखि ६० लाख रुपैयाँ भाडामा खर्चेको छ । लामो समय हुँदासमेत पालिकाको आफ्नै भवन निर्माण नहुँदा स्थानीयले पालिकाप्रति प्रश्न गर्दै आएका छन् । जिल्लाका सात पालिकाको आफ्नै भवन छभने दुई पालिकाको भवन निर्माणको चरणमा छन् । तर काठेखोला गाउँपालिकाले स्थापनाकालदेखि प्रशासकीय भवन निर्माणमा आवश्यक जग्गाको खोजी गरे पनि हालसम्म टुङ्गो लगाउन नसकेको हो । गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको दोस्रो कार्यकालमा आउँदासमेत पालिकाको भवन निर्माण नहुनु दुःखद भएको काठेखोला गाउँपालिका–२ अछेतेका स्थानीय गणेशबहादुर भण्डारीले बताए । उनले गाउँपालिकाले नौ वर्षसम्म जग्गा र भवनको टुङ्गो लगाउन नसकेको बताए । ‘जबसम्म गाउँपालिकाले पायक पर्ने स्थानमा भवन बनाउन सक्दैन, हामी नागरिकले प्रश्न गर्न छाड्दैनौँ, जिल्लाका अन्य पालिका आफ्नो भवनबाट सेवा दिइसक्दा समेत काठेखोला गाउँपालिका अझै भाडाकै घरमा छ,ँ उनले भने, ‘गाउँपालिकालाई स्थानीयले देखाएको जग्गामा भवन बनाउन कस्ले रोक्यो, अछेते बजार नजिकै भवन बनाउँदा सबैलाई पायक पर्दछ, सामुदायिक वनमा भवन बनाउने कुरा थियो, अहिलेसम्म पालिका निर्णयमा नपुग्दा नागरिकलाई सेवा प्रवाहमा समस्या भएको छ ।’ गलकोट र जैमिनी नगरपालिकाको भवन निर्माणाधीन अवस्थामा छ । गत फागुनदेखि ढोरपाटन नगरपालिकाले आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । काठेखोलाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गोमा पुगे पनि पुनः मुद्दा परेर विवाद बढेको थियो । ९ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको छैन । अघिल्लो पटक कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको थियो । सामबोटमा भवन बनाउन कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारित गरेर रु एक करोड रकम विनियोजन गरे पनि सामुदायिक वनमा भवन बनाउन स्थानीयले अवरोध गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । बिहुँकोट सुलडाँडामा भाडाको घरबाट सेवा दिँदै आएको पालिकाले आगमी आर्थिक वर्ष भाडा तिर्न नपर्नेगरी विद्यालयको भवनमा सर्ने योजना बनाएको अध्यक्ष थापाले बताए । भीमसेन माध्यमिक विद्यालयको भवनबाट साउनदेखि गाउँपालिकाले सेवा दिनेगरी अहिले भवन फर्निसिङको काम गरिरहेको बताउनुभयो । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाको जग्गा तथा भवन अझै टुङ्गो लगाउन सकेको छैन । त्यहाँका केही स्थानीयले सुलडाँडा र केहीले अक्षतेमा केन्द्र राख्ने विषयमा स्थानीयबीच विवाद भइरहेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्नाले भवन निर्माणमा ढिलाइ भएको हो ।
पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर मात्र खुला गर्न र इनडोर पोखरी बनाउन निर्देशन दिएको छ । आज कामपाको उपप्रमुख सुनिता डङ्गोलले उक्त पोखरीको अनुगमन गर्दै निर्देशन दिएका हुन् । पौडी पोखरी, उद्यानको पूर्वाधार, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय अवस्थाको सुधारसँगै बालाजुलाई उत्कृष्ट गन्तव्य बनाउने काम एकैसाथ अगाडि बढाइने उनको भनाइ छ । शहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीका अनुसार उद्यानको गुरुयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 'पुनःनिर्माणको पहिलो चरणमा १८ लाख लिटर पानी अट्ने क्षमता भएको ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरी बनाइएको हो', पुनःनिर्माण कार्यका बारेमा जानकारी दिँदै सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले भने, 'पौडीपोखरी गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरी पुनःनिर्माणसँगै पानी प्रशोधन प्लान्ट, शुद्धीकरण प्लान्ट, १५० जना क्षमताको दर्शक बस्ने ठाउँ निर्माण गरिएको छ ।' पौडी सञ्चालन गर्न सङ्घसँग सम्झौता पौडी पोखरी सञ्चालन गर्न कामपाले उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले नेपाल पौडी सङ्घसँग सम्झौता गरेको छ । सम्झौताबमोजिम सङ्घले एकजना वरिष्ठ जीवनरक्षक, एकजना महिला अनिवार्यसहित तीनजना जीवनरक्षक, एकजना पानी प्रशोधन प्राविधिकसहित पाँचजना जनशक्ति उपलब्ध गराउने छ । कामपाले तोकेको पोखरी सञ्चालन हुने दिनमा सेवाग्राही आउनुभन्दा १० मिनेट अगाडि नै जनशक्ति पोखरीमा पुगिसक्नुपर्नेछ । समय सकिएपछि कार्यालय प्रमुखलाई दैनिक कामको विवरण दिएर फर्किनु पर्नेछ । धार्मिक तथा प्राकृतिक दुवै कोणबाट पवित्र मानिने नागार्जुन डाँडाको फेदमा बालाजु बाइसधारा उद्यान छ । मन्नादी देवीसँगै उद्यान क्षेत्रमा शीतलामाई देवी, बुद्ध, गणेश, रत्नचुडेश्वर महादेवको मन्दिर तथा उद्यानको पूर्वतिर रहेको सानो कुण्डका शेषनागमाथि सुतेका बालनीलकण्ठ रहेका छन् । उद्यान १५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लको पालामा २१ वटा धारा निर्माण भएका थिए । पछि रणबहादुर शाहले बीचको एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइस धारा रहन गएको हो । विसं २०१८ सालमा राजा महेन्द्रको पालामा बालाजु बाइसधारा उद्यान निर्माण गरिए पनि २०२१ सालदेखि सर्वसाधारणलाई खुला गरिएको हो । विसं २०७२ को भूकम्पले पोखरीको चर्किएपछि चुहिने भएको थियो । रासस