काठमाडौं महानगरको मेलमिलाप संयन्त्र युरोपेली देशका लागि अनुकरणीय अभ्यास हो : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको मेलमिलाप संयन्त्र र त्यसबाट भएका अभ्यास युरोपेली देशहरूका लागि अनुकरणीय र सिकाइ योग्य बनेको उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । वेल्जियम भ्रमण सम्पन्न गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उपप्रमुख डंगोलले भ्रमणका उपलब्धिबारे जानकारी दिइन् । 'स्थानीय तहबाट मेलमिलाप संयन्त्र सञ्चालन गर्ने प्रक्रिया उहाँहरूका लागि नौलो अनुभव रह्यो,' डंगोलले भनिन्, 'युरोपेली युनियनको वैकल्पिक विवाद समाधान अभ्यास अवलोकनपछि मैले काठमाडौं महानगरपालिकामा न्यायिक समितिमार्फत सञ्चालित वडा स्तरीय मेलमिलाप केन्द्र, महिला सञ्जालको गठन, निःशुल्क कानुनी सेवा र विपन्नका लागि अदालतमा कानुनी सहायता जस्ता प्रयासबारे प्रस्तुतिकरण गरेँ ।' उनका अनुसार प्रस्तुतिपछि सहभागी युरोपेली प्रतिनिधिहरूले काठमाडौं महानगरपालिकाको अभ्यास केही युरोपेली देशहरूको भन्दा प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए । 'उक्त प्रतिक्रियाले खुशीसहित थप जिम्मेवारीको अनुभूति गराएको छ,' डंगोलले भनिन् । महानगरपालिकाले पछिल्लो समय स्थानीय तहमा न्यायसम्मत विवाद समाधानलाई सुदृढ बनाउने उद्देश्यले मेलमिलाप संयन्त्रलाई संस्थागत बनाउँदै आएको छ ।
५ करोडमा पुनःनिर्माण हुँदै नव देग मन्दिर, पुरानै शैलीमा बनाइने
काठमाडौं । काठमाडौं महानगरपालिका–२५ मा अवस्थित ऐतिहासिक नव देग मन्दिर, जसलाई भवानी शंकर मन्दिरको नामले पनि चिनिन्छ, पुरानै कलात्मक शैलीमा पुनःनिर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । साढे ५ करोड रुपैयाँको लागतमा पुनःनिर्माण भइरहेको यो मन्दिर सन् १६७५ मा प्रताप मल्लका महामन्त्री देवीदास चिकुथिले निर्माण गराएका थिए । तत्कालीन मल्लकालीन वास्तुकलाको उत्कृष्ट नमुना मानिने यो मन्दिरको पुनःनिर्माण कार्य २०८१ भाद्र २ गतेबाट सुरु गरिएको हो, जसलाई २०८२ फागुन ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुनःनिर्माणको क्रममा भेटिएको ऐतिहासिक शिलालेखमा ४९ पङ्क्ति छन्, जसमा २५ पङ्क्तिमा महादेवको स्तुति र बाँकीमा मन्दिर सञ्चालन, नित्य पूजा, आरती लगायतका विधिहरू उल्लेख गरिएका छन् । ब्राह्मण पुजारीमार्फत दैनिक पूजाआजा गरिने यस मन्दिरमा हरेक महिनाको पहिलो दिन, पूर्णिमा र महाशिवरात्रिमा विशेष पूजाको परम्परा छ । हाल बनाइँदै गरेको नयाँ संरचनामा मन्दिरको तल्लो भागमा पाँच तले ईँटको भर्याङ र त्यस माथि तीनतले मन्दिर निर्माण गरिँदैछ । यद्यपि सन् १९७५ को अभिलेखमा यो मन्दिर एकतले देखिए पनि अन्य अभिलेख र प्रमाणका आधारमा हाल तीनतले स्वरूपमा पुनर्निर्माण भइरहेको हो । २०३९ सालको एक अभिलेख अनुसार यो स्थानमा पहिले एक भव्य, कलात्मक मन्दिर रहेको पुष्टि हुन्छ । अझै पनि यहाँ पाँचवटा भुइँतला संरचना बाँकी छन्, जसले पुरातात्त्विक महत्व झल्काउँछन् । गर्भगृहमा शिवलिङ्गका साथै विष्णु, गणेश, सूर्य र देवीका मूर्तिहरू रहेका छन्, जसले पाँचायन देवताको प्रतिनिधित्व गर्छन् । यो मन्दिर केवल धार्मिक स्थल मात्र नभई काठमाडौंको सांस्कृतिक इतिहासको जीउँदो स्मृति पनि हो । पुनःनिर्माणपछि नव देग मन्दिर राजधानीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
प्रविधि मैत्री बन्दै काठमाडौं महानगरका विद्यालय, २० वटा डिजिटल बोर्ड हस्तान्तरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउन थालेको छ । कामपा-२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई बोर्ड हस्तान्तरण गर्नुभएको हो । प्रदान गरिएका बोर्डहरू ६५ इञ्चका छन् । वडाले सार्वजनिक खरिद प्रक्रियाबाट ४३ लाख ५९ हजार ५४० रुपैयाँ मूल्यमा सामान प्राप्त गरेको हो । बोर्ड हस्तान्तरण गर्दै वडाध्यक्ष तिवारीले भने, ‘पूर्वाधार, सामान तथा उपकरण र प्रविधि प्राप्त गर्नु भनेको गुणस्तरीय कार्यक्रमका जग हो सही उपयोग भएन भने नतिजा आउँदैन । यसकारण शिक्षकहरूले पनि आफूलाई समयसापेक्ष रुपान्तरण गर्दै प्रविधिमा आधारित कक्षा सञ्चालनमा दक्ष बनाउनुपर्छ । तालिम आवश्यक परे भन्नु परो त्यसका लागि कामपा उपलब्ध गराउन तयार छ ।’ उनले विद्यालयका लागि करिब ४० लाख रुपैयाँ लागत बराबरको कम्प्युटर ल्याब बनाउने योजना सार्वजनिक खरिद प्रक्रियामा रहेको समेत जानकारी दिँदै सबै प्रक्रिया पूरा भएपछि जडान हुने बताए । वडाबाट गरिएको लगानीले विद्यालयलाई कामपाकै नमूना विद्यालयका रुपमा विकास गर्नका लागि हो । वडाध्यक्ष तिवारीले अपेक्षा राखे । शैक्षिक गुणस्तर विकासका लागि आउँदो १० वर्षपछिको समय पूर्वानुमान गरेर अहिलेदेखि नै कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले धारणा थियो । वडाका सचिव केदार रिमालका अनुसार स्थानीय परिवेशलाई विश्वको अवस्थासँग दाँजेर प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न कामपाका कार्यक्रममा वडाले आफ्नो लगानी जोडेको बताए । त्यस्तै कामपाले केही दिन अघि मात्रै सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरू गरेको थियो । कामपाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको थियो । कामपाको गौरव योजना अन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रम अन्तर्गत सूचना प्रविधि मैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब २० करोड रुपैयाँ विनियोजित रहेको कामपाको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले बताए ।