सरकारलाई बालेनको चुनौती-‘मलाई जेल हाल’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध आफ्नै कर्मचारीहरूलाई बनाउन लगाएको राय प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो चुनौती दिएका हुन् । उनले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिं भाषणमा सुन्नुपर्ने र माथिको कुरा गलत भए मलाई जेल हाल ।’ बालेनले स्टाटस लेख्दै गुरागाईंलाई भ्रष्टाचारीको संज्ञा दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानविन गर्न बालेनले बनाएको छानविन समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंको गल्ती नभएको प्रतिवेदन दिएपछि बालेनले उक्त प्रतिवेदन नै बुझ्न मानेका थिएनन् । त्यसपछि बालेनले महानगरकै तीन विभागीय प्रमुखहरूलाई लेख्न लगाएको प्रतिवेदन आज फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

राति १० बजे बालेनको स्टाटस : अबको एक हप्तामा कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरका सरसफाई कर्मचारीले विगत ३ महिना देखी तलब नपाएको गुनासो गरेका छन् । राति १० बजे फेसबुकमा स्टाटस राख्दै उनले यस्तो धारणा राखेका हुन् । उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले । को-कोले के-के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्योपछि हेरौँला तिमीहरुको के-के तन्त्र हो ।’

भैंसीपाटीमा सञ्जीवनी पार्क खण्ड ख निर्माण सम्पन्न

ललितपुर । ललितपुर महानगर वडा नं.२५ स्थित सञ्जीवनी पार्कको खण्ड ख निर्माण सम्पन्न भएको छ । उक्त पार्कको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । प्रमुख महर्जनले ललितपुर महानगरमा ४० वटा भन्दा धेरै पार्क निर्माण सम्पन्न भइसकेको उनले बताए । उनले भने, ‘पार्क निर्माको श्रृंखलामा यो पार्क थपिएको एक अर्को पार्क हो । ललितपुर महागरको वडा नं.२५ मा नै रहेको सञ्जीवनी पार्कको खण्ड कको निर्माण सम्पन्न यस अघि नै भइसकेको छ ।’ महानगर प्रमुख महर्जनले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन महानगरले सशक्त रुपमा काम गरेको बताए । ललितपुर महानगर वडा नं.२५ का वडा अध्यक्ष दौलतविक्रम खत्रीले महानगरले विभिन्न वडामा बनाएको पार्कले सहरको सौन्दर्य बढाएको प्रष्ट पारे । खाली जमिनमा आकर्षक पार्क निर्माणले वडालाई सुन्दर बनाएको उनको भनाई थियो । पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष रवि विष्टले ७५ लाखको लागतमा संजिवनी पार्क खण्ड ख निर्माण सम्पन्न भएको जानकारी दिए ।