बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’

गलकोट । सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियो । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । ती मध्ये छ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन् भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन् । फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । भवन सम्पन्नपश्चात् फागुनदेखि सेवा दिन थालिएको छ । चार करोड ५९ लाख ३४ हजारको लागतमा छ तलाको पक्की भवनबाट सेवा प्रवाह थालिएपछि कार्यालय सञ्चालन खर्च घटेको छ । काठेखोला गाउँपालिकाले जग्गा टुङ्गो लगाउन सकेको छैन । ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको एक वर्ष पछि बडिगाड गाउँपालिकाले भवन बनाएको हो । काठमाडौंको सिंहदरबार सङ्घीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । बडिगाड र ताराखोला मात्र होइन तमानखोला, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला’ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभागृहमा ‘काठमाडौं शैक्षिक मेला’ आयोजना गर्ने भएको छ । महानगरपालिकाद्वारा थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो । बिहीबार यहाँ आयोजित पत्रकार सम्मलेनमा कामपाका प्रवक्ता नविन मानन्धरले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए । विद्यालय शिक्षालाई वैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचिका साथै अभिभावकको चाहनाअनुरुप सञ्चालन गर्न सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको उनले बताए । मेलामा महानगरभित्र सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकको क्षमता विकासलगायत कार्यक्रम समावेश गरिने छ । साथै मेलामा महानगरको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्ने छन् । विभिन्न ३५ वटा शैक्षिक उपसमूहका स्टल रहने मेलामा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरूले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्ने जनाइएको छ । नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायनलगायत प्रस्तुति समावेश गरिनेछ । विद्यार्थी नमूना संसद् अभ्यास, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, ‘बुक फ्री फ्राइडे’को बाबा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका एक हजार बढी ‘स्केचिङ’को नमूना प्रदर्शनी, नतिजा सुधारका असल अभ्यासको आदानप्रदान तथा महानगरका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्रको व्यवस्था गरिने प्रवक्ता मानन्धरले जानकारी दिए । उनका अनुसार मेलामा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच छलफल गरिनेछ । महानगरभित्र ८७ सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ विद्यार्थी र पाँच सय २४ संस्थागत विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ विद्यार्थी अध्ययनरत छन् । महानगरका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको बताए । उनका अनुसार यसबाट प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्री फ्राइडे (एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सीप), टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रम सञ्चालन भइरहेका छन् । विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहुवर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ कार्यान्वयनमा ल्याइएका छन् । यसरी सञ्चालन गरिएका कार्यक्रमबाट सैद्धान्तिक शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाएर समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनमा योगदान गर्ने महानगरपालिकाको लक्ष्य छ । महानगरपालिकाले सञ्चालन गरेका यी कार्यक्रमलाई लक्षित समुदाय, वर्ग र व्यक्तिसम्म पुर्‍याउन सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

मगर दिवस मनाउन सार्वजनिक बिदा

काठमाडौं । ४३औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका विभिन्न पालिकाले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते अर्थात् बिहीबार मगर एकता दिवसको अवसर पारेर रामपुर नगरपालिकासहित रम्भा, बगनासकाली, निस्दी, पूर्वखोला र माथागढी गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । सो दिन पालिका मातहतका कार्यालय, शैक्षिक संस्थामा बिदा दिइएको सार्वजनिक सूचनामार्फत जनाइएको छ । मगर समुदायको बसोबास बढी रहेकाले यस क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम, संस्कृति संरक्षण गर्न र उल्लासमय रूपमा दिवस मनाउन एक दिन सार्वजनिक बिदा दिइँदै आएको रामपुर नगरप्रमुख रमणबहादुर थापाले बताए । बगनासकाली गाउँपालिकाले स्थानीय बिदाको दिन आदिवासी जनजाति समन्वय समितिको आयोजना तथा नेपाल मगर सङ्घको सहजीकरणमा हुने कार्यक्रममा सहभागी हुन गाउँसभाका सदस्य एवं सम्पूर्ण कर्मचारीलाई चिलाङ्दी खेलमैदानमा उपस्थित हुन अनुरोधसमेत गरेको छ । दिवसका दिन मगर समुदायका व्यक्तिहरू आफ्नो संस्कृति झल्कने पहिरनमा सजिएर झाँकी, ¥यालीसहित कार्यक्रममा सहभागी हुने गर्दछन् । दिवसको अवसर पारेर खानाका परिकार प्रदर्शनी, सालैजो, झ्यारे, मारुनी जस्ता संस्कृति नाच प्रस्तुतिलगायत कार्यक्रम आयोजना गरिने छन् ।