कागेश्वरी-मनोहराले नेपाल प्रहरीलाई दियो क्यामेरा, अस्पताल र प्रहरी बिटको लागि जग्गा पनि दिने
कागेश्वरी मनोहरा । कागेश्वरी-मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा सहयोग गरेको छ । मंगरबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहरालाई डीएसएलआर क्यामेरा हस्तान्तरण गरेका हुन् । क्यामेरा हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले प्रहरीको अनुसन्धानलाई अझ सशक्त बनाउँदै शान्ति सुरक्षा कायम गर्न सहकार्य जारी रहने बताए । प्रहरीसँगको सहकार्यले अपराध नियन्त्रण र शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्याउने उनले अपेक्षा गरेका छन् । ‘दृश्यात्मक प्रस्तुतीकरणमा क्यामेराको उपयोगले गतिविधिहरूलाई थप प्रभावकारी बनाउने विश्वास छ । प्रहरीको अपराध अनुसन्धानमा सहजीकरण गर्ने उद्देश्यले क्यामेरा प्रदान गरिएको हो,’ नगर प्रमुख कार्कीले भने । सहरी विकास र सार्वजनिक सुरक्षालाई सुदृढ बनाउन कागेश्वरी-मनोहरा नगरपालिकाले अस्पताल र प्रहरी बिटको लागि जग्गा पनि सहयोग गर्ने योजना अघि सारेको छ । नगरप्रमुख उपेन्द्र कार्कीका अनुसार समुदायको स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यले अस्पतालको लागि उपयुक्त स्थानमा जग्गा उपलब्ध गराइने छ । साथै शान्ति सुरक्षा प्रवर्द्धन गर्न नगरपालिकाका रणनीतिक स्थानहरूमा प्रहरी बिट निर्माणको लागि पनि जग्गा प्रदान गरिने योजना छ । प्रहरी उपरीक्षक अपिलराज बोहराले अपराध अनुसन्धानमा दृश्य सामग्रीको प्रामाणिकता बढाउन डीएसएलआर क्यामेरा उपयोगी हुने बताए । स्थानीय तहसँगको सहकार्यलाई थप मजबुत बनाउँदै आधुनिक प्रविधिको प्रयोगमार्फत अपराध नियन्त्रणलाई प्रभावकारी बनाइने उनको भनाइ छ । ‘प्रविधिको प्रभावकारी उपयोगले अनुसन्धानको गुणस्तरमा सुधार ल्याउने छ । अपराधको प्रमाणिकरणमा मद्दत पुर्याउने विश्वास छ । स्थानीय तहसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै शान्ति सुरक्षा प्रवद्र्धनको लागि निरन्तर सहकार्य गर्छाैं,’ बोहराले भने ।
चन्द्रागिरि नगरपालिकाद्वारा नवनियुक्त सहसचिव अर्याल सम्मानित
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा सिफारिस भएकामा उनलाई विशेष सम्मान गरिएको छ । करिब एक वर्ष पाँच महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका उनले समग्र नगरको उन्ननयमा ऐतिहासिक कार्य गर्न सफल भएका थिए । चन्द्रागिरि नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा सहसचिव अर्याललाई नगरप्रमुख घनश्याम गिरीले सम्मान गरे । सो अवसरमा नगरप्रमुख गिरीले नगर प्रहरी गठन, जिपिएस र डिजिटल प्रणाली कार्यान्वयन, प्रसूति अस्पताल निर्माणजस्ता दूरगामी महत्वका योजना कार्यान्वयमा प्रमुख कार्यकारी अधिकृत अर्यालको योगदान महत्त्वपूर्ण रहेको चर्चा गरे । उनले भने, ‘मैले हालसम्म १० जना प्रमुख कार्यकारी अधिकृतसँग काम गर्ने मौका पाएँ तर राजनीतिक लक्ष्यलाई बुझेर छिटो काम गर्नसक्ने क्षमता प्रमुख कार्यकारी अधिकृत अर्यालसँग मात्र पाएँ । सत्य र तथ्यमा आधारित कार्यसम्पादन गर्ने उहाँको शैली अनुकरणीय छन् ।’ सो अवसरमा सहसचिव अर्यालले राष्ट्रसेवक कर्मचारीका लागि चन्द्रागिरि नगरपालिकामा काम गर्ने वातावरण अब्बल रहेको हुँदा आफ्नो क्षमताले भ्याएसम्म नगरको उन्नयनमा आफूले कार्यसम्पादन गरेको बताए । उनले भने, “म खोजेर र रोजेर चन्द्रागिरि नगरपालिकामा आएको होइन, दबाब र प्रभावमा कार्यसम्पादन गर्ने बानी मसँग छैन ।” फरक प्रसङ्गमा सचिव अर्यालले आफूले किताबी सैद्धान्तिक ज्ञानभन्दा समाज र समुदायलाई सुक्ष्म रूपमा अध्ययन गरेका कारण राजपत्राङ्कित प्रथम श्रेणीमा नाम निकाल्न सफल भएको सुनाए । सहसचिव अर्यालले आफूले थालनी गरेका असल अभ्यासलाई आगामी दिनमा अगाडि बढाउन सुझाव दिनुहुँदै ५१ बुँदा संस्थागत ‘सस्थागत स्मरण’ हस्तान्तरणसमेत गरे । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल र उपप्रमुख वसन्ती श्रेष्ठ र नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत अर्यालले चन्द्रागिरि नगरपालिकालाई पुर्याउनुभएको योगदानलाई सदैव सम्झने बताए ।
रुद्री पूजा गरेर सञ्चालनमा आयो कागेश्वरी मनोहरा नगरपालिकाको नयाँ भवन
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार धार्मिक विधिअनुसार हवन, रुद्री पूजा गरेर भव्य रूपमा नगरपालिकाको भवन उद्घाटन गरी सञ्चलनमा ल्याइएको हो । नयाँ भवन सञ्चालनमा आएसँगै कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो सेवालाई सहज र सरल बनाउँदै प्रभावकारी गर्ने जनाएको छ । नवनिर्मित भवनबाट प्रशासनिक कामकाजलाई सरल र पारदर्शी बनाउने नगर प्रखुम (मेयर) उपेन्द्र कार्कीले बताए । वातावरण संरक्षणमा जोड दिँदै सेवा प्रवाहमा थप सुधार ल्याउने योजना रहेको उनको भनाइ छ । मेयर कार्कीले आफ्नो कार्यकालमा विभिन्न सकारात्मक कामहरू गर्दै नगरपालिकालाई समृद्धिको मार्गमा अगाडि बढाउने बताए । नयाँ भवन उद्घाटनको रुद्री पूजामा नौवटै वडाका वडाअध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, कर्मचारी तथा नगरवासीहरूको उपस्थिति रहेको थियो । भवनमा कार्यालय कक्षहरू, सभाकक्ष, सेवाग्राही प्रतीक्षालय र प्राविधिक पूर्वाधारहरू जडान गरिएका छन् । साथै, भवन अपाङ्गमैत्री रहेको छ भने डिजिटल प्रणालीको पनि प्रयोग गरिएको छ ।