प्लाष्टिक झोलामुक्त अभियान : ३९१ किलो प्लाष्टिक जफत

दमौली । प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ । नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो । नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरेको थियो । पालिकाले प्लाष्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ । दमौलीस्थित सृष्टि प्लाष्टिक उद्योगबाट एक किलो, नसिम स्टोर्सबाट तीन किलो, महाकाली जनरल स्टोर्सबाट एक सय २९ किलो, सूर्य प्लाष्टिक पसलबाट एक सय २३ किलो र ज्ञानमाला भाडा प्लाष्टिक पसलबाट एक सय ३५ किलो प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । नगरपालिकाले प्लाष्टिक झोला प्रयोगकर्ता, विक्रेता र उत्पादकलाई नगरपालिकको निर्णय विपरीत गरेमा जरिवानाको चेतावनी दिँदै जरिवाना रकम पनि तोकेको छ । प्लाष्टिक झोला उत्पादकलाई पहिलोपटक दुई हजार रुपैयाँ, दोस्रोपटक रु चार हजार र तेस्रोपटक छ हजार रुपैयाँ जरिवाना गरिने नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक रनसिं नेपालीले जानकारी दिए । यसैगरी, नियम पालना नगर्ने विक्रेतालाई पहिलोपटक पाँच सय रुपैयाँ, दोस्रोपटक एक हजार रुपैयाँ र तेस्रोपटक  तीन हजार रुपैयाँ जरिवाना तोकिएको छ । प्रयोगकर्तालाई भने पहिलोपटक दश रुपैयाँ, दोस्रोपटक ५० रुपैयाँ जरिवाना तोकिएको छ । नगरपालिकाले बजार क्षेत्रभित्र प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै नगरका विभिन्न भागमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिकाले थाल्यो फोहरबाट मल उत्पादन र बिक्री, सफाइ कार्ड लिनेलाई प्रतिकिलो ५ रुपैयाँ छुट

काठमाडौं । बजारीकरण र सहरोन्मुख क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको विषय हुने गर्दछ । फोहरको उचित व्यवस्थापन गर्न नसक्दा समस्या झेलिरहेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु सकारात्मक उदाहरण बन्न सक्दछ । मध्यविन्दु नगरपालिकाले फोहरको व्यवस्थापनसँगै जैविक मल उत्पादन गरी बिक्री सुरु गरेको छ । पालिकाले सङ्कलित फोहरमध्ये कुहिने फोहरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरेको हो । यहाँ स्थापित केन्द्रबाट फोहर व्यवस्थापनसँगै हाल परीक्षणका रूपमा उत्पादन गरिएको र जैविक मल बिक्री सुरु गरेको नगरपालिकाका इन्जिनियर विवेक पोखे्रलले बताए । स्थानीयस्तरमा सङ्कलित फोहरलाई वर्गीकरण गरी कुहिने फोहरलाई जैविक मलको रूपमा उत्पादन परीक्षण सफल भएको र यसलाई नियमित रूपमा अघि बढाइने उनले जानकारी दिए । नगरपालिकाले उत्पादन गरेको जैविक मल नगरस्तरीय सरसफाइ प्रवर्द्धन समितिको निर्णयअनुसार प्रतिकिलोग्राम रु २२ मा बिक्री सुरु गरिएको इन्जिनियर पोख्रेलले बताए । । नगरपालिकाको सरसफाइ कार्ड लिनेका लागि १ सय किलोसम्म मल खरिद गर्दा प्रतिकिलो ५ रुपैयाँ छुट प्रदान गरिने उनले बताए । उत्पादित मल चोरमाराको कृषि विकास शाखा र उत्पादन केन्द्रबाट खरिद गर्न सकिने नगरपालिकाले जनाएको छ । ‘उत्पादित जैविक मल नेपाल सरकारले तोकेको मापदण्डअनुसारको रहेको छ । हामीले त्यसको परीक्षण गरेका छौँ, नाइट्रोजन, फस्फोरस र पोटासियमलगायत अन्य तत्वको मापदण्ड तोकिएअनुसारै छ,’ इन्जिनियर पोख्रेलले भने । जैविक मलले माटोको उर्वरा शक्ति बढाउने, वातावरण संरक्षणमा सहयोग पुग्ने, खाद्य उत्पादनमा टेवा पुर्याउने अपेक्षा रहेको मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले बताए । हिजोआज कृषि उत्पादनका क्रममा धेरै रासायनिक मल प्रयोग गर्ने क्रम रहेकाले त्यसलाई निरुत्साहित गर्दै जैविक मल प्रयोगलाई बढाउनसमेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ । ‘हामीकहाँ अहिले कृषि उत्पादन गर्दा रासायनिक मल धेरै प्रयोग गर्ने, विषादी प्रयोग गर्ने गरिन्छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ, यसका लागि जैविक मलको प्रयोग गर्न सकारात्मक सन्देश दिनसमेत सहयोग पुग्ने अपेक्षा छ,’ नगरप्रमुख अधिकारीले भने । मध्यविन्दु नगरपालिकाले–११, कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब ४ करोड ३७ लाख रुपैयाँको लागतमा फोहर व्यवस्थापनकार्य अघि बढाएको र यसैबाट जैविक मल उत्पादनसमेत सुरु गरिएको हो । मध्यविन्दुमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाले घरबाट नै फोहरको वर्गीकरण अनिवार्य गरेको छ । कुहिने र नकुहिने गरी छुट्टाछुट्टै दिन फोहोर सङ्कलन गर्ने गरिएको छ । यसरी सङ्कलित फोहरमध्ये नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने फोहोर छुट्टाएर बिक्री हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरी बिक्री गर्न थालिएको हो ।

स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष

चितवन । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न एक करोड एक लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथबाट गौँ संरक्षण सुरु भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइएको बताए । अक्षयकोषका लागि ११ हजार एक सय रुपैयाँको आजीवन सदस्य र एक लाख एक हजार रुपैयाँको संरक्षक सदस्य बनाइएको छ । पैतालिस जना संरक्षक सदस्य र तीन सय २५ जना आजीवन सदस्य छन् । विसं २०७४ बाट कोष स्थापना गरी रकम संकलन गर्न थालिएको हो । कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा १८ लाख रुपैयाँभन्दा बढी संकलन भएको उनले बताए । गौँ संरक्षण केन्द्रले दुई सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्वसंयोजक टंकनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताए । दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् । योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेका हुन् । केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ ।