आइटी हबको गुरुयोजना बनाउँदै महानगर, रोजगारीको अवसर सिर्जना गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाले सूचना प्रविधि (आइटी) को हब बनाउन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा काम अघि बढाएको छ । युएसएआइडीले परामर्शदाता (कन्सल्टेन्ट) नियुक्त गरेर काम अघि बढाएको हो । युएसएआइडीले डिलोइट (आइटीसम्बन्धी परामर्श दिने कम्पनी) लाई परामर्शदाता छनोट गरी काम अघि बढाएको छ । महानगरपालिकाका इन्जिनियर साकार लामाका अनुसार यो विश्वको चौथो ठूलोमध्येको आइटी परामर्श कम्पनी हो । भौतिक विकासमा अग्रणी मानिएको भरतपुरलाई आइटी हबका रूपमा विकास गर्न महानगर र युएसएआइडीबीच गत कात्तिक १७ गते द्विपक्षीय सम्झौता भएको थियो । डिलोइटले भरतपुरको २० वर्षे गुरुयोजनाअन्तर्गत आइटी हब निर्माण गरी यहाँको आर्थिक समृद्धि र रोजगारीको अवसर सिर्जनालाई मुख्य आधार बनाएको छ । नगरप्रमुख रेनु दाहालले परामर्शदाता कम्पनीलाई वस्तुगत आधार र भौगोलिक यथार्थलाई गहनरूपमा बुझेर गुरुयोजना निर्माण गर्न सुझाव दिएको बताइन्। गुरुयोजनालाई निर्धारित समयमा सकेर केन्द्र, प्रदेश सरकार, दातृ निकायको सहयोग र समन्वयमा कार्यान्वयनमा लैजाने महानगरको योजना रहेको उनले बताइन्। भौतिक विकास, समता–समानता, सुशासनपछि अबको भरतपुरको लक्ष्य रोजगारी सिर्जना र आत्मनिर्भर सूचना प्रविधिमैत्री भरतपुर बनाउने लक्ष्य रहेको नगरप्रमुख दाहालको भनाइ छ । यो कम्पनीले यसअघि भारतको बेङ्लोर र बङ्गलादेशमा आइटी हब बनाउन सहयोग गरेको थियो । महानगर प्रमुख दाहालले भनिन्, ‘अनुभवी कम्पनी भएकाले समयमै उच्चस्तरको गुरुयोजना बन्नेमा हामी विश्वस्त छौँ ।’ डिलोइटले भरतपुरको सूचना प्रविधिको क्षमता आकलन, आइटी कम्पनीको आवश्यकता, भरतपुरले आइटी कम्पनीलाई के–के सुविधा दिनसक्छ भन्नेबारेमा अध्ययन गर्नेछ । यसैगरी नीतिगत सुधार गर्नुपर्ने विषय, आइटी कलेज र तालिम केन्द्र निर्माणलगायतका विषयमा अध्ययन गरी गुरुयोजना बनाउने छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेपलपमेन्ट स्टडिज (आइआइडीएस)ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालबाट एक सय छ भन्दा बढी सूचना प्रविधि कम्पनीले सेवा निर्यात गरेका छन् । सूचना प्रविधि क्षेत्रले सेवा निर्यातका माध्यमबाट वार्षिक रु ६८ अर्ब ७६ करोडभन्दा बढी रकम स्वदेश भित्र्याइरहेको छ । आइआइडीएसले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा नेपालको सूचना प्रविधि सेवा निर्यातमा ६४ दशमलव दुई प्रतिशतको उल्लेख्य वृद्धि भएको थियो । नेपालका त्यस्ता आइटी कम्पनीलाई भरतपुर भित्र्याएर रोजगारी सिर्जना गर्न उपयोग हुने गरी गुरुयोजना बनाउन लागिएको नगरप्रमुख दाहालले बताइन् । रासस

हरिवनमा ‘ड्रोन’मार्फत जग्गाको नापजाँच

सर्लाही । हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुआत गरेको छ । नगरभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्नका लागि ड्रोनमार्फत जग्गाको नापजाँच थालिएको हरिवन नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए । उनका अनुसार दुई महिनाभित्रमा नगरपालिकाभित्रका ११ वटै वडामा जग्गाको नापजाँच गर्ने काम सम्पन्न हुने छ । हरिवन -१ स्थित कोठीखोला र सिकारी टोलबाट ड्रोनमार्फत जग्गाको नापजाँच शुभारम्भ गरिएको छ । सो प्रविधि मार्फत जग्गा नापजाँच गर्दा जनशक्ति तथा समयको पनि बचत हुने भएकाले चाँडै नै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्न सजिलो हुने नगर उपप्रमुख हरिमाया घलानले बताइन् । उनले ड्रोन तथा डिजिपीएस प्रणालीको विधिबाट काम गर्दा अन्यभन्दा १० गुणा बढी प्रभावकारी हुने भएकाले पनि ड्रोनको प्रयोग सुरु गरिएको जानकारी दिइन् । हरिवन-१ का विभिन्न स्थानको अभिलेख तयार गरी नापी र मालपोत कार्यालय हरिवनको समन्वयमा राष्ट्रिय भूमि आयोग सर्लाहीमा पेस गरिने भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई छिट्टै जग्गाधनी पुर्जा प्रदान गरिने हरिवन नगरपालिको भूमि सेवा केन्द्रका प्रमुख सुवाश कुशवाहाले बताए । उनका अनुसार नगरपालिकाभरि भूमिहीन सुकुम्बासी एक हजार २०, भूमिहीन दलित दुई सय ९१ र अव्यवस्थित बसोबासी दुई हजार पाँच सय २१ जनाको फारम हालसम्म अनलाइनमा प्रबिष्ट गरिइएको छ । रासस

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

हेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका-३ पडावमा पुनःस्थापन भएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाएका छन् । निकुञ्जबाट विस्थापित भएर दश कट्ठा जग्गा पाएका उनीहरु पाँच दाजु/भाइले बाँड्दा दुई कट्ठामा समेटिए । गाउँमै खेती किसानी गरेर जीविका चलाउँदै आएका उहाँले व्यावसायिक तरकारीबाट भएको आम्दानीले अहिले ११ कट्ठा जग्गा जोड्न सफल भएको बताए । विगत आठ वर्षदेखि गाउँमा तरकारी खेती गरेका उनले अहिले वार्षिक रु नौ लाख बचत गर्ने जानकारी दिए । ‘मैले सुरु गरेको तरकारी खेतीबाट भएको आम्दानीले मेरो परिवारको आर्थिक अवस्थामा सुधार आउनाका साथै गाउँका अरू किसान पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन्’, उनले भने, ‘यहाँ उत्पादन भएको तरकारी धनगढी, महेन्द्रनगर, बेलौरी र आइबीआरडीलगायत बजारहरुमा खपत हुन्छ ।’ चौधरीजस्तै पछिल्ला केही वर्षयता कञ्चनपुरमा व्यावसायिक तरकारी खेतीमा थारू समुदायकको सक्रियता बढ्दै गएको छ । पुस्तौँदेखि खेती र पशुपालनबाट जीविका चलाउँदै आएका उनीहरु नगदे बालीका रुपमा तरकारी खेती थालेपछि आयआर्जन समेत बढेको बताउँछन् । ‘सुरुमा दुई/तीन कट्ठाबाट तरकारी खेती थालेको थिएँ,’ किसान धम्मलराज चौधरीले भने, ‘धान, गहुँ खेतीबाट तरकारीमा मुनाफा बढी हुने देखिएपछि व्यावसायिक रुपमा तरकारी खेतीमै लागेँ ।’ उनले तरकारीको मूल्यमा थपघट हुँदा किसान प्रभावित हुने गरेको बताए । उनले तरकारीबाट मासिक रु ७५ हजार आम्दानी हुने गरेको बताउँदै सो रकमबाट परिवारको जीविका चल्नाका साथै छोराछोरीको पढाइ खर्च भइरहको जानकारी दिए । ‘तरकारी खेतीका क्रममा कृषि सेवा केन्द्रबाट अनुदानमा बीउबिजनका साथै विभिन्न तालिम समेत लिएको छु,’ चौधरीले भने, ‘तरकारी खेतीमा सक्रिय किसानलाई नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले पनि सहयोग गरिरहेको छ ।’ उनले तरकारीबाट भएको आम्दानीबाट अहिले गाउँमा ६ कोठे पक्की घर निर्माण गरिरहेको बताए। ‘किसानको आवश्यकता बुझेर सरकारी निकायले अनुदान र सहयोग गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि किसानसम्मै पुग्ने संरचना दरिलो बनाउनु आवश्यक छ ।’ उनले पडाव गाउँमा अहिले ३० जनाभन्दा थारू समुदायका किसान व्यवसायी तरकारी खेती गरिरहेको बताए । त्यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ बालुवाफाँटाका सुनिल चौधरी पनि गाउँका सफल व्यावसायिक तरकारी खेती गर्ने किसानको सूचीमा पर्छन् । गाउँको इन्द्रेणी कृषक समूहको अध्यक्ष रहेका उनले गाउँमा दुई सय बिघा जमिनमा किसानले तरकारी खेती गरेको बताए। ‘गाउँलाई तरकारीको नमूना क्षेत्र बनाउने योजना छ,’ चौधरीले भने, ‘तरकारी खेतीमा लागेका प्रायः किसानको आम्दानी राम्रै छ ।’ डेढ दशकदेखि तरकारी खेती गरिरहेको चौधरीले अहिले एक बिघा खेतमा तरकारी खेती गरेका छन् । ‘द्वन्द्वकालका बेला मजदुरीका लागि भारतको राजधानी दिल्ली पुग्दा मलाइ समयको महत्व थाहा भयो,’ उनले भने, ‘अरूको देशमा दुःख गर्नुभन्दा आफ्नै माटोमा सङ्घर्ष गर्दा अहिले राम्रो फल मिलेको छ ।’ उनले तरकारी खेतीबाट वार्षिक रु चार लाख बचत हुने गरेको बताए । उनले भएको आम्दानीबाट छोरा माइकल चौधरी टीकापुरमा बिएससी एजी अध्ययन गरिरहेको बताए । ‘छोरालाई पनि कृषिमै लगाउने योजनासहित सम्बन्धित विषय अध्ययन गराउने योजना बन्यो,’ उनले भने, ‘बाँकी आम्दानीको रकमले गाउँमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहयोग गर्दै आएको छु ।’ कृषि ज्ञान केन्द्रबाट युवा लक्षित कार्यक्रमअन्तर्गत ६० हजार नगद, च्याङ्फालगायत कृषि औजारमा सहयोग पाएको चौधरीको भनाइ छ । व्यवसायी तरकारी खेतीमा लागेका अर्का सफल किसान हुन् बेल्डाँडी गाउँपालिका–३ बैवाहाका रामलाल चौधरी । १६ वर्षदेखि तरकारी खेती गरिरहेका उनले तरकारीबाटै भएको आम्दानीले गाउँमा सात कट्ठा जमिनका साथै धनगढीमा दश धुर घडेरी जोडेका छन् । ‘तरकारी खेतीको क्षेत्रफल बढाएर एक बिघा पुर्याएको तीन वर्ष जति भयो ।’ उनले भने, ‘अहिले उत्पादित तरकारी दैनिक ६/७ क्विन्टल बिक्रीका लागि महेन्द्रनगर बजार लैजाने गरेको छु ।’ उनले बार्षिक रु पाँच लाख मुनाफा हुने गरेको बताए। ‘तरकारी खेतीबाट सन्तुष्ट हुनाका साथै परिवारको खर्च आरामले चलेको छ,’ चौधरीले भने, ‘बेला बखतमा सरकारबाट पनि अनुदान एवं कृषि औजार पाइएकै छ । रासस