मेनपावर व्यवसायी नै ठगीमा परेपछि...

काठमाडौं । वैदेशिक रोजगारीका नाममा सर्वसाधारण नागरिक ठगिएका खबर निरन्तर सार्वजनिक भइरहँदा काठमाडौँमा भने अर्कै अनौठो र गम्भीर प्रकरण बाहिर आएको छ । अरूलाई विदेश पठाउने मेनपावर व्यवसायी स्वयं नै ठगीको ठूलो जालमा फसेका छन् । अमेरिकामा बसेर अन्तर्राष्ट्रिय ठगी धन्दा चलाउने गिरोहको पञ्जामा पर्दा एक नेपाली मेनपावर व्यवसायीले ७१ लाख ९४ हजार रुपैयाँ गुमाएका छन् ।  तनहुँको म्याग्दे गाउँपालिका-४ घर भई काठमाडौंमा मेनपावर व्यवसाय सञ्चालन गर्दै आएका राजेन्द्र थापा यसरी ठगिएका हुन् । विदेश जाने युवाहरूलाई सहजीकरण गर्दै आएका थापालाई अमेरिकाको ओहायो राज्यमा बस्ने सर्लाही हरिवनका गोपाल प्रसाद भट्टराईले आफ्नो विश्वासको जालमा पारेका हुन् । काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्र अनुसार भट्टराईसहित ७ जनाको गिरोहले सुनियोजित रूपमा थापाबाट ७१ लाख ९४ हजार रकम असुल गरी सम्पर्कविहीन भएका हुन् ।  घटनाको सुरुआत ३० जुन २०२४ बाट भएको थियो । ह्वाट्सएप मार्फत थापासँग सम्पर्कमा आएका गोपाल प्रसाद भट्टराईले आफू अमेरिकामा बसेर विश्वका विभिन्न मुलुकको भिसा प्रोसेसिङको काम गर्ने र नेपालमा आफ्नी श्रीमती सविता ओझामार्फत सम्पूर्ण काम हेर्ने भन्दै परिचय दिएका थिए ।  भट्टराईले क्रोएसिया र जापानका प्रतिष्ठित कम्पनीहरूमा आकर्षक तलबसहितको कामदारको कोटा उपलब्ध रहेको दाबी गरेका थिए । उनले क्रोएसियाका लागि प्रतिव्यक्ति १० लाख (मासिक तलब ७५० युरो) र जापानका लागि प्रतिव्यक्ति १२ लाख रुपैयाँ (मासिक तलब १ लाख ५० हजारदेखि २ लाख रुपैयाँ) खर्च लाग्ने प्रस्ताव राखे । थापाको मेनपावरमा आउने युवाहरूलाई ती देश पठाउनका लागि सहजीकरण गर्न आग्रह गर्दै काम नभएमा सम्पूर्ण रकम फिर्ता गर्ने ग्यारेन्टी समेत दिएका थिए ।   भट्टराईको आकर्षक प्रस्ताव र विश्वास दिलाउने शैलीबाट प्रभावित भएर थापाले ३५ जना क्रोएसिया र २ जना जापान जाने गरी ३७ जना कामदारका कागजात पठाए । क्रोएसिया जाने ३५ जना कामदारलाई भट्टराईकै निर्देशनमा भारतको दिल्ली पुर्‍याइयो । थापाले आफ्नै व्यक्तिगत खर्चमा उनीहरूलाई दुई सातासम्म दिल्लीको होटलमा राखी भिसा बायोमेट्रिक गराएर नेपाल फर्काए । दिल्लीमा बायोमेट्रिक गरेपछि ३ महिनाभित्र भिसा लागिसक्ने आश्वासन दिइएको थियो ।  यसै प्रक्रियाका क्रममा भट्टराईले दिएको क्यूआर कोड र बैंक खाताहरूमा थापाले रकम पठाउन थाले । थापाले मुख्य अभियुक्त भट्टराईकी श्रीमती सविता ओझा तथा उनका अन्य सहयोगीहरूका विभिन्न ६ वटा बैंक खातामा गरी ५१ लाख ९ हजार रुपैयाँ जम्मा गरिदिए भने दिल्ली भीएफएस, हवाई टिकट र होटल खर्चबापत थप  १० लाख ८५ हजार रुपैयाँ बेहोरेका थिए ।  दिल्लीमा भीएफएस गराएको ३ महिना बितिसक्दा पनि भिसा नआएपछि र कामदारहरूले ताकेता गर्न थालेपछि थापाले भट्टराईलाई ताकेता गरे । तर, सुरुमा विभिन्न बहाना बनाउँदै आएका भट्टराई पछि ह्वाट्सएप लगायतका सबै माध्यमबाट सम्पर्कविहीन बने । आफू ठूलो गिरोहको ठगीमा परेको निश्चित भएपछि थापाले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएका हुन् ।  काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा जिल्ला न्यायाधिवक्ता गोविन्द प्रसाद हुमागाईंले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसुरमा दफा २४९ (३) (ग) अनुसार अभियुक्तहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना गर्न माग गरेका छन् । त्यस्तै, दफा २५४ बमोजिम ठगिएको सम्पूर्ण बिगो रकम ७१ लाख ९४ हजार रुपैयाँ प्रतिवादीहरूबाट असुल गरी पीडित राजेन्द्र थापालाई भराउन र अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत मागदाबी गरिएको छ । मुद्दाका मुख्य अभियुक्त गोपाल प्रसाद भट्टराई हाल अमेरिकामा रहेको र अन्य ६ जना प्रतिवादीहरू पनि फरार रहेकाले अदालतबाट दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गरी कानुनी कारबाही अघि बढाइएको छ । 

कांग्रेस महाधिवेशनको वैधानिकता टुंग्याउन सर्वोच्चमा आज पुनरावलोकन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने सर्वोच्च अदालतको निर्णयविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि आज अध्ययन हुने भएको छ ।  जसका लागि सर्वोच्च अदालतमा तीन सदस्यीय पूर्ण इजलास गठन गरिएको छ ।  प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल रहेको इजलासले बिहीबार चेम्बरमै बसेर पुनरावलोकनको अनुमति (निस्सा) दिने वा नदिनेबारे निर्णय गर्ने भएका हुन् ।  यो चरणमा खुला इजलासमा सुनुवाइ हुने छैन ।  निवर्तमान सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै पुनरावलोकन निवेदन दर्ता गरेका थिए ।  यदि इजलासले निस्सा हुने आदेश दियो भने मुद्दाको सुनुवाइ तीन सदस्यीय पूर्ण इजलासबाट पुनः सुरुदेखि सुरु हुनेछ ।  निस्सा नहुने आदेश आएमा कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने सर्वोच्चको अघिल्लो फैसला नै कायम रहनेछ । पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्चले ५ वैशाखमा वैधता प्रदान गर्दै फैसला गरेको थियो । 

‘हेलो सरकार’ मा आएको अत्यावश्यक गुनासो २४ घण्टाभित्रै सम्बोधन गरिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’ लाई स्तरोन्नति गरिने भएको छ ।  सरकारले गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको हो । यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिए । ‘हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तरोन्नति गर्ने गरी प्रस्ताव गरिएको छ,’ सापकोटाले भने । गुनासोकर्ताले सोझै सम्वन्धित कार्यालयमा हेलो सरकार प्रणालीमा गुनासो दर्ता गरी आवश्यक कारबाहीको जानकारी लिन सक्नेछन् ।  यस्तै, सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणालीमार्फत सम्बन्धित निकायमा पठाउन सकिने जनाइएको छ ।  प्रगति अनुगमन गर्ने तथा सेवाग्राहीलाई जानकारी दिने प्रक्रिया एउटै प्लेटफर्मबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको सापकोटाको भनाइ छ । उनका अनुसार सरकारी कल सेन्टरलाई अन्तरआबद्ध गर्ने अवधारणा पनि अघि सारिएको छ । जसअनुसार निःशुल्क टेलिफोन नम्बर ११११ मा आएको गुनासोको विषयअनुसार सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था गरिनेछ ।  ‘सम्बन्धित निकायबाट सेवा उपलब्ध नभएमा गुनासोका लागि गरिएको कल पुनः हेलो सरकारमा फर्कने व्यवस्था प्रस्ताव गरिएको छ । यसबाट नागरिकले एउटै विषयमा पटक–पटक विभिन्न कार्यालय गुनासो र सुझावका लागि धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ,’ उनले भने । योजनामा सेवाग्राहीले यसअघि गरेका गुनासोको विवरण, त्यसको अवस्थालगायत अभिलेख पनि प्रणालीमा देखिने व्यवस्था प्रस्ताव गरिएको छ ।  एउटै व्यक्तिले एउटै विषयमा पटक–पटक गुनासो दर्ता गरेमा त्यसलाई एउटै गुनासोका रूपमा व्यवस्थापन गर्ने व्यवस्था पनि गरिने भएको छ ।  सापकोटाका अनुसार अनुसार हालै ‘नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन दिग्दर्शन’ तयार पारिएको छ । उक्त दिग्दर्शनले सङ्घ, प्रदेश, स्थानीय तहसम्म गुनासो व्यवस्थापन प्रणालीलाई एकीकृत गर्ने व्यवस्था प्रस्ताव गरेको छ ।  साथै गुनासो सुनुवाइका लागि समयसीमा निर्धारण गर्दै अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।  त्यति मात्रै होइन, गुनासो समाधान भइसकेपछि गुनासोकर्तालाई प्रणालीमार्फत समाधान भएको विषयको जानकारी गुनासोकर्ता कहाँ पुग्ने र समस्या समाधान भएको हो वा होइन भन्ने विषयमा गुनासोकर्ताबाट पृष्ठपोषण लिएर मात्रै गुनासो फर्छ्याैट हुने व्यवस्था गरिएको मन्त्रिपरिषद कार्यालयले जनाएको छ । एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन् ।  कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा आव २०८२/८३ मा बढेर ६९ हजार ७२४ पुगेका छन् । अर्थात् गत आवमा मात्रै ५३ हजार १५६ गुनासा थपिएका छन् ।  उपसचिव सापकोटाका अनुसार वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढेको उल्लेख गर्दै यो सरकारप्रतिको विश्वास र भरोसा भएको उल्लेख गर्नुभयो । सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा बढेको उनको भनाइ छ । पछिल्ला पाँच आर्थिक वर्षको तथ्याङ्क हेर्दा हेलो सरकारमा एक लाख २४ हजार ५८१ गुनासा दर्ता भएका छन् । तीमध्ये २०८२/८३ मा मात्रै ६९ हजार ७२४ गुनासा प्राप्त भएका छन् । जुन पाँच वर्षको कुल गुनासाको करिब ५६ प्रतिशतले बढी हो ।  आव २०७८/७९ देखि २०८१/८२ सम्म चार वटा आर्थिक वर्षमा कुल ५४ हजार ८५७ गुनासा प्राप्त भएका थिए भने गत आवमा मात्रै ६९ हजार ७२४ वटा गुनासा प्राप्त भएका छन् ।   तीन महिनामा ५० हजारभन्दा बढी गुनासा हेलो सरकारमा पछिल्ला करिब तीन महिनामा ५० हजारभन्दा बढी गुनासा दर्ता भएका छन् । कार्यालयका अनुसार उक्त अवधिमा कुल ५० हजार ७२१ गुनासा प्राप्त भएकामा ३९ हजार १७७ गुनासाको समाधान गरिएको छ ।  हेलो सरकारका उपसचिव सापकोटाका अनुसार तीन महिनामा प्राप्त गुनासामध्ये १८ हजार ५४२ गुनासा फछ्र्यौट गरिएको छ भने ५४७ गुनासा नहेरिएको अवस्थामा छन् ।  त्यस्तै, एक हजार ६४२ गुनासा हेरिएका, एक हजार ३२७ प्रक्रियामा रहेका, छ हजार ५६ पूर्ण तोकिएका/नहेरिएका तथा दुई हजार ४४६ गुनासा अपूर्ण, असम्बन्धित वा नतोकिएका रहेका छन् । यस्तै, हेलो सरकारको टोल–फ्री सेवामार्फत ५० हजार १९६ वटा फोन कल प्राप्त भएकामा ४० हजार १६ वटा कलको सम्बोधन गरिएको जनाइएको छ ।  कार्यालयका अनुसार चालु आर्थिक वर्षमा साउनको १ देखि १८ गतेसम्म मात्रै नौ हजार ६१० वटा गुनासा प्राप्त भएका छन् । जसमध्ये छ हजार ६०१ वटा गुनासा फछर्यौट भएका छन् । हेलो सरकारले सार्वजनिक गरेको विवरणमा सामाजिक सञ्जाल, भाइबर, ह्वाट्सएप, इमेललगायत माध्यमबाट प्राप्त गुनासाको सङ्ख््या भने यसमा समावेश नगरिएको उल्लेख गरेको छ ।