राष्ट्र बैंकका पदाधिकारीलाई कारबाही गर्नुपर्छः पुर्व मन्त्री तामाङ

काठमाडौं । पूर्व मन्त्री शेर बहादुर तामाङले गलत तथ्यांक दिने राष्ट्र बैंकका पदाधिकारीहरुलाई कारवाही गर्न माग गरेका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा पूर्व कानुन मन्त्री तामाङले गलत आर्थिक परिसूचक सार्वजनिक गर्ने राष्ट्र बैंकका पदाधिकारीहरुलाई कारवाही हुनुपर्ने बताएका हुन । केही पत्रपत्रिकाहरुले राष्ट्र बैंकको हवला दिँदै अन्य तथ्यांक पेश गरेकोप्रति टिप्पणी गर्दै भने,‘सरकारलाई एउटा तथ्यांक दिने, अनि पत्रिकालाई अर्को तथ्यांक दिने काम राष्ट्र बैंकका पदाधिकारीहरु गर्नु हुँदैन । गलत तथ्यांक दिनेहरुलाई कारबाही गर्नुपर्छ ।’ प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेको ग्राफ हेर्दा आफूले सरकारलाई सफल भएको मान्ने पनि तामाङको भनाई थियो । उनले भने,‘म त यो ग्राफ हेर्दा सरकार सफल भएको देख्छु ।’ उनले सरकारले गर्नुपर्ने कामहरु गरेरै अघि बढेको पनि दाबी गरे ।

सौर्य ऊर्जामा ५७ आयोजनाले लिए सर्वेक्षणको अनुमति, क्षमता ४६८ मेगावाट

काठमाडौँ । पछिल्लो दिनमा सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म विभिन्न ५७ वटा आयोजनाका लागि सर्वेक्षणको अनुमति जारी गरेको छ । ती आयोजनाको क्षमता ४६८ मेगावाट रहेको छ । सरकारले ऊर्जा मिश्रणको अवधारणा अगाडि सारेपछि सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा समेत वृद्धि भएको हो । विगतमा साना र घरेलु उपयोगका लागि मात्रै प्रयोग हुँदै आएको सौर्य ऊर्जा पछिल्लो समयमा व्यावसायिक रुपमा समेत अगाडि बढाउन थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य परियोजनाको काम शुरु गरिसकेको छ । सो आयोजनाको हाल निर्माण कार्य जारी छ । प्राधिकरणले निजी क्षेत्रबाट उत्पादन हुने कूल ६१ मेगावाट क्षमताका सौर्य पयिरयोजनासँग विद्युत् खरीद सम्झौतासमेत गरेको छ । अमेरिकाको एक कम्पनीले ६०० मेगावाट क्षमताको सौर्य परियोजना सञ्चालनका लागि इच्छा व्यक्त गरेको छ । अमेरिकी कम्पनी स्काइ पावरले सौर्य ऊर्जाका लगानी गर्न चाहेको भन्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन समक्ष प्रस्ताव नै पेश गरेको छ । विभागले चौधरी समूहलाई समेत १२० मेगावाट क्षमताको सौर्य परियोजना सञ्चालनका लागि सर्वेक्षणको अनुमति दिएको छ । महोत्तरीको ढल्केबरमा सौर्य परियोजना निर्माणका लागि सर्वेक्षणको अनुमति दिएको छ । यस्तै सोही समूहलाई विभागले बाजुरामा ५० मेगावाट र पर्साको परवानीपुरमा ३० मेगावाट क्षमताको सौर्य परियोजना निर्माणका लागि सर्वेक्षणको अनुमति पाएको छ । ग्रीड कनेक्टेड सोलार परियोजना सञ्चालन गर्ने गरी १० मेगावाट क्षमताको सौर्य परियोजना सञ्चालन गर्न लागेको छ । देशका विभिन्न नौ स्थानमा सौर्य परियोजना सञ्चालनका लागि अपि पावर कम्पनीले सर्वेक्षणको अनुमति प्राप्त गरेको छ । झापामा झापा इनर्जीले १० मेगावाट क्षमताको सौर्य परियोजना सञ्चालन गर्न लागेको भन्दै विभागबाट सर्वेक्षणको अनुमति प्राप्त गरेको छ । विश्वव्यापी रुपमा वैकल्पिक स्वच्छ ऊर्जा प्रयोग गर्ने र त्यसलाई अगाडि बढाउने योजना अगाडि सारेका छन् । भारतमा मात्रै सन् २०१९ भित्रैमा १४ गिगावाट सौर्य ऊर्जा उत्पादन भएको छ । यसै वर्षको अन्त्यसम्म सो क्षमता बढेर ३८ गिगावाट पुग्नेछ । यस्तै चीनमा १३० गिगावाट सौर्य ऊर्जा उत्पादन भइसकेको छ । सन् २०२० सम्म २०० गिगावाट पुग्नेछ । अमेरिकामा ६० गिगावाट, जापानमा ४६ गिगावाट बराबरको सौर्य ऊर्जा उत्पादन गरेका छन् । सरकारले गत वैशाखमा सार्वजनिक गरेको श्वेतपत्रमा समेत सौर्य तथा वायु ऊर्जालाई समेत ऊर्जाको स्रोतको रुपमा प्रयोग गर्दै ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् जस्तै सौर्य, वायु ऊर्जालाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले पछिल्लो समय नवीकरणीय र स्वच्छ ऊर्जाको क्षेत्रमा संसारभर नै अभियान चलेकाले त्यसलाई नेपालले पनि अवलम्बन गरेको जानकारी दिए । सौर्यसँगै पछिल्लो समयमा वायु ऊर्जाको क्षेत्रमा समेत लगानीकर्ता आकर्षित भएको पाइएको छ । विभागले मात्रै हालसम्म विभिन्न चार परियोजनालाई छ मेगावाट क्षमताको वायु ऊर्जा उत्पादनका लागि सर्वेक्षणको अनुमति दिएको छ । यस्तै रिलायन्स सुगर मिलले पनि ऊखुको खोस्टाबाट १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने अनुमतिपत्र विभागबाट लिएको छ । ऊर्जा मिश्रणको अवधारणालाई प्रभावकारी रुपमा अगाडि बढाउने सरकारको योजनालाई साथ दिँदै निजी क्षेत्रले समेत लगानीका थप आयामको खोजी गरेको पाइएको छ । रासस

निर्यात प्रवद्र्धनमा सरकारको ध्यान, आयात प्रतिस्थापन गरिन्छः अर्थमन्त्री

काठमाडौँ । मुलुकको समृद्धिका लागि सरकारले उत्पादित वस्तुको आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनका कार्यक्रम अघि सारेको छ । सरकारी लक्ष्य ‘समृद्ध नेपाल र सुखी नेपाली’लाई सार्थक विन्दुमा पु¥याउन आर्थिक विकासका लागि सरकारले विभिन्न योजना तथा नीतिनियमहरू निर्माण गरी कार्यक्रम अघि बढाइएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । नेपाल तयारी पोशाक उद्योग सङ्घको राजधानीमा आयोजित २६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा खतिवडाले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्योगमध्ये तयारी पोशाकसम्बन्धीको उद्योग महत्वपूर्ण हो भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने सरकारको स्पष्ट नीति रहेको उल्लेख गरे । उत्पादनमा लाग्ने लागतमा साझेदारी गर्न सरकार तयार रहेको बताउँदै अर्थमन्त्री डा खतिवडाले भने, “हामी छुट दिने कुराहरू गरिरहेकै छौँ, विद्युत् महशुलमा ५० प्रतिशत र आयकरमा छुट दिन तयार छौँ, अरू धेरै कुरामा छुट दिन्छौँ नै, नेपाली हातले बुनेका र कटनका कपडा ब्राण्डिङ गर्नुहोस्, त्यस्तो गार्मेन्ट र कपडाको विकास तथा उत्थानका लागि प्याकेजमा डिल गर्न सरकार तयार छ, म यहाँहरूलाई आह्वान गर्छु ।” जति पनि रुग्ण कपडा तथा धागो कारखनाहरू छन्, त्यसलाई सञ्चालन गर्नका लागि वा व्यवस्थापनका लागि सरकारले आह्वान गर्न लागेकाले इच्छा प्रकट गर्नसमेत अर्थमन्त्री खतिवडाले उद्योगीलाई आग्रह गरे । नेपालमा उत्पादन भएको कपडालाई खपतकर्ताहरू सुरक्षा निकाय, सार्वजनिक विद्यालय या अस्पताललाई अनिवार्य खरीद गर्ने व्यवस्थालाई अझै प्रभावकारी गराउन सार्वजनिक खरीद ऐन संशोधनको प्रक्रिया अघि बढिसकेको समेत उनले जानकारी दिनुभयो । निर्यात अनुदानलाई मूल्य अभिवृद्धिको हिसाबले राख्न लागेको भन्दै अर्थमन्त्री खतिवडाले जति बढी श्रम प्रयोग हुन्छ, त्यति बढी कर छुट हुने जानकारी गराए । “काम गराउने श्रमिक कति स्वदेशीका प्रयोग गरेका छौँ, कति विज्ञ जनशक्ति छ भन्ने कुरामा ख्याल गर्नुपर्छ, उद्योगको मात्रै कुरा गरेर हुन्न, जनशक्ति विकासमा पनि सरकाले के गर्नुप¥यो तपाईंहरूले के गर्न सक्नुहुन्छ त्यो बाटो पनि बताइदिनुप¥यो,” डा खतिवडालाई उद्योगीसँग भने । निर्यातका विषयमा भनाइ राख्दै अर्थमन्त्री डा खतिवडाले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै कारणले समस्या आएको उल्लेख गर्दै विसं २०७३ मा बनेको औद्योगिक व्यवसाय ऐन परिमार्जन प्रस्ताव अर्काे हप्ता मन्त्रिपरिषद्मा जाने जानकारी दिए । उनले एक हप्ताभित्रै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन तथा सार्वजनिक निजी साझेदारीसहितको लगानी सम्बन्धीको ऐनलाई संसद्मा लाने तयारी गरिएको र कम्पनी ऐनलाई पनि सरलीकरण र व्यवस्थित गर्ने गरी संशोधनको प्रक्रिया अघि बढाएको बताए । एकद्वार प्रणालीका विषयमा सरकार पनि गीम्भर भएको बताउँदै उहाँले नयाँ उद्योग दर्ता, सञ्चालन स्वीकृति, विदेशी विनिमय लगायतका कुरा अब एकद्वार प्रणालीबाट शुरु हुने गरी मन्त्रिपरिषद्ले कार्यविधि पास गरिसकेको र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा धैरै पूर्वाधार बनिसकेको जानकारी दिए । अर्थमन्त्रीले भने, “अब यो छिट्टै कार्यान्वयनमा जान्छ, एक दर्जन जति संस्थाहरूमा धाउनुपर्ने अवस्थाको अन्त्य हुँदैछ, ठूला लगानीकर्ताले अब एकै ठाउँबाट हरेक काम गर्ने गरी सिङ्गल विण्डोमा बसेर सेवा पाउने गरी कानूनी व्यवस्था बन्न लागेको छ, यसपछि औद्योगिक वातावरण सिर्जना हुन्छ ।” नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले विगतमा गार्मेन्टको उत्पादन मात्रै ४० अर्बको हाराहारीमा निर्यात भएको अनुभव सुनाउँदै अहिले घट्नु दुःखद हो भने । निर्यात र आयातमा बराबरी नहुने हो भने मुलुकको अर्थतन्त्र चलायमान नहुने भन्दै ढकालले सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । नेपाल तयारी पोशाक उद्योग सङ्घका अध्यक्ष चण्डीप्रसाद अर्यालले उद्योगको विकासमा सरकारले धेरै काम गर्न बाँकी रहेको औँल्याए । अहिले नेपालमा दुई हाजार २०० भन्दा बढी गार्मेन्टका यन्त्र उपकरणहरू बन्द अवस्थामा रहेकाले सरकारले यसलाई मात्रै सञ्चालनका लागि वातावरण तयार पार्ने हो भने ठूलो मात्रामा निर्यात गर्न सकिने बताए । नेपाल चेम्बर अर्फ कमर्शका कार्यवाहक अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक विकासका लागि नीतिगत स्थिरता आवश्यक रहेको औँल्याउँदै कमजोर पूर्वाधार, उच्च लागत र ब्याजदर लगायत कारणले नेपाली उत्पादन प्रतिस्पर्धी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गार्मेन्ट उद्योगलाई मात्रै प्रभावकारी बनाउन सके सोधनान्तर घाटा कम गर्न सकिने उल्लेख गर्दै यही क्षेत्रलाई हेर्ने गरी विभाग खडा गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले उद्योगको विकासका लागि स्वदेशी ब्राण्डको व्यवस्थापनसँगै बजार, प्याकेजिङ र डिजाइनलाई व्यवस्थित र भरपर्दाे बनाउनुपर्नेमा जोड दिए । व्यावसायिक संस्था सम्मानित कार्यक्रमा सबैभन्दा बढी तयारी पोशाकको कारोवार गर्ने तीन व्यावसायिक संस्थालाई अर्थमन्त्री डा खतिवडाले सम्मान गरेका थिए । सन् २०१७ मा ४६ करोड ७६ लाख तयारी पोशाकको कारोवार गरी प्रथम हुन सफल काठमाडौँ स्टार फेशन प्रालि, २३ करोड ९० लाखको कारोवार गर्दै द्वितीय हुन सफल नेपाल फेशन प्रालि र २० करोड २६ लाखको कारोवार गर्री तृतीय हुन सफल पल्स सोलुशन प्रालिलाई कदरपत्रसहित सम्मान गरिएको थियो । रासस