भूकम्प प्रभावित जिल्लाहरुमा चैत १५ बाट छुट सर्वेक्षण शुरू, ५५० इञ्जिनियरहरु परिचालन गरिने

काठमाडौं ।  लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । यही चैत १५ देखि सम्पूर्ण भूकम्प प्रभावित जिल्लामा प्राधिकरणबाट हरेक स्थानीय तहमा परिचालित तोकिएका इञ्जिनियरमार्फत् स्थलगत लगत संकलन गरिन लागिएको हो । निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराई गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नु पर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा सर्वेक्षण हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरले जानकारी दिए । घिमिरेका अनुसार छुट तथा पुनःजाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ताहरु र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोहरुको पनि सर्वेक्षण गर्न लागिएको हो । प्राधिकरणका सहप्रवक्ता एवं यस सर्वेक्षणको समन्वय गरिरहेका प्राधिकरणका उपसचिव मनोहर घिमिरले यही चैत्र १५ बाट सर्वेक्षण सुरु हुने र यसमा करिब ५ सय ५० इञ्जिनियरहरु परिचालन गरिने जानकारी दिए । ‘कुनै वास्तविक पीडित नछुटुन् भनेर स्थानीय जनप्रतिनिधिहरुको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाइएको छ ।’ प्राधिकरणले स्थानीय तहमा परिचालित तोकिएका इञ्जिनियरमार्फत् तोकिएको समयमा आआफ्नो लगत संकलन गराउन सबै गुनासोकर्ताहरुलाई अनुरोध गरेको छ । त्यसैगरी, सम्पूर्ण स्थानीय तहका पदाधिकारीहरुलाई वास्तविक पीडितहरुको यथार्थपरक लगत संकलन कार्यमा सहयोग गरिदिन पनि प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले यस सर्वेक्षण सम्बन्धमा थप जानकारी चाहिएमा सम्बन्धित जिल्लाका जिल्ला आयोजना कार्यान्वयन इकाईमामा सम्पर्क गर्न वा पैसा नलाग्ने टेलिफोन नम्बरहरु १६६०–०१–७२००० र ९८०१५–७२१११ मा फोन गर्न सम्बन्धितलाई अनुरोध गरेको छ । छुट तथा पुनः जाँच सर्वेक्षणका लागि भूकम्पप्रभावित ३२ वटै जिल्लाका फोकल इञ्जिनियर तथा डिस्ट्रिक्ट सर्पोट इञ्जिनियरहरुका लागि ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणबाट प्रशिक्षित इञ्जिनियरहरुले आ–आफ्नो जिल्लामा गएर सर्वेक्षणमा खटिने इञ्जिनियरलाई तालिम दिनेछन् । २०७६ बैशाख मसान्तसम्ममा सर्वेक्षण सक्ने कार्यक्रम रहेको छ ।

पाइलट अभावमा थन्किएको वाइ-१२ विमानको पुनः उडान शुरु

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ-१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक (पाइलट) अभावले डेढ महिनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ-दाङ दोहोरो उडान भरेको हो । बिरामी बिदामा बस्नुभएका पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्किएपछि उक्त विमानले उडान भर्न शुरु गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमले वाइ-१२ विमानकै अर्का पाइलट उद्धव घिमिरेलाई ए-३२० को प्रशिक्षणमा पठाएको विरोधमा दुई पाइलट गत माघ २९ गते (जनवरी ३१) बाट बिरामी बिदामा बसेका कारण निगमका तीन विमान ग्राउण्डेड भएको बताइन्छ । आन्तरिक विवादका कारण लामो समयदेखि बिरामी बिदामा बस्नुभएका दुई पाइलट भट्टराई र सञ्जय बादे फागुन १३ र १६ गते नै काममा फर्किएका छन् । उनीहरु २० दिनभन्दा बढी बिदामा बसेका कारण विमान उडाउनुभन्दा पहिले स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले उडान भर्न पाएका थिएनन् । यसअघि ‘पाइलट प्रोफिसियन्सी चेक (पीपीसी)’ को म्याद सकिएकाले नविकरणका लागि पाइलट आङनुरी शेर्पाको पीपीसी चीन जानुहुने भएको छ । प्रशिक्षक पाइलटसमेत रहनुभएका शेर्पाको पीपीसी नवीकरण नहुँदा नयाँ थप गरिएका दुई पाइलट पनि कामविहीन भएका छन् । निगमका सहायक प्रवक्ता कोइरालाका अनुसार शेर्पा एक सातापछि पीपीसी नवीकरणका लागि चीन जाँदै छन् । उनी फर्किएपछि नयाँलाई तालीम दिने योजना बनाइएको थियो । डेढमहिनाको अवधिमा पाँच क्याप्टेन तयार भई वाई-१२ सबै विमानसञ्चालनमा ल्याइने योजना छ । निगमसँग वाइ-१२ चिनियाँ कम्पनीका चार विमान रहेकामा एक प्राविधिक परीक्षणमा छ भने बाँकी तीन विमानमा पाइलटको वैकल्पिक व्यवस्था गरेर भए पनि उडान भर्ने बताइएको छ । रासस

द्रुतमार्ग र हुलाकी सडक सम्बन्धी प्रतिवेदन प्रस्तुत, ‘कार्यप्रगति सन्तोषजनक’

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा दुई वटा स्थलगत अध्ययन तथा अवलोकन भ्रमणका प्रतिवेदन पेश भएका छन् ।ती प्रतिवेदनमा काठमाडौँ तराई/मधेश द्रुतमार्ग तथा हुलाकी सडक (प्रदेश नं २)का रहेका छन् । समितिका आजको बैठकमा समितिका सभापति कल्याणीकुमारी खड्काले ती प्रतिवेदनका मुख्य सुझावका अंश प्रस्तुत गरिन् । समितिका सभापति खड्काको संयोजकत्वमा समितिका सदस्यले विसं २०७५ पुस ६ र माघ १६ गते दुई चरणमा नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ तराई÷मधेश द्रुतमार्ग आयोजनाको स्थलगत अध्ययन गरेका थिए । यसैगरी समितिका सभापति खड्काको संयोजत्वमा समितिका सदस्यले विसं २०७५ माघ १८ देखि २३ गतेसम्म तराई÷मधेशका विशेषगरी आठ जिल्लामा पर्ने हुलाकी सडकका अवस्थाका बारेमा स्थलगत अध्ययन गरेका थिए । आर्थिक समृद्धिको मेरुदण्डका रुपमा हेरिएको राष्ट्रिय गौरवको काठमाडौँ तराई÷मधेश द्रुतमार्ग आयोजनाको काम अगाडि बढाउने क्रममा नेपाली सेनाले विगत १८ महिनामा गरेका कामप्रति समितिले सन्तोष मानेको छ । समितिका सभापति खड्काले प्रतिवेदनको निष्कर्ष बैठकमा प्रस्तुत गर्दै भनिन्, “दुई चरणमा स्थलगत अवलोकनका क्रममा द्रुतमार्ग निर्माणका सम्बन्धमा हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको देखियो ।” द्रुतमार्गमा आवश्यक पर्ने पुल र सुरुङ निर्माणको काम शुरु नै नभएको अवस्था छ । अगामी दिनमा गर्नुपर्ने काम अझ जटिल भूगोल र जटिल प्रकृतिको भएकाले लक्ष्यअनुसारको सेनाले निर्माण कार्यलाई थप तीव्रता दिनु आवश्यक छ । “निर्माणको जिम्मेवारी पाएको १८ महिनाको छोटो अवधिमा आयोजना प्रमुख तथा निर्माणमा संलग्न जनशक्तिको भूमिका महत्वपूर्ण ठह¥याउँदै प्रतिवेदनले कूल ७६ दशमलव २ किलोमिटरमध्ये ५४ किमी खण्डमा कटिङ÷फिलिङको काम ७० प्रतिशत सम्पन्न भएको छ । यही गतिमा सेना काम गर्ने हो भने निर्धारित समयभित्रै अपेक्षित सफलता हासिल गर्न सकिन्छ”, उनले भनिन् । समितिले आफ्नो प्रतिवेदनमा भनेको छ । अध्ययन प्रतिवेदनले द्रुतमार्गमा कुनै पनि किसिमको अवरोध सिर्जना हुन नदिई निर्धारित समयभित्रै सम्पन्न हुनुपर्छ भन्ने निष्कर्ष निकालेको छ । मन्त्रिपरिषद्को विसं २०७४ वैशाख २१ गतेको बैठकले सेनालाई सो द्रुतमार्ग निर्माणको जिम्मेवारी दिने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विसं २०७४ साउन २७ गते औपचारिक रुपमा सेनालाई आयोजना निर्माणको जिम्मेवारी हस्तान्तरण गरेको थियो । सेनाले आयोजनको विस्तृत कार्ययोजना प्रतिवेदन (डिपिआर) समेत प्राप्त गरिसकेको छ । प्रतिवेदनले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई प्रभावकारी कार्यान्वयन गर्न, प्रस्तावित सुरुङमार्ग, पुलका काम शुरु गर्न, आयोजनाले कटान गरेका रूख सामुदायिक वन तथा जिल्ला वन कार्यालयलाई हस्तान्तरण गर्न, निर्धारित मितिमा आयोजना सम्पन्न गर्न कार्यतालिका बनाउन, आयोजना निर्माणका क्रममा गरिने ठेक्का प्रक्रियालाई पारदर्शी बनाउन सुझाव दिएको छ । यसैगरी हुलाकी सडक निर्माण कार्य अति सुस्त रहेको जनाउँदै प्रतिवेदनले सडकभित्र बन्ने पुल ठेक्का लागेर पनि निर्माण कार्य शुरु नभएको पाइएको जनाइएको छ । साथै हुलाकी सडकभन्दा पहुँचका आधारमा सडक अन्तर्गतका सहायक सडक निर्माण कार्य अगाडि बढिरहेको पाइएको प्रतिवेदनले औँल्याएको छ । काठमाडौँ तराई÷मधेश द्रुतमार्ग आयोजनाको स्थलगत भ्रमणसमेत गर्नुभएका समितिका सदस्य एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छोटो अवधिमा सेनाले द्रुतमार्ग निर्माणमा महत्वपूर्ण सफलता हासिल गरेको बताए । उनले भने, “राष्ट्रिय प्रतिष्ठासित गाँसिएको द्रुतमार्ग निर्माण कार्य सयमै सम्पन्न गर्न सबैको सहकार्य र सहयोग हुनुपर्छ ।” समितिको बैठकमा समितिका सदस्य लीला श्रेष्ठ, रामबहादुर विष्ट र गणेश पहाडीले द्रुत मार्गका सुरुङ मार्ग, पुल लगायतका बाँकी काम शुरु गर्न आग्रह गरे ।