तराईको लुक्ला भनेर चिनिने भरतपुर विमानस्थल विस्तार गर्ने तयारी
चितवन । भरतपुर विमानस्थल विस्तार गर्ने प्रक्रिया शुरु भएको छ । तराईको लुक्ला भनेर चिनिने जोखिमपूर्ण मानिएको यस विमानस्थलको विस्तारका लागि सरोकार पक्ष सक्रिय रुपमा लागि परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण, भरतपुर महानगरपालिकासँगै चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सबैको ध्यान विमानस्थल विस्तारमा केन्द्रित भएको छ । जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र संरचना बनेपछि अवतरण र उडानमा अवरोध हुँदै आएको छ । भरतपुर विमानस्थल प्रमुख पवनकुमार गौतमका अनुसार हाल धावनमार्ग एक हजार दुई सय मिटर लामो भए पनि संरचनाको अवरोधले ९०० मिटर मात्र प्रयोग भएको छ । जसका कारण जहाजले सहज उडान र अवतरण गर्न कठिन भएको छ, भने जहाजभरी यात्रु बोक्न सकेका छैनन् । यसले पाटपूर्जामा समेत असर पारेको छ । विमानस्थल जोखिममा रहेकाले विस्तार गर्न नसकेमा बन्द गर्नुपर्ने अवस्था आएपछि सरोकार पक्ष विस्तारका लागि सकारात्मक रुपमा अघि बढेको उनले बताए । गौतमका अनुसार मन्त्री अधिकारीसहित स्थानीय तहका प्रमुख विमानस्थल विस्तारका लागि सकारात्मक भएर लागि परेका छन् । दुई साताअघि यहाँ आएनु भएका मन्त्री अधिकारी चढेकै जहाज सहज अवतरण हुन कठिन भएको थियो । त्यसपछि मन्त्री अधिकारीले तत्कालै महानगर प्रमुख र स्थानीय सुरक्षा निकायका प्रमुखसँग छलफल गरी यसको विस्तार प्रक्रिया अघि बढाउन आवश्यक निर्देशन दिनुभएको गौतमले बताए । गौतमको नेतृत्वमा समिति गठन गरी जहाज अवतरण र उडानमा समस्या परेका संरचना अध्ययनका लागि काम गर्न निर्देशन दिइएको छ । समितिले छिट्टै काम सम्पन्न गरी तत्कालको समस्या हल गर्ने गौतमले बताए । केही घरका छतमा रहेको ट्रस्ट हटाएर विद्युतीय तार भूमिगत गर्न सकेमा हालको समस्या समाधान हुने उनले बताए । दीर्घकालीन विस्तारका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी गरिएको छ । सो ठाउँ विस्तार गर्दा ८ सय देखि एक हजार मिटर धावनमार्ग थप गर्न सकिने छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कार्यपालिकाको बैठकले विमानस्थल विस्तारका लागि पहल गर्ने निर्णय गरेको बताए । भरतपुरबाट करीब १५० किलोमिटरको दुरीमा चारै तर्फ अन्तर्राष्ट्रिय विमानस्थल रहेकाले भरतपुरको विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउने पहल शुरु भएको दाहालले बताए । नजिकै रहेको सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि विभागीयमन्त्री समेत लागिरहनु भएकाले यो विमानस्थललाई चाँडै विस्तार गर्न सकिने प्रमुख दाहालले बताए । जिल्लामा क्रिकेट रङ्गशाला, सिटी हलजस्ता ठूला पूर्वाधार बन्ने तयारीमा रहेको र पर्यटकीय केन्द्र भएकाले ७२ सिट क्षमता भएको जहाज अवतरण गर्नसक्ने गरी विमानस्थल विस्तार गर्नुपर्ने दाहालको भनाइ छ । उनका अनुसार पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड समेत विमानस्थल विस्तार गर्न लागि परेका छन् । प्रचण्डको निर्वाचन क्षेत्र र गृहजिल्ला चितवन नै भएकाले यस विमानस्थललाई विस्तार र सुरक्षित गर्नुपर्नेमा उनको पनि जोड छ । नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोख्रेलको नेतृत्वमा आएको एक टोलीले विमानस्थलको अध्ययन गरी फर्किएको छ । पोख्रेलका अनुसार अहिले विमानस्थल जोखिमपूर्ण ढङ्गले सञ्चालनमा आएको छ । विस्तार गर्न नसकिए बन्द गर्नुपर्ने अवस्था रहेकाले सरोकारवाला सबैको ध्यान विमानस्थलतर्फ केन्द्रीत भएको बताउँदै उनले यसलाई स्तरीय विमानस्थल बनाउन सकिन्छ भने । प्राधिकरणले देशका अन्य विमानस्थलको स्तरोन्नती गरिरहेको भन्दै उहाँले विस्तार गर्ने ठाउँ पाएमा रात्रिकालीन उडान भर्नसक्ने गरी स्तरीय विमानस्थल बनाउन सकिने बताए । उच्च पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकास र समृद्धिका लागि पनि ठूला जहाज अवतरण गर्नसक्ने गरी विमानस्थल विस्तार गर्नुपर्नेमा उनले जोड दिए । विस्तार गर्ने ठाउँ उपलब्ध भएमा गुरुयोजना निर्माण गरी प्राधिकरणले काम गर्ने पनि उनले बताए । विसं २०१५ मा निर्माण थालेर तत्कालीन हवाई विभागले विसं २०१८ मङ्सिर १२ गतेबाट भरतपुर विमानस्थल सञ्चालनमा ल्याएको थियो । नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका समयमा निकै चाप बेहोरेको यस विमानस्थलबाट हाल नौवटा उडान काठमाडौँ र एउटा उडान पोखरा गरिँदै आएको छ । विमानस्थलले दैनिक ७५० देखि आठ सय जनालाई सेवा दिँदै आएको छ ।
प्रचण्ड भन्छन्-‘केही दिनभित्र पार्टी एकताको बाँकी काम पूरा हुन्छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताएका छन् । आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उनले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताए । उनले शहीदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी एकतामा थप ऊर्जा प्राप्त गर्ने अवसर रहेको बताए । “कार्यकर्तामा पार्टी एकता जनसङ्गठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता बेलाबेलामा प्रकट हुने गर्दथ्यो”, उनले भने, “अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसङ्गठनको एकतालाई टुङ्ग्याएर एउटा राष्ट्रव्यापी अभियानमा अगाडि बढ्ने छौँ ।” उनले पार्टी एकता सफल पार्न एक/दुई जना नेताले मात्र नभएर सबै नेता, कार्यकर्ता लाग्नुपर्नेसमेत धारणा राखे । जेठ ३ र फागुन १ गतेलाई वैचारिक राजनीतिक एकतालाई सुदृढ गर्ने र हामीभित्र सङ्गाठनिक भावनात्मक एकतालाई मजदुत बनाउने अवसरको रुपमा लिनुपर्ने उनको भनाइ रहेको बताए । उनले सबै राजनीतिक दलको सहमति र सहकार्यबाट मुलुकलाई छिटोभन्दा छिटो विकासका राम्रा काम गरेर जनताको सपना पूरा गर्नुपर्ने बताए । कार्यक्रममा नेकपामा महासचिव विष्णु पौडेलले संविधानमार्फत समाजवादको आधारशिला निर्माण गरेकाले शहीदको सपना पूरा गर्न समाजवाद ल्याउने बताए । कार्यक्रममा जनयुद्ध र सुखानीमा शहीदप्रति अध्यक्ष दाहालसहित महासचिव पौडेल, स्थायी कमिटी सदस्य सुभाष नेम्वाङ, भीम रावलले श्रद्धाञ्जलि व्यक्त अर्पण गरेका थिए ।
कम्पनी रजिष्ट्रार कार्यालयको कामकाज बन्द, दुव्र्यवहार गर्नेलाई कारवाहीको माग
काठमाडौँ । कर्मचारीलाई दुव्र्यवहार गर्नेहरुलाई कानूनी कारवाही नभएसम्म त्रिपुरेश्वर स्थित कम्पनी रजिष्ट्रारको कार्यालयबाट कामकाज बन्द हुने भएको छ । कार्यालयले बुधबार सूचना प्रकाशित गरी कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मका लागि सम्पूर्ण काम कारवाही बन्द रहने र यसबाट सेवाग्राहीमा पर्न जाने असुबिधाप्रति क्षमा मागेको छ । यसैबीच, काठमाडौँ त्रिपुरेश्वरमा रहेको कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भूवनहरि अर्याल र उपरजिष्ट्रार हरिनारायण बेल्वासे माथि आज हातपात भएको थियो । सेवाग्रहीको रुपमा आएका कम्पनी दर्ता गर्न आएका गुणराज आचार्य र टीकाध्वज खड्काले रजिष्ट्रार र रजिष्ट्रार माथि कुटपीट गरेका हुन् । कम्पनी ऐन अनुसार कुनै देशको नाम राखेर कम्पनी दर्ता गर्न पाइदैन, तर आचार्य र खड्का चीनको नाम राखेर कम्पनी दर्ता गराउन आएका थिए । देशको नाम राखेर कम्पनी दर्ता गर्न नपाइने भन्दा रजिष्टार र उपरजिष्टार माथि हातपात भएको हो । अभियुक्त मध्येका आचार्यलाई प्रहरीले पक्राउ गरेको र अर्का अभियुक्त खड्का भने फरार भएका छन् । उनीहरुले कर्मचारीलाई हातपात गर्नुका साथै टेबुलका शिशा समेत फुटाएका थिए ।