बिम्स्टेक ग्रीड-नेपालको बिजुली म्यान्मार हुँदै थाईल्याण्डसम्म बेचिने
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानका लागि मार्ग प्रशस्त गर्ने गरी समझदारी गरिने भएको छ । विद्युत् व्यापार तथा सहजीकरणका लागि ‘बिम्स्टेक ग्रीड’ निर्माण गर्ने र त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने तयारी भएको हो । सरकारले सो ग्रीड सम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई अख्तियारी दिएको छ । सम्मेलनका क्रममा सदस्य देशहरू बीच विद्युत् प्रसारण लाइन (पावर ग्रीड) निर्माण गर्ने विषयमा सम्झौता हुने छ । त्यसबाट सातै सदस्य राष्ट्रबीच विद्युत् व्यापार सहज हुने विश्वास गरिएको छ । नेपाल र भारतबीच यसअघि नै विद्युत् आदानप्रदान तथा व्यापार सम्झौता भइसकेको छ । गत महिना मात्रै नेपाल र बङ्गलादेश बीच त्यस्तै समझदारी भएको थियो । बिम्स्टेक सदस्यकै रुपमा रहेको नेपाल र बङ्गादेशबीच ऊर्जा आदानप्रदान तथा समझदारीले थप मार्ग प्रशस्त भइसकेको छ । बिम्स्टेकका १६ वटा प्राथमिकता क्षेत्र निर्धारण गरी त्यसलाई समन्वय गरेर मुख्य पाँच क्षेत्र प्रथमिकता निर्धारण गरिएको छ । त्यसमा पहिलो प्राथमिकता क्षेत्रमा सम्पर्क सञ्जाल छ । त्यसमा रेलवे, सडक, विद्युत् प्रसारण लाइन, सूचना प्रविधिका लागि अप्टिकल फाइवर विछ्याउने तथा हवाई सम्पर्क जस्ता विषय समावेश छन् । प्राथमिकताको सूचीमा राखिएको बिम्स्टेक ग्रीड निर्माण गर्ने सहमतिपछि नेपालमा उत्पादन हुने विद्युत् भारत, बङ्गलादेश, म्यान्मा, हुँदै थाइल्याण्डसम्म पुर्याउन सकिन्छ । बंगलादेशले नेपालमा तत्काल नै एक खर्ब रुपैयाँ बराबरको लगानी ऊर्जा क्षेत्रमा गर्ने प्रतिबद्धता जनाएको छ । गत महिना नेपाल भ्रमणमा आएका बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले बङ्गलादेश नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न तयार रहेको बताएका थिए । यद्यपि बिम्स्टेक ग्रीड निर्माण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नै भए पनि विद्युत् व्यापार तथा आदानप्रदानका लागि द्विपक्षीय रुपमा सदस्य देशहरुबीच सम्झौता भने हुनुपर्नेछ । परराष्ट्रमन्त्री ज्ञवालीले यही भदौ ८ गते आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा बिम्स्टेक ग्रीड निर्माण गर्ने विषयमा महत्वपूर्ण समझदारी हुने जानकारी दिएका थिए । सो सम्बन्धी आवश्यक व्यवस्था ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले मिलाउनेछ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औँ शिखर सम्मेलनमा सार्क ग्रीड निर्माण गर्ने र विद्युत् आदानप्रदान गर्ने सम्बन्धी समझदारी भएको थियो । त्यसलाई कार्यान्वयनमा ल्याउन सदस्य राष्ट्रले विशेष पहल गर्नुपर्ने देखिन्छ । ऊर्जा मन्त्रालयले बिम्स्टेक ग्रीड निर्माण बारेमा बङ्गलादेशसँग पनि छलफल गरिसकेको छ । ऊर्जा मन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री हमिदबीच गत महिना यसै विषयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । बिम्स्टेक ग्रीड कार्यान्वयनमा आउँदा सबैभन्दा बढी लाभ नेपाल र भुटानलाई प्राप्त हुने विश्वास गरिएको छ । बङ्गलादेशमा ऊर्जाको माग अत्यधिक छ । म्यान्मा र थाइल्याण्डमा ऊर्जाको माग बढ्दै गएको सन्दर्भमा नेपालले फाइदा लिन सक्छ । तर त्यसका लागि नेपालको ऊर्जा क्षेत्रमा ठूलो मात्रामा वैदेशिक लगानी भित्र्याउनु जरुरी छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था ९इपान० का अध्यक्ष शैलेन्द्र गुरागाईले बिम्स्टेकका अन्य सदस्य राष्ट्रले भारतसँग प्रसारण प्रणाली प्रयोगका विषयमा समान अवधारणासाथ छलफल गरेर टुंगो लगाउनुपर्ने सुझाव दिए । ‘सामूहिक हितका लागि सबैले समान लक्ष्यका साथ पहल गरेमात्रै अन्तरदेशीय ग्रीड सञ्चालन गर्न सकिन्छ । कुनै एउटा देशले कार्यान्वयनमा चासो नराखे थप समस्या आउन सक्छ । त्यसतर्फ विशेष ध्यान दिनु जरुरी छ ’ अध्यक्ष गुरागाईंले भने। अन्तर क्षेत्रीय व्यापार, लगानी, पर्यटन प्रवद्र्धनलाई समेटिएको बताउँदै मन्त्री ज्ञवालीले यस क्षेत्रका सदस्य मुलुकबीच मुस्किलले पाँच÷छ प्रतिशत मात्र व्यापार हुनु राम्रो नभएकोले यसमा जोड दिइने बताए । उनले ग्रीड निर्माण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर मात्रै गरेर नहुने र त्यसलाई प्रभावकारी कार्यान्वयन ल्याउन कुटनीतिक रुपमा सशक्त पहल समेत जरुरी रहेको उल्लेख गरेका छन् । एक्काइस वर्ष अघि सन् १९९७ मा बिम्स्टेक स्थापना भएको भए पनि नेपाल र भूटान भने सन् २००४ मा सदस्य भएका हुन् । बिम्स्टेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा, दोस्रो २००८ मा भारतमा र तेस्रो सन् २०१४ मा म्यान्मामा भएको थियो । रासस
चालकको लापर्वाहीबाट ९० प्रतिशत बढी दुर्घटना, गत वर्ष १९४ जनाको मृत्यु
काठमाडौं । काठमाडौं उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले दिएको जानकारीअनुसार कूल दुर्घटनाको ९० प्रतिशत भन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा भएको ६ हजार ३८१ दुर्घटनामध्ये चालकको लापर्वाहीले मात्र पाँच हजार ९६१ दुर्घटना भएको छ । यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २२१, यान्त्रिक गडबडी ४४, उछिन्दा (ओभरटेक) २९, पैदलयात्रुको लापर्वाहीले तीन र सडकको अवस्थाका कारण ४८ दुर्घटना भएका छन् । दुर्घटनामा परी २१९ गम्भीर र चार हजार ३३३ सामान्य घाइते भएका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकामा सवारी सङ्ख्या धेरै र चालकले जथाभावी चलाउदा धेरै दुर्घटना हुने गरेको जानकारी दिए । “बाटो साँघूरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको छ,”–उनले भने । बाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै आठ लाख सवारी साधन ओहोरदोहोर गर्ने गर्छन् । आव २०७४/७५ मा मात्र सवारी दुर्घटनाका कारण १९४ जनाको मृत्यु भएको थियो । दुर्घटना भएका सवारी साधनमध्ये दुईपाङ्ग्रे सवारी साधन धेरै छन् । आव २०७४/७५ मा दुर्घटनामा मरेका १९४ मध्ये १४७ पुरुष र ४७ महिला छन् । कूल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १११ को मृत्यु भएको छ । रासस
फेसबुकमा राष्ट्रपतिको आलोचना गर्ने व्यक्ति पक्राउ, अपराधसम्वन्धी मुद्धा चलार्इँदै
हरारे । फेसबुकमा राष्ट्रपति इमर्सन नानगाग्वाँको आलोचना गरेको आरोपमा जिम्बाबेको प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । मनङग्वाका खरो आलोचकका रुपमा चिनिने मुन्याराड्जी शोकोले राष्ट्रपतिलाई सैतानसँग तुलना गरेपछि पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् । जिम्वाब्बेको मानवअधिकारवादी वकिल कुम्बिराइ माफुन्डाले शोकोलाई पक्राउ गरिएको बुधबार पुष्टि गरेको समाचारमा जनाइएको छ । हरारेमा रहेको केन्द्रीय प्रहरी कार्यालयमा शोकोलाई राखेर अपराधसम्वन्धी मुद्धा चलाउन लागिएको माफुन्डाले जानकारी दिए । शान्ति सुरक्षा कायम गर्न र कानूनको कार्यान्वयन गर्नका लागि उनको अभिव्यक्ति प्रतिकूल भएकाले पक्राउ गरिएको माफुन्डाको भनाई छ । घटनाका बारेमा प्रहरीले भने अहिले सम्म कुनै प्रतिक्रिया नदिएको बताइएको छ । गत जुलाई ३० मा भएको निर्वाचन बेला पनि विपक्षी समर्थक समूहको तर्फबाट भएको प्रदर्शनमा शोकोको हात रहेको बताइएको छ । त्यतिबेला भएको हिंसामा परी कम्तीमा छ जना मारिएका थिए । निर्वाचनमा नानगाग्वाँ विजयी भएको घोषणा गरिएपनि नतिजाका बारेमा अहिले पनि अदालतमा मद्दा रहेको छ । रासस/एएफपी