शुक्रबार राजधानीका दुई दर्जन स्थानमा दिनभर बिजुली जाने, हेरौं कुन कुन ठाउँमा काटिन्छ विजुली

काठमाडौं । सडक विस्तारका लागि राजधानीका विभिन्न क्षेत्रमा शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रका अनुसार बनस्थली चौकदेखी बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशन अन्तर्गतका फिडरबाट आपूर्ति भइरहका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ । त्यस्तै, बालाजु–नागार्जुन फिडर अन्तर्गत एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुदैँ एकलटार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए । यसैगरी, बालाजु — धर्मस्थली अन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत आपूर्ति बन्द हुने छ ।

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

काठमाडौं । वर्षायाम शुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द गरिएको छ । वर्षात्मा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने कारणले निकुञ्जले जिप सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पछिल्लो समय पर्यटक बोकेका जिप बाटोमा फसेर उद्धारसमेत गर्नुपर्ने भएपछि असार १५ गतेदेखि बन्द गरिएको हो । जंगली जनावर नदेखिँदा निकुञ्जका बारेमा गलत सन्देश नजाओस् भनेर पनि यतिबेला सफारी बन्द गरिएको आर्यालले बताउनुभयो । गत वर्षमा पनि यो समयमा जिप सफारी बन्द गरिँदै आएको थियो । चितवनको सौराहाबाट दैनिक ४३ वटा, कसराबाट १०, मेघौलीबाट सात र नवलपुरको अमलटाँरीबाट पाँचवटा जिपले पर्यटक सफारी गराउने गरेका थिए । बन्द भएको जिप सफारी असोजको दोस्रो सातादेखि पुनः शुरु हुने अर्यालले बताए । भदौको अन्तिम साता मनसुन सकिएपछि झाडी फाँड्ने, भत्किएको बाटो मर्मत गर्ने, पुल मर्मत गर्ने, ढलेका रुख उठाउनेलगायतका काम गरेर पुनः जिप सञ्चालन गरिने उनले बताए । जिप सफारीबाट निकुञ्जले हरेक वर्ष करोडौँ रकम आम्दानी गर्दै आएको छ । गत जेठसम्ममा जिप सफारीबाट रु तीन करोड १७ लाख आम्दानी भएको निकुञ्जले जनाएको छ । जिप चढेर निकुञ्जको अवलोकन गर्न पर्यटक रुचाउँछन् । प्रत्यक्ष रुपमा दुर्लभ बन्यजन्तु देख्न पाइने भएकाले जिप सफारी प्रभावकारी मानिएको छ ।

अब व्यवसायीले मूल्यसूची बिलविजक ग्राहकले देख्नेगरी राख्नुपर्ने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९१५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाडौँ उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन गरेको छ भने उपत्यका बाहिर स्थानीय तहका प्रतिनिधि, प्रहरी प्रशासनलगायतको सहयोगमा अनुगमन गरेको छ । यस आवभित्र ५ हजार ४ सय व्यापारिक फर्मको अनुगमनको लक्ष्य राखेको प्रवक्ता ढुण्डीराज पोखरेलले जानकारी दिए । बजार अनुगमनका क्रममा मूल्यसूची, बिलविजक, खरिद बिल राख्न व्यवसायीलाई निर्देशन दिइएको छ । नियम विपरीत व्यवसाय सञ्चालन गरेका ८० वटा फर्मलाई व्यवसाय बन्द गराइएको छ । २९ वटा फर्मको कारोबार रोक्का गरिएको छ । अनुगमनमा कतिपय व्यवसायीले भुलबस भ्याट वा प्यानमा दर्ता नभई राजश्व ठगी गर्ने गरेको पाइएको छ । उनीहरुलाई सम्झाई बुझाई कानूनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको विभागले जनाएको छ । आव २०७३÷७४ मा चार हजार ७०५ व्यापारिक फर्म अनुगमन गरिएकोमा नियम विपरीत सञ्चालित १०९ वटा फर्म बन्द गराइएको थियो । रासस