चीन र भारत जोड्ने आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

काठमाडौं । सरकारले दुई छिमेकी देशसँग ऊर्जा आदान प्रदानका लागि विभिन्न स्थानमा आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ । सन् २०४० सम्मका लागि तयार पारेको प्रसारण लाइन गुरुयोजनाअनुसार भारततर्फ ६ वटा अन्तरदेशीय प्रसारण लाइन र चीनतर्फ तत्कालका लागि दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन गुरुयोजनामा समेटिएका आठ अन्तरदेशीय प्रसारण लाइनमध्ये भारतर्फको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा आइसकेको छ । सो प्रसारण लाइनको क्षमता ४०० केभी भए पनि हाल १३२ केभीमा सञ्चालन भइरहेको छ । यस्तै रक्सोल-परवानीपुर, कुशाहा-कटैया १३२ केभी क्षमताको प्रसारण लाइन पनि सञ्चालन भइरहेको छ । सरकारले तयार पारेको गुरुयोजना अन्तर्गत कर्णाली, सेती र महाकाली करिडोरबाट भारततर्फ निकासी गर्ने गरी दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण हुनेछ । अत्तरिया र दोधारामा विशेष ‘हव’ निर्माण गरेर दोधारा-बरेली र अत्तरिया-बरेली ४०० केभी क्षमताका दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण हुनेछ । सो क्षेत्रमा पञ्चेश्वर, पश्चिम सेती, फूकोट कर्णाली र बेतन कर्णाली जस्ता ठूला र महत्वपूर्ण आयोजना निर्माण हुने क्रममा छन् । यस्तै प्रस्तावित गुरुयोजनाको दोस्रो नम्बरमा रहेको भेरी करिडोरमा पनि फूलबारी- लखनउ ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिनेछ । फूलबारी र मैनताडामा मुख्य प्रसारण ‘हव’ निर्माण गरिनेछ । नौमुरे, उत्तर गंगा, नलगाड र भेरी तेस्रो जलाशयुक्त आयोजना जस्ता महत्वपूर्ण परियोजना निर्माण हुने क्रममा छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको प्रसारण गुरुयोजनाअनुसार कालीगण्डकी-मस्र्याङ्दी करिडोर समेत जोड्ने गरी भारततर्फ ४०० केभी क्षमताको बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ । कूल ४०० केभी क्षमताको उक्त अन्तरदेशीय प्रसारण लाइनको मुख्य प्रसारण हव भने बुटवल र भरतपुरमा निर्माण हुनेछ । कालीगण्डकी, माथिल्लो मस्र्याङ्दी र मनाङ मस्र्याङ्दी जस्ता महत्वपूर्ण जलविद्युत् परियोजना निर्माणको क्रममा छन् । केही समय पहिले नेपाल-भारतका ऊर्जा सचिवको संयुक्त बैठकले बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति जुटाएको हो । कुन ढाँचामा सो प्रसारण लाइन निर्माण गर्ने भन्ने बारेमा भने सहमति हुनसकेको छैन । नेपाल सरकारले सरकारी तहमा नै सो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नुपर्ने प्रस्ताव गरेको छ । यस्तै सरकारले प्रस्ताव गरेको गुरुयोजनाको त्रिशूली-चिलिमे-काठमाडौं उपत्यका, खिम्ती, तामाकोशी करिडोरमा खिम्ती, ढल्केबर, हेटौँडामा विशेष प्रसारण हव निर्माण हुनेछ । ढल्केबरमा प्रसारण हव निर्माण भइसकेको छ । हाल भारतबाट आयात भइरहेको विद्युत् सोही हवबाट आयात भइरहेको छ । ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन नेपाल र भारतको पहिलो अन्तरदेशीय व्यावसायिक प्रसारण प्रणाली हो । सोही करिडोरबाट चीन जोड्ने रातमाटे-त्रिशूली गल्छी-रसुवागढी-केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार ५ देखि १० गतेसम्म गर्नुभएको चीन भ्रमणको क्रममा सहमति भएको हो । नेपाल र चीन दुबैले पूर्व सम्भाव्यता अध्ययन गरिसकेको र केही समयभित्रै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरी निर्माण शुरु गर्ने तयारी गरिएको छ । उत्तरी छिमेकी देश जोड्ने यो नै हालसम्म प्रगतिको लयमा पुगेको पहिलो अन्तरदेशीय प्रसारण लाइन हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिए । यस्तै प्रस्तावित गुरुयोजनाको पाँचौँ नम्बरमा रहेको कोशी-अरुण करिडोरमा पनि चीन र भारत जोड्ने गरी दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिनेछ । इनरुवा, मिर्चैया र किमाथांकामा विशेष प्रसारण हव निर्माण गरिने भएको छ । दक्षिणमा इनरुवा-पूणिर्या ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिनेछ । यस्तै उत्तरतर्फ किमाथांका-लात्से ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिनेछ । किमाथांकादेखि तिब्बत्को लात्सेसम्मको दुरी करिब १८० किलोमिटर रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आगामी २२ वर्षका लागि तय गरिएको गुरुयोजनामा आन्तरिक तथा बाह्य प्रसारण लाइन निर्माणलाई जोड दिइएको बताए । गुरुयोजना मन्त्रालय मातहतको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले तयार पारेको हो । सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले प्रसारण प्रणालीमा रहेको अन्यौलता हटाउने लक्ष्यका साथ गुरुयोजना तयार पारिएको र त्यसमा अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि समेत विशेष हव र प्रसारण प्रणाली रहने स्थान समेत तय गरिएको जानकारी दिएका छन् । रासस

७ सय मिलियन डलर भ्रष्ट्राचार गरेको आरोपमा मलेसियाका पुर्व प्रधानमन्त्री नाजिव राजक पक्राउ

काठमाडौं । मलेसियाका पुर्व प्रधानमन्त्री नाजिव राजक पक्राउ परेका छन् । राजकले प्रधानमन्त्री रहँदा ७ सय मिलियन भन्दा बढी डलर भ्रष्ट्राचार गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् । उनले राज्य विकास कोष १एमडीबी मार्फत सो रकम हिनामिना गरेको बिबिसीले जनाएको छ । उनले खराब काम गरेपछि चुनावमा समेत हार बेहोरेका थिए । । राजकले चुनाव हारेपछि नै उनीमाथी अनुसन्धान निकायले सतर्कता बढाएको थियो । उनलाई मलेसियाका प्रहरीले घरैबाट पक्राउ गरेको उनको परिवारिक श्रोतले बताएको छ । राजक प्रधानमन्त्रीमा नियुक्त भएपछि नै भ्रष्ट्रचारमा लिप्त रहेको मलेसियन अनुसन्धान निकायले जनाएको छ ।

दक्षिण एसियामा दुरसञ्चार प्रभावकारी बनाउन ३ दिने गोष्ठी काठमाडौंमा शुरु

काठमाडौं । दक्षिण एसियमा दुरसञ्चारलाई प्रभावकारी बनाउने उदेश्यले काठमाडौंमा ३ दिने गोष्टी शुरु भएको छ । गोष्टीमा दक्षिण एसियाली क्षेत्रमा दुरसञ्चारलाई थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशका विज्ञहरुले छलफल गर्नेछन् । कार्यक्रममा बोल्दै सूचना, संचार तथा प्रविधि मन्त्री गाेकुल बास्काेटाले  दुरसञ्चार सबै गरिब जनताले सुलभ रुपमा पाउनु पर्नेमा जोड दिए । एसिया प्यासिफिकका महासचिव अर्विन हाओराङ्सीले दक्षिण एसियामा दुरसञ्चारलाई अत्याधुनिक बनाएर अघि बढ्ने बताए । कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, महानिर्देशक कामिनीराज भण्डारी, सूचना, संचार तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ लगायतको सहभागिता रहेको थियो । ३ दिन चल्ने गोष्टीमा नीति निर्माणसंगै यसको कार्यान्वयन र सेवामा जोड दिने छ तीन दिनसम्म चल्ने कार्यशालामा दक्षिण एसियाका विभिन्न विज्ञले कार्यपत्र प्रस्तुत गर्ने छन् भने त्यसभित्र रहेर छलफल हुनेछ । गोष्टीमा दक्षिण एसियाका ८ मुलुकसंगै इरानको पनि सहभागीता रहेको छ ।