१३ महिनादेखि रुकुमको विमानस्थल बन्द हुँदा यात्रुलार्इ मर्का, कर्मचारी भए कामविहीन

काठमाडाै‌ं । चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको हाे । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द गरिएकाे छ। नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेपनि एउटा मात्र जहाज भएकाले उडान नभरेको हो । यो विमानस्थल रुकुममा भए पनि सेवासुविधा जाजरकोटले पनि लिने गरेको थियो । गत वर्षको जेठ दोस्रो सातादेखि बन्द रहेको हवाईसेवा हालसम्म सञ्चालनमा नआउँदा यस क्षेत्रका सर्वसाधारण मर्कामा परेका हुन् । साढे चार करोड लागतमा चार वर्षअघि चौरजहारी विमानस्थल कालोपत्रे गरिएको थियो । उडान बन्द हुँदा डोल्पा, जाजरकोट, सल्यान र पश्चिम रुकुमका स्थानीय यात्रु तथा विरामी समस्यामा परेको स्थानीय गोपाल रेग्मीले बताए । विमानस्थलबाट हुने हवाई सेवा बन्द भएपछि सिकिस्त बिरामी र जटिलखालका गर्भवती महिलालाई कच्ची बाटोमा जोखिम मोलेर गाडीमा लैजानुपर्ने बाध्यता रहेको चौरजहारी अस्पतालका प्रशासक डीलवहादुर गिरीले बताए । दुर्गममा स्वास्थ्य सुविधा राम्रो नहुने हुँदा जटिल खालका बिरामीलाई तत्काल जहाजबाट सुविधा सम्पन्न अस्पतालमा लैजान सजिलो हुन्थ्यो । हवाई सेवा बन्द भएपछि अशक्त र विरामीले निकै सास्ती पाउने गरेका छन् । उनले भने, “तत्काल चौरजहारीमा हवाई उडान शुरु गरेर सेवा सुचारु गर्न सरकारसँग माग गर्दछु ।” यसअघि चौरजहारीवाट नेपालगञ्ज र काठमाडौँ उडान भर्दै आएको नेपाल वायुसेवा निगमको जहाजले सेवा परिवर्तन गरेर प्रत्येक बुधबार काठमाडौँ–नेपालगञ्ज–चौरजहारी र प्रत्येक बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान भर्ने गरेको थियो । रुकुमको सल्ले विमानस्थलमा उडान थप गरेको र चौरजहारीमा १३ महिना अघि उडान कटौती गरेर सेवा बन्द गरेको थियो । निगमले सेवा बन्द गरेपछि यस क्षेत्रका बासिन्दा निकै मर्कामा परेको चौरजहारी नगरपालिका नगरप्रमुख विशाल शर्माले बताए । चौरजहारीमा हवाई सेवा शुरु गर्न विभिन्न निकायमा पहल गरे पनि सुनुवाइ नभएको गुनासो उहाँले गनुभयो । उडान बन्द हुँदा डोल्पाको शे–फोक्सुन्डो जाने पर्यटक समेतलाई समस्या परेको उनकाे भनाइ छ । नेपाल वायुसेवा निगम चौरजहारीका इञ्चार्ज सुरेन्द्र नेपालीले जहाजको कमी भएका कारण हवाई सेवा लामो समय बन्द भएको बताए । अहिले पनि उडान तालिका कटौती भएको छैन । नेपाल वायुसेवा निगमसँग एउटा मात्र जहाज भएकाले समस्या भएको हो थप अर्को जहाज ल्याउने प्रक्रियामा छ । आउने बित्तिकै सेवा आरम्भ हुन्छ । उनले एक वर्षदेखि तीनजना कर्मचारी कामविहीन भएको जानकारी दिए। रासस

एसईई नतिजा प्रकाशनमा सरकारको चरम लापरबाही, १४ हजार विद्यार्थीको रिजल्ट आएन

काठमाडौं । सोमबार एक कार्यक्रममा पूर्व शिक्षा सचिव जनार्दन नेपालले एसईईको नतिजा प्रकाशनमा सरकारले लापारबाही गरेको आरोप लगाएका छन् । एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहोर्याउने गरि सत्य–तथ्यका अनुसन्धान गर्न सरकारसँग उनको माग छ । ‘भर्खरै मात्र प्रकाशित गरिएको एसईईको नतिजालाई लिएर धेरै कुराहरु सुनिन थालेका छन्,’ उनले भने ‘यसका बारेमा सरकार गम्भिर बन्नुपर्छ ।’ प्राविधिक तथा अन्य जुनसुकै पक्षको गल्ति भएको पनि त्यसलाई छानविनको दायरामा ल्याउनु पर्ने उनकोे धारणा छ । त्यस्तै हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाएका छन् । उनले भने,‘प्रत्येकदिन नतिजा फरक छ, अघिल्लो दिन एक प्रकारको रिजल्ट अर्को दिन फरक रिजल्ट देखिएको छ ।’ नतिजा प्रकाशनमा यतिका विघ्मान समस्या छ भने कापी जाँचमा कति लापरबाही भयो होला ? सहजै अनुमान लगाउन सकिने उनले बताए । उनका अनुसार विद्यार्थीको भविष्यका बारेमा मन्त्रालय, शिक्षा विभाग र परीक्षा बोर्ड गम्भिर छैनन् । ग्रेड सिस्टमका पनि आफ्नै प्रकारका नियमहरु हुन्छन् । देशमा अंकमा तयार पारिने रिजल्टलाई अक्षरमा ढालेर ग्रेडिङ सिस्टममा ल्याइएको भन्दै उनले सबै मान्यता अपनाएर ग्रेड सिस्टम लागू गर्न सरकारलाई आग्रह गरे । त्यस्तै कार्यक्रममा एन–प्याव्यसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थीको जीवनमाथि खेलवाड गरेको आरोप लगाएका छन् । ‘कक्षा ९ र १० को परीक्षाकोबीच कुनै भिन्नता छैन । परिणाममा मात्रै फरक देखाएर हुन्छ ?’, उनको प्रश्न छ । ‘पाठ्यक्रम पुरानै छ, शिक्षाको स्तर घट्दो क्रममा छ, पढाईमा विद्यार्थीको चासो कम हुँदै गएको छ, परिक्षाको नाममा विद्यार्थी अल्मल्याउने काम भैरहेको छ,’ उनले भने ‘यस वर्षको नतिजामा १४ हजार विद्यार्थीको रिजल्ट आएनका छैनन् ।’ यस सम्बन्धमा शिक्षामन्त्री र राष्ट्रिय शिक्षा बोर्डले यसको जिम्मेबारी लिनुपर्छ । र दोषिमाथि कडा कारबाही गर्नुपर्छ ।’ कार्यक्रममा प्यावशनका महासचिव राजेन्द्र बानियाँले एसईईको नतिजा प्रकाशित गर्ने काममा सरकारले हतार गरेको आरोप लगाए ।

उद्योगमन्त्री र यूएर्इको उच्च अधिकारीबीच भेट, नेपालमा लगानी गर्न तथा उत्पादन लैजान युएर्इ तयार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र यूएईका उपसचिव अब्दुल्ला अहमेद अल सालेहसँग सोमबार भेट भएकाे छ । आफ्नै कार्यकक्षमा भएको भेटमा मन्त्री यादवले देशलाई आर्थिक सम्वृद्धितर्फत अघि बढाउन सरकार निरन्तर रुपमा लागि रहने र समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक तुल्याउन लागि पर्ने जनाए । यूएईसँग नेपालको ४१ बर्ष देखिको सम्वन्ध रहेको स्मरण गर्दै साे सम्वन्ध हार्दिकतापूर्ण रहेको  उनकाे भनाइ छ। उनले विदेशिएका अदक्ष श्रम शक्तिलाई दक्ष बनाउन देशभित्र सीप विकासका अवसरहरु उपलब्ध गराउनु पर्ने खाँचो औल्याएका थिए । यसका लागि सीप विकास केन्द्रहरु स्थापनाकाे लािगि लगानी गर्न यूएई सरकारसँग उनकाे आग्रह छ । साथै नेपालको व्यापार घाटा कम गर्न निर्यात सम्भाव्य वस्तुहरुको सहज बजार पहुँचका लागि उनकाे अाग्रह छ । वैदेशिक लगानीका लागि देश भित्र उपयुक्त वातावरण निर्माण भैरहेकोले नेपालभित्र जलविद्युत, पर्यटन, उत्पादन लगाएतका क्षेत्रहरुमा लगानी गर्न समेत युएईको लगानीकर्ताहरुलाई उनले अाग्रह गरेका छन् । उक्त भेटमा उद्योग सचिब यामकुमारी खतिवडा, वाणिज्य सचिब चन्द्रकुमार घिमिरे समेतको उपस्थिति रहेको थियो । सो छलफलमा यूएईको उपसचिवले नेपाली उत्पादनलाई यूएईमा बजार प्रदान गर्ने काममा यूएई सरकारले सहयोग गर्न तयार रहेको बताए । उनकाे अनुसार यूएई सानो देश भए पनि अरवमा दोस्रो ठूलो आर्थिक शक्ति भएको देश हो ।  यूएईले बाहिरी लगानीको अबसर खोजिरहेकाे भन्दै रणनीतिक साझेदारीको रुपमा अगाडी बढ्नु पर्ने उनकाे धारणा छ । उनले यसका लागि दोहोरो कर र लगानी संरक्षण सम्झौता अगाडी बढाउन उनले सुझाए । प्रत्येकबर्ष हुने लगानी मञ्चको सम्मेलनमा अर्को बर्षको लागि निमन्त्रणा पठाउने समेत उनले जानकारी दिए । ‘हामी नेपालसँग सबैभन्दा राम्रो रणनैतिक साझेदार हुन चाहन्छौं,’ उनले भने ‘यूएर्इका लगानीकर्ताको भारतमा बलियोे उपस्थिति रहेकोले नेपालमा पनि लगानी गर्न सजिलो हुनेछ ।’