नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने ६ जना सरकारी कर्मचारीलाई अख्तियारले समात्यो
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागीर खाने ६ जना कर्मचारी विरुद्ध अख्तियारले कारबाहि प्रक्रिया अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग‚ टङ्गालमा शैक्षिक योग्यता सम्बन्धी परेको उजुरीमा अनुसन्धान हुँदा विभिन्न सरकारी कार्यालय‚ संस्थान र शैक्षिक निकायमा कार्यरत कर्मचारीहरुले नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको हो । भारतका विभिन्न बोर्डबाट जारी नै नभएका शैक्षिक योग्यताको प्रमाणपत्रहरु झुठा बनाइ अनुचित लाभ लिने उद्देश्यले नियुक्ति र बढुवाको लागि पेश गरेको तथ्य प्रमाणित हुन आएपछि ६ जना विरुद्ध कारबाहि प्रक्रिया अघि बढेको हो । ६ जना विरुद्ध नै विशेष अदालत‚ काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । यस्ताे छ नक्कली शैक्षिक प्रमाणपत्र बुझाउने कर्मचारीको विवरण
कृषि, उर्जा, पर्यटन र जडिबुटी क्षेत्रमा उपराष्ट्रपति पुनको जोड
काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले २०७५ को वर्ष आर्थिक समृद्धिको बर्ष भएको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा ‘व्यवसायिक क्षेत्रको समसामयिक विषयमा निजी क्षेत्रको धारणा’ प्रस्तुत गर्न बिहीबार उपराष्ट्रपतिको कार्यालय कान्तिपथ काठमाण्डौं पुगेको प्रतिनिधि मण्डलसँंग उपराष्ट्रपति पुनले यसका लागि निजी क्षेत्रको सहयोगको आशा गरेका थिए । स्थायी सरकारको निर्माण, लोडसेडिंग मुक्त मुलुक, बन्द हडतालको अन्त भएसँंगै मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएको उनले बताए । आर्थिक समृद्धिको आधारको रुपमा रहेका कृषि, उर्जा, पर्यटन र जडिबुटीको क्षेत्रलाई विषेश महत्वकासाथ अगाडी वढाउनु पर्नेमा उनले विषेश जोड दिए । नेपाल चेम्वरका अध्यक्ष श्रेष्ठले मुलुकले लामो समयदेखि भोग्दै आएको राजनीतिक संक्रमणकालको अन्त भएसँंगै अवको गन्तव्य आर्थिक समृद्धि हुनु पर्ने धारणा व्यक्त गरे । स्थायी सरकारको निर्माणसँंगै लगानीको वातावरण बनेको चर्चा गर्दै उनले अब लगानी भित्राउनेतर्फ सरकारको ध्यान जानु पर्ने बताए । व्यापार घाटा न्युनीकरण गर्न आयात प्रतिस्थापन गर्दै निर्यात बढाउन पर्ने उनको जोड छ । उनले विभिन्न निर्यात योग्य वस्तुहरुलाई सहुलियत दिनु पर्ने उपराष्ट्रपति पुन समक्ष राखे ।
व्यापारीमाथिको चन्दा आतंक अन्त गर्छु–महानिरीक्षक सर्वेन्द्र खनाल
काठमाडौं । पछिल्लो समय उद्योगी तथा व्यवसायीहरुले मुलकमा चन्दा आतंक बढीरहेको बताएका छन् । सोही समस्यालाई मध्यनजर व्यवसायिक शान्ति सुरक्षामा नेपाल प्रहरीको नयाँं सुरक्षा रणनीति विषयक बिहीबार राजधानीमा नेपाल चेम्बर अफ कमर्सले गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यापारीमाथि हुने अनावश्क दवाब, दुरव्यवहार एवं चन्दा आतंकको अन्त गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसको लागि सुरक्षाकर्मीलाई उद्योगी व्यापारीहरुले पनि सत्य तथ्य जानकारी दिनुपर्ने बताए । गुण्डागर्दी, उद्योग व्यापारीलाई हतोत्साहित गर्ने जोसुकैलाई कानून बमोजिम कारबाही गर्ने उनको भनाइ छ । आफूले निष्पक्षतापूर्वक सवैलाई सेवा दिने जानकारी दिए । राम्रो व्यवसायी र नागरिकका लागि मैत्रीपूर्ण व्यवहार गर्ने भन्दै अपराध गर्ने व्यक्ति जुनसुकै नाम, भेषमा आए पनि प्रहरीले नछोड्ने बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले निर्धक्कका साथ व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गरिदिन सम्पूर्ण व्यापारी व्यवसायीहरुकोतर्फबाट अनुरोध गरे । आर्थिक समृद्धिका लागि शान्ति सुरक्षाको प्रत्याभुति पहिलो आधार भएको भन्दै उनले शान्ति सुरक्षा विना आर्थिक समृद्धि सम्भब नहुने बताए । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका कार्य समिति सदस्य एवं पूर्व नेपाल प्रहरीका एआईजी नवराज ढकालले शान्ति सुरक्षा कायम गर्नका लागि विना वर्दीका प्रहरी (नागरिक) को भूमिका महत्वपूर्ण हुने चर्चा गरे ।