नेपाल–भारतबीच व्यापार–पारवहन सन्धि पुनर्विचार हुने
काठमाडौं । मंगलबारदेखि राजधानीमा जारी नेपाल र भारतबीचको उच्चस्तरीय आईजीएससी र आईजीसी वैठक सकिएको छ । वैठकमा दुई देशबीचको व्यापार र पारवहन सन्धिलाई पुनर्विचार गर्नेदेखि जोईन्ट विजनेश फोरम अघि बढाउनेसम्मको सम्झौता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले मुख्यगरी दुई देशबीच हालसम्मको व्यापार र पारवहन सन्धिलाई पुनर्विचार गर्ने सम्झौता भएको बताए । नेपाल र भारतसँगको व्यापार तथा पारवहन क्षेत्रमा भएको ग्यापलाई भर्ने, मुलुकको व्यापार घाटालाई सम्बोधन गर्दै आवश्यक मोडालीटी तय गर्न पनि दुई देशबीचको व्यापार र पारवहन पुनर्विचार गर्नु पर्ने उनको भनाइ छ । त्यस्तै वैठकमा पछिल्लो समय नेपाल र भारतको सिमानामा भोग्नु परेको अदुवा लगायतको कृषिजन्य वस्तुको अवरोध हटाउने, भारतबाट आउने रेलवे र्याकको समस्या समाधान गर्न नेपालको लागि छुट्टै र्याकको कोटा निर्धाराण गर्ने, जडिबुटीजन्य पदार्थको निर्यातमा लाग्दै आएको अनावश्य शुल्क हटाउनु पर्ने, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तर्राष्ट्रिय मान्यता प्रप्ता प्रयोगशालाबाट पिरिक्षण गरिएको प्रोडक्टहरुको परिक्षणलाई मान्यता दिनु पर्ने विषयमा सम्झौता भएको छ । भारतमा रहेको नेपाली विद्यार्थी, पेन्सन होल्डर लगायत नेपालीहरुको बैंक खाता खोल्न सहजता प्रदान गर्ने, नेपालगन्ज, भैरवा, विराटनगरको एकिकृत जाँच चौकी (आईसीपी)को चाँडो निर्माणकार्य गर्न पर्ने, भारतको रेल प्रमुख भन्सार नाकासम्म ल्याउनु पर्ने, सीमा क्षेत्रको खराब सडकको सुधार गर्नुपर्ने सम्बन्धि समेत सम्झौता भएको मन्त्रलायको भनाइ छ । मन्त्रालयको अनुसार लगानी आकर्षण गर्न, वातावरण बनाउन लगायतका लागि नेपाल र भारतबीच जोईन्ट विजनेश फोरम आगडी बढाउने समेतको सम्झौता भएको छ । साथै नेपालमा रहेको ५ सय र १००० को साढे ४ करोडभन्दा बढी भारु नोटलाई साट्ने सम्बन्धमा पनि भारतीय उच्च अधिकारीहरुको ध्यानाकर्षण वैठकमार्फत गराइएको वैठकमा सहभागी मन्त्रालयका उच्च अधिकारीहरुको भनाइ छ । वैठकमा भारतले भने नेपालमा गरिने लगानीको सुरक्षामा जोड दिएको थियो । भारतीय लगानी घट्दै गएको महशुस गर्दै लगानी सम्बन्धि उचित कानून ल्याउन पर्ने समेत भारतीय उच्च अधिकारीहरुको भनाइ थियो । मन्त्रालयका अनुसार वैठकमा भारतीय श्रमिकहरुलाई श्रम स्वीकृति दिन सहज बनाउन पर्ने लागयतका सम्बन्धमा समेत छलफल भएको थियो । वाणिज्य मन्त्रालयको सचिव स्तरिय (आइजीसी)को वैठक हुदै आएपनि लामो समयपछि मात्र सह–सचिव स्तरिय (आइजीएससी)को वैठक सम्पन्न भएको छ । ६ वर्षअघि सन् २०११ यता आइजीएसको वैठक हुन सकेको थिएन ।
१०० रुपैयाँमा पढ्न सकिने स्कूल भोजपुरमा पनि खुल्दै
काठमाडौं । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ । समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ शुरु हुनेगरी समता स्कूल सञ्चालनमा ल्याइन लागेको समता फाउण्डेशनका संस्थापक उत्तम सञ्जेलले बताए । विद्यालयले नर्सरी, यूकेजी, एलकेजी र कक्षा १ सम्म भर्ना लिनेछ । यसअघि आवश्यक प्रक्रिया पूरा नभएको भन्दै भोजपुर नगरपालिकाले विद्यालय सञ्चालनमा रोक लगाएको थियो । पछिल्लो समय सञ्चालनको अनुमति पाएपछि व्यवस्थापनका लागि संस्थापक उत्तम सञ्जेल र विद्यालयका संरक्षक हास्यकलाकार हरिवंश आचार्य बिहीबार भोजपुर आइपुगेका थिए । यस विद्यालयले मासिक रु १०० मा नै अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ । स्थापना हुने स्कूल देशको ७५ औँ स्थानमा परेको छ । रासस
डोल्पाका यार्सा पाटन जेठ १ देखि खुल्ने, शुल्क हजारदेखि साढे ३ हजारसम्म
काठमाडौं । हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ । आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई प्रवेश इजाजत पत्र धमाधम वितरण शुरु गर्दै निकुञ्ज क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन प्रवेशका लागि खुला गरिने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । अघिल्लो वर्षमा जेठ पहिलो र दोस्रो साताबीचको अवधिमा प्रवेशका लागि खुला गरिएको भएपनि यस वर्ष भने सम्पूर्ण सरोकारवालाको सल्लाहअनुसार जेठ १ गतेदेखिनै पाटन प्रवेशका लागि खुला गरिने निर्णय भएको संरक्षण अधिकृत रामदेव चौधरीले बताए । यार्सागुम्बा पाटन संकलन इजाजत पत्र वितरणका लागि निकुञ्ज र सम्बन्धित मध्यवर्ती क्षेत्रका कर्मचारीलाई विभिन्न नाकामा पठाउने तयारी भइरहेको समेत चौधरीले जानकारी दिएका छन् । यार्सागुम्बा संकलनका लागि तीन प्रकारका संकलन इजाजत पत्र वितरण गरिने भएकाले मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि रु १ हजार, मध्यवर्ती क्षेत्र बाहिरका सर्वसाधारणका लागि रु २ हजार ५०० र जिल्ला बाहिरका सर्वसाधारणका लागि रु ३ हजार ५०० रकम तिर्नुपर्ने निकुञ्जले जनाएको छ । डोल्पामा रहेका यार्सागुम्बा पाटनमा पुगेर यार्सागुम्बा संकलन गर्नका लागि रुकुम, जाजरकोट, सल्यानलगायतका विभिन्न जिल्लाबाट वर्षेनि दशौँ हजार सर्वसाधारण डोल्पा पुग्ने गर्दछन् । यार्सागुम्बा पाटन खुला गरिएको एक महिने अवधिका लागि मात्रै प्रवेश संकलन इजाजत पत्र वितरण गरिनेसमेत निकुञ्जले जनाएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पाली जनताको मुख्य आम्दानीको स्रोतको रहँदै आएको छ । रासस