स्याङ्जामा चेम्वरको कर सम्बन्धि प्रशिक्षण

काडमाडौं । स्याङजा चेम्वर अफ कमर्सको आयोजनामा एकदिने कर शिक्षा तथा चेम्वर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष महेन्द्रमान श्रेष्ठले मुलुक संघीयतामा गएसँंगै नेपाल चेम्वरले पनि विधान शंशोधन गरी केन्द्र, जिल्ला, नगर र गाउँंस्तरीय गरी देशभर चेम्वरका शाखाहरु गठन गरेको जानकारी दिएका छन् । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका निर्देशक डा. भगवान खड्काले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा स्याङजा जिल्ला चेम्वर अफ कमर्सका पदाधिकारी एवं सदस्य लगायत उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको जनाइएको छ ।

सोमबारबाट नगरपालिकाका काम सञ्चालन, जनप्रतिनिधिद्धारा सुरक्षाको माग

भक्तपुर । मध्यपुरथिमि नगरपालिका सोमबारबाट काम सञ्चालन भएको छ । मध्यपुरथिमि नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाले संयुक्त विज्ञप्तिमार्फत नगरप्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेलार्ई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै आइतबारबाट जिल्लाका सबै नगरपालिकाका काम ठप्प पार्ने निर्णय गरेको थियो । यद्यपि सधैँ काम रोक्दा सेवाग्राही मर्कामा पर्ने भएकाले सेवाग्राहीलाई ध्यानमा राख्दै आजबाट नगरपालिकाको काम नरोक्ने निर्णय सहित सबै नगरपालिकाले काम सञ्चालन गरेको मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिएका छन् । आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै जनप्रतिनिधिको सुरक्षा माग गरिएको उनले बताएका छन् । यता प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल समक्ष जिल्ला समन्वय समिति, तीन वटा नगरपालिकाका कार्यालयका प्रतिनिधिले आक्रमणकारीलाई कारवाही गर्न, नगरपालिकामा सुरक्षा व्यवस्था गर्न र जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । जिल्ला समन्वय समितिले पत्रकार सम्मेलन नै गरेर प्रमुख श्रेष्ठमाथिको सांघातिक आक्रमणको घोर निन्दा गर्दै २४ घण्टाभित्र आक्रमणकारीलाई पक्राउ गर्न माग गरेको हो । जिसस प्रमुख नवराज गेलालले दिनदहाडै प्रमुखकै घरमा पुगेर उहाँको निजी सवारी साधन तोडफोड गर्दै प्रमुखमाथि सुनियोजित रुपमा आक्रमण भएको बताउँदै आक्रमणकारीलाई पक्राउ गरी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन्। पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले निरङ्कुश पञ्चायती व्यवस्था र १० वर्षे जनयुद्धमा समेत प्रभाव नपरेको भक्तपुरमा अहिले राजनीतिमा दरार ल्याउने, नगरपालिका र पार्टीमा फुट ल्याउने तत्वबाट श्रेष्ठमाथि आक्रमण भएको आशंका गर्दै जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर्न माग गरे। प्रमुख जिल्ला अधिकारी पोखरेलले भने श्रेष्ठमाथिको आक्रमण आतंककारी गतिविधिको एउटा नमूना भएको बताउँदै दोषी कानूनी कारवाहीबाट कुनै हालतमा उम्कन नसक्ने बताए । उनले आक्रमणकारी छिट्टै पक्राउ हुने र सुरक्षा व्यवस्था कडा पार्ने बताएका छन् । यता नेकपा (एमाले) भक्तपुरजिल्ला कमिटीले पनि प्रेस विज्ञप्ति जारी गर्दै एमाले भक्तपुर जिल्ला कमिटी सचिवालय सदस्य एवं एमाले मध्यपुरथिमि नगर संयोजकसमेत रहनुभएका श्रेष्ठमाथि भएको आक्रमणको निन्दा गर्दै आक्रमणकारीलाई कारवाहीको माग गरेको छ । एमाले जिल्ला अध्यक्ष बचन देउजाले आक्रमणकारीलाई २४ घण्टाभित्र पक्राउ गरी कारवाही नगरे कडा आन्दोलन गर्ने बताए । त्यस्तै नेपाली काँग्रेस मध्यपुर नगर समितिले पनि नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनले पनि दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ । रासस

वन्यजन्तुको चोरीसिकार र अबैद व्यपार नियन्त्रण आवश्यक

काठमाडौं । प्रतिनिधि सभाका सांसद मोहन आचार्यले बिश्वका करिब ७० प्रतिशत प्रजाति लोप भइसकेको जनाउदै वन्यजन्तुको चोरीसिकार एवंम् अबैद व्यापार नियन्त्रण गर्न सबैको सहयोग आबश्यक रहेको बताए । रसुवाको धुन्चेमा आयोजित २३औ बन्यजन्तु सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै सांसद आचार्यले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाईने रेडपाण्डा विश्वमा नै दुर्लभ अबस्थामा रहेकाले रेडपाण्डाको चोरी शिकारी नियन्त्रणमा समुदायको भुमिका महत्वपूर्ण रहने प्रष्ट्याए । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न लाङटाङ राष्ट्रिय निकुञ्जले गाउँस्तरमा समिति गठन गरि संरक्षणको काम गरिरहेको जनाएको छ । उनको अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जकोे पोलाङपाटी र घ्याङफेदीको लेकमा बिश्वमै दुर्लभ रहेको रेडपाण्डाको बासस्थान रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा ८० भन्दा बढी रेडपाण्डा रहेको निकुञ्जले जनाएको छ । केही वर्षअघि गरिएको गणनामा ८० भन्दा बढी रेडपाण्डा रहेको तथ्याङ्क आएको थियो । निकुञ्जको चोलाङपाटी, घ्याङ्फेदी र टिम्बु क्षेत्रमा रेडपाण्डा रहेको बताइएको छ । वैज्ञानिक तरिकाले गणना गरेर रेडपाण्डाको एकिन तथ्याङ्क राख्नुपर्ने देखिएको सरोकारवालाहहरुले जनाएका छन् । सोही अवसरमा बैशाख १ देखि सुरु भएको २३ औं वन्यजन्तु सप्ताहको अवसरमा आठौँ जिल्लास्तरीय रेडपाण्डा ट्रफ्रि भलिबल प्रतियोगिता तथा छैटौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव पनि सञ्चालन गरिएको जानकारी दिएको छ ।