विद्यार्थीलाई नियमित गर्न मासिक २०० दिदैं जडभरत विद्यालय
काठमाडौं । बेनी नगरपालिका–९गलेश्वरस्थित जडभरत आधारभूत विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थीलाई टिकाइराख्न र बीचैमा छाड्ने दर घटाउन सहज भएको छ । विद्यालयले वार्षिक न्यूनतम एक सय ६० दिन हाजिर हुने विद्यार्थीलाई वार्षिक रु दुई हजार ४०० दिन थालेपछि विद्यार्थी नियमित भएका छन् । प्रतिविद्यार्थी मासिक रु दुई सयसहित पाठ्य साम्रगी उपलब्ध गराउन थालिएपछि बीचमा नै विद्यालय छाड्ने विद्याथी पनि ह्वात्तै घटेको शनिबार विद्यालयमा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । विद्यालयले आयोजना गरेको वार्षिक परीक्षाको नतिजा सार्वजनिक तथा नगद सुविधा हस्तान्तरण कार्यक्रममा वक्ताले सामुदायिक विद्यालयमा सुविधा थप गरी अंग्रेजी माध्यममा अध्ययनअध्यापन, शिक्षकलाई समयानुकूल तालीमका साथै विद्यार्थीलाई अनुशासन र आचरणमा सुधार आउने विभिन्न कार्यक्रम सञ्चालन गर्न सकेमा निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न सकिने बताएका थिए । विद्यालयमा मोना यूकेका उपाध्यक्ष खिम शेरचनको पहलमा रु २० लाखको अक्षय कोष स्थापना भएको छ । सोही कोषको ब्याजबाट विद्यार्थीलाई मासिक रु दुई सय प्रदान गरिएको हो । विद्यालयमा न्यून आय भएका मजदूरका छोराछोरी मात्र अध्ययन गर्छन् । रासस
डोनाल्ड ट्रम्पको टावरमा आगलागी १ जनाको मृत्यु ६ घाइते
काठमाडौं । अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पको न्युयोर्कमा रहेको ट्रम्प टावरमा आगलागी भएको छ । आगलागीबाट १ जनाको मृत्यु हुनुको साथै ६ जना घाइते भएको बिबिसीले जनाएको छ । राष्ट्रपति ट्रम्पको निजी कार्यलय समेत रहेको टावरमा आइतबार आगलागी भएको हो । आगलागी के कारणबाट भएको भन्ने खुल्न सकेको छैन । आगलागी भएको समयमा ट्रम्प परिवारको कुनैपनि सदस्य नरहेको बताइएको छ । आगलागीको थप विवरण आउन बाँकी रहेको छ ।
कुस्मा नगरपालिकाद्धारा वृद्धवृद्धालाई घरमै गएर वृद्धभत्ता वितरण
काठमाडौं । पर्वतको कुस्मा नगरपालिका– ७ ले तेस्रो पटक सामाजिक सुरक्षा भत्ता वडामा नै वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न वृद्धहरुलाई असहज भएपछि बैंकका कर्मचारीलाई गाउँमै बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । कुस्मा नगरपालिका–७ ले शुक्रबार तीन सय ७६ वृद्धवृद्धा, एकल महिलालाई वडा कार्यालयमा नै रु २० लाख भन्दा बढी सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । सदरमुकाम कुस्मामा रहेको बैंकमा पुगेर रकम लिन बुढाबुढीलाई कठिन हुने भएकाले गाउँमा नै बोलाएर रकम वितरण गरिएको वडा अध्यक्ष तेजप्रसाद उपाध्याले जानकारी दिए । कुस्मामा रहेको गण्डकी विकास बैंकको शाखा कार्यालयमा वृद्धवृद्धा र एकल महिलाको बैंक खाता खोलिएको छ । सबैको रकम बैंकमा जम्मा भएपछि गाउँमा चेक संकलन गरेर भुक्तानी दिइँदै आएको छ, भने कुस्मा र पोखरालगायतका शहरमा बस्नेले भने बैंकबाट नै रकम लिँदै आएका छन् । जनप्रतिनिधि आएपछि गाउँमा नै सेवा दिने उद्देश्यले अनुरोध गरेपछि गाउँमै पुगेर भत्ता वितरण गरिएको बैंकका शाखा प्रबन्धक केशव आचार्यले बताए । कुस्मा नगरपालिका–७ मा मात्रै चार सय ५० जना भन्दा बढी बैंक खातामा जम्मा भएको सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम झर्नुपर्ने भएपछि पर्वतमा जनप्रतिनिधिले घरघरमै वितरण गर्न थालेका छन् । सामाजिक सुरक्षाभत्ता लिन वृद्ध सदरमुमकाम झर्नुपर्ने बाध्यता हटाउन र जनप्रतिनिधि आएपछि जन उत्तरदायी बन्न पनि बैंकलाई गाउँमै बोलाएर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने अभियान नै चल्न थालेको छ । कुस्मा नगरपालिकाका–ं १४ ले पनि यसअघि सामाजिक सुरक्षाभत्ता गाउँमै वितरण गरेको थियो, भने पर्वतको फलेवास नगरपालिका, महाशिला गाउँपालिकाका सबै वडामा नै घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण हुँदैआएको छ । यसैबीच कुस्मा नगरपालिका–३ ले ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई सम्मान गरेको छ । वडा कार्यालयले ८० वर्ष काटेका ८० जना वृद्धवद्धालाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सो कार्यक्रममा गाउँमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेकामा गण्डकी विकास बैंकका कर्मचारीलाई पनि सम्मान गरिएको थियो । रासस