कतार एयरलाइन्सले काठमाडौंदेखि ग्रीसको थेसालोनिकीसम्म उडान भर्ने

काठमाडौं । कतार एयरलाइन्सले नेपाल देखि ग्रीसको थेसालोनिकीसम्म उडान भर्ने भएको छ । प्रत्येक महिना विभिन्न देशको नयाँ शहरहरुमा उडान भर्दै आएको एयरलाइन्सले यो महिना ग्रीसको थेसालोनिकीमा उडान भर्न लागेको हो । अब नेपालीहरुले ग्रीसको पर्यटकिय स्थल थेसालोनिकी जान कतारको दोहा ट्रान्जिट भएर सजिलै जान सक्नेछन् । नेपालीहरुको घुम्ने आनी बानीमा वृद्धि भएसँगै अन्य पर्यटकिय मुलुक जस्तै ग्रीस नेपालीका लागि रोजाइको गन्तव्य बन्ने एयरलाइन्सले विस्वास लिएको छ । एयरलाइन्सकाे अनुसार नेपालदेखि थेसालोनिकीसम्म १ जनाको ७ सय अमेरिकी डलर करिब ७२१०० नेपाली रुपैंया पर्नेछ । एयरलाइन्सले यसै साताबाट काठमाडौंदेखि थेसालोनिकीसम्मको उडान सुरु गर्ने तयारी गरेको छ ।  

भन्सार छलि ल्याइएको साढे नौ लाख बराबरको अवैध सामग्री बरामद

काठमाडौं । अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याइएको नौ लाख मूल्यबराबरको सामान पूर्वी इलामको सूर्योदय नगरपालिकाको तीनघरेबाट प्रहरीले बरामद गरेको छ । दुईवटा पिकअपमा सीमापारी भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइएको चाउचाउ, चिसो पेय पदार्थ, मदिराजन्य पदार्थलगायतका करिब साढे नौ लाख मूल्य बराबरको सामग्री तीनघरे प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले बरामद गरेको हो । प्रहरीले मे १ ज १६३१ र मे १ ज २९२८ नम्बरको पिकअप, भन्सार छलेर ल्याएको लाखौँ मूल्यको सामग्रीसहित पिकअपका चालकद्वय सूर्योदय नगरपालिका–२ का हुकुम तामाङ र सोही स्थानका पुरन स्याम्बोलाई पक्राउ गरेको हो । नियन्त्रणमा लिएको पिकअप र बरामद गरिएको सामान इलाका प्रहरी कार्यालय पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको नायव सुब्बा चेतनाथ खनालले जानकारी दिए । पिकअप चालकलाई भने प्रहरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । तस्करले पशुपतिनगरका सीमा नाकाबाट अवैध तरिकाले नेपालतर्फ भित्राएको उक्त सामग्रीहरू इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमसम्म पु¥याउँदै आएका छन् । रासस

केहीबेर झ्याप्प विद्युत जाँदैमा लोडसेडिङ गर्यो भन्ने नबुझ्नु- कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्ययका लगायत मुलुकभर घोषित/अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नु पर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ । औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत आपूर्ति भइरहेको जानकारी दिंदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प विद्युत जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्यो भनी बुझ्नु भएन ।’ शुख्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत प्रसारण तथा बितरण प्रणाली टिपिङ हुँदा विद्युत आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । विगतमा पनि यस्तो ट्रिपिङ भएता पनि त्यतिबेला लोडसेडिङ हुँदा उपभोक्ताले विद्युत आपूर्तिमा समस्या आएको थाहा नै पाउँदैन थिए । प्राधिकरणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको टिमलाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ । ‘सडक तथा खानेपानी पाइप विस्तारका कारण हाम्रा भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्र्ने लगायतका प्राविधिक कारणले त्यस आसपसमा क्षेत्रमा केही समय विद्युत कटौती भएको हुन सक्छ’ घिसिङले भने,‘यस्ता समस्या तत्काल समाधान गरी विद्युत आपूर्ति नियमित गर्न मन्त्रीबाट पनि निर्देशन भइसकेको छ, सोहीअनुसार काम गरिरहेका छौ ।’ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले केही दिन अघि विद्युत आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्यालाई छिट्टो र छरितोरुपमा समाधान गरी विद्युत आपूर्ति नियमित गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम भइरहेको बताए । ‘ओभरलोड भएका सब-स्टेसन मर्मत गर्दा विद्युत आपूर्ति कटौती गर्नु भएको हुन सक्छ’, उनले भने,‘मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील छ ।’