उम्मेदवारले दिए पत्रकारलाई चुनावलगत्तै ‘ठिक पार्ने’ धम्की, पत्रकार महासंघ सप्तरीद्वारा भत्सर्ना

राजविराज । समाचार लेखेको विषयलाई लिएर सप्तरीका एकजना उम्मेदवारले पत्रकारलाई धम्की दिएको पीडित पत्रकारले जनाएका छन् । वाम गठबन्धनबाट सप्तरी क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार सत्यनारायण मण्डलले स्थानीय पत्रकार राजकुमार पासवानलाई फोन गरी धम्की दिएको पीडित पत्रकार पासवानले राससलाई बताएका छन् । सप्तरीको कञ्चनपुरबाट प्रकाशित हुने कञ्चनरुप साप्ताहिक पत्रिकामा समाचार लेखेको विषयलाई लिएर मण्डलले आफूलाई फोनमार्फत धम्की दिएको पत्रकार पासवानको आरोप छ । एमालेका स्थायी समिति सदस्य एवं २ नम्बर प्रदेश संयोजकसमेत रहेका मण्डलले पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर चुनावलगत्तै ठीक पारिदिने भन्दै धम्की दिनुभयो’, पासवानले भने, “आफूले मण्डलसहित जिल्लाका सबै उम्मेदवारको विश्लेषण गरी समाचार लेखेकै कारण उहाँले धम्की दिनुभएको छ ।” मण्डलले कञ्चनरुप साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर आफ्नै पार्टीका बागी उम्मेदवार प्रकाश खतिवडाको प्रभावमा परेर समाचार लेखेको आरोप लगाउँदै धम्की दिएको पासवानको भनाइ छ । यद्यपि आफू कसैको प्रभावमा नपरी स्वच्छ तरिकाले समाचार लेखेको उनले भने । यसैबीच, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष जीतेन्द्र खड्गाले पत्रकार पासवानलाई समाचार लेखेको विषयमा धम्काउने र मानसिकरुपमा त्रास फैलाउने उम्मेदवार मण्डलको गलत कार्य भएको बताएका छन् । पत्रकार पासवानले धम्कीको विषयमा महासंघ सभापति खड्गालाई जानकारी गराएको बताउँदै सभापति खड्गाले कानूनी प्रावधान हुँदाहुँदै पनि उम्मेदवार मण्डलले धम्काउने विषय अत्यन्त निन्दनीय भएको राससलाई बताए । यस सम्बन्धमा उम्मेदवार मण्डलसँग राससले सम्पर्क गर्दा टेलिफोन सम्पर्क हुन सकेन । रासस

१ करोड २२ लाख जनाले मतदान गर्दै, निर्वाचन आयुक्तले कहाँ गरे मतदान ?

काठमाडौं । बिहीबार देशका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य आज बिहान ७ बाटै सुचारु भएको छ । आजको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्नेछन् । प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान हुँदैछ । निर्वाचन आयोगका निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिका वडा नं. १०, कुमारीस्थान नर्सिङ अस्पताल मतदान केन्द्र, निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले ललितपुर महानगरपालिका वडा नं. २, टीका विद्याश्रम मा.वि., सानेपा मतदान केन्द्रबाट र  निर्वाचन आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिका वडा नं. ४, धुमबाराही मा.वि., धुमबाराही मतदान केन्द्रबाट मतदान गरेका  छन् । यसैगरी, आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले टोखा नगरपालिका वडा नं. ८ स्थित भुवनेश्वर मन्दिर, गौरीगाउँ मतदान केन्द्रबाट मतदान गरेका छन् । अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदाताले मतदान केन्द्रमा जाँदा मोबाइल, लाइटर तथा अन्य सामानहरू मतदान केन्द्रभित्र लैजान नपाइने व्यवस्थासमेत रहेको छ ।

भोलि २१ गते नगरवासीलेनै फोहोर व्यवस्थापन गर्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन सबै महानगरवासीलाई घरबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्न आग्रह गरेको छ । निर्वाचनमा सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको र कर्मचारीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने व्यवहारिक पक्षलाई ध्यानमा राखी उक्त निर्णय गरेको कामपाका सह–प्रवक्ता नवराज ढकालले जानकारी दिए । फोहोर बाक्ने गाडी सञ्चालनका लागि अनुमति भए पनि टाढा रहेका कर्मचारी आउनका लागि समस्या हुने भएकाले नियमितजसो फोहोर संकलन गर्न नसकिने कामपाले जनाएको छ । केही कर्मचारीलाई आउन सहज भए पनि सबै कर्मचारी आउन नसक्ने भएकाले सबै ठाउँको फोहोर संकलन हुन नसक्ने जनाइएको छ । नगरवासीले जथाभावी फोहोर फाल्दा मतदातालाई समेत समस्या हुने भएकाले उक्त दिन फोहोर व्यवस्थापन गर्न कामनपाले आग्रह गरेको हो । हरेक दिन कामपाबाट पाँच सय टन फोहोर संकलन हुनेगरेको छ । उक्त दिन निस्कने सबै फोहोर व्यवस्थापनका लागि कामपाले भोलिपल्टै कर्मचारी खटाउने पनि वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरले बताएका छन् । रासस