ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैकिङ्ग सेवा बैतडी र बझाङ्मा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप २ शाखारहित बैकिङ्ग सेवा बैतडी र बझाङ्मा सञ्चालनमा ल्याएको छ । बैंकले गत मंसिर १२ गते बैतडीको ठाटामा र १३ गते बझाङ्गको बित्थडमा क्रमशः ५१ औँ र ५२ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो । बैतडीको ठाटामा सुरु गरिएको सेवाको लागि स्थानिय अर्जुनबहादुर कुवँरलाई र बझाङ्को बित्थडमा सुरु गरिएको सेवाको स्थानिय नरबहादुर बोहरालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । यस बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकको १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५२ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

८ दिन लगातार शैक्षिक संस्थाहरु बिदा, वर्षभरीमा ५५ प्रतिशत समय छुट्टी

काठमाडौं । शुक्रबारदेखि आठ दिनसम्म लागि देशभरका शैक्षिक संस्थाहरु बिदा हुनेभएको छ । सरकारले आवश्यकताभन्दा बढी बिदा दिएकाले शैक्षिक गुणस्तरमा ह्रास आउने देखिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले जनाएको छ । प्याब्सनका उप महासचिव राजेन्द्र बानियाँका अनुसार अनावश्यक बिदाका कारण यो वर्ष शैक्षिक सत्रको मापदण्डअनुरुप कोटा नपुग्ने देखिएको छ । उनका अनुसार वर्षभरीमा करिब ५५ प्रतिशत समय विद्यार्थीको समय बिदामा बस्ने देखिएको छ । उनले यसपाली १ सय ७० दिन पनि शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताए । सरकारको शैक्षिक सत्र योजना अनुसार वर्षमा १९२ दिन कक्षा सञ्चालन गर्नुपर्ने र २२० दिन शैक्षिक संस्था खोल्नुपर्ने उल्लेख छ । शुक्रबार सरकारले ईस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैह वोसल्लमको जन्मदिनको (बाह्र रव्विउल) को अवसरमा भोली मंसिर १५ गते शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । १६ गते शनिबार परेको छ भने आइतबार किरात धर्मावलम्बीहरुको चाडपर्व उधौली पर्व रहेको छ । त्यस्तै १८ गतेदेखि २२ गतेसम्म गृह मन्त्रालयले निर्वाचनका लागि बिदा दिने घोषणा गरिसकेको छ । लामो समयको सार्वजनिक बिदाको नकारात्मक प्रभाव आगामी एसईई परीक्षामा पनि देखिने बानियाँले बताए । उनले भने, ‘विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने समयमा यत्रो लामो बिदा दिदाँ परिणाम नराम्रो भोग्नुपर्ने निश्चित नै छ ।’ यो वर्ष  माओवादी द्वन्द्वकालपछिको सबैभन्दा बढी बिदा हुने वर्ष भएको बानियाँको दाबी छ । उनले भने, ‘यो वर्ष सबैभन्दा खराब शैक्षिक सत्रको रुपमा देखापरेको छ ।’ सरकारले निर्वाचनका नाममा अनावश्यक बिदा दिएको भन्दै उनले चुनावमा दिने बिदाको भत्सर्ना गरेका छन् । निर्वाचनका लागि विद्यालयलाई मतदान स्थलको रुपमा प्रयोग गर्नु गलत रहेको उनले बताए ।  ‘दशैंतिहारको लामो बिदासँगै यसपाली निर्वाचनको पनि छुट्टै बिदा थपिएको छ । संसारमा काँहीपनि विद्यालयलाई निर्वाचन मतदानस्थलको रुपमा प्रयोग गर्ने चलन छैन,’ उनले भने ।

अझै खुलेन अदुवा निर्यात, झापाबाहेकका अन्य नाकामा अवरोध कायमै

काठमाडौं । भारतसँगको सीमा नाकामा अदुवा निर्यात गर्नदिने भनी भारतको केन्द्रिय सरकारले आश्वासन दिएको एकमहिनासम्म समस्याले अझै निकास पाएको छैन । झापाको मेची नाकामा काँचो अदुवाको भारत निकासी खुलेपनि अरु नाकामा अवरोध कायमै रहेको वाणिज्य मन्त्रालयले जनाएको छ । काँकडभिट्टाको मेची नाकामा अदुवा निकासीमा भारतीय पक्षले अवरोध गरेपछि नेपाली पक्षले सिलिगुडीस्थित राजस्व विभागका अधिकारीसँग वार्ता गर्‍यो । नेपाल-भारत वाणिज्य सन्धि अनुसार निर्वाधरुपमा जानुपर्ने आधार देखाएपछि उनीहरु अदुवा निकासीका लागि सहमत भएका थिए । त्यस्तै भारतीय पक्षले केन्द्रिय सरकारमार्फत उक्त विषयमा अन्य नाकाहरुमा पनि जानकारी गराउने प्रतिबद्धता देखाएको थियो । यद्यपी प्रतिबद्धता अनुसार अवरोध नखुलेको मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले जानकारी दिए । उनका अनुसार झापाबाहेक अन्य नाकामा अदुवाको निर्यात खुलेको छैन । नेपाल-भारतबीच सन् २००९ मा भएको वाणिज्य सन्धिअनुसार काँचो अदुवा आयातलाई भारतले ‘प्रतिबन्धित’ सूचीमा सूचीकृत गरेको छ । सन्धीमा काँचो अदुवालाई प्रतिबन्धित सूचीमा सूचीकृत गरिए पनि नेपालको हकमा त्यो व्यवस्था लागू नहुने उल्लेख छ। प्रयास अन्य नाकामा अदुवा निकासी सम्बन्धी अवरोध फुकाउन मन्त्रालयका सहसचिव रविशंकर सैंजू भारत गएका छन् । भारतको केन्द्रिय सरकारले भन्सार नाकाहरुमा  मन्त्रालयका सूचना अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनले भने, ‘हामीले तारन्तार परराष्ट्र मन्त्रालय मार्फत भारतसँग अन्य नाकामा पनि अदुवाको निकासी सहज गराउन कुटनीतिक पहल गरिरहेका छौं । केन्द्रिय सरकारले झापापछि अन्य नाकामा जानकारी नदिदा समस्या कायम रहेको हो ।’ भारतीय पक्षले अदुवा, अम्लिसो तथा कृषिजन्य उत्पादनलाई बारम्बार अवरोध गर्दा किसान र व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ । नेपाल–भारत वाणिज्य सन्धिमा अदुवालगायतका कृषि उपजहरू निर्वाध निकासी गर्न पाउने प्रावधान छ । तर, भारतीय पक्षले विभिन्न बाहानामा बेलाबेलामा सन्धि उल्लंघन गर्दै अवरोध गर्दै आएको छ ।