संसदमा कुनै पनि दलको बहुमत नपुग्ने, दुई तिहाइ र बहुमतको कीर्तिमान काँग्रेसमा सीमित
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामले केन्द्रीय संसद् प्रतिनिधिसभामा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने देखाएको छ । नेपालको संविधानअनुसार गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कूल २७५ सदस्यीय प्रतिनिधिसभाका लागि निर्वाचन भएको थियो । निर्वाचन अयोगको तथ्यांकअनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणाली तर्फको मत परिणाम हेर्दा कुनै पनि दलको स्पष्ट बहुमत नपुग्ने देखिएको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको कूल १६५ निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले) ८०, नेकपा (माओवादी केन्द्र) ३६, नेपाली काँग्रेस २३, राष्ट्रिय जनता पार्टी नेपाल ११ र संघीय समाजवादी फोरम नेपाल १०, नयाँ शक्ति पार्टी नेपाल एक, नेपाल मजदुर किसान पार्टी एक, राष्ट्रिय जनमोर्चा एक र राष्ट्रिय प्रजातन्त्र पार्टी एक तथा स्वतन्त्रले एक स्थानमा विजयी भएका छन् । ती राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेका मतका आधारमा एमालेले ४१, नेकाले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ/छ सिट पाउने प्रारम्भिक मत परिणामले देखाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगले शिघ्र समानुपातिकतर्फको मत परिणामका आधारमा दलले प्राप्त गर्ने सिट सङ्ख्या बाडफाँड गरी सार्वजनिक गर्ने जानकारी दिए। दुवै प्रणालीतर्फका परिणामअनुसार प्रतिनिधिसभामा एमाले १२१ सिटसहित सबैभन्दा ठूलो दल बन्नेछ । नेका ६३ सिटसहित दोस्रो ठूलो दल बन्नेछ । त्यस्तै माओवादी केन्द्रले ५३, राजपा नेपालले १७ र संघीय समाजवादी फोरमले १६ सिट प्राप्त गर्ने देखिएको छ । संविधानअनुसार कूल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सदस्य सङ्ख्या आवश्यक पर्छ । प्रतिनिधिसभामा तीमध्ये १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन भएको थियो । कुनै एक दलको बहुमत नभएका कारण अब सरकार गठन गर्न कम्तीमा दुई दलको गठबन्धन आवश्यक पर्नेछ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अपनाइएको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै एक दललाई दुईतिहाइ र बहुमत प्राप्त गर्न गाह्रो हुने राजनीतिक विश्लेषकको भनाइ छ । संवैधानिक कानूनका ज्ञाता डा भीमार्जुन आचार्य कुनै एकदलको बहुमत नआउनुलाई समानुपातिक निर्वाचन प्रणालीसँगै निर्वाचनमा गठबन्धन हुनु मुख्य कारकतत्व देख्छन् । उनी भन्छन्, “कुनै एक दलको बहुमत नआएसम्म संविधानअनुसार राजनीतिक स्थायित्वको सम्भावना छैन ।” निर्वाचनमा प्रत्यक्षतर्फ एमाले बहुमतको नजिक पुगे पनि समानुपातिक प्रणालीतर्फको मत परिणामले बहुमत प्राप्त गर्न सकेन । विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पनि तत्कालीन माओवादी पार्टीले प्रत्यक्षतर्फ झण्डै बहुमत ल्याए पनि समानुपातिकतर्फ भने बहुमत पुग्न सकेन । दुईतिहाइ र बहुमतको कीर्तिमान नेकामा सीमित विस २०१५ देखि हालसम्म मुलुकमा सात आमनिर्वाचन सम्पन्न भए तर ती सबै निर्वाचनमा नेकाबाहेक कुनै पनि दलले दुई तिहाइ र बहुमत प्राप्त गर्न सकेका छैनन् । नेपालमा निर्वाचनको इतिहास हेर्ने हो भने २००७ सालमा प्रजातन्त्रको स्थापनापछि बालिग मताधिकारका आधारमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते पहिलो संसदीय निर्वाचन भएको थियो । कूल १०९ निर्वाचन क्षेत्रमा भएको चुनावमा नेकाले ७४ स्थानमा विजयी भई दुईतिहाइ बहुमत प्राप्त गरेको थियो । त्यस्तै नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले १९, संयुक्त प्रजातन्त्र पार्टी नेपालले पाँच, नेपाल कम्युनिष्ट पार्टीले चार, नेपाल प्रजापरिषद् (घन कोदालो) ले दुई, नेपाल प्रजा परिषद् (हलो) ले एक र स्वतन्त्रले चार स्थानमा विजय हासिल गरेका थिए । विसं २०४६ चैत २६ गते प्रजातन्त्रको पुनःस्थापनापछि २०४८ सालमा प्रतिनिधिसभा निर्वाचन भयो । २०५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसले ११० स्थानमा विजय हासिल गरी बहुमत प्राप्त गर्यो । त्यस्तै एमाले ६९, संयुक्त जनमोर्चा नेपाल नौ, नेपाल सद्भावना पार्टी छ, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) तीन, नेपाल मजदुर किसान पार्टी दुई, नेकपा (प्रजातन्त्रवादी) दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) एक र स्वतन्त्रले तीन स्थानमा विजय हासिल गरेका थिए । नेकाको बहुमतको सरकारले विसं २०५१ मा मध्यावधि निर्वाचनको घोषणा गर्यो । कूल २०५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन सकेनन् । एमाले ८८ स्थानमा जितेर संसद्मा ठूलो दल बन्यो भने नेपाली काँग्रेस ८३, राष्ट्रिय प्रजातन्त्र पार्टी २०, नेपाल मजदुर किसान पार्टी चार, नेपाल सद्भावना पार्टी तीन र स्वतन्त्र सात स्थानमा विजयी भएका थिए । विसं २०५६ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा नेकाले १११ स्थानमा विजय हासिल गरी पुनः बहुमत ल्यायो । सो निर्वाचनमा एमाले ७१, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, नेपाल सद्भावना पार्टी पाँच, राष्ट्रिय जनमोर्चा पाँच, संयुक्त जनमोर्चा नेपाल एक, नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएका थिए । विसं २०६२÷०६३ को जनआन्दोलनको सफलतासँगै मुलुकमा पहिलोपटक २०६४ साल चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो । यसै निर्वाचनदेखि नेपालमा प्रत्यक्षसँगै समानुपातिक निर्वाचन प्रणाली अपनाइएको हो । सशस्त्र संघर्ष गरेर आएको माओवादीले निर्वाचनमा प्रत्यक्षतर्फ झण्डै बहुमत ल्याएको थियो । तर समानुपातिकतर्फको मत परिणामपछि भने कुनै पनि दलको बहुमत पुगेन । कूल ६०१ सदस्यीय संविधानसभामा २३८ स्थानमा विजय हासिल गरेर माओवादी सबैभन्दा ठूलो दल बनेको थियोे । पहिलो संविधानसभा संविधान जारी गर्न नसकी विघटन हुन पुग्यो । त्यसपछि मुलुकमा पुनः २०७० मंसिर ४ गते दोस्रोपटक संविधानसभाको निर्वाचन भयो । ६०१ सदस्यीय संविधानसभामा नेपाली काँग्रेसले २०७ स्थान हासिल गरी सबैभन्दा ठूलो दल बन्यो । तर यस निर्वाचनमा पनि कसैले बहुमत ल्याउन सकेनन् । परिणामस्वरुप मुलुकमा राजनीतिक अस्थिरता र अल्पायुमै सरकार परिवर्तन गर्ने प्रवृत्ति मौलाउँदै गएको थियो । नयाँ संविधानले यस प्रवृत्तिलाई केही नियन्त्रण गरेकाले अगामी दिनमा मुलुकमा राजनीतिक स्थिरता कायम हुनेमा आशा गर्न सकिन्छ । रासस
पर्यटकीयस्थल विकासका लागि फेसबुकबाट एक लाख संकलन
बैतडी । पत्ताल भुमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् । रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा संवद्र्धनका लागि सामाजिक सञ्जालमार्फत रु एक लाख बढी रकम संकलन गरेका छन् । सुर्नया गाउँपालिका-२ मा रहेको नेपालकैै गहिरो पत्तालभुमेश्वर गुफा रहेको तथा धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रचारप्रसारका लागि मलेसिया, कतार तथा भारतमा रहेका युवाले गत मंसिर १५ गतेदेखि पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाइन अभियान नाम दिएर उक्त रकम संकलन गरेका हुन् । उक्त अभियानका सह-कोषाध्यक्ष वीरबहादुर विष्टका अनुसार हालसम्म एक लाख एक हजार ६१७ रुपैयाँ संकलन भएको छ । उक्त संकलित रकमले पत्ताल भुमेश्वरको प्रवेशद्वारमा मूलगेट र अन्य भौतिक विकासका लागि खर्च गरिने बताइएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलको सम्बन्धित निकायले संरक्षण, विकास, प्रवद्र्धन तथा प्रचारप्रसार गर्न स्थानीय तह तथा सम्बन्धित निकायले खासै पहल नगर्दा प्रवासमा रहेका युवा एकजुट भएका हुन् । बैतडीको सुर्नया गाउँपालिका घर भई हाल मलेसियामा कार्यरत तीलक पाण्डेले रु १० हजार, भारतमा रहेका निशान्त विष्ट र विनोद विष्टले जनही रु आठ/आठ हजार रुपैयाँ , मलेसियमा रहेका पूर्णबहादुर विष्टले छ हजार २८० रुपैयाँ सहयोग गरेका छन् । यस्तै, सुर्नया घर भई हाल मलेसिया रहेका महेश पाण्डेले छ हजार २५० रुपैयाँ, तिलक चन्दले छ हजार १५१ रुपैयाँ, मानबहादुर विष्ट पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । रासस
कवाडका सामान टिप्नेभन्दै चोरी गर्ने ‘चल्ला ग्याङ’ पक्राउ
काठमाडौं । उपत्यकामा कवाडका सामानहरु संकलन गर्ने बहानामा घरमा कोही नभएको मौकामा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । घरका ढोका तथा झ्याल फोडेर नगद, सुनचाँदीका गरगहना, बिभिन्न मोवाईल र अन्य ईलोक्ट्रोनिक्स सामानहरु चोरी गर्ने कार्यमा संलग्न चल्ला भन्ने समूहका ७ जनालाई चोरीका सामान सहित महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट बिभिन्न ब्राण्डका मोवाईल ४ थान, बिभिन्न कम्पनीका घडी ३ थान र चोरी कार्य गर्दा प्रयोग गर्ने फलामको रड १ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा कवाडीका सामान संकलन गरी काठमाडौं महागरपालिका–९ तिलगंगा बस्नेहरु भारत बिहार समस्तीपुरका २६ वर्षीय दिनेश पोदार, समस्तीपुरकै १८ वर्षीय केतुल पोदार, समस्तीपुरकै १९ वर्षीय चन्तन पोदार, भारत मोतिहारी मजंफपुरका १८ वर्षीय मुकेशकुमार पोदार, भारत बिहार हाजिपुरका १८ वर्षीय सुरज पोदार, हाजीपुरकै १८ वर्षीय बिकास पोदार र पशुपतिमा दाउराको काम गर्ने बाराको निजगढ नगरपालिका–९ का ३१ वर्षीय राजकुमार अधिकारी रहेका छन् । अभियुक्तहरुमध्ये मुकेशकुमार २०७३ बैशाख ८ गते चोरी मुद्धामा ९३ हजार रुपैयाँ धरौटीमा तथा निज राजकुमार ३ वर्षअघि केही सार्वजनिक मुद्धामा ३ हजार रुपैयाँ धरौटीमा जेलबाट छुटेका व्यक्तिहरु भएको खुल्न आएको छ । भारतमा चोरी गर्ने समूह बनाई नेपाल आउने र गौशाला, तिलगंगा, बानेश्वर, सिनामंगलका सुकुम्बासी बस्तीमा लुकीछिपी बस्ने, कवाडी टिप्ने बहानामा चोरी गर्ने घरको जानकारी लिने, घरमा कोही नभएको मौका पारी ढोका फोडेर प्रबेश गर्ने, कवाड टिप्ने बोरामा फलामको रड लिई जाने, बाहिर एकजनाले निगरानी गर्ने तथा अन्यले घरभित्र चोरी गर्ने, तत्काल भारततर्फ फरार हुने, चोरीको पैसाबाट जाँडरक्सी खाने तथा भारतमा जग्गा जमिन किनेर घर बनाउने, चोरीका सामानहरु भारतीय बजारमा बिक्री समेत गर्ने गरेको र उनीहरू १०/१२ बर्षकै उमेरदेखि चोरी कार्यमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको सो महाशाखाले जनाएको छ । अभियुक्तहरुलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र उनीहरुका सम्बन्धमा अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरी महाशाखाले जनाएको छ ।