धर्म राजनीतिमा पूर्वराजा ज्ञानेन्द्र, निषेधको राजनीतिले विद्रोह जन्मने पूर्वराजाको चेनावनी
काठमाडौं ५, कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह धर्मको राजनीतिमा सक्रिय बनेका छन् । आफैँले संरक्षण दिएको विश्व हिन्दू महासंघले आयोजना गरेको विराट् हिन्दू सम्मेलनको उनले बिहीबार वनकालीमा उद्घाटन गरे । तीन दिनसम्म चल्ने सम्मेलनको मुख्य उद्देश्य पूर्वराजा ज्ञानेन्द्रलाई हिन्दू सम्राट र नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने छ । सम्मेलनको उद्घाटन गर्दै पूर्वराजा ज्ञानेन्द्रले निषेधको राजनीतिले विद्रोह जन्माउने चेतावनी दिए । सबै मिलेर अगाडि बढे दिगो शान्ति, स्थिरता र स्वाभिमानको रक्षा हुने उनले बताए । ‘दर्शनले हामीलाई सधैँ अघि बढ्न निर्देशित गर्छ,’ पशुपतिको वनकालीमा बिहीबार तेस्रो अन्तर्राष्ट्रिय विराट हिन्दू सम्मेलन उद्घाटन गर्दै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘तर, व्यवहारमा निषेधको राजनीति अघि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउँछ । असन्तुलनले उपेक्षा जन्माउँछ र उपेक्षितहरूमा विद्रोह जन्मिन सक्छ ।’शुक्रबारको नयाँ पत्रिकामा समाचार छापिएको छ । सम्मेलनको धर्मसभा बिहीबारदेखि शनिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको छ । धर्मसभामा सहभागी शंकराचार्यहरूले हिन्दू धर्मको महत्व र संरक्षणसँग सम्बन्धित विभिन्न विषयका कार्यपत्रहरू प्रस्तुत गर्नेछन् । विश्व हिन्दू महासंघकी सचिव अस्मिता भण्डारीका अनुसार शंकराचार्यहरूले नेपाललाई हिन्दूराष्ट्र र पूर्वराजा ज्ञानेन्द्रलाई हिन्दू सम्राट् घोषणा गर्नुपर्ने आवश्यकतालगायतका विषयमा केन्द्रित रहेर कार्यपत्रहरू राख्ने र त्यसमा छलफल हुनेछ । ‘सम्मेलनबाट नेपाललाई हिन्दूराज्य र पूर्वराजालाई हिन्दू सम्राट् घोषणा गरिनेछ,’ भण्डारीले भनिन् । विश्वभरका हिन्दूहरूको प्रतीकका रूपमा नेपाललाई हिन्दूराष्ट्र र पूर्वराजा ज्ञानेन्द्रलाई हिन्दू सम्राट्को घोषणापत्र पारित गरिएपछि राजसंस्था भएका मुलुकमा ऐक्यबद्धताका लागि ज्ञापनपत्र पठाउने तयारी गरिएको छ ।
निर्माण सम्पन्न नहुँदै भत्कन थाल्यो सडक, ठेकेदारले कमसल सामानको प्रयोग गर्दा सडक निर्माण कमजोर
काठमाडौं ५, कात्तिक । कन्ति लोकपथअन्तर्गतको लेले टिकाभैरव–भट्टेडाडा सडक खण्ड निर्माण सम्पन्न नहुदै भत्कन थालेको छ । पीआर निर्माण सेवाले निर्माण गरेको सडकको लप्से खण्डमा भत्कन थालेको हो । ‘ठेकेदारले सडक निर्माणकोक्रममा कमसल सामानको प्रयोग गरेको स्पष्ट देखिन्छ,’ उनले भने, ‘आवश्यक छानविन गरि दोषीलाई कारबाही गर्नुपर्यो ।’शुक्रबारको आजको कान्तिपुरमा समाचार छापिएको छ । उनका अनुसार उक्त बाटो भएर विद्यालय जाने बालबालिकासमेत मर्कामा परेका छन् । कान्ति लोकपथ सडक योजना प्रमुख दिपक केसीले मर्मतका लागि ठेकेदार कम्पनीलाई पत्र पठाइसकिएको बताए । ‘ठेकेदारले बर्खाको पानीको भेलले गर्दा भत्किएको भनी स्पष्टिकरण दिएको छ,’ उनले भने, ‘दसै र तिहारका बीचमा कामदार नपाएकाले काम रोकिएको हो ।’ उनले बर्खाका कारण निर्माणाधीन सडक भत्कनु सामान्य भएको बताए । ‘भट्टेडाडामा पनि भएको थियो,’ उनले भने, ‘त्यहाँ मर्मत भइसकेको छ ।’हेटौडालाई काठमाडौं जोड्ने छोटो, भरपर्दो वैकल्पिक लोकमार्गमा गत आर्थिक वर्षभित्र मालवाहक सवारी साधान गुड्न सक्ने गरि स्तरोन्नती गरिसक्ने सरकारी योजना थियो । तर मिनीबस पनि सञ्चालन हुन गाह्रो छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार अलपत्र, सम्पन्न हुनुपर्ने समयमा १६ प्रतिशत मात्रै काम
काठमाडौं ५, कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना सम्पन्न हुनुपर्ने समयमा करिब १६ प्रतिशत काम मात्र भएको छ । स्पेनिस निर्माण कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले ठेक्का पाएको यस आयोजनाको पहिलो चरणको काम मार्च २०१६ मा नै सम्पन्न भइसक्नुपर्ने थियो । आयोजनाको काम मार्च ०१३ मा सुरु भएको थियो । तर, अहिले ठेकेदारले काम रोकेको छ, आयोजना अलपत्र अवस्थामा छ । ‘आयोजनास्थलमा कहिलेकाहीँ एक–दुईजना मानिस आएर काम गरेजस्तो देखिन्छ,’ त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘तर, कामले गति लिएको पाइँदैन । आयोजनाका लागि करिब २० लाख घनमिटर माटो बाहिरबाट ल्याउनुपर्ने हुन्छ । त्यसमध्ये हालसम्म चार लाख घनमिटर मात्र माटो ल्याइएको छ । ठेकेदार कम्पनीले पशुपति क्षेत्र विकास कोषको जग्गाबाट माटो ल्याएर काम गरिरहेको थियो । तर, उक्त माटोको ठेक्का दिने क्रममा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि माटो ल्याउने काम अवरुद्ध भएको थियो । त्यसपछि भूकम्प, नाकाबन्दीजस्ता घटनाले काममा अवरोध गरेको थियो । पशुपति क्षेत्र विकास कोष भने अब आयोजनालाई माटो नदिने निष्कर्षमा पुगेको छ । ठेकेदार कम्पनीले पशुपतिकै माटो नपाए आयोजना कार्यान्वयन गर्न नसक्नेसमेत बताएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । निर्माण कम्पनीले समयमै आयोजना कार्यान्वयन गर्न नसकेपछि उसको कार्यशैलीप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण तथा लगानीकर्ता एसियाली विकास बैंकसमेत सन्तुष्ट छैनन् । तर, काम नगर्ने ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामा जानसमेत यी निकाय हच्किरहेका छन् । ‘ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा समय र लागत दोब्बर हुन्छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘अर्कोतर्फ प्रक्रिया पूरा नगरी हतारमा निर्णय गर्दा पछि कानुनी झमेलामा फस्न सक्ने डर छ ।’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार ठेकेदार कम्पनीले प्राधिकरणबाट माग गरिएबमोजिम स्पष्टीकरण दिएको छ । कम्पनीसँगको ठेक्का सम्झौताको अवधि भने अक्टोबरसम्म छ । त्यसपछि मात्र ठेक्काले निरन्तरता पाउने या रद्द हुने भन्ने सम्बन्धमा निर्णय हुने क्यानका अधिकारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकबाट ।