उपत्यकाको सडक विस्तारमा जनप्रतिनिधिको सहयोग मागिँदै, १५० किलोमिटर सडकमा डोजर चलाउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाको सडक विस्तारमा व्यापक अवरोधको सामना गरिरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जन निर्वाचित प्रतिनिधीहरुसँग सहयोग माग्न लागेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका नव निर्वाचित जन प्रतिनिधीहरुलाई एकै ठाउँमा भेला गरेर सडक विस्तारमा सघाउन आग्रह गर्न लागेको हो । ‘सोमबार तीनै जिल्लाका जनप्रतिनिधीसँग सडक विस्तार बारे व्यापक छलफल गर्दैछौं, सडक विस्तारमा स्थानीय बासिन्दाको अवरोध चिर्न सहज हुने अपेक्षा छ’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले भने । उनले सडक विस्तारमा स्थानीय जनतादेखि अदालतसम्मको असहयोग रहेको बताउँदै जन प्रतिनिधीले आधुनिक, सुबिधा सम्पन्न र व्यवस्थित शहर निर्माणको अभियानमा सघाउने अपेक्षा पनि व्यक्त गरे । ‘उपत्यकाको अव्यवस्थित सडक र भौतिक पुर्वाधारलाई व्यवयस्थित बनाउने हाम्रो अभियानमा जन प्रतिनिधीले सघाउने आसा छ, उहाँहरुले शहर बनाउनै आउनु भएको हो र हामीले पनि त्यहि काम नै गर्दै आएका छौं’, तिवारीले भने । त्रिपुरेश्वर देखि कलंकी हुँदै नाग ढुंगा सडकमा सर्वाेच्च अदालतले काम रोकि दिएको छ । त्यस्तै, पुर्व मन्त्री तथा सांसदहरुले समेत सडक विस्तारमा अवरोध गर्दै आएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ का सांसद नरहरी आचार्य र काठमाडौं क्षेत्र नम्बर ८ र ९ का सांसद नविन्द्र राज जोशी तथा ध्यानगोविन्द रञ्जितले सडक विस्तारका विरुद्ध जुलुस नै निकालेको पनि उनले बताए । १५० किलो मिटर डोजर चलाउन अझै बाँकी विकास आयुक्त तिवारीले काठमाडौं उपत्यकामा अझै १५० किलोमिटर सडकमा डोजर चलाउन बाँकी नै रहेको पनि जानकारी दिए । ‘१५० किलोमिटर सडक विस्तार गर्न बाँकी छ, हामीले तालिका नै बनाएर धमाधम भत्काउन लागेका छौं’, तिवारीले भने ।

बीमा नगरी गुड्छन् संसदका ९६ वटा गाडी र ६६ वटा मोटरसाइकल

काठमाडौं । मुलुकको नीति निर्माण गर्ने मुख्य निकायका रुपमा रहेको संसद सचिवालयले ४ महिनासम्म आफूले प्रयाेग गर्ने सवारी साधनको बीमा नगरी सवारी चलाएको पाइएको छ । सभामुख, पूर्वसभामुखदखि संसदको विभिन्न समितिका सभापति तथा सचिवालयका उच्चपदाधिकारी चढ्ने सवारी साधनको चार महिनासम्म बीमा नगरी सवारी साधन चलाएको छ । संसद सचिवालयका चालकहरुले आन्दोलन गरेपछि मात्रै सचिवालयले सवारी साधनको बीमा प्रक्रिया सुरु गरेको छ । संसद सचिवालय अन्तर्गत रहेका ९६ वटा गाडी र ६६ वटा मोटरसाइकल बीमा नै नगरी गुडेको पत्ता लागेकाे हाे । यी सवारी चालकले विरोध गर्दै सवारी नचलाउने धम्की दिएका कारण सचिवालयले ती सबै सवारी साधनको बीमा गराएको थियो । नेपाल समाचारपत्रबाट ।

आर्थिक वर्ष सकिन १ महिना बाँकी, बजेट खर्च भने आधा बाँकी मात्रै

काठमाडौं । चालू आर्थिक बर्ष सहिन एक महिना पनि बाँकी छैन । तर सरकारले आधाभन्दा केही बढीमात्र बजेट खर्चन सकेको छ । खर्च गर्ने क्षमतामा ह्रास आएका कारण सरकारले जेठ मसान्तसम्ममा कुल विनियोजित बजेटको ५७.६४ प्रतिशतमात्र खर्च गरेको महालेखा नियन्त्रक कार्यालय (मलेनिका) ले जनाएको छ । जेठ मसान्तसम्म ६ खर्ब ४ अर्ब ६४ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक बर्षमा सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको थियो । ११ महिनामा पुँजीगत खर्च सबैभन्दा कम भएको छ । यस अवधिमा पुँजीगत खर्च विनियोजित बजेटको ३८.५४ प्रतिशतमात्रै खर्च भएको छ । चालू वर्ष पुँजीगत खर्चका लागि ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख रुर्पयाँ बजेट विनियोजन भएको छ । यसमा १ खर्ब २० अर्ब २१ करोड ९८ लाख रुपैयाँमात्रै खर्च भएको छ । कारोबार दैनिकबाट ।