संविधान संशोधन विधेयक दर्ता गर्नुपर्नाका कारण देखाउन सर्वोच्चको आदेश
काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतले संविधानको भावना विपरीत हुने गरी प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संविधान संशोधन विधेयक ल्याउनु पर्नाका कारण बारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले बिहीबार नेपालको संविधानको भावना विपरीत संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्नुपर्नाका कारणको पुस ५ गते लिखित जवाफ माग गरेको हो । पूर्व सांसद मञ्च, नेपालका तर्फबाट विष्णुबहादुर राउत, झलकनाथ वाग्ले, शङ्करनाथ शर्मा अधिकारी, ब्रह्मनारायण चौधरी, शारदा पोखरेल पाँचजनाले यही मङ्सिर १६ गते प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक नेपालको संविधानको भावना विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गरेका थिए । रित निवेदनमा प्रदेश सिमाना र सङ्ख्या हेरफेर तथा घटबढ गर्ने संवैधानिक अधिकार केवल निर्वाचित सङ्घीय संसद् तथा प्रदेश सभाहरूलाई मात्र भएको उल्लेख थियो । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव नेपालका संविधानको भावना र मनसाय विपरीत रहेको भन्दै सो संशोधन प्रस्तावलाई पारित नगर्न नगराउने भनी रिट निवेदनमा माग गरिएको थियो । बिहीबारको आदेशमा सरकारले लिखित जवाफ पेस गरेपछि अन्तरिम दिने वा नदिने बारेमा पनि सोही दिन छलफल हुने उल्लेख छ । रासस
खराब मौसमका कारण भारतमा आठ सय पर्यटक अलपत्र
नयाँ दिल्ली, २३ मंसिर । अत्याधिक खराब मौसमका कारण भारतको दक्षिणपश्चिम क्षेत्रमा पर्ने अन्दामन र निकोबार टापुमा स्वदेशी तथा विदेशी गरी आठ सय जना पर्यटक अलपत्र परेका छन् । भारतीय नौसेनाले अन्दामन र निकोबार टापु गरी दुवै ठाउँमा चार वटा पानी जहाज पठाएको जनाएको छ । नौसेनाका प्रवक्ता डि.के. शर्माले पर्यटकहरू अलपत्र परेको ठाउँमा चार वटा पानी जहाज पठाएको भए पनि हेभलक टापुमा अत्यधिक खराब मौसमका कारण सो ठाउँमा पुग्न नसकेको जानकारी दिए । “आठ सयभन्दा बढी पर्यटक यातायातका साधन नपाएर अलपत्र परेका छन्, हामी उनीहरूलाई उद्धार गर्न तयारी अवस्थामा छौँ, त्यसका लागि सफा मौसमको प्रतिक्षा गरिरहेका छौँ,” उनले भने । प्रवक्ता शर्माले थपे, “हाम्रो सबैभन्दा ठूलो चासो पर्यटकहरूलाई सुरक्षित तरिकाले उद्धार गर्नु हो ।” हेभलकको किनारा पर्यटकका लागि लोकप्रिय गन्तव्य मानिन्छ । हरेक नयाँ वर्षमा हजारौँ पर्यटकले हेभलकमा डिसेम्बरमा रमाइलो गर्ने गर्दछन् । रासस/सिन्ह्वा
प्राधिकरणका तीन सञ्चालकले मन्त्रालयमा नै गएर बुझे स्पष्टीकरण पत्र
काठमाडौँ, २२ मंसिर । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकले उर्जा मन्त्रालय गएर स्पष्टीकरण पत्र बुझेका छन् । बुधबार प्राधिकरणका सञ्चाक मनोज कुमार मिश्र, लक्ष्मण प्रसाद अग्रवाल र सुरज लामिछानेले उर्जा सचिव अनुपकुमार उपाध्यायको कार्यालयमा गएर स्पष्टीकरण पत्र बुझेका हुन् । यसअघि मन्त्रालयले घरमा र कार्यालयमा स्पष्टीकरण पत्र पठाउदा पनि उनीहरुले पत्र बुझ्न अस्विकार गरेका थिए । उनीहरुको नाम पत्रिकामा छापिएपछि उनीहरुले पत्र बुझेका हुन् । उनीहरुविरुद्ध उर्जा मन्त्रालयले प्राधिकरण सुधार अभियानमा अवरोध गरेको आरोप लगाइ काराबाही थालेको थियो । सोही कारबाही स्वरुप उनीहरुलाई स्पष्टीकरण पत्र दिइएको हो । उनीहरुले प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत कुलमान घिसिङको प्रस्ताव बोर्डबाट पारित गर्न दिएका थिएनन् । घिसिङे प्राधिकरण सुधार एवं कम्पनी मोडलमा परियोजना अघि बढाउने प्रस्ताव सञ्चालक समितिमा राखेका थिए ।