डा.केसीको जीवन रक्षाको लागि आइओएमका डिनले दिए राजीनामा

काठमाडौं, १७ मंसिर । डा.गोविन्द केसीको २० दिनदेखिको अनसन अव तोडिने भएको छ । इन्सिच्युट अफ मेडिसिन (आइओएम) का नवनियुक्त डिन केपी सिंहले राजीनामा दिएपछि उनको अनसन तोडिने भएको हो । केसीले नियम विपरित आईओएममा डिन नियुक्त गरिएको भन्दै विगत २० दिनदेखि अनशन बस्दै आएका थिए । DSCN9676 डा. गोविन्द केसीको जीवन भन्दा ठूलो आफ्नो पद नभएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँसमक्ष राजिनामा पेश गरेका हुन् । उनको स्वास्थ्य अवस्था बिग्रदो छ । डा.केसीकै स्वास्थ्यलाई ध्यानमा राखेर आफूले राजिनामा दिएको डा सिंहले बताएका छन् ।

राज्यले मुद्रण उद्योगमैत्री नीति नल्याउदा छपाईमा बार्षिक कराडौंको रकम बाहिरिन्छ:महासंघ

काठमाडौं, १६ मंसिर । नेपालमा २५ अर्व भन्दा बढी लगानी मुद्रण उद्योगमा भएको मुद्रण व्यवसायीहरुले दावी गरेका छन् नेपाल मुद्रण उद्योग महांसंघको संयोजन तथा मिडिया प्रमोशन जर्मनीको आयोजनामा बिहिबार काठमाडौंमा आयोेजना भएको छापा माध्यम व्यवस्थापन सम्मेलनमा बोल्दै नेपाली मुद्रण व्यवसायीहरुले नेपालमा दुई हजार भन्दा बढी मुद्रण उद्योगहरु रहेको तथ्यांक पनि सार्वजनिक गरे । नेपाली मुद्रण उद्योगमा अत्याधुनिक प्रविधि प्रयोग गर्न नसकिरहेको सन्दर्भमा आयोजना गरिएको यस कार्यक्रमबाट नेपाली मुद्रण उद्योगीहरु लाभान्वित हुने नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष माधव केसीले बताए । राज्यले मुद्रण उद्योग मैत्री नीति नल्याउदा छपाईका नाममा बार्षिक कराडौंको बजेट बाहिरिएको बताए । उनले जर्मनीमा निर्मित प्रेस मेसिन र त्यसको प्रविधीबारे जान्न यो सम्मेलन सहयोगी भएको पनि बताए । कार्यक्रममा प्रिन्ट प्रमोशनको बारेमा जानकारी गराउदै प्रिन्ट प्रमोशन जर्मनीका प्रबन्ध निर्देशक डा. इ मार्कस हिरीले आफूहरु नेपाललगायत दक्षिण एशियाका देशमा नयां प्रविधि बारे उद्योेगीहरुलाई जानकारी गराउन आएको बताए । त्यस अवसरममा जर्मनमा निर्मित पोलार नामक छपाई मेसिनका बारेमा जानकारी दिंदै पिटर रेगोले छपन्न ईको मोडलको मेसिनको २० हजार युरो, ६६ ईको मोडलको मेसिनको २४ हजार युरो र ८० ईको मोडलको मेसिनको ३० हजार युरो मूल्य रहेको बताए । पोलार प्रबिधी दक्षिण एशियाका भारत र श्रीलंकामा मात्र भित्रिएको उनले जनाकारी दिए । यस प्रविधिको प्रयोगबाट विभिन्न देशका पार्सपोर्ट, नोटलगायत शुरक्षासम्बन्धी कागजात प्रिन्ट गरिएको प्रिन्ट प्रमोशन टोलीका सदस्य बस्टिन डे विन्टरले जानकारी दिए । यसबाट छिटो तथा गुणस्तरिय काम गर्न सकिने उनको भनाइ थियो ।

बूढीगण्डकी आयोजना कार्यालयमा झडप, स्थानीयवासी घाइते

गोरखा : गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दाले ताला लगाउन खोजेपछि विहिवार झडप भएको छ। बूढीगण्डकी राष्ट्रिय सरोकार समितिको आह्वानमा बिहानैदेखि सिउरेनीटार पुगेका प्रभावित क्षेत्रका बासिन्दाले कार्यालयमा ताला लगाउन खोजेपछि झडप भएको हो। प्रभावितले कार्यालयमा ताला लगाउने प्रयास गरेपछि प्रहरीले रोकेको थियो। कार्यालयको ढोकामा ताला लगाउन पुगेका सरोकार समितिको टोलीलाई प्रहरीले रोकेपछि कार्यालय परिसरमा रहेका प्रभावितले ढुङ्गा प्रहार गरी कार्यालय तोडफोड गरेका हुन्। सो झडपमा केही स्थानीयवासी सामान्य घाइते भएको बताइएको छ। सिउरेनीटार क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। घ्याल्चोक, दर्बुङ, फुजेललगायत विभिन्न १५ गाविसका प्रभावित जनता मुआब्जा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। पूर्व निर्धारित कार्यक्रम अनुसार उनीहरु कार्यालयमा ताला लगाउन सिउरेनीटार पुगेको स्थानीय हरि सिम्खडाले बताए।