प्रधानमन्त्री दाहाललाई सेक्युरिटी थ्रेट, प्रधानमत्री चितवनमा, सुरक्षा सतर्कता बढाइयो
काठमाडौं १३, असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन गएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ । मुख्यमुख्य चोकमा प्रहरी खटाइएको छ । प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय जाने बेलामा भरतपुरको चौबीसकोठीदेखि विमानस्थल वरपर महेन्द्र राजमार्गमा सवारी साधान चलाउन नदिएको खबर विहिबारको अन्नपूर्ण पोष्टमा छापिएको छ। प्रधानमन्त्री दाहाल विमानस्थलबाट निस्केपछि मात्रै सवारी साधन राजमार्गमा गुड्न दिइएको थियो। उनी सहभागी सबै कार्यक्रममा प्रहरी र प्रधानमन्त्रीका सुरक्षाकर्मीले कडा सुरक्षा दिएका थिए । सुरक्षाकै कारण प्रधानमन्त्री दाहाल बास बस्न साँझ चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा पुगेका छन् । यसअघि जिल्ला जादा उनी होटेलमा बास बस्ने गरेका थिए । चितवनमा विभिन्न कार्यक्रममा सहभागी भएका दाहाल बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ।
पहिलो किस्ताको ५० हजारः दसैंखर्च, तिरोभरो अनि थोरै मस्तीमा
काठमाडौं १३, असोज । सिन्धुपाल्चोकको मेलम्चीको सिन्धुविकास बैंकबाट पहिलो किस्ताको ५० हजार रुपैयाँ निकालेपछि ज्यामिरेका दुई लाभग्राही घर निर्माणका लागि पाएको अनुदान जुवाको खालमा स्वाहा पारेर फर्किए । कृषि विकास बेंक चौताराबाट पहिलो किस्तावापत ५० हजार हात पारेपछि बतासेबाट आएका दुई वृद्धा भन्दै थिए, ‘रक्सी पनि खाइयो यहाँ बस्दा र आउँदा ८ हजार खर्च भइसकेको छ , अब दसैं पनि मनाउनुपर्छ बाँकी सेको पैसाले घर निर्माण सुरु गर्नुपर्ला भन्ने समाचार विहिबारको राजधानी दैनिकमा छापिएको छ । खाडीचौरमा रहेको सिन्धुविकास बैंकमा लाभग्राहीको सूचीमा श्रीमतीको नाम थियो । पैसा निकाल्न श्रीमान् श्रीमती दुवै बैंक आएका थिए । जब श्रीमतीले बैंकबाट पैसा निकालिन् तव उनीहरुबीच विवाद सुरु भयो । श्रीमान् भन्दै थिए, ‘ऋण तिर्नु छ, पैसा देऊ न ।’ श्रीमतीको जवाफ थियो, ‘यो पैसा त म मरिगए दिन्न, घर बनाउनुपर्छ ।’ जलविरेस्थित देव विकास बैंकमा पहिलो किस्ताको ५० हजार निकाल्न गोल्चेबाट आएका कामी तामाङसँगै साथ लागेर साहु पनि आए । दुई दिनेको लामो प्रतीक्षापछि तामाङले बैंकबाट पैसा हात पार्नासाथ साहुले नै पैसा लिए । केही महिनाअघि घरासयी काममा तामाङले ६० हजार ऋण लिएका थिए । अनुदान अएपछि दिने शर्तमा ।
सिन्डिकेटको मारमा दसैंका यात्रु, सिटभन्दा बढी यात्रु ओसार्न पाउनुपर्ने माग
काठमाडौं १३, असोज । यातायात व्यवसायी समितिहरूको सिन्डिकेट रहेको क्षेत्रमा नियमितबाहेक अतिरिक्त बसहरूको व्यवस्था नगरिँदा दसैंमा घर जाने यात्रुहरूले टिकट पाउन सकेका छैनन् । सरकारले सिटभन्दा बढी यात्रु ओसार्न कडाइ गरेपछि यातायात व्यवसायीले ‘दबाब सिर्जना गर्न’ भन्दै अतिरिक्त बस थप नगरेका हुन् । सबैजसो रुटमा नियमित सञ्चालन हुने बसको घटस्थापनादेखि २३ असोजसम्मका टिकट बिकिसकेका छन् । तर व्यवसायीहरूले अतिरिक्त बस थपेका छैनन् । सरकारी अधिकारीसँगको बैठकमा उनीहरूले सिटभन्दा बढी यात्रु ओसार्न पाउनुपर्ने माग गरेका छन् । यातायात व्यवसायीहरूले सुरु गरेको कार्टेलिङप्रति यातायात व्यवस्था विभागका अधिकारीहरूले कुनै प्रतिवाद गरेका छैनन् । ‘दसैंका बेलामा यात्रुहरूको चाप हुने भएकाले सिटबाहेक पनि यात्रु ओसार्न पाउनुपर्ने र त्यसमा प्रहरीले कुनै कारबाही गर्न नहुने माग व्यवसायीहरूको छ ।’ यातायात व्यवस्था विभागसम्बद्ध स्रोतले भन्यो, ‘होइन भने यात्रु ओसारेपछि रित्तो बस फर्किंदा लाग्ने इन्धन खर्च सरकारले व्यहोर्नुपर्ने तर्क गरिरहेका छन् ।’ माग सम्बोधन नगरिए नियमितबाहेक अतिरिक्त बसहरूको व्यवस्था गर्न नसकिने व्यवसायीको अडानका कारण यात्रुहरूले सहजै टिकट पाएका छैनन् । बुधबार बिहान गोंगबुस्थित नयाँ बसपार्कमा भेटिएका देवराज भण्डारीले चार पटक धाउँदा पनि टिकट नपाएको गुनासो गरे । ‘बुकिङ खुलेकै दिन टिकट सकियो भनेर फर्काए,’ अर्घाखाँची सदरमुकाम जान टिकट खोजेका उनले भने, ‘हरेक दिन बोलाउँछन्, बुधबारबस थपेको खबर छैन भन्दै फर्काउँछन् ।’ यातायात व्यवस्था विभागसँगको समन्वयमा व्यवसायीहरूले असोज ९ गतेदेखि दसैंको टिकट बुकिङ सुरु गरेका थिए । तर अधिकांश ठाउँमा नियमितबाहेक अतिरिक्त बस नथपेका कारण एकै दिनमा टिकट सकिएको हो । सिट संख्याभन्दा बढी यात्रु बोक्न नपाउने नियममा सरकारले गरेको कडाइप्रति यातायात व्यवसायीहरू रुष्ट छन् । उनीहरूले दसैंका यात्रुहरूलाई देखाएर सिट संख्यामा गरिएको कडाइमा मोलमोलाई गरिरहेको विभाग स्रोतले बतायो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाइबाट पनि यही आशय झल्किन्छ । कान्तिपुर दैनिकबाट ।