हिमालयन लाइफको कामु सीईओमा कपिल कुमार दाहाल नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले कपिल कुमार दाहाललाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । यसअघि कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएपछि, सञ्चालक समितिले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दाहाललाई कार्यबाहक सीईओको जिम्मेवारी सुम्पिएको हो । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव ईश्वर कुमार सेडाईले जानकारी दिएका छन् । दाहाल लामो समयदेखि बीमा क्षेत्रसँग आबद्ध रहँदै आएका छन् र हिमालयन लाइफ इन्स्योरेन्समा डीसीईओको रूपमा संस्थागत सञ्चालन तथा व्यवस्थापनमा सक्रिय भूमिका निभाउँदै आएका थिए।
प्रधानमन्त्रीको सचिवालयमा ३ सल्लाहकार नियुक्त, को हुन् खनाल, श्रेष्ठ र तिमिल्सिना ?
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छिन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्व सम्पादक हुन् । त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन सङ्कायमा स्नातकोत्तर अध्ययनरत छन् । नेपालको न्यायपालिकामा लामो समय काम गरेका श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरू रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए । प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमिल्सिना नियुक्त भएका छन् । तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । सो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था हो ।
विन नेपाल लघुवित्तको सीईओमा दिपेन्द्र खतिवडा
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् । भदौ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षको रहने कम्पनीले जनाएको छ । खतिवडाले असोज २ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।उनी यसअघि सोही संस्थामा कामु सीईओ थिए ।