देवेन्द्ररमण खनाल बने राष्ट्रिय वाणिज्य बैंकको सीईओ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको उपकार्यकारी अधिकृत (डीईओ) देवेशप्रसाद लोहनीले जानकारी दिए । खनाल खुला प्रतिस्पर्धाबाट बैंकको सीईओमा नियुक्त भएका हुन् । वि.सं २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् । बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ । पूर्व सीईओ किरण कुमार श्रेष्ठले अवकाश पाएपछि खनालले कामु सीईओको जिम्मेवारी समेत पाएका थिए । बैंकको सीईओ छनोट तथा सिफारिस समितिले ५ जनाको नाम सर्ट लिष्ट गरी बुधबार अन्तवार्ताका लागि बोलाएको थियो । अन्तवार्तामा ३ जनाको नाम सञ्चालक समितिमा पेस गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न २० जनाले आवेदन दिएका थिए ।
हिरोको ब्राण्ड एम्बेस्डर बने सुशान्त, सुरक्षा र दयाहाङ
काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले नेपाली कला क्षेत्रका तीन व्यक्तित्वहरूलाई ब्रान्ड एम्बेस्डरका रूपमा नियुक्त गरेको छ । नक्साल स्थित स्टेट अफ दी आर्ट शोरुममा एक समारोहकाबीच ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । गायक सुशान्त केसी हिरो एक्सपल्स, अभिनेत्री सुरक्षा पन्त हिरो जुम र अभिनेता दयाहाङ राईलाई हिरो स्प्लेन्डरका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी
विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले झापा विर्तामोड निवासी डा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकले मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने, कोशी प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलालाई क्यानडा जान कूटनीतिक राहदानीका लागि प्रधानमन्त्री कार्यालयमा सिफारिस पठाउने निर्णय गरेको छ । साथै वित्तीय हस्तान्तरणको सम्बन्धमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका सोलु, खाँदबारी नगरपालिका सङ्खुवासभा र ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आप्रवासन केन्द्र स्थापना तथा सञ्चालनका लागि पाँच लाख दुई हजार रुपैयाँका दरले रकम पठाउने निर्णय पनि आजको बैठकमा भएको उनले जानकारी दिए ।