अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्र आईतबार एनएमबि क्यापिटल लिमिटेडको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ । कम्पनीले साधारण सेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा अर्घाखाँची सिमेन्ट लिमिटेडका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने चिफ फाइनान्सिएल अफिसर राजु पौडेलले बताएका छन् ।
सिद्धार्थ प्रिमियरको विज्ञ सञ्चालकमा हसना शर्मा नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वतन्त्र (विज्ञ) सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् । चैत ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शर्मालाई रिक्त रहेको उक्त पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक शर्माले आगामी चार वर्षसम्म उक्त पद सम्हाल्ने छिन् ।
गरिमा विकास बैंकका निवर्तमान सीईओ ढकालको बिदाइ, नवनियुक्तमा उपाध्याय नियुक्त
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । त्यस्तै बैंकले निवर्तमान सीईओ गोविन्दप्रसाद ढकालको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको बुढानिलकण्ठस्थित एक रिसोर्टमा विशेष समारोह आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ । उक्त समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहरु, पूर्वअध्यक्षहरू, गरिमा म्युचुअल फन्डका कोष सुपरिवेक्षक, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारी तथा अन्य कर्मचारीसमेतको उपस्थिति रहेको थियो । विगत १५ वर्षदेखि सीईओको जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त भएसँगै बैंकको चैत्र १४ गते सम्पन्न सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । पद तथा गोपनियताको शपथ ग्रहणपश्चात् बोल्दै नवनियुक्त सीईओ उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी बैंकलाई थप उचाइँमा पुर्याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी निवर्तमान सीईओ ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समितिप्रति कृतज्ञता व्यक्त गरे । कार्यक्रममा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले बैंकलाई यो उचाइँसम्म पुर्याउनका लागि निवर्तमान सीईओ खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै नवनियुक्त सीईओको नेतृत्वमा बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए ।